यही असार १६ गते बिहान चिया पिउँदै मोबाइल फोन हेर्दै गर्दा ‘होटल जंगल सफारी’ सौराहाका सञ्चालक सुमन घिमिरेको नजर हात्तीहरूले केही खाँदै गरेको लाइभ भिडिओमा प¥यो। कसैले फेसबुकमा लाइभ गर्दै थियो।
भिडिओमा केही हात्ती उखु, भुइँकटहर, खरबुजा खाँदै थिए। केही व्यक्ति त्यसको फोटो खिच्दै, खिचाउँदै थिए।
यो भिडियो सौराहामा गरिएको हात्ती वनभोज कार्यक्रमको प्रत्यक्ष प्रसारणको थियो। दुई वटा हात्ती पालेका क्षेत्रीय होटल संघ, नेपाल सौराहाका पूर्वअध्यक्ष घिमिरेलाई उक्त कार्यक्रमको सुइँको समेत थिएन।
सौराहा पुग्ने पर्यटकहरू हात्ती चढेर जंगल घुम्छन्, अर्थात हात्ती सफारी गर्छन्। सफारीका लागि अहिले यहाँका ३२ वटा निजी हात्ती प्रयोगमा छन्।
यीबाहेक पनि केही निजी हात्ती सौराहामा छन्। यी सबै निजी हात्तीको सफारी व्यवस्थापन ‘युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था’ ले गर्छ। कार्यक्रम भइरहँदा उक्त संस्थाका अध्यक्ष ऋषि तिवारी काठमाडौं जाँदै थिए।
‘अघिल्लो दिन साँझतिर मलाई भोलि बिहान हात्ती वनभोजको डेमो हुने भएकाले हात्ती पठाइदिनू भनेर फोन आएको थियो। मैले देखाउने र फोटो खिच्ने प्रयोजनका लागि हतार–हतार हात्ती पठाउन सकिँदैन भनेँ,’ तिवारीले भने, ‘त्यसपछि के–के भयो, मलाई जानकारी छैन।’
असार १६ गते ‘पर्यटन प्रवद्र्धन तथा वन्यजन्तु वासस्थान व्यवस्थापन समिति’ नामको संस्थाले सौराहामा हात्ती वनभोज कार्यक्रम आयोजना गरेको थियो। यसमा चितवन राष्ट्रिय निकुञ्जको सौराहा र खोरसोरस्थित हात्तीसारका र व्यवसायी ओम रिजालले पालेका केही हात्ती ल्याइए।
यी हात्तीलाई उखु, सख्खर, भुइँकटहर, खरबुजा, केरा, चना, स्याउलगायतका खान्की खुवाइएको थियो। कार्यक्रममा बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठ पनि सहभागी थिए।
तिवारीका अनुसार पर्यटन गतिविधि कम हुँदा हात्ती विस्थापित हुने, पौष्टिक आहारा खान नपाउने, बुढो हुँदै जानेक्रम देखिएको छ।
‘सरकारबाट आएको बजेट हात्तीको दानामा खर्च गर्न पाए सबैको हित हुने थियो भनेर मैले कुरा राखेको थिएँ,’ तिवारीले भने, ‘तर उहाँहरूलाई बजेट खुसुक्क, तुरुन्तै सक्नुपर्ने कस्तो बाध्यता आइलागेछ, जान्न सकिएन।’
हात्तीका लागि कार्यक्रम गर्न लागिएको भए केही दिन कार्यक्रम सारौँ वा देखाउने, फोटो खिच्ने भन्दा हात्तीलाई आवश्यक पर्ने दाना किनेर सञ्चालकलाई दिऔँ भनेर आफूले प्रस्ताव गरेको उनले बताए।
‘असल नियतले कार्यक्रम गरिएको भए हात्तीको स्तरीय खानामा जोड गरिन्थ्यो तर उहाँहरूको जोड खानामा भन्दा फोटो खिचाउनमा बढी गयो,’ तिवारी भने, ‘बजेट दिने निकायले हात्ती सञ्चालक, सञ्चालन गर्ने सहकारी संस्थासँग हात्तीको विषयमा बुझ्न खोजेन।’
उनले फिल्मी शैलीमा केही हात्ती जम्मा गरेर बजेट सक्ने काम गरेको आरोप लगाए।
सौराहाका हात्तीपालक व्यवसायीहरूले सरकारी निकायले बजेट सक्न लुकीछिपी हात्ती वनभोज कार्यक्रम गरेको आरोप लगाएका छन्।
यहाँ सक्रिय क्षेत्रीय होटल संघ, रेस्टुरेन्ट एन्ड बार एसोसिएसन, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था, नेचर गाइड एसोसिएसन र साना पर्यटन व्यवसायी समूहले संयुक्त पत्रकार सम्मेलन गरेर सरकारी बजेट दुरुपयोग गर्ने नियतले लुकीछिपी हात्तीको वनभोज गरेको आरोप लगाएका छन्।
पत्रकार सम्मेलनमा क्षेत्रीय होटल संघका अध्यक्ष दीपक भट्टराईले हात्तीलाई वनभोज खुवाउने भनेर प्रदेश सरकारबाट ल्याइएको बजेट निजी क्षेत्रका व्यवसायीसँग समन्वय नै नगरी सकिएको आरोप लगाए।
विवाद बढेपछि वनभोजको आयोजक संस्था ‘पर्यटन प्रवद्र्धन तथा वन्यजन्तु वासस्थान व्यवस्थापन समिति’ ले पनि सौराहामा जवाफी पत्रकार सम्मेलन ग¥यो।
समितिका सचिव राममणि खनालले बजेट फ्रिज हुन लागेपछि मन्त्रालयकै आग्रहमा वनभोज कार्यक्रम गरिएको बताए।
उक्त संस्थाका अध्यक्ष टीकाप्रसाद कँडेलले जारी गरेको प्रेस विज्ञप्तिमा वनभोज कार्यक्रममा हात्तीलाई खुवाउन १ लाख ६३ हजार ३००, अतिथि सत्कारमा ४३ हजार ९१४, प्रचारमा ५ हजार र हात्तीसारेहरूलाई कुची बनाएबापत ज्याला १० हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।
उनले सरकारी बजेटमा भ्रष्टाचार गर्ने नियत नभएको भन्दै भ्रष्टाचार भएको प्रमाणित गर्न चुनौती पनि दिएका छन्।
क्षेत्रीय होटल संघ सौराहाले विगतमा हरेक वर्ष पुसमा हात्ती महोत्सव आयोजना गर्दथ्यो। महोत्सवकै अवसरमा गरिने हात्तीको वनभोज कार्यक्रम हेर्न पर्यटकको आइरो लाग्थ्यो।
दर्जनौँ निजी तथा सरकारी हात्तीलाई लाम लगाएर स्वादिष्ट तथा पौष्टिक आहार खुवाइने वनभोजले बाह्य पर्यटकको ध्यान खिच्थ्यो।
यस्तो कार्यक्रमका लागि सरकारले वार्षिक ५ लाख रुपैयाँ छुट्याउने गरेको थियो। कोरोना महामारी सुरु भएपछिका दुई वर्ष भने हात्ती महोत्सव हुन सकेन।
ती दुबै वर्ष बजेट फ्रिज भएको थियो। यसपालिको बजेट फ्रिज हुन नदिन आर्थिक वर्षको अन्तिममा वनभोज आयोजना गरिएको थियो।
क्षेत्रीय होटल संघ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरेले हात्तीका लागि सरकारको बजेट सौराहा आउनु खुसीको खबर भए पनि बजेट खर्च गर्दा पर्यटन व्यवसायीका संस्थाहरूलाई नै उपेक्षा गर्नु दुःखद भएको बताए।
उनका अनुसार हात्तीको वनभोज क्षेत्रीय होटल संघले मात्रै गर्न पाउनुपर्छ भन्ने होइन, पर्यटन क्षेत्रमा काम गर्ने जुन संस्थाले गर्न सक्छ।
‘फ्रिज हुने बजेट अन्तिम समयमा भए पनि आयो, राम्रै भएको थियो तर कार्यक्रम गर्दा निजी हात्ती पालकलाई बेवास्ता गर्नु राम्रो भएन,’ घिमिरेले भने, ‘यहाँका सबै स्थानीय संस्थालाई बोलाएर कार्यक्रम गरेको भए राम्रो सन्देश जान्थ्यो।’
उनले हात्ती वनोभोजको विषयमा पर्यटन व्यवसायीका बीचमै चल्न थालेको दोहोरीको नकारात्मक असर सौराहाको पर्यटन क्षेत्रमा पर्ने र आगामी दिनमा सरकारले दिने बजेटमा पनि कटौती हुन सक्ने बताए।
सौराहाका व्यवसायीहरूले हात्तीलाई खुवाउन निकुञ्ज आसपासमा खेर गएको घाँस काट्न पाउनुपर्ने माग गर्दै आएका छन्। निकुञ्जले अहिले अस्थायी विकल्पका रूपमा सामुदायिक वनको केही क्षेत्रमा हात्तीका लागि घाँस काट्न दिने गरेको छ।
व्यवसायीहरूले निजी हात्तीले पर्याप्त घाँससमेत नपाएको बेलामा सरकारी हात्तीलाई मात्रै राखेर लाखौँ बजेट सकेको भन्दै वनभोज कार्यक्रमको आलोचना गरेका छन्।