चितवन जिल्ला अदालतमा चालु आर्थिक वर्ष २०७८/७९ मा एक हजार २५३ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भए। तीमध्ये ९६३ वटा अर्थात् ७८ प्रतिशत मुद्दाको छिनोफानो भयो।
अदालतले उपलब्ध गराएको तथ्यांकअनुसार सम्बन्ध विच्छेदमा दर्ता भएका मुद्दाको संख्या कुल मुद्दाको ३८ प्रतिशत हो।
ठूला मध्येको एक मानिने चितवन जिल्ला अदालतमा यस वर्ष तीन हजार ३५२ वटा मुद्दा दर्ता भएका थिए। यही असार १७ गतेसम्म कुल मुद्दामध्ये ५८ दशमलव ६८ प्रतिशत फछ्र्योट भएको अदालतका स्रेस्तेदार ईश्वर आचार्यले बताए।
सोमबार बिहान अदालतका कर्मचारीहरूले पत्रकारहरू सामु मुद्दाका यी विवरण प्रस्तुत गर्दा चार जना न्यायाधीश पनि उपस्थित थिए।
उनीहरूले सम्बन्ध विच्छेदका मुद्दाको संख्या बढ्नुले समाजमा विकृति र पारिवारिक विखण्डन बढेको देखिएको निष्कर्ष सुनाए।
‘वैदेशिक रोजगारीले धेरैको घरबार बिगारेको छ। देशमा जागिर पाइँदैन। सक्ने युरोप, अमेरिका गएका छन्। नसक्ने खाडी मुलुक पुगेका छन्। श्रीमान, श्रीमती दुईतिर हुँदा घरबार बिग्रिएको छ,’ न्यायाधीश गायत्रीप्रसाद रेग्मीले भने, ‘भविष्य खोज्न जाँदा परिवारमा विखण्डन आउने समस्या निकै धेरै छ।’
न्यायाधीश रेग्मीले प्रेम सम्बन्धमा परेर कच्चा उमेरमै बिहे गर्ने र छिटै छुट्टिने क्रम बढेको पनि बताए।
उनले भने, ‘पुरूषवादी सोच भएको समाजमा दबिएर बसेका महिलाहरू बढी सचेत हुन थालेको र अधिकारको खोजी बढेको देखिन्छ।’
उनले सम्बन्ध विच्छेदका प्रायः मुद्दाहरू श्रीमानले खान लाउन नदिएको भनेर आउने गरेको बताए।
‘तर यो सबै सही होइन जस्तो लाग्छ, केही प्रतिशत त होला,’ न्यायाधीश रेग्मीले भने, ‘सोध्न मिलेसम्म त हामी धेरै कुरा सोध्छौं तर सबै कुरा सही भनिँदैन।’
न्यायाधीश केशवप्रसाद अधिकारीले सम्बन्ध विच्छेदको वास्तविक कारण बताउने साहसी व्यक्ति असाध्यै कम भेट्ने गरेको बताए।
‘खान दिएन, लाउन दिएन, घरबाट निकालिदियो, मादक पदार्थ सेवन गरेर कुटपिट गर्यो भनेर आउने धेरै हुन्छन्। वास्तविक घटना धेरैले भन्दैनन्,’ उनले भने, ‘केहीमात्रै साहसी पीडित भेटेको छु जसले साँचो कारण बोलेको छ। त्यसबाट पूरै बेञ्च नै स्तब्ध भएको छ।’
न्यायाधीश अधिकारीले कतिपय मुद्दामा त जाहेरीकर्तालाई सम्बन्ध विच्छेदको कारण पनि राम्रोसँग थाहा नभएको भेटिने गरेको बताए।
‘यस्तो कारणले सम्बन्ध विच्छेद गर्न लाग्नुभएको हो भनेर सोध्दा अल्मलिने पनि हुन्छन्,’ उनले भने, ‘कागजमा सही गर भने, सही गरेर आएँ भन्नेहरू पनि भेटिन्छन्।’
कानून व्यवसायीहरूले सम्बन्ध विच्छेदका धेरै मुद्दामा एकै प्रकारको बयान लेखेर पठाउने गरेको पाइएको पनि न्यायाधीश अधिकारीले बताए।
उनले भने, ‘हामीले त कागजलाई विश्वास गरेर फैसला गर्ने हो। वास्तविक कारण ती होइनन् होला जस्तो लाग्छ, तर हामी वास्तविक कारण के हुन् भनेर उनीहरूको व्यक्तिगत स्वतन्त्रताभित्र प्रवेश गर्न मिल्दैन।’
न्यायाधीश शकुन्तला कार्कीले श्रीमान–श्रीमतीका बीचमा सम्बन्ध विच्छेद हुँदा उनीहरूका सन्तानको भविष्य सम्झेएर टिठ लाग्ने गरेको बताइन्।
‘बाबुआमाले त छुट्टिएपछि पनि अर्को बिहे गरेर भविष्य बनाउने गरेका छन् तर उनीहरूबाट जन्मिएका बच्चाको भविष्य के होला, त्यो सम्झिएर टिठ लाग्छ,’ उनले भनिन्, ‘सम्बन्ध विच्छेदले समाजमा विकृति पनि ल्याइरहेको छ।’
उनले वैदेशिक रोजगारीले धेरैको परिवारमा विखण्डन ल्याएको बताइन्।
उनले भनिन्, ‘पितृसत्तात्मक सोच कम हुँदै गएको र महिलाहरू सचेत हुँदै गएको त देखिन्छ तर श्रीमान–श्रीमती दुवैजना जागिरे हुँदा पनि विवाद भएर सम्बन्ध विच्छेद हुने गरेको छ।’
न्यायाधीश कार्कीले जघन्य हिंसाका कारण पनि सम्बन्ध विच्छेद हुने गरेको तर त्यस्तो घटना धेरैले लुकाउने गरेको बताइन्।
‘खाली खान, लाउन दिएन, छोराछोरी पालेन भन्नेमात्रै कागजमा देखिन्छ,’ उनले भनिन्, ‘वास्तविक कारण चाहिँ लुकाइएको पनि हुनसक्छ।’
न्यायाधीश कार्कीले नयाँ पिँढीका दम्पती स-साना कुरामा एक आपसमा समझदारी नभएर सम्बन्ध विच्छेदका लागि आउने गरेको पनि बताइन्।
‘साना कुरामा पनि समझदारी नभएको हो कि, उनीहरूले वास्तविक कुरा नभनेको हो,’ कार्कीले भनिन्, ‘उनीहरूका कुरा सुन्दा समाज कतातिर जाँदैछ भन्ने लाग्छ।’
न्यायाधीश अधिकारीका अनुसार पुरूषले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराउने क्रम पनि बढ्दै गएको छ। सम्बन्ध विच्छेदका कुल मुद्दामा करिब १५ प्रतिशत मुद्दा पुरूषले दर्ता गराएका छन्।
सम्बन्ध विच्छेद लगायतका केही मुद्दामा अदालतले मेलमिलापमार्फत् समाधान गर्न प्रोत्साहित गर्छ। धेरै मुद्दाहरू मेलमिलापमा टुंगिएका पनि छन्। मेलमिलापबाट मुद्दा टुंग्याउनेमा चितवन जिल्ला अदालत देशमै उत्कृष्ट रहँदै आएको उनले बताए।