केही दिनदेखि बिरामी भएर चितवनको सौराहामा ढलेकी काजलकली नामकी हात्तीले प्राण त्यागेकी छ।
राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहाका भेटेरीनरी प्रविधिक किरणराज रिजालका अनुसार काजलकलीको आइतबार दिउँसो ३ बजेर ४० मिनेटमा मृत्यु भएको हो।
पोष्टमार्टम गरेर उसलाई ढलेको ठाउँ नजिकै गाडिएको उनले जानकारी दिए।
कसरी यस्तो अवस्थामा पुगेकी थिई काजलकली?
-किरणराज रिजाल
राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहाका भेटेरीनरी प्रविधिक किरणराज रिजालको प्रायः समय अचेल काजलकलीको स्वास्थ्योपचारमा बितिरहेको छ।
काजलकली नेपाल आएको करिब ५ वर्ष हुन लाग्यो। नेपाल आउँदा दुबै कञ्चट बसेको दुब्लो पातलो हात्ती काजलकलीको स्वास्थ्योपचार उनले सुरुआती दिनबाटै गरेका थिए। अहिले काजलकली उभिन नसक्ने अवस्थामा पुगेकी छ। तेस्रो पटक लडेपछि उसको स्वास्थ्य, हेरचाह र उपचारको विषयमा विभिन्न टीका-टिप्पणी भइरहेका छन्। वन्यजन्तुको अधिकारका लागि काम गर्ने संस्था, व्यक्तिहरूले सरकारी बेवास्ताका कारण काजलकली यो अवस्थामा पुगेको आरोप लगाउने गरेका छन्।
केही महिनाअघि बिक्री भएपछि भारततर्फ लगिँदै गरेकी काजलकलीलाई प्रहरीले नियन्त्रणमा लिएर सौराहा फिर्ता गरेको थियो। त्यसको केही समयपछि ऊ थला पर्न थालेकी थिई। उपचारमा निरन्तर लागेका राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहाका भेटेरीनरी प्रविधिक किरणराज रिजालले काजलकलीको सुरूदेखि अहिलेसम्मको स्वास्थ्य अवस्थाको विवरण सेतोपाटीलाई उपलब्ध गराएका छन्।
काजलकली करिब पाँच वर्षअघि सौराहा आइपुग्दा नै स्वस्थ अवस्थामा थिइन। ऊ ख्याउटे, दुब्लो कन्चट भएको र बुढी थिई। यहाँ आइपुग्नेबित्तिक्कै हाम्रो टिम गएर परीक्षण गरी आवश्यक जुका, नाम्ले विरूद्धको औषधी, खनिज, भिटामिन तथा फोस्फोरसको सुई लगाइयो।
बिस्तारै उसमा सुधार आउन थाल्यो। त्यसपछि उसले युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थामा आवद्ध भएर करिब २ वर्षसम्म स्वस्थ रही राम्रो सँग खानपिन र नियमित कार्य गरी। काजलकली पर्यटकलाई बोकेर जंगलभित्र घुमाउँथी। तर यो क्रम धेरै लामो चल्न सकेन। उसले कम दानापानी खान थाली र दुब्लाउँदै गई। हामी निरन्तर निगरानी गरिरहेका थियौं।
उसले खाना पचाउन छाडेको देखियो। खाना नपच्दाको असर दिसा देखिन थाल्यो। यसको उपचारका लागि आवश्यक औषधी दियौं, तर खासै परिवर्तन आएन।
हात्तीको जीवनमा ६ पटकसम्म दाँत फेरिने गर्दछ र यस हात्तीको चपाउने दाँत नभएको कारणले खाना नपचेको, ठूला-ठूला लिडा आउन थालेको हुनाले काजलकली बुढी भएको निष्कर्ष निकाली यसबाट अब काम लिन नसकिने कुराको जानकारी गरायौं।
उसका मालिकले काजलकलीलाई भारतीयलाई बेचिदिए।
यो पनि पढ्नुस्:
काजलकलीलाई भारततर्फ पठाउँदै गर्दा मकवानपुरको मनहरी गाँउपालिका पुगेपछि प्रशासनले समात्यो। त्यहाँबाट फर्काएर पुनः चितवनको सौराहास्थित होटल पार्कसाइड ल्याइयो।
हात्ती बिरामी भएको खबर प्राप्त भए पछि हामीले निरन्तर उपचार गरिरहयौं। हात्तीमा कुनै प्रकारको परिवर्तन नआई झनै दुब्लाउँदै गयो। खाएको नपच्ने समस्या भएको हुँदा पचाउन सजिलो होस् भनेर उसलाई धान उसिनेर कुची बनाएर खुवाउने र प्रशस्त घाँस खुवाउने सल्लाह दियौं। सोही अनुसार खुवाउँदा पनि कुनै परिवर्तन नआएपछि काजलकलीलाई खीर (भेली मिसाइएको भात) खुवाउन थालियो।
सोही क्रममा उसको रगतको नमूना संकलन गरी क्षयरोगको परीक्षणका साथै अन्य परीक्षण पनि गरियो। कुनै खराबी देखिएन तर काजलकली दुब्लाउँदै गइरहेकी थिई। केही समयपछि ऊ उभिन नसक्ने भई र ढली। जेठ ९ गते खबर पाएपछि हाम्रो टिम सोही हात्तीसारमा गई आवश्यक स्लाइन, भिटामिन नसाको माध्यमबाट दिएपछि, जेसिबीको सहायताले उठाउन सफल भयौं। उपचार निरन्तर जारी राख्यौं। १ हप्तापछि जेठ १७ गते काजलकली फेरि ढली। पहिलेको जस्तै गरी फेरि उठाइयो।
ढलेको कारणले शरीरका विभिन्न भागमा घाउ र कमजोर भएको कारणले रक्त सञ्चार नभएका कारण छाती र भुँडीको वरिपरि पानी जम्मा भएको थियो। काजलकली झन् कमजोर हुँदै गएकी थिई। असार २ गते ऊ फेरि ढली।
हाम्रो टिमले अब ऊ उठ्न सक्दिनँ, अब उठाउन खोज्नु उसलाई थप पीडा मात्रै हुने निष्कर्ष निकाली उठाउनेतिर लाग्न भन्दा शरीरका घाउ सफा गर्ने, कीरा पर्न नदिने, पीडा कम गर्न दु:खाइ कम गर्ने औषधी निरन्तर दिने गरिरहेका छौं।
हाम्रो ज्ञान र अनुभवको आधारमा प्राकृतिक रूपमै बुढी भएको कारणले यो अवस्थामा पुगेको सहज अनुमान गर्न सकिन्छ।
हात्तीको संरक्षण र उपचारमा नियमित रूपमा लागि रहँदा यस्ता दु:खद घटना हुने गर्दछन्। सबै जीवमा जन्मपछि मृत्यु निश्चित छ। यसलाई सहज रूपमा लिनुपर्दछ। हाम्रो अनुभवमा बुढो हात्ती ढलेको २ दिनमा, ७ दिनमा, २५ दिनमा र २९ दिनसम्ममा मरेको देखिएका छन्। अर्ध वयस्क हात्ती ढलेको १६ दिनको अथक प्रयासबाट पनि उठाइएको छ। यसैगरी उठेको अर्ध वयस्क हात्ती लक्ष्मणगजले हाल राम्रोसँग कामकाज गरिरहेको छ, जसको फोटो नेपाली रुपैयाँ एक हजारको नोटमा पनि छ।
काजलकली भने फेरि उठेर हिँड्न सक्ने सम्भावना झिनो छ।
(रिजाल राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहाका भेटेरीनरी प्रविधिक हुन्।)