बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरले २०७८ साल असारमा रेडियोलोजी विभागका लागि दुई जना डाक्टर आवश्यक परेको भनेर विज्ञापन गर्यो।
दरखास्त एक जनाको मात्रै पर्यो।
परीक्षा भएर नतिजा आउन झन्डै एक महिना लाग्यो। आवेदक व्यक्ति क्यान्सर अस्पतालको रेडियोलोजी विभागका लागि उत्तीर्ण भए।
करिब नौ महिनापछि वैशाखमा काम सुरु गरे तर एक महिनामै राजीनामा दिए। त्यति लामो समय र करिब एक लाख रुपैयाँ खर्च गरेर पूरा गरेको प्रक्रिया निरर्थक भयो। अस्पताललाई रेडियोथेरापी विभागमा पनि केही प्राविधिकको खाँचो थियो। विज्ञापन गर्दा एक जनाको मात्रै दरखास्त पर्यो तर ती व्यक्ति परीक्षामा उत्तीर्ण हुन सकेनन्।
विज्ञापन र प्रक्रियामा लामो समय गुज्रियो तर अस्पतालले आवश्यक जनशक्ति पाउन सकेन।
मेडिकल अंकोलोजी विभागअन्तर्गत रगतको क्यान्सरसम्बन्धी उपचार गर्ने हेमाटो अंकोलोजी वार्डका लागि डाक्टरको खोजीमा पनि क्यान्सर अस्पतालले गत वर्ष धेरै समय लगायो। कसैको पनि दरखास्त परेन। हाल अस्पतालमा मेडिकल अंकोलोजीका विशेषज्ञ डाक्टर पाँच जनामात्रै छन्। हेमाटो अंकोलोजीमा एक जना पनि विशेषज्ञ डाक्टर छैनन्।
अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमका अनुसार यी तीन वटा विभागमा डाक्टर र प्राविधिक जनशक्ति नियुक्तिका लागि धेरै प्रयास गर्दा पनि सफल भएको छैन।
‘एक जना स्टाफका लागि विज्ञापन गरेर नियुक्ति गर्दासम्म महिनौँ लाग्छ, एक लाख रुपैयाँसम्म खर्च हुन्छ तर नियुक्ति पाएको केही दिनमै जागिर छाड्दा अस्पताललाई ठूलो समस्या भएको छ,’ उनले भने।
उनले रेडियोथेरापी र हेमाटोलोजीको पढाइ नेपालमा नहुने भएकाले जनशक्ति पाउन कठिन भएको बताए।
‘पटक–पटक विज्ञापन गर्दा पनि दरखास्त नै नपर्ने समस्या भयो,’ उनले भने, ‘बिरामीको चाप दिनहुँ बढिरहेको छ तर त्यही अनुपातमा जनशक्ति राख्न नसक्दा भएको जनशक्तिलाई कामको बोझ बढेको छ।’
बिरामीको गुनासो र महालेखाको प्रश्न
यहाँ आउने बिरामीहरूले उपचारमा ढिलाइ हुने गरेको गुनासो गर्ने गरेका छन्। उनीहरू अस्पतालमा उपचारका लागि पालो कुर्दाकुर्दा हैरान हुने गरेको बताउँछन्।
आर्थिक वर्ष २०७७/७८ को महालेखा परीक्षकको प्रतिवेदनमा पनि क्यान्सर अस्पतालको रेडियोथेरापी विभागमा उपचारमा ढिलाइ हुने गरेको कुरा उल्लेख गरिएको छ।
‘रेडियोथेरापी गर्न दुईदेखि चार हप्तासम्म प्रातीक्षा गर्नुपर्ने देखिन्छ। अस्पतालले उपकरण र जनशक्ति अभावका कारण उपचारमा ढिलाइ हुनेगरेको उल्लेख गरेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘जनगुनासो सम्बोधन हुने गरी सेवा प्रवाह छिटो, छरितो र गुणस्तरीय बनाउनु पर्दछ।’
प्रतिवेदनमा अस्पतालमा ८४८ कर्मचारीको पद स्वीकृत भएकोमध्ये ७०० पदपूर्ति भई १४८ पद रिक्त रहेको र रिक्त पदमा १०३ जनालाई अस्थायी तथा सेवा करारमा नियुक्ति गरेको उल्लेख गरिएको छ।
तैपनि रेडियोथेरापीमा कर्मचारी १३ जना र चिकित्सक १३ जना लगायतको पद रिक्त रहेको देखिएको प्रतिवेदनमा जनाइएको छ।
अस्पतालको सेवा प्रवाह प्रभावकारी बनाउन चिकित्सकलगायत कर्मचारी कार्यालय समयभर अस्पतालमा उपस्थित हुनुपर्नेमा उनीहरूले अन्यत्र काम स्वीकृति पाउने भएकाले रेडियोथेरापी सेवाका लागि चार हप्तासम्म प्रतीक्षा गर्नुपर्ने अवस्था रहेको कुरा प्रतिवेदनमा जनाइएको छ।
महालेखा परीक्षकको प्रतिवेदनमा भनिएको छ, ‘दरबन्दीअनुसार पदपूर्ति गरी अन्य संस्थामा काम गर्न स्वीकृति दिने प्रावधानमा पुनरावलोकन गरी सेवा प्रवाहमा सुधार गर्नु पर्दछ।’
महालेखाको संकेत डाक्टरलाई निजी अस्पतालमा काम गर्न स्वीकृत दिएर अस्पतालको सेवामा बेवास्ता गर्ने प्रवृत्तितर्फ छ।
जागिर सरकारी अस्पतालको, टिकट बिक्री निजीको
एक जना बिरामीले यहाँ काम गर्ने एक डाक्टरले बिरामीलाई निजी अस्पतालमा रिफर गर्ने र यहीँ बसेर निजी अस्पताल तथा ल्याबको टिकट दिएर पैसा लिने गरेको गुनासो सेतोपाटीसँग गरे।
‘मेरो नाम भनिदिनुभयो भने त ढिलो पनि उपचार पाउँदिन होला,’ लागि सर्लाहीबाट आएका एकजना क्यान्सररोगीले सेतोपाटीसँग गुनासो गरे, ‘कहिले डाक्टर हुँदैन, कहिले कर्मचारी हुँदैन। खर्च बढेको बढ्यै छ।’
कार्यकारी निर्देशक डा. गौतमले सरकारी अस्पतालमा बसेर निजीका लागि काम गर्न नमिल्ने बताए। उनले कोही पनि स्वास्थ्यकर्मी आफ्नो ड्युटी समयमा निजी अस्पताल नगएको दाबी पनि गरे।
‘यहाँको ड्युटी सकिएपछि कता जान्छन्न् भन्ने त अस्पतालले हेर्ने कुरा भएन। एक डाक्टर, एक अस्पतालको नीति लागू भएछ भने त्यतिखेर हेर्नुपर्ला,’ उनले भने, ‘यहाँको काम छाडेर निजीमा जान पाइँदैन।’
उनका अनुसार ओपिडीका डाक्टर बिहान ९ बजेदेखि अपराह्न साढे ४ बजेसम्म अस्पतालमै हुनुपर्छ। अप्रेसनका डाक्टर आवश्यक परेको जुनसुकै समयमा उपलब्ध हुनुपर्छ। कार्यालय समयमा अस्पताल हुनै पर्छ।
डा. गौतमले यसो भने पनि हाँजिर गरेर बाहिरिने कर्मचारीहरूलाई अस्पतालले रोक्न नसकेको एक कर्मचारीले बताए।
ती कर्मचारीले भने, ‘बिहान हाफपाइन्ट लगाएर हाँजिर गर्न आउँछन्। दिनभर बाहिरको काम गरेर साँझ फेरि हाजिर गर्न आउने स्टाफ छन् तर उनीहरूलाई कसैले कारबाही गर्न सक्दैन।’
डा. गौतमले कर्मचारीलाई कार्यालय समयमा अन्यत्र जान नदिन र अस्पतालका सेवा सकेसम्म छिटोछरितो बनाउन आफू तल्लीन रहेको बताए।
‘रेडियोथेरापी विभागमा चार हप्तासम्म कुर्नुपर्छ भन्ने कुरामा पनि सत्यता छैन। बिरामीले कुर्नै पर्ने अवधि हो। त्यति अवधि नपर्खिकन रेडियोथेरापी सुरु गर्नै मिल्दैन,’ उनले भने, ‘यो कुरा बुझ्नमा समस्या भयो जस्तो लाग्यो। महालेखाले त्यही कुरा प्रतिवेदनमा राखेछ।’
उनले कोरोना महामारीको समयमा पनि चौध सयभन्दा बढी बिरामीको रेडियोथेरापी गर्न सक्नुलाई उपलव्धि भने।
बिरामीको चापअनुसार उपकरण र जनशक्ति छैन
क्यान्सर अस्पतालले रेडियोथेरापी विभागमा बिरामीको चाप बढ्दै गए पनि आवश्यक उपकरण र जनशक्ति थप गर्न नसक्दा समस्या भइरहेको जनाएको छ।
बिरामीको चाप सात वटा मेसिन चाहिने खालको भए पनि अस्पतालमा हाल तीन वटा मेसिनमात्रै चालु अवस्थामा रहेको र एउटा नयाँ मेसिन सञ्चालनमा ल्याउन लागिएको कार्यकारी निर्देशक डा. गौतमले बताए।
यस्तो अवस्थामा पनि दैनिक दुई सय जना बिरामीलाई सेवा दिन सकेको उनले बताए।
पटकपटक विज्ञापन गर्दा पनि जनशक्ति नपाएका विभाग र वार्डमा पदपूर्तिका लागि जेनरल मेडिसिनका डाक्टरको विज्ञापन खुलाएर
उनीहरूलाई तालिम दिने व्यवस्था गर्नुपर्ने निर्देशक डा. गौतमको धारणा छ। स्थायी नियुक्ति गर्दा प्रक्रिया र खर्च बढी हुने, छिटै छोड्न सक्ने देखिएकाले करारमा पनि नियुक्ति गरेर भए पनि सेवा सहज बनाउनेतर्फ लाग्ने उनले बताए।
अस्पतालको नियमावली परिमार्जन गरेर भए पनि प्याथोलोजी, रेडियोथेरापी, एनेस्थेसिया प्राविधिक, रेडियालोजी, हेमाटो अंकोलोजी, मेडिकल अंकोलोजीका डाक्टरहरूका लागि विज्ञापन गर्दा पनि दरखास्त नपर्ने र थोरै पर्ने समस्या रहेको अस्पतालका प्रशासन प्रमुख जेएन महतोले बताए।
उनका अनुसार नियुक्ति पाएपछि छाड्ने क्रम पनि धेरै छ। स्टाफनर्स, डाक्टर सबैमा यस्तो समस्या छ।
‘थोरै राम्रो अवसर पाउने बितिक्कै छाडिहाल्छन्,’ उनले भने।