भरतपुरस्थित डबली क्याफेमा डा. कृष्णप्रसाद पौडेल माटो, खाना र खेतीपातीको विषयमा बोलिरहेका थिए। उनका कुरा सुन्न पुगेका पत्रकार, लेखक र किसानहरू क्याफेका कुर्सीमा भरिभराउ थिए।
डबली द स्पेस र कविता विचार अन्तर्क्रियात्मक मञ्च 'मन्थन' ले आयोजना गरेको 'खाना र खेतीपातीको राजनीतीकरण किन?' शीर्षकको अन्तर्क्रियाका मुख्य वक्ता थिए डा. पौडेल। अन्तर्क्रियाको सहजीकरण लेखक जीवन क्षेत्रीले गरेका थिए।
'भरतपुर यस्तो ठाउँ हो जहाँ विषको भव्य कारखाना छ। यहीँ त्यसले निम्त्याउने क्यान्सरको ठूलो अस्पताल पनि छ। देशले यो सहरलाई अस्पतालको सहर भनेर चिन्छ,' डा. पौडेलले भने, 'हाम्रो सरकारको नीति तथा कार्यक्रम नै विषलाई बढावा दिने खालको छ। हामीलाई विष खुवाउने अधिकार सरकारसँग छैन भनेर हामी खुलेर बोल्न सकेका छैनौं।'
उनको संकेत व्यावसायिक कृषिमा राज्यले बढाउँदै लगेको लगानीतर्फ थियो। आफ्नो देशको माटो र माटो अनुकूलको बीउ जोगाउनेतर्फ नलागी विदेशीको नक्कल गरेर रासायनिक मल र विषादीको प्रयोग गरी कृषिलाई व्यावसायिक बनाउन राज्य लागिपरेको डा. पौडेलको आरोप थियो।
उनले माटो र बिउ जोगाउने कुरा राजनीतिक दलहरूले बेवास्ता गरेको र जनताबाट चुनिएका सांसदहरूले संसदमा कुरा नउठाएको भन्दै असन्तुष्टि प्रकट गरे।
'अरूको नक्कल धेरै गरियो। विकास भनेर पश्चिमाको अनुशरण गरियो। यसले हाम्रो माटो बिगारेको छ,' उनले भने, 'अब पनि हाम्रो विशेषता अनुसारको विकास गर्न ढिलो गरियो भने खानै नपाउने अवस्था आउन सक्छ।'
६० वर्षीय डा. पौडेलले रामपुर कृषि क्याम्पसबाट कृषिमा स्नातक, बेलायतबाट वन विज्ञानमा स्नातकोत्तर र प्राकृतिक स्रोतको समाजशास्त्रीय अध्ययनमा विद्यावारिधि गरेका छन्।
उनले काठमाडौंमा बसेर २०६७ सालमा 'खानाका लागि खेतीपाती' अभियान सुरू गरेका थिए। यो अभियानले अर्गानिक अर्थात प्रांगारिक उत्पादन, खेतीका लागि नीतिगत दबाब र जनचेतनामूलक गतिविधिहरू सञ्चालन गर्छ। उनी वन, कृषि र जलवायुको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था 'फरेस्ट एक्सन' का संस्थापक पनि हुन्।
प्रांगारिक कृषिको अभियान लिएर डा. पौडेल देशका विभिन्न ठाउँमा पुगेका छन्। उनलाई कर्णाली प्रदेश सरकारले प्रदेशलाई प्रांगारिक क्षेत्र बनाउने आधार तयार गर्न सरकारको सल्लाहकार पनि बनाएको थियो। प्रांगारिक उत्पादन, कृषि र राजनीति लगायत विषयमा बेलाबेलामा पत्रपत्रिका र अनलाइनहरूमा लेख लेख्छन्। कृषिविज्ञका रूपमा चिनिएका छन्।
भरतपुर, क्षेत्रपुरका स्थायी बासिन्दा उनी हाल आफ्नै गाउँ फर्किएर 'सहरी कृषि अभियान' मा सक्रिय छन्।
विषमुक्त तरकारी अभियान लिएर सहरका टोलमा पुग्छन्। कौसी र करेसाबारीमा स्वस्थकर तरकारी र फलफूल उत्पादन गर्न प्रोत्साहित गर्छन्। जिल्लामा प्रांगारिक खेती गर्दै आएका किसानसँग छलफल गर्छन्। विभिन्न स्थानीय तहमा पुगेर किसानका समूहसँग अन्तर्क्रिया गर्छन्। रासायनिक र जैविक विषादीको फरक बुझाउँछन्। रासायनिक विषादीको प्रयोगले मानव स्वास्थ्यमा परेका असरहरू उदाहरणसहित सुनाउँछन्।
चितवनमा अचेल प्रांगारिक खेती गर्ने किसान ह्वात्तै घटेका छन्। आफ्नै कौसी र करेसाबारीमा तरकारी उत्पादन गर्नेभन्दा बजारको तरकारी किनेर खाने जमात बढ्दैछ। तत्कालको फाइदा हेरेर बालीमा रासायनिक मल र विषादी प्रयोग गर्ने क्रम बढेको छ।
व्यावसायिक खेतीमा सरकारी अनुदान पनि पाइन्छ। यस्तो अनुदान प्रांगारिक खेती गर्नेले भन्दा रासायनिक मल र विषादी प्रयोग गरेर धेरै उत्पादन देखाउनेले बढी पाउँछन्। स्थानीय कृषक चन्द्रप्रसाद अधिकारी रासायनिक विषादीको प्रयोग बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर मानव स्वास्थ्यमा पर्न थालेको बताउँछन्।
अधिकारी चितवनका पुराना किसान हुन्। भरतपुर महानगरको फूलबारीमा उनी साढे चार बिघा जमिनमा तरकारी खेती गर्छन्। उनले व्यावसायिक प्रांगारिक खेती गरेको ३७ वर्ष भयो। उनी कृषिमा लागेको ५० वर्ष भयो।
किसानहरूलाई प्रांगारिक उत्पादनका लागि प्रेरणा दिन पनि अधिकारी सक्रिय छन्। धेरै किसानलाई प्रांगारिक उत्पादन गर्न सिकाए। यसका फाइदा बताए। तर किसानहरू पलायन हुँदै गएको उनको भनाइ छ।
'विषादीले मान्छेको स्वास्थ्यमा असर पर्न थालेको छ। बिउ, मेसिन, जनशक्ति सबै बाहिरका प्रयोग गरेर खेती गर्ने चलन बढेको छ। कृषिमा परनिर्भरता बढ्दो छ,' अधिकारी भन्छन्, 'यही अवस्था रहने हो भने त देशमा छिट्टै भोकमरी लाग्न सक्छ।'
मानिसहरूले करेसाबारीमा खेती गर्न छाडेको, गर्नेले पनि रासायनिक विषादी प्रयोग गरेको तर यसलाई रोक्न कसैले प्रयास नगरेको अधिकारीको भनाइ छ।
कृषिको विकासका लागि चितवनमा तीन वटा सरकारी कार्यालय छन्– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र र स्थानीय तहका कृषि शाखाहरू। यी कार्यालयहरूले काम गरिरहे पनि उनीहरूको ध्यान अनुदानको प्रक्रिया मिलाउनेमा मात्रै केन्द्रित हुने गरेको अधिकारीको गुनासो छ।
नारायणगढमा तरकारी परीक्षण गर्ने प्रयोगशाला सञ्चालन गरिए पनि त्यसले भारतबाट आयातीत तरकारीको गुणस्तर जाँच नगरेको उनको भनाइ छ।
'अत्यधिक मात्रामा विषादी प्रयोग गरिएको तरकारी धेरै खपत भइरहेको छ,' उनले भने, 'स्वच्छ खाना खान पाऊँ भनेर आन्दोलन गर्नुपर्ने बेला भयो।'
राजनीतिक दलका नेता र जनप्रतिनिधिले विषादीयुक्त खान्कीले निम्त्याउने परिणामबारे ध्यान दिन नसकेको उनको आरोप छ।
डा. पौडेल राजनीतिक दलहरूको एजेन्डामा खाना र खेतीपातीका कुरा कहिल्यै प्राथमिकतामा पर्न नसकेको बताउँछन्।
'रासायनिक विषादीले माटो मर्न थालिसक्यो। माटोमा उत्पादन हुन छाडेपछि किसानहरू निराश भएर विदेसिएका छन्। युवाहरू खाडी देशमा गएर पसिना बगाइरहेका छन्। तिनैले पठाएको रेमिटेन्सले विदेशबाट विषादीले भरिपूर्ण तरकारी ल्याएर खाने गरिएको छ,' डा. पौडेल भन्छन्, 'यो विषय न दलको एजेन्डा बन्न सक्यो, न कसैले संसदमा उठाउन सक्यो।'
जमिनको खण्डीकरण बढेको, कृषियोग्य भूमि मासिँदै गएको, प्रांगारिक मल प्रयोग र उत्पादनको संस्कृति हराउँदै गएको उनले बताए। अबको संसदीय निर्वाचनमा खाना र खेतीपातीको कुरा मुख्य एजेन्डा बनाउनु पर्ने डा. पौडेलको भनाइ छ।
'अब खाना र खेतीपातीको विषयलाई राजनीतिक चेतनाको हिसाबले लिन जरुरी छ। कम्तीमा विषादीरहित खान्की खान पाउने अधिकार सुनिश्चित गर्ने विषय राजनीतिक एजेन्डा बन्नुपर्छ,' उनी भन्छन्, 'खाना र खेतीपातीमा विवेक नफर्काउँदासम्म संकट मोचन हुनेवाला छैन। युवाको ऊर्जा र महिलाको विवेक अब यता लगाउनु पर्छ।'
यसो नगरे नयाँ पुस्तालाई बिग्रिएको माटो र विषको भण्डार मात्रै हस्तान्तरण गर्न सकिने डा. पौडेलको भनाइ छ।
अन्तर्क्रिया समापन गर्नुअघि कार्यक्रमका सहजकर्ता जीवन क्षेत्रीले अमेरिकाको एउटा कथा सुनाए–
अमेरिकाको एउटा सहरमा एउटा उद्योग स्थापना भयो। उद्योगले विकास ल्याउने भयो, रोजगारी ल्याउने भयो भनेर स्थानीयबासीहरू खुसी भए। त्यसको केही वर्षपछि त्यहाँका महिलाहरूमा ठूलो समस्या देखिन थाल्यो। समस्या रोकथामका लागि कतिपय महिलाले त पहिल्यै शल्यक्रिया गरेर पाठेघर र स्तन निकाल्न थालेछन्।
त्यो उद्योगबाट क्यान्सरको प्रकोप यतिधेरै फैलिएछ कि क्यान्सर भइसकेपछि जटिलता आउनुभन्दा पहिल्यै अंग हटाइदिन्छौं भनेर आमा, छोरीहरूले नै पाठेघर र स्तन फालिदिएछन्।
यति कथा सुनाउँदै क्षेत्रीले भने, 'विश्वव्यापीरूपमा हेर्दा हामीले पर्यावरणचक्र यही दिशातर्फ लगिरहेका छौं कि भन्ने लाग्न थालेको छ। नेपालको खेतीपातीमा देखिएको समस्या ठ्याक्कै त्यस्तै नभए पनि बिस्तारै देश त्यही दिशातिर धकेलिँदैछ कि भन्ने डर लाग्छ।'