बाँसले बारेर खरले छाएको सानो झुप्रोको आँगनमा नौ जना मान्छे छन्। उनीहरूमध्ये धेरैको आँगनमा कपडा छैन। आँगनको एक छेउमा रहेको चुल्होमा ढिडो ओडाल्दै छिन् लेकमाया चेपाङ।
सहर बस्नेका लागि अचेल ढिडो राजसी खान्की जस्तो बन्दैछ। रेष्टुरेन्ट पुगेर ढिडो अर्डर गर्नेको जमात बढ्दै छ। तर लेकमायाको परिवारलाई ढिडोमा कुनै रस छैन। किनकि यही खान्की खाएर हुर्किएका हुन् उनीहरू।
चितवनको पहाडी गाउँ लोथर–सानथलीबाट एक वर्षअघि यो परिवार माडी झरेको थियो। पोको, पन्तुरो, बच्चाहरू च्यापेर माडी नगरपालिकाको शिवद्वार झर्दा उनीहरूले धान रोपेर चामलको भात खाने र छोरा, छोरीलाई पढाउने सपना देखेका थिए। पहाडको पखेरोमा दुःख पाएको पूर्खाभन्दा अलग जीवन जिउने कल्पना गरेका थिए।
माडी झरेपछि छोराछोरी त जेनतेन सामुदायिक विद्यालय जान पाए, चामलको भात खाने उनीहरूको सपना भने अधुरै छ।
‘गाउँको दुःखबाट भागेर बेसी झरियो तर यहाँ पनि सुख त कहाँ रहेछ र?,’ लेकमायाले भनिन्, ‘गाउँमा त बरू कन्दमूल खोजेर खाइन्थ्यो यहाँ त त्यो उपाय पनि छैन। मजदुरी गरेर कमाएको पैसा छोरा, छोरीलाई कापी, किताब, स्कुलमा लगाउने कपडा किन्दैमा ठिक्क हुन्छ।’
चितवन राष्ट्रिय निकुञ्जले दुई वर्षअघि माडीको कुसुमखोला गाउँका घर, टहराहरूमा आगो लगाइदिएपछि वर्षौंदेखि त्यहाँ बस्दै आएका मान्छे विभिन्न ठाउँका ऐलेनी जमिनमा पुगेर बसेका थिए।
गाउँबाट हटाएपछि माडी नगरपालिकाले सुकुम्बासी परिवारलाई जग्गा दिने र घर बनाइदिने निर्णय गरेको थियो।
कुसुमखोला बस्ती हटाइएको विषयमा ठूलो बहस भइरहँदा राजनीतिक दलका शीर्षस्त नेताहरूले पनि सुकुम्बासीलाई पुनर्स्थापना गर्ने आश्वासन दिएका थिए।
त्यही मौकामा जिल्लाका अन्य ठाउँका सुकुम्बासी चेपाङ पनि माडी पसे। शिवद्वारस्थित टुनामुना खोलाको किनारमा बस्न थाले। उनीहरूमध्येकै एक परिवार हो लेकमायाको परिवार।
‘सुकुम्बासी चेपाङलाई घर, जग्गा दिने रे भन्ने सुनेर झरेको, एक टुक्रा जग्गा त भेटाइयो,’ उनले भनिन्,‘तर खान, बस्न, बच्चाहरूलाई पढाउन साह्रै दुःख छ।’
यो परिवार पोहोर माडी झर्दा धान रोपेर सकिएको थियो। यसपालि धान रोप्न केही जमिन अधियाँमा लिएको लेकमायाले सुनाइन्।
तर खेतमा पानी लैजाने कुलोको व्यवस्था नभएको र बेलैमा पानी नपरेकाले असार सकिनलाग्दा पनि रोप्न नपाएको उनले सुनाइन्।
जालीमाया चेपाङको परिवार पनि धानकै लोभमा राप्ती नगरपालिकाको कोराकबाट दुई वर्षअघि माडी झरेको थियो।
एउटा खाट, कुनामा ओदान र केही भाँडा–वर्तन, कपडा रहेको झुप्रोभित्र एक बोरा धान पनि थियो।
वर्षा नहुँदा नयाँ धान रोप्न नपाएको समस्या त जालीमायालाई छँदैछ, वर्षा भइहाले भएको एकबोरा धानलाई कसरी जोगाउने भन्ने पिरलो पनि उत्तिकै छ।
‘आकाशबाट पानी पर्न थालेपछि खरको ओत लाग्दैन। कसरी बस्ने, बच्चाहरू, धानलाई कसरी जोगाउने भन्ने पिरलो छ,’ उनले सुनाइन्, ‘धानको लोभमा बेसी झर्दा बिचल्ली भयो।’
दीपकुमार चेपाङ २०५२ सालमा धादिङको स्यादुलबाट बसाइ सरेर चितवनको कोराक पुगेका थिए।
२०५६ सालमा उनी परिवार लिएर कुसुमखोला बसाइ सरे।
दुई वर्षअघि निकुञ्जको टोली लखेट्न पुग्दा कुसुम खोलाबाट भाग्नेमध्येका हुन् दीपकुमार। भएको सानो झुप्रोमा आगो लागेपछि उनको परिवार टुनामुना खोलाको किनारमा अर्को झुप्रो बनाएर बस्न थाले।
सञ्जुमाया चेपाङ दस वर्षअघि पहाडी गाउँ ठकुरी भन्ज्याङबाट दीपकुमारका छोरासँग विवाह गरे कुसुमखोला पुगेकी थिइन्। त्यहाँबाट लेखेटिएपछि बनाएको उनको झुप्रोमा केही दिनअघि आगलागी भएको छ। बस्ने ठाउँ खरानी भएपछि यो परिवार गोठमा बस्न थालेको छ।
‘हाम्रो भागमा दुःखमात्रै छ कि जस्तो लाग्छ। सुख त अरूको भागमा मात्रै लेखेको रहेछ,’ उनले भनिन्, ‘गाउँको घरमा सरकारले आगो लगाइदियो, बेसीको घरमा आफैं आगो लाग्यो।’
उनले अधियाँमा रोपेर जोडेको धान, मकै सबै आगोले स्वाहा बनाइदिएको बताइन्।
माडी–८ स्थित टुनामुना खोलाको किनारमा कुसुमखोला र अन्यत्रबाट सरेका गरेर २८ परिवार बस्दै आएका छन्।
खोलाको बलौटे जमिनमा बसेको यो बस्तीमा बढीको जोखिम छ। दुई वर्ष अघिको बाढीले यो गाउँका एक जनालाई बगाएको थियो। त्यतिखेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यहाँ पुगेर मृतकका परिवार र स्थानीयलाई भेटेका थिए।
‘पीर नगर्नु तपाईंहरूलाई बस्ने, खाने व्यवस्था गर्न मैले प्रयास गरेको छु भनेर फर्कनुभयो। तर प्रयास भएको त केही देख्दैनौं,’ सञ्जुमायाले भनिन्, ‘हेर्दाहेर्दै घर नजिकै मन्दिर बनाएर मूर्तिहरूलाई ओत लगाए, हामी भने तारा गनेर सुत्नुपर्छ।’
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियतामा बनेको राम मन्दिर यो सुकुम्बासी बस्तीबाट करिब २ किलोमिटर पर पर्छ। सञ्जुमायाले माडीलाई मणि बनाउँछौं भन्नेहरूले सुकुम्बासीलाई भोट हाल्ने साधनमात्रै बनाएको बताइन्।
‘तिनलाई भोट त यसपालि पनि चाहिएला नि। यस्तै हो भने अब कसैलाई पनि भोट हाल्ने होइन,’ उनले भनिन्, ‘हामीलाई खान, बस्न, बच्चा बढाउन सहयोग गर अनि बल्ल भोट दिन्छौं।’