चितवन राष्ट्रिय निकुञ्जमा कम्तीमा चार वटा गैंडा मारेको पुष्टि भएका एक व्यक्तिलाई सिआइबीले पक्राउ गरेको छ।
चितवनको कालिका नगरपालिका-९ शक्तिखोरका ४१ वर्षीय रामकुमार प्रजालाई केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले हेटौंडाबाट पक्राउ गरेको हो।
उनीमाथि सबभन्दा पहिले २०६७ सालमा गैंडा चोरी सिकारी, खाग बिक्री/वितरण र ओसार/पसारको मुद्दा दर्ता भएको थियो। त्यसपछि पनि उनीविरूद्ध तीनवटा मुद्दा दर्ता भएर सजायको फैसला भएको थियो।
सिकारीको जालो पछ्याउँदै जानेक्रममा रामकुमार पक्राउ परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।
उही मुद्दाका चितवनको कालिका–११ सैपाम घर भएका ठूलोकान्छा र सागर प्रजा नामले चिनिने वास्तविक नाम विन्दर सिंह प्रजा भएका व्यक्तिलाई पक्राउ गरेको ९ महिनापछि सोमबार सिआइबीले रामकुमारलाई पक्राउ गर्न सफल भएको हो।
सूचना अधिकारी तिवारीले रामकुमार गैंडाको खुंखार सिकारी र कारोबारी रहेको दाबी गरे।
'उनी संलग्न भएका गैंडासम्बन्धी धेरै मुद्दा दर्ता भएका छन्,' उनले भने, 'उनी लामो समयदेखि हाम्रो फरार सूचीमा थिए। अन्तत: समातिएका छन्। उनलाई अहिले कसरा ल्याइँदैछ।'
यस्तो छ सिकारीको जालो
चितवन राष्ट्रिय निकुञ्जले चितवनको कालिका–११ घर भएका ठूलोकान्छा प्रजाविरूद्ध गैंडा मारी खाग तस्करीको मुद्दा २०६७ सालमै दर्ता गरेको थियो।
२०७२ साल असार ३० गते उनलाई १५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला भयो।
ठूलो कान्छासँगै उनका छोरा करण प्रजाविरूद्ध पनि १५ वर्षको कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएको थियो। त्यतिखेर गैंडा मार्ने कार्यमा ठूलो कान्छा र उनका १४ वर्षीय छोरा संलग्न रहेको भनेर मुद्दा दर्ता भई फैसला भएको थियो। तर उनीहरू पक्राउ परेनन्।
उनी कहिले ठूलो कान्छा, कहिले सागर प्रजा नाम बताएर ठाउँ फेर्दै बस्ने गरेका थिए। पछि निकुञ्जले सागर प्रजा नामका व्यक्तिमाथि गैंडा चोरी सिकारीकै अर्को मुद्दा दर्ता गर्यो।
उक्त मुद्दामा उनलाई १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला भयो। निकुञ्जले ती व्यक्ति तिनै ठूला कान्छा हुन् भन्ने ठाने पनि गलत निस्कियो। उनी लामो समयसम्म पक्राउ परेनन्।
गैंडा मारेर खाग बिक्री गर्ने गिरोहको खोजीमा रहेको टोलीले गत भदौमा काठमाडौंबाट कवि नामले चिनिने रामकुमार श्रेष्ठलाई पक्राउ गर्यो। तस्करको खोजीमा रहेको टोली रामकुमारको सूचनाका आधारमा विन्द्रसिंह प्रजासम्म पुग्यो।
रामकुमारले २०७७ जेठमा निकुञ्जको घाँघरपोष्टदेखि डेढ किलोमिटर पर पर्ने ढड्डाघारीमा गैंडा मार्न आफूले विन्द्रसिंहलाई पनि पठाएको बयान दिएका थिए। उनकै सूचनाको आधारमा तनहुँबाट गत जेठ ७ गते पक्राउ परेका थिए विन्द्रसिंह।
विन्द्रसिंह उनै व्यक्ति थिए जसलाई गैंडाको चोरी सिकारीको मुद्दामा १२ वर्ष अघि निकुञ्जले मुद्दा दायर गरेको थियो ६ वर्ष अघि सजायको फैसला भएको थियो।
कहिले ठूलो कान्छा, कहिले सागर प्रजाको नामबाट चोरी सिकारीमा संलग्न हुने गरेका उनको वास्तविक पहिचान सजाय तोकिएको ६ वर्षपछि बल्ल भयो।
रामकुमारकै सूचनाको आधारमा निकुञ्जको टोली मकवानपुरको साविक सरिखेत गाविस–९ ठेगाना भएका करण मोक्तानसम्म पुग्यो।
२९ वर्षीय करण मोक्तान निकुञ्जले २०६७ सालमै गैंडा चोरी सिकारीको मुद्दा दर्ता गरेका विन्द्रसिंहका छोरा करण प्रजा थिए। चितवन घर भएका उनले मकवानपुर पुगेर मोक्तान थर राखेर नागरिकता बनाएका थिए।
फरार अभियुक्तका रूपमा रहेका विन्द्रसिंह प्रजा अहिले जिल्ला कारागार चितवनमा छन्। उनीविरूद्ध २०७७ सालमा अर्को गैंडा मारेको मुद्दा पनि थपिएको छ।
निकुञ्जका अनुसार बमबहादुर प्रजा नामका व्यक्ति विन्द्रसिंहका नजिकका आफन्त हुन्।
निकुञ्जको फरार अभियुक्तको सूचीमा रहेका उनको संलग्नतामा अहिलेसम्म गरेर करिब एक दर्जन गैंडा मारेका छन्। बमबहादुरकै संरक्षणमा विन्द्रसिंह, करणलगायतका धेरै चेपाङहरू गैंडा तस्करीमा संलग्न रहेको निकुञ्ज स्रोत बताउँछ।
एक सिंगे गैंडाको खागको कारोबारीको खोजीमा रहेको टोलीले रामकुमार र विन्द्रसिंहले दिएको सूचनामार्फत् २०७६ सालको कात्तिकदेखि २०७७ असोजसम्ममा निकुञ्जमा थप ६ वटा गैंडा सिकारीले मारेको रहस्य फेला पारेको थियो।
उनीहरूकै सूचनाको आधारमा चार वटा गैंडाको चोरी सिकारीमा संलग्न रहेका ८ जनालाई पक्राउ गरिएको थियो।