चितवनको सौराहामा ‘क्यानोपी वाक ब्रिज’ निर्माण गरिने भएको छ। सौराहास्थित बाघमारा सामुदायिक वनमा वन्यजन्तु अवलोकनका लागि क्यानोपी वाक ब्रिज निर्माण गर्न प्रदेश सरकारले बजेट छुट्टाएको छ। बाघमारा सामुदायिक वन चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको वन हो।
बागमती प्रदेश सरकारले पर्यापर्यटनको विकासका लागि ‘क्यानोपी पर्यटन’को अवधारणा अघि बढाएको पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठले बताए।
क्यानोपी वाक ब्रिज जंगलभित्र बन्ने पुल (झोलुङ्गे पुल आकारको)हो। पर्यटकले यो पुलमा यात्रागरी वन र वन्यजन्तुको अवलोकन गर्न सक्छन्।
सौराहा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रको वन र वन्यजन्तुमा आधारित पर्यटकीय क्षेत्र हो। यहाँ पुग्ने पर्यटकहरू जिप, हात्ती, डुँडा सफारीमार्फत् जंगल घुम्ने गर्छन्। पदयात्रा गरेर जंगल घुम्ने व्यवस्था पनि छ। वर्षौंदेखि चल्दै आएका यी गतिविधिमा अब क्यानोपी पनि थप गर्ने तयारीमा बाघमारा सामुदायिक वन अगाडि बढेको अध्यक्ष जितु तामाङले बताए। उनले चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषसमेतको पहलमा वातावरण र वन्यजन्तुमैत्री क्यानोपी निर्माणको योजना अघि बढेको बताए।
क्यानोपी निर्माणका लागि प्रदेश सरकारले यस वर्ष २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अध्यक्ष तामाङले सामुदायिक वनले कार्ययोजनामा पारेर पहल गरेपछि पर्यटन मन्त्रालयले बजेट छुट्टाएको बताए।
‘सौराहा आउने पर्यटकका लागि नयाँ गतिविधि निर्माण गर्नुपर्छ भनेर हामीले क्यानोपी ब्रिजको अवधारणा अघि सार्दै कार्ययोजनामा पारेका थियौं। मन्त्रालयलाई प्रस्ताव गरेपछि मन्त्री बजेट छुट्टाउन तयार हुनुभयो,’ तामाङले भने। उनले क्यानोपी पर्यटन विकासको प्रस्ताव राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा पठाउन लागेको जानकारी दिए। वनले पठाएको प्रस्तावलाई विभागले स्वीकृत गरेपछि डिपिआर निर्माणको काम सुरू हुने उनले बताए।
‘यस वर्ष अनुमति लिएर डिपिआर निर्माण गरी काम सुरू गर्ने लक्ष्य राखेका छौं,’ अध्यक्ष तामाङले भने, ‘अर्को वर्षमा निर्माण सक्ने तयारी छ।’
यहाँ बन्ने २५ फिट अग्लो क्यानोपीको लम्बाई एक किलोमिटरको हुनेछ। बीचबीचमा पर्यटकलाई थकाई मार्न ६ वटा प्राकृतिक मचान निर्माण गरिनेछ। मान्छेले वन्यजन्तु देख्ने तर वन्यजन्तुले मान्छे नदेख्नेगरी अग्ला सिमलको रूखमा मचान निर्माण गरिनेछ।
‘सकेसम्म सबै पिल्लरको काम रूखले नै गर्ने, रूख नभएको ठाउँ परे सिमेन्टको पिलर बनाएर काठको लेपन गर्ने योजना छ,’ उनले भने, ‘पूर्ण रूपमा वातावरण र वन्यजन्तुमैत्री नमूना क्यानोपी निर्माण गर्नेछौं।’
प्रदेश मन्त्री श्रेष्ठले क्यानोपी ब्रिजलाई बहुवर्षीय योजनाअन्तर्गत राखेर आगामी वर्ष पनि बजेट छुट्टाउने आश्वास दिएका छन्। सामुदायिक वनका अध्यक्ष तामाङले प्रदेश सरकारले दिने बजेट अपुग भए अन्य निकायसँग मिलेर भने पनि आगामि वर्ष निर्माण सक्ने लक्ष्य रहेको बताए। उनकाअनुसार एक किलोमिटर लम्बाईको उक्त संरचना बनाउन ८ देखि १० करोड रुपैयाँ लाग्छ। सामुदायिक वनको बूढी राप्ती र राप्ती नदीको संगमस्थल नजिकै निर्माण गर्ने योजना छ।
सौराहा आउने कुल पर्यटकमध्ये करिक २५ प्रतिशतले हात्ती चढेर जंगल घुम्ने गरेका छन्। अहिले युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थामार्फत सञ्चालन हुने सौराहाका २९ वटा हात्तीले बाघमारा सामुदायिक वनमा पर्यटक घुमाउने गर्छन्।
पशु अधिकारका कुरा उठाउँदै हात्ती सफारीको विरोध पनि पछिल्ला दिनमा बढिरहेको छ। हात्तीलाई यातना दिन हुँदैन भन्ने आवाज बढिरहँदा आएको क्यानोपीको अवधारणाले पर्यटकको ध्यान तान्नसक्ने आँकलन पर्यटन व्यवसायीहरुको छ।
‘व्यवसायीहरूले धेरै पैशा लगानी गरेर हात्ती खरिद गरेकाले हात्ती सफारीको विकल्प क्यानोपीलाई बनाउनु हुँदैन। हात्तीको व्यवसाय र क्यानोपी दुबै सफल हुने तरिकाले अघि बढ्नुपर्छ,’ एक व्यवसायी भन्छन्।
क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले क्यानोपी वाक सौराहामा धेरै पर्यटक भित्र्याउने गतिलो माध्यम बन्न सक्ने बताए। सौराहाको पर्यटन उद्योगलाई माथि उठाउन स्वदेशी तथा विदेशी पर्यटकले रूचाउने खालका गतिविधि सञ्चालन गर्नु आवश्यक रहेको उनले बताए।
वनका अध्यक्ष तामाङका अनुसार नेपालमै पहिलो पटक सौराहामा क्यानोपी निर्माण गर्न लागिएको हो।
भारत, मलेसिया, युरोपका देशहरुमा क्यानोपी वाक सफल भइरहेको बताउँदै उनले नेपालमा धेरै विदेशी पर्यटक भित्र्याउन यो सहयोगी हुने दाबी गरे।