पुनम सिंह अचेल खैरो रङको कपडा लगाएको कोही मान्छे परै देखिन् भने पनि झस्किन्छिन्। धनगढीमा डेरा गरी बस्ने बझाङकी ३५ वर्षीया पुनम छ महिनादेखि ठेलामा आइसक्रिम राखेर बेच्दै आएकी छन्।
‘मलाई त खैरो रङको कपडा लगाएको मान्छे देख्दा पनि डर लाग्छ,’ उनले गएको शुक्रबार सेतोपाटीसँग भनिन्, ‘नगर प्रहरी हो कि जस्तो लागेर तर्सिन्छु।’
आइसक्रिम बेच्न थालेपछि सुरूका चार महिना त केही पनि समस्या थिएन। दुई महिनायता भने नगर प्रहरीले बेला-बेला आएर ठेला व्यपारीलाई धपाउन थालेको छ। नगर प्रहरी देखे भाग्नुपर्ने भएकाले उनी खैरो रंग लगाएका मान्छे पर देख्दा पनि तर्सिन थालेकी हुन्। नगर प्रहरीले ठेलाको सामान पनि खोसिदेलान् भन्ने सम्झे मुटु फुल्न थाल्छ।
‘बाटोमा किन ठेला लगाएको भन्दै सोध्छन्, जवाफ दिन नपाउँदै धपाउँछन्,’ उनले भनिन्, ‘१० रुपैयाँको आइसक्रिम बेचेर तीन रुपैयाँ कमाउँछु। यो पनि गर्न नपाए के फेरि भारत जानु?’
उनलाई बिहान-बेलुका गुजारा टार्न आइसक्रिमको यही ठेलाको भर छ। यो पनि छोड्नुपर्यो भने फेरि भारत जानुपर्छ भन्ने सम्झेर उनी आत्तिन्छिन्। जीवनका दुई दशक बिताएको भारत फर्किन उनलाई कत्ति पनि मन छैन।
‘भारतमा भोगेको दुःख मलाई सम्झिरहन मन हुँदैन। तर अचेल भने याद आइरहन्छ अनि मलाई सास फेर्न पनि गाह्रो पर्छ,’ उनले भनिन्।
पुनम १० वर्षको उमेरसम्म आमाकै काखमा हुर्किइन्। बुवा पैसा कमाउन भारत गएका थिए, उतै अर्को बिहे गरेछन्। आमालाई केही पनि सहयोग गरेनन्।
कहिलेकाहीँ आउँथे अनि पुनमकी आमा गर्भिणी हुन्थिन्। फेरि सन्तान जन्माउँथिन्। ती सबै सन्तान आमाले एक्लै सम्हालिन्, अनेक कष्टले पाँच सन्तान हुर्काइन्।
आमाले पनि धेरै नसक्ने भइन्। त्यसको असर पुनम र उनकी दिदीको जिन्दगीमा पर्यो। पुनमकी दिदीको १३ वर्षको उमेरमा बिहे भयो। पुनमको त झन् १० वर्षमै भइगयो।
‘हाम्रातिर महिनावारी हुनुअगाडि नै बिहे गर्ने चलन थियो,’ उनले भनिन्, ‘त्यसमाथि आमाले एक्लै पाल्न नसकेर १० वर्षमै मेरो बिहे गर्नुपर्यो।’
दस वर्षको उमेर ४५ वर्षका पुरूषसँग पुनमको बिहे भयो। ती पुरूषको भने दोस्रो बिहे रहेछ, उनका तीन छोराछोरी थिए।
श्रीमानले पुनमलाई भारत लगे। चौध वर्षको उमेरमा गर्भवती भइन्।
आफूभन्दा झन्डै पाँच गुणा बढी उमेरका श्रीमानले आफूमाथि अनेक हिंसा गरेको पुनमले बताइन्।
‘ममाथि शंका गर्ने, कसैसँग बोल्न नदिने गर्न थाले, तीन महिनाकी गर्भवती हुँदा कपाल समातेर भित्तामा ठोकेर पिटे,’ उनले भनिन्।
पुनमले छोरी जन्माइन् तर आयु लामो भएन, डेढ वर्षको उमेरमा बितिन्। त्यसपछि उनी विक्षिप्तजस्तै भइन्।
समय रोकिएन। छोरी बितेको वर्ष दिनमा पुनले छोरो जन्माइन्। श्रीमान दिल्लीमा चौकीदारी गर्थे। पुनम ठूला बिल्डिङमा झाडुपोछा लगाउँथिन्। उनलाई एक घरबाट भारतीय रुपैयाँ पाँच सयदेखि एक हजारसम्म तलब मिल्थ्यो।
पुनमले बिहेपछि करिब १२ वर्ष उनै पतिसँग बिताइन्। करिब २२ वर्ष उमेरकी पुनम बल्ल आफ्नो जिन्दगीबारे सोच्न थालिन्।
आफूभन्दा ३५ वर्ष जेठा त्यसमाथि हिंस्रक मानिससँग जिन्दगी बिताउन उनले कठिन देखिन्। उनलाई दिन प्रतिदिन गाह्रो हुँदै गयो। साथीहरूले यस्तो बिहे कसरी भयो भनेर सोध्ने गरेका थिए।
अन्ततः पुनम अर्को बिहे गर्ने निर्णयमा पुगिन्।
उनले भनिन्, ‘उमेर बढ्दै गएपछि मेरो पनि दिमाग आयो। मलाई हिंसा सहन हुन्न भन्ने लाग्यो अनि अर्को बिहे गरेँ।’
गाडी चलाउने ड्राइभरसँग उनी भागिन्। ती व्यक्तिको पनि पहिले नै बिहे भइसकेको रहेछ। घरमा श्रीमती र तीन छोरा रहेछन्।
पुनम आएपछि गाडी चलाउन छाडेर उनले होटल सुरू गरे। एक दिन पार्टीमा गएका बेला पाँच तले घरको छतबाट खसेर उनका दुबै खुट्टा र एक हात भाँचिए। एक महिना अस्पतालमा बस्नुपर्यो। चार महिना बिस्तारामा परे। पुनमले स्याहारसुसार गरिन्।
भारतमा गरी खान कठिन भयो।
एकताका पुनम एक वकिलकोमा काम गर्थिन्। कमाएको पैसा श्रीमानको ओखती र खानपानमै सकिन्थ्यो।
कति दिन त उनले खान पनि पाइनन्। सडकबाट टिपेर पनि खाइन्। ती दिन सम्झँदै उनले भनिन्, ‘गाईलाई दिन सडकमा फालेको रोटी खाएर पनि कति दिन बसेँ।’
घरमा एक जना बिस्तारा परेपछि कमाउने पुनम एक्लै भइन्। घरघरमा भाँडा माझ्ने, झाडुपोछा लगाउने काम गरिन्। बिहान तीन बजे उठ्थिन् र राति नौ बजेसम्म काम गर्थिन्।
‘उहाँ थला परेपछि जेठी श्रीमतीका केटाकेटी पनि हेर्नु पर्यो। मेरो एउटा छोरो जन्म्यो, उसलाई हुर्काउन पर्यो,’ उनले भनिन्, ‘कमाउने मै मात्र भएँ।’
दिनरात काम गरेर परिवार चलाउँदै पुनमले वर्षौंपछि डेढ लाख रुपैयाँ जम्मा गरेकी थिइन्। एकएक पैसा गरेर वर्षौंको कमाइबाट जोडेको त्यो रकम र आफ्ना गरगहना बेचेर आएको पैसा हालेर उनले दिल्लीमा एउटा झुपडी किनेकी थिइन्।
त्यही झुपडी पनि एक दिन प्रहरी आएर उठाइदियो। उनीहरूलाई खेद्यो।
अब भारतमा गुजारा चल्ने देखिएन। एक्लो कमाइले पुग्ने भएन। हेपिनुको सीमा नै भएन। त्यसपछि पुनम नेपाल आइन्।
‘राम्रो कपडा लगाए पनि त्यहाँका साहुले कहाँबाट ल्याइस् भन्थे। यहाँ त देश आफ्नो हो, राम्रो होला भनेर आएँ,’ उनले भनिन्।
उनी तीन वर्षअघि धनगढी आइन्। अहिले उनका लागि जीवन धान्ने सहर धनगढी नै हो, दिल्लीजस्तै।
‘पहाडबाट दिल्ली पुग्न भाडा महँगो पर्ने, सहरमा बसेर छोरालाई पढाउँला, आफ्नो पनि केही व्यापार होला भन्ने सोचले धनगढी बसेँ,’ उनले भनिन्।
बच्चा पढाउन पर्यो। श्रीमानको उपचार खर्च जुटाउनु पर्यो। त्यो समय धनगढीका सडकमा प्रसस्तै छाडा गाई हुन्थे। उनले सडकबाटै दुई वटा गाई लगेर पालिन्। रित्तो छोडेको एउटा घरमा बस्ने र रेखदेख गरिदिने भनेपछि भाडा तिर्न परेन। थोरै जग्गामा गाई पनि पाल्न पाइन्।
एक वर्षमा एउटा गाई ब्यायो। अर्को गाई ब्याउने भएपछि बिक्री भयो। उनले १६ हजारमा दुई वटा बाख्रा किनिन्। यताबाट खर्च चल्न थाल्यो। उनले कुखुरा पनि पालिन्। जीवन राम्रै चल्ने लक्षण देखियो।
घाँस जंगलबाट ल्याउनुपर्थ्यो। समय आफूले भनेजसरी सोझो बाटोमा किन हिँड्थ्यो र! एक दिन जंगलमै बेहोस् भइन्।
‘जंगलबाट दाउरा र घाँस ल्याउँथेँ। एकदिन जंगलमै लडेर बेहोस भएछु। त्यसपछि श्रीमानले टाउको बिमारी छ, यस्तो काम नगर भन्न थाले,’ उनले भनिन्।
घाँस लिन जान बन्द भयो। गाई, बाख्रा र कुखुरा पनि मासिए। यसपछि मजदुरीमा लागिन्। ढुंगा बोक्दा तल्लो पेट दुखेर रगत बग्न थाल्यो। भारी बोक्न नसक्ने भइन्।
त्यहीबेलातिर रेखदेख गरिआएको घरका धनी आए। घर छोड्नु पर्यो।
त्यो घर छाडेर भाडाको कोठामा बस्न थालेको छ महिना भयो, महिनाको तीन हजार तिर्नुपर्छ। श्रीमान हिँड्डुल गर्न सक्छन् तर काम गरेर कमाउन सक्दैनन्।
नजिकै बस्ने एक जना साथीले आइसक्रिम बेच्न सल्लाह दिइन्। पुनम आइसक्रिम बनाउने कम्पनीमा कुरा गर्न गइन्। कम्पनीले नागरिकता माग्यो। उनको नागरिकता बनेको छैन। बुबा वा आमाको नामबाट नागरिकता बनाउन मिल्छ भन्ने पनि उनलाई थाहा रहेनछ।
एक जना आफन्तलाई लिएर फेरि एक पटक कम्पनीमा अनुरोध गर्न गइन्। उनले आइसक्रिम बेच्ने काम पाइन्।
त्यसपछि महिनायता घुम्ती ठेलाबाट आइसक्रिम बेचेर उनको खर्च चलेको छ। बिहान खाना बनाएर दुई छोरालाई स्कुल पठाउँछिन्। आफू १० बजेतिर आइसक्रिम लिन कम्पनीमा पुग्छिन् र त्यतैबाट बजार पस्छिन्।
मानिसहरू जम्मा हुने सडक र चोकहरू डुल्दै आइक्रिम बेच्नु पर्छ। दस रुपैयाँको बेच्दा तीन रुपैयाँ पाउँछिन्। अर्थात सय रुपैयाँमा ३० रुपैयाँ पाउँछिन्, ७० रुपैयाँ कम्पनीको।
पुनम महिनामा बढीमा ६० हजार रुपैयाँसम्मको आइसक्रिम बेच्छिन्, कम्तीमा ४० हजारको। यसरी मासिक १२ हजारदेखि १८ हजारसम्म कमाइ हुन्छ।
धनगढी उपमहानगर क्षेत्रमा यो व्यवसाय गरेबापत दैनिक २० रुपैयाँ कर तिर्ने गरेको उनले बताइन्।
महँगी आकासिएको छ। उनको कमाइले परिवार चलाउन मुश्किल पर्छ। छोराको स्कुल ड्रेस किन्न र शुल्क तिर्न नसकेको उनले बताइन्।
‘एक दिन मेडम (शिक्षक) ले मेरो बच्चालाई स्कुल नआउनू भन्नुभयो रे,’ उनले आँखाभरि आँसु पार्दै भनिन्, ‘स्कुलबाट आएर पाँच वर्षको छोराले साथीको बाबासँग काम गर्न जान्छु र ड्रेस किन्छु भन्यो। त्यस दिन मेरो भक्कानो फुट्यो।’
अहिले धनगढी उपमहानगरपालिकाले ठेलामा रोक लगाउन थालेपछि उनलाई विरह चल्न थालेको छ।
‘गाउँ गए भारी नबोकी हुँदैन, म सक्दिनँ। बजारतिर आइसक्रिम बिक्छ तर नगरपालिकाले अचेल ठेला लाउन दिँदैन,’ उनले भनिन्।
सुरूमा नगर प्रहरीले आइसक्रिमको ठेला नडुलाउन चेतावनी दिएर गएको थियो।
त्यसको दुई दिनपछि उनी ठेला लगाएर धारामा पानी खाँदै थिइन्। त्यही बेला केही प्रहरी आए। ‘तिम्रो बाउको रोड हो? अबदेखि ठेला नलगाउनू’ भनेर पुनमलाई धपाए।
‘मलाई उनीहरूको कुराले डर लाग्छ। हामी पनि त यही देशका दिदीबहिनी हौं, प्रहरी राम्रो बोल्दैनन्। आन्टी, दिदी भने पनि हुने, ओइ आइसक्रिम भन्छन्,’ पुनम भन्छिन्, ‘मलाई मेयर सा’पसँग तपाईंका प्रहरीले किन यस्तो भन्छन् भनेर सुनाउन मन छ।'
उनले फेरि थपिन्- नराम्रो शब्द बोल भनेर आदेश त दिएनन् होला। नगरबासीसँग राम्रा शब्द बोल्न भने सिकाएनछन्। ठेला बन्द गर्ने नगरपालिकाको कदमले पुनममात्रै होइन, अरू धेरै ठेला व्यवसायीको रोजीरोटी खोसिने भएको छ।
अहिले पुनमलाई ठेला लगाउन दिएन भने के गर्ने भन्ने पीर छ। घरि-घरि एक्लै भक्कानो छुट्छ।
‘म दुःखी भएको देखेर पाँच वर्षको छोरो के भयो भन्दै आँसु पुछ्न आउँछ। मेरो मन झन् भक्कानिन्छ,’ उनले भनिन्।
छोरो हेरेर बिस्तारै हिम्मत बटुल्छिन् अनि अर्को दिन फेरि ठेला लिएर निस्किन्छिन्।
उनी बेलाबेला सोच्छिन्– जनताको लागि राम्रो काम गर्छु भनेर भोट पाएका मेयरले सडकबाट ठेला हटाउन आदेश दिनुअघि दिनभरि नकमाए साँझ हातमुख जोर्न नसक्नेहरूको अनुहार सम्झे कि सम्झेनन् होला!