आर्थिक वर्ष २०७८/०७९ मा चितवन राष्ट्रिय निकुञ्जमा ३७ वटा एकसिंगे गैंडा र छ वटा बाघसहित २०५ वन्यजन्तुको मृत्यु भएको छ।
निकुञ्जले उपलब्ध गराएको विवरणअनुसार एक वर्षभित्र १०४ वटा वन्यजन्तुहरू प्राकृतिक कारणले (उमेर पुगेर, बिरामी भएर, बाघको आक्रमणबाट) मरेका छन्। कुकुरको आक्रमणबाट ५९, तारजालीमा परेर १६, सडक दुर्घटनामा परेर ११, चोरी-सिकारीबाट २ वटा वन्यजन्तुको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।
यसबाहेक १२ वटा वन्यजन्तुको मृत्युको कारण नखुलेको र पूर्व–पश्चिम राजमार्गको टिकौलीस्थित निर्माणाधीन सडकको नाली बनाउन खनिएको खाडलमा फसेर एक गैंडाको मृत्यु भएको तिवारीले बताए।
गत वर्ष मृत्यु भएका ३७ वटा गैंडामध्ये २ वटालाई सिकारीले मारेको निकुञ्जले उल्लेख गरेको छ। तिवारीका अनुसार गत फागुन ४ गते घाँगर क्षेत्रमा लिंग र उमेर पहिचान नभएको एउटा र फागुन ६ गते धोबा क्षेत्रमा २८ वर्षको पोथी गैंडाको चोरी-सिकारीबाट मृत्यु भएको हो।
ती गैंडाहरूमध्ये १८ वटा भाले, १४ वटा पोथी र ५ वटा लिंग पहिचान नभएका छन्। ६ वटा गैंडाको मृत्यु बाघको आक्रमणबाट भएको छ। बाघको आक्रमणबाट मृत्यु हुने सबै गैंडा ५ वर्षमुनिका हुन्। पाँच वर्षभन्दा कम उमेरमै मृत्यु भएका थप ७ वटा गैंडाको अन्य कारणबाट मृत्यु भएको छ। २० वर्षभन्दा बढी उमेर भएका बुढा गैंडाहरू १६ वटा मरेका छन्। गैंडाहरूको मृत्युको कारण बुढो भएर, बाढीले बगाएर, दलदलमा भासिएर, आपसमा जुधेर, माउसँग छुट्टिएर, खाडलमा परेर भएको तिवारीले बताए।
गत माघ १० गते वनदेवी वरण्डाभार मध्यवर्ती सामुदायिक वन क्षेत्रबाट निस्किएको १२ वर्षे वयस्क भाले गैंडाको पूर्व–पश्चिम राजमार्गको खाल्डोमा फसेर मृत्यु भएको थियो। गैंडाको मृत्यु भएपछि वन मन्त्रालयले वन विभागका उपमहानिर्देशक डा.राजेन्द्र केसीको संयोजकत्वमा छानबिन समिति बनाएको थियो। उक्त समितिले छानबिन सकेर प्रतिवेदन बुझाइसके पनि मन्त्रालयले प्रतिवेदन सार्वजनिक गरेको छैन।
तत्कालीन वनमन्त्री रामसहायप्रसाद यादवले प्रतिवेदनमा तत्कालीन अवस्थामा निकुञ्ज, सडक डिभिजन कार्यालय र निर्माण कम्पनीका जिम्मेवार व्यक्तिहरूलाई दोषी ठहर गरेको बताएका थिए। उनले दोषीलाई कारबाही हुने बताएका थिए। तर कारबाहीको जानकारी मन्त्रालयले दिएको छैन।
गत आर्थिक वर्षमा चितवन निकुञ्जमा ६ वटा बाघ, २ वटा हात्ती, १० वटा अर्ना, २ वटा निलगाई, एउटा गौरीगाईको प्राकृतिक कारणबाट मृत्यु भएको निकुञ्जले जनाएको छ। ६ वटा बाघको उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी तिवारीले जानकारी दिए। मृत्यु भएका २ वटा हात्ती सरकारी घरपालुवा हुन्।
चार वटा घडियाल गोही र ३ वटा मगर गोहीको गत आर्थिक वर्षमा मृत्यु भएको छ। घडियाल गोहीमध्ये एउटा प्राकृतिक कारणबाट मरेको र तीन वटाको मृत्युको कारण नखुलेको तिवारीले बताए। मगर गोहीहरू २ वटा प्राकृतिक कारणले र एउटाको सडक दुर्घटनामा मृत्यु भएको हो।
वर्षभरमा मृत्यु भएका वन्यजन्तुमा चित्तलको संख्या मात्रै ८६ छ। गत आर्थिक वर्षमा ५२ वटा चित्तलको कुकुरको आक्रमणबाट मृत्यु भएको तिवारीले जानकारी दिए। १५ वटा प्राकृतिक कारणबाट, १४ वटा तारजालीमा परेर, ४ वटाको सवारी दुर्घटनामा मृत्यु भएको हो।
सूचना अधिकारी तिवारीका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा पंक्षी र सरीसृपसमेत गरी २९ प्रजातिका २०५ वटा वन्यजन्तुको मृत्यु भएको छ।