भरतपुर अस्पतालले डाक्टर, नर्ससहित ४७ जना स्वास्थ्यकर्मी माग गरेको छ। करार सेवा र मासिक ज्यालादारीमा डाक्टर, स्टाफ नर्स, फार्मेसी सहायक र ल्याब टेक्निसियन माग गरिएको सूचना प्रकाशन गरेको छ।
सोमबार प्रकाशन भएको सूचनामा तत्कालका लागि ६ महिना काम गर्नेगरी ८ जना करार सेवा र ५ जना मासिक ज्यालादारी सेवाका लागि मेडिकल अधिकृत माग गरिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए। अस्पतालले १२ जना करार र १२ जना मासिक ज्यालादारीमा स्टाफ नर्स मागेको छ। एक/एक जना करार र चार/चार जना मासिक ज्यालादारीमा फार्मेसी सहायक र ल्याब टेक्निसियन मागेको छ।
अस्पतालमा नयाँ सेवाहरू थप हुँदा जनशक्ति अपुग भएपछि विज्ञापन गरिएको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कृष्णप्रसाद पौडेलले बताए। स्वीकृत दरबन्दी नहुँदा करारमा विज्ञापन गर्न नमिल्ने भएकाले मासिक ज्यालादारीमा पनि विज्ञापन गरिएको पौडेलले बताए।
‘पहिले दैनिक ज्यालादारी भनेर मेडिकल अधिकृत राख्ने गरिन्थ्यो। विज्ञापन खोल्ने चलन थिएन। मेडिकल सुपरिटेन्डेन्टले जसलाई मन लाग्यो उसलाई काममा राख्ने चलन थियो,’ पौडेलले भने, ‘त्यसमा सुधार गरेर अहिले विज्ञापन खोल्न थालेका छौं।’
दैनिक ज्यालादारीमा डाक्टर, नर्स राख्दा राजनीतिक दलका नेताहरूले आफ्ना मान्छेलाई राखिदिनुपर्यो भनेर हैरान पार्ने गरेको उनले बताए।
पौडेलले अब करार सेवा र मासिक ज्यालादारीको एउटै परीक्षा लिएर वैकल्पिकमा नाम निस्केकालाई मासिक ज्यालादारीमा राख्ने बताए।
‘दुबैको अवधि ६ महिनाको हुन्छ। आवश्यकताअनुसार अवधि थप हुनसक्छ,’ पौडेलले भने, ‘जनशक्तिको खाँचो पर्यो तर दरबन्दी सबै स्वीकृत नभएको भएर ज्यालादारीमा राख्नुपरेको हो।’