पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको आधिकारिक इन्स्टाग्राम खाता ह्याक भएको छ।
पाकिस्तान तहरीक-ए-इन्साफ (पिटिआई) का अध्यक्ष समेत रहेका खानको इन्स्टाग्राम सोमबार ह्याक भएको टाइम्स अफ इन्डियाले जनाएको छ।
टाइम्स अफ इन्डियाका अनुसार ह्याकरले इमरानको इन्स्टाग्राम ह्याक गरेपछि उक्त अकाउन्टबाट क्रिप्टोकरेन्सीका बारेमा प्रचारात्मक ट्विट सेयर गरेको पाइएको छ। उनको इन्स्टाग्रामको उक्त लिंकमा अमेरिकी कार निर्माता कम्पनी टेस्लाका मालिक एलन मस्कको क्रिप्टो खाताको नक्कली लिंक पनि संलग्न गरिएको थियो।
इमरान खानको इन्स्टाग्राममा हाल ७४ लाखभन्दा बढी फलोअर्स छन्।
इमरान खानले अहिलेसम्म आफ्नो इन्स्टाग्राम ह्याक भएकोबारे कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।
उनका पार्टीका सदस्यहरू र फलोअर्सहरूले भने कुनै पनि अनैतिक पोस्टमा अन्तर्क्रिया नगर्न सुझाव दिइरहेका टाइम्स अफ इन्डियाले लेखेको छ।
गत डिसेम्बरमा सर्बियामा पाकिस्तानी दूतावासको ट्विटर ह्यान्डलले सरकारी अधिकारीहरूलाई तलब नतिरेकोमा सन्देश पोस्ट गरेको थियो। उक्त पोस्टले पिटिआई सरकार र इमरान खानलाई ठूलो अप्ठ्यारोमा पारेको थियो। पछि सरकारी अधिकारीहरूले उक्त खाता ह्याक भएको दाबी गरेका थिए।