रूपलाल डगौरा कैलालीको लम्कीचुहा नगरपालिका–९, सोनपुरमा बसेको ४७ वर्ष भयो। उनले २०४० सालमा देभरभर ठूलो क्षति पुर्याउने गरी आएको बाढी बिर्सेका छैनन्। त्यसपछि पनि बाढी त आइरह्यो तर नदी साँघुरो भएकाले खासै थाहा हुँदैन थियो।
रूपलालका अनुसार अठार–उन्नाइस वर्षअघि एक रात अचानक बाढी आयो। त्यसले धनजनमा निकै विध्वंश मच्चायो।
उनको घर पथरिया नदी किनारमै छ। घरबाट केही मिटर पर पथरिया नदी चुरे नदीमा मिसिने दोभान छ।
केही वर्षअघिसम्म एउटा रूख तेर्स्याएर वारपार गर्न मिल्ने यी नदी अहिले कटानले फराकिला भएका छन्।
रूपलाल भन्छन्, 'अहिले त बाढी आएपछि न यता जाने ठाउँ छ न उता। अब त बाली खानलाई पनि धौधौ भयो। गएको वर्ष धानै मिलेन। यो वर्ष असार गयो। पछि के हुन्छ थाहा छैन।'
सोही ठाउँकी मीनाकुमारी डगौराले २०७४ सालमा बाढी आउँदा दुइटा घरका सामान गाउँलेले बल्लबल्ल जोगाएको बताइन्। उनका अनुसार भागीराम चौधरी र दयाराम चौधरीको घरमा बाढी पस्न थालेपछि सबै गाउँलेहरू जुटेर फटाफट सबै सामान सडकमा निकाले।
भागीराम त्यस बेला भारतमा कमाउन गएका थिए। साउनमा आएको बाढीले हेर्दाहेर्दै घर बगाउन थाल्यो। गाउँलेहरूले काठले बनेको घरका करिब आधा काठ बचाउन सके। त्यस वर्ष मीनाको घरमा पनि बाढी पसेको थियो।
मीनाले भनिन्, 'न सुत्ने ठाउँ थियो न अन्त कतै जाने ठाउँ थियो। सानो बच्चा लिएर एक हप्ताभन्दा बढी एउटा त्रिपालमा बस्यौं।'
यस्ता कयौं विपद सामना गरेका सोनपुरका महिलाहरूले बाढीसँग लड्न महिला समूह अर्थात टिम नै बनाएका छन्। यस्तो टिम बनाएको चार वर्ष भयो।
टिमको नेतृत्वमा छिन् नीलम चौधरी। गाउँबाट बग्ने नदीले कहिले कसको त कहिले कसको घरका सामान नबगाएको कुनै वर्ष नै हुँदैन। हरेक वर्ष बाढी पसेर घरका सामान, कखुरा, बाख्रा इत्यादि बगाउने भएपछि विपदसँग लड्न समूह बनाएको नीलमको भनाइ छ।
'हामीले सामुदायिक विपद व्यवस्थापन समिति गठन गरेका छौं। गाउँमा आएका केही संघसंस्थासँग सहयोग लिएर पूर्वतयारी गर्ने र घरपरिवारको सुरक्षाको कुरा सिक्यौं,' नीलमले भनिन्।
महिलाहरू जागरूक भएर अघि बढेपछि वडा कार्यालय, नगरपालिका र 'सिएसएसडी' नामको एक गैरसरकारी संस्थाको सहयोगमा गाउँमा सर्वेक्षण भयो। सर्वेक्षणले कुनकुन घर कतिकति जोखिममा छन् भनेर पहिचान गर्यो। सोनपुरमा मात्र ५८ घर उच्च जोखिममा रहेको ठहर भयो।
नीलमले भनिन्, 'हाम्रो ११ जनाको मूल समिति छ। मासिक दस रूपैयाँका दरले रकम संकलन गरी वचत गरिरहेका छौं।'
महिनामा एक पटक समितिको बैठक हुन्छ। समितिले सबै घरबाट बचतको रकम उठाउँछ र बचत गर्छ। त्यही रकमबाट समितिले आवश्यकताअनुसार उद्धार र प्राथमिक उपचारका सामान किन्छ। समितिले गाउँका गर्भवती, सुत्केरी, अपांगता भएका व्यक्ति, बालबालिका, ज्येष्ठ नागरिक र सहयोग आवश्यक पर्नेहरू व्यक्तिहरूको तथ्यांक पनि राख्छ।
समूहमा तीन वटा कार्यदल छन्। पूर्वसूचना कार्यदलमा तीन जना सदस्य छन्। यो कार्यदलले पानी पर्ने नपर्ने अवस्था, नदीको वहाव र जेखिममबारे सूचना संकलन गर्छ।
सूचना संकलन गर्ने मुख्य जिम्मेवारी यस कार्यदलकी संयोजक जानकी चौधरीको हो। उनले सम्बद्ध निकायबाट सूचना संकलन गरेर कार्यदलका सदस्य र अरूलाई जानकारी दिन्छिन्। जानकीका अनुसार जोखिमको अवस्था छ भने फोनबाट र कहिलेकाहीँ माइकिङ गरेर पनि सावधान गराइन्छ।
नदीमा बाढी आएर भाग्नु पर्ने अवस्थाका लागि घरघरमा 'झटपट झोला' तयार गरेर राखिएका छन्। मानिसहरू आआफ्ना झोला बोकेर निर्धारित उच्च ठाउँमा जान्छन्। उद्धार कार्यदलले कसैलाई चोटपटक लागेमा वा व्यक्ति हराएमा खोज तथा उद्धारका लागि काम गर्छ।
अर्को छ प्राथमिक उपचार कार्यदल। यसले घाइतेको प्राथमिक उपचार गर्ने र घाइतेलाई सुरक्षित ठाउँमा लैजाने व्यवस्था गर्छ।
'हामीले जल तथा मौसम विभागको फोन नम्बर राखेका छौं। मौसमका बारेमा विभागमा सोध्छौं। ११५५ मा फोन गर्दा बाढीबारे थाहा हुन्छ। आपतकालीन अवस्थामा कहाँ खबर गर्ने भनेर ११४९ मा फोन गरेर सोध्छौं,' जानकीले भनिन्।
मूल समितिकी सचिव सीता चौधरीका अनुसार महिलाहरूका समिति र कार्यदल सक्रिय भएपछि गाउँका महिलाहरू आफ्ना समस्या भन्न सक्ने भएका छन्। बोल्न धक मानेर पछि हट्नेहरू पनि बोलक्कड भएका छन्।
सीताले भनिन्, 'अहिले हामीमा सशक्तीकरण भएको छ। कटान हुने र गाउँमा बाढी पस्ने केही ठाउँमा बाँध लगाएका छौं। आधाजति ठाउँमा तटबन्ध भएको छ।'
बाढी आएका बेला नल्कामा धमिलो पानी आउँछ। यस्तो बेला उनीहरू पानी फिल्टर गरेर खान्छन्। हालै उनीहरूले नै वडाको कार्यक्रममार्फत खानेपानीको पाइप हाल्ने काम सकेका छन्।
कार्यदलकी संयोजक जानकीले भनिन्, 'बाढी आएका बेला बस्ने उच्च ठाउँ थिएन, अहिले हामीले माग गरेर यही टोलमा उच्च भवन बन्दै छ।'
उनीहरू यो टिमलाई निरन्तरता दिएर अघि बढ्न चाहन्छन्। महिलाहरूको यस समूहमा एक जना पुरुष सदस्य छन्, उनी हुन् रूपलाल डगौरा।
छोरी-बुहारीहरूले गाउँमा राम्रो काम गरेको उनी बताउँछन्। उनले भने, 'यहाँ धेरै केटा मान्छेहरू भारत जान्छन्। गाउँमा भएका बेला तास खेल्छन्, दारु खान्छन्। गाउँ बचाउने काममा महिलाहरू जोडतोडले लागेका छन्।'