राम्रा सामुदायिक स्कुल
खैरहनी नगरपालिका–१, ज्यामिरे घर भएका अंकित तिवारी अहिले ९ कक्षामा पढ्छन्। पहिले घर नजिकैको एक एउटा निजी विद्यालयमा पढ्थे। निजी विद्यालयलाई 'बोर्डिङ स्कुल' भन्ने चलन छ।
उनी यही वर्ष बोर्डिङ छाडेर घरबाट सात किलोमिटर टाढाको जनजागृति माध्यमिक विद्यालय, पिठुवामा भर्ना भएका हुन्। जनजागृति मावि सामुदायिक अर्थात सरकारी स्कुल हो।
साइकल चढेर जाँदा सडकको दायाँ–बायाँ आधा दर्जन जति सामुदायिक र बोर्डिङ स्कुल भेटिन्छन्। अंकितलाई ती कुनै पनि विद्यालयले आकर्षित गर्न सकेनन्।
दुई वर्षअघि दस वटा निजी र सामुदायिक स्कुल कटेर जनजागृति माविमा भर्ना भएका सुशील घिमिरेले यस वर्ष विद्यालय शिक्षा परीक्षा (एसइई) दिएका छन्। उनी रत्नननगर नगरपालिकाको भानुचोक नजिकै रहेको घरबाट साइकल चढेर करिब दस किलोमिटर परको स्कुल गएर पढे।
कालिका नगरपालिका–८, न्युरेनीका अनिशा दर्लामी मगर, स्मृति कुमाल र सोहन रेग्मी पनि अंकित र सुशीलझैं साइलकमा लामो दूरी पार गर्दै जनजागृति पुग्छन्।
अचेल यस्तै विद्यार्थीले भरिएको छ जनजागृति माध्यमिक विद्यालय।
यो स्कुल स्थापना २०१९ सालमा भएको हो। रत्ननगर नगरपालिकाको वडा नम्बर १४, पिठुवामा अवस्थित विद्यालयमा हाल १ हजार ६०९ जना विद्यार्थी छन्।
एसइई नतिजाका आधारमा यो जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालयमध्ये पर्छ। रत्ननगर नगरपालिका र पूर्वी चितवनमा सबभन्दा उत्कृष्ट नतिजा ल्याउने विद्यालय पनि यही हो।
२०७२ सालको एसइईमा देशभरबाट १२ जना मात्रै विद्यार्थीले ३.९ जिपिए ल्याउँदा यस विद्यालयका चार जना परेका प्रधानाध्यापक विनोदप्रसाद अधिकारी जानकारी दिए।
'विद्यार्थीहरूको उत्कृष्ट नतिजा र विद्यालयको शैक्षिक गुणस्तरको विषयमा थाहा पाएपछि विद्यार्थीहरू अन्य विद्यालय छाडेर जनजागृतिमै भर्ना हुने क्रम बढेको छ,' उनले भने
यहाँ कक्षा १२ सम्म पढाइ हुन्छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) को कार्यक्रमअन्तर्गत सिभिल इञ्जिनियरिङमा तीन वर्षे डिप्लोमा पढाइ पनि हुन्छ।
यो स्कुलले २०६७ सालमा नर्सरी कक्षाबाट अंग्रेजी माध्यममा पढाइ सुरू गरेको थियो। त्यसको अर्को वर्ष कक्षा ६ मा अंग्रेजी माध्यम सुरू भयो। यसैगरी क्रमशः १०, ११ र १२ कक्षामा पनि अंग्रेजी माध्यममै पढाइ हुन थाल्यो।
'सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट निःशुल्क पढाइ भइरहेको र यहाँका विद्यार्थीले निजीकाले भन्दा राम्रो नजिता ल्याएको थाहा पाएपछि अभिभावकहरूको ध्यान पर्न थाल्यो,' प्रधानाध्यापक अधिकारीले भने, '२०७२ सालपछि विद्यार्थीको चाप बढ्न थाल्यो। भर्नाका लागि प्रवेश परीक्षा लिनै पर्ने अवस्था आइपर्यो।'
यस वर्षको प्रवेश परीक्षामा कुल तीन सय विद्यार्थी सहभागी भएकामा दुई सय जनाले मात्रै भर्ना पाए। निजी विद्यालय छाडेर यहाँ भर्ना हुनेहरू प्रायः आर्थिक अवस्था कमजोर रहेका परिवारका विद्यार्थी छन्।
'अभिभावकले निजी स्कुलमा पढाएका थिए। आर्थिक अवस्था कमजोर भएकाले शुल्क बुझाउन कठिन थियो। यहाँको पढाइबारे जानकारी पाएपछि भर्ना गर्न आइपुगे,' अधिकारी भन्छन्, 'यस्ता विद्यार्थीको संख्या धेरै छ।'
सम्पन्न परिवारका पनि कतिपय विद्यार्थीहरू बोर्डिङ छाडेर भर्ना हुन आएको उनले बताए। छोराछोरीलाई स्थानान्तरण गर्न खोज्दा बोर्डिङले प्रमाणपत्र नदिएको गुनासो लिएर पनि अभिभावकहरू आउने गरेका छन्।
नेपाली माध्यमबाट पढ्ने विद्यार्थी पनि छन् तर २५ प्रतिशत जति मात्रै छ। कक्षा ८ देखि १० सम्म नेपाली माध्यममा पढ्ने विद्यार्थी १० प्रतिशत मात्रै छन्।
विद्यालयमा सकेसम्म आधुनिक प्रविधिबाट पढाइ हुन्छ। अधिकतम शैक्षिक सामग्रीको प्रयोग हुन्छ। प्रोजेक्टरबाट देखाएर पढाउने अभ्यास सुरू गरिएको छ। आइसिटी ल्याब, कम्प्युटर ल्याब लगायतमा विद्यार्थीहरूको पहुँच सहज छ।
प्रधानाध्यापक अधिकारीका अनुसार यहाँका प्रायः शिक्षक स्थानीय बासिन्दा छन्। विद्यालयको शैक्षिक गुणस्तर सुधारमा व्यवस्थापन समिति र सबै शिक्षकहरू एक ढिक्का भएर लागेको उनी बताउँछन्। स्कुलको सफलताको मुख्य कारण पनि यसैलाई मान्छन् उनी।
तर विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी कम छ। त्यसैले शिक्षण व्यवस्थापनमा समस्या पर्ने गरेको अधिकारीले बताए।
उनी भन्छन्, 'सरकारी दरबन्दी कम हुँदा निजी स्रोतबाट शिक्षक राख्नु परेको छ। ती शिक्षकलाई तलब दिन हम्मे पर्छ।'
कक्षा ११, १२ र इञ्जिनियरिङ विषयबाट भएको आम्दानीले निजी स्रोतका सबै शिक्षकलाई तलब दिने गरिएको छ। हाल ६५ जना शिक्षकमा २४ जना निजी स्रोतका छन्। कोरोना महामारी बेला अनलाइन कक्षा सञ्चालन गरिए पनि निजी स्रोतका शिक्षकलाई तलब दिन नसकेको उनले बताए।
'तर हामीले विषयगत शिक्षकहरू राख्न कञ्जुस्याइँ गरेका छैनौं। आवश्यक पर्दा शिक्षकहरू अतिरिक्त समय दिन पनि तयार हुनुहुन्छ,' उनले भने, 'हाम्रो योजना अब सबै कक्षामा सूचना प्रविधि प्रयोग गर्ने छ।'
धेरै जसो विद्यार्थीहरू साइकल चढेर आउँछन्। टाढाका विद्यार्थीका लागि बसको आवश्यकता देखिए पनि बजेट नहुँदा किन्न नसकेको प्रधानाध्यापक अधिकारीको भनाइ छ।
जनजागृति माविमा पढ्ने विद्यार्थीहरूमा ८२८ जना छात्रा र ७८१ जना छात्र छन्। कक्षा १ देखि ५ सम्ममा दलित समुदायका बढी छन्। उपल्लो कक्षामा ब्राह्मण, क्षेत्री, जनजाति समुदायका विद्यार्थी बढी छन्।
इञ्जिनियरिङ पढ्ने विद्यार्थीहरू भने तराईका बढी छन्। हाल १०५ जना विद्यार्थी सिभिल इञ्जिनियरिङमा डिप्लोमा गर्दैछन्। तीन वर्षे डिप्लोमा पढ्ने एक ब्याचका ३६ जना उत्तीर्ण भइसकेका छन्।
एघार–बाह्रमा व्यवस्थापन, शिक्षा र मानविकी संकाय पढाइ हुन्छ। विज्ञान, व्यवस्थापन, नर्सिङ र अन्य प्राविधिक विषय पढ्न चाहने बाहेकका विद्यार्थीहरू यहाँबाट एसइई उत्तीर्ण भएपछि पनि यहीँ पढ्ने गरेका छन्।
एघार कक्षामा पढ्न तनहुँ, गोरखा, धादिङ र मकवानपुरबाट पनि विद्यार्थी आउने गरेको प्रधानाध्यापक अधिकारीले बताए।
सबै तस्बिरः राजेश घिमिरे/सेतोपाटी