दिनप्रतिदिन बढ्दै गएको जनसङ्ख्या, सवारी चाप, सीमित तथा साँघुरा सडक, सवारी नियम उल्लङ्घनजस्ता प्रवृत्तिले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन जटिल र चुनौतीपूर्ण बन्दै गएको छ।
काठमाडौं उपत्यकाको ट्राफिक जाम हाम्रा लागि कुनै नौलो र अनौठो कुरा होइन। दशकौंदेखि कायम यो समस्या अनौठो र उदेकलाग्दो कुरा चाहिँ अझै जारी छ।
उपत्यकाको जनजीवनलाई यसले अत्यन्तै कष्टकर र बेलाबेलामा त यसले अस्तव्यस्त नै बनाउने गरेको छ। यसको समुचित समाधान खोज्ने र व्यवस्थापन गर्ने काम अझै हुन सकिरहेको छैन। यस्तो लाग्छ, ट्राफिक जाम सहरवासीको दैनिक जीवनको अभिन्न हिस्सानै बनिसकेको छ।
हुँदा हुँदा त अहिले आएर जे सुकै कारणले कतै समयमा पुग्न सकिएन भने पनि बहानानै ‘ट्राफिक जाम’ नै बनिसकेको छ।
काठमाडौं उपत्यकाका थापाथली, केशरमहल, नयाँ बानेश्वरलगायत मुख्य चोकमा कार्यालय सञ्चालन भएको दिनमा हामी हरेक दिन कम्तिमा पनि १० देखि १५ मिनेटसम्म सवारी साधन रोक्नुपर्ने हुन्छ। फलस्वरूप काठमाडौंमा अहिले निश्चित समयमा पुग्नैपर्ने कुनै कामका लागि निस्कँदा सडकमा कति सवारी जाम छ? भन्ने विचार गरेर सोहीअनुसार एक–डेढ घण्टा समय पहिले नै निस्कनुपर्ने बाध्यता छ।
दिनप्रतिदिन सवारी साधन बढिरहेका छन् । तर, उही पुरानो र साँघुरो सडकमा पुरानै व्यवस्थाका कारण ट्राफिक जाम झन झन् बढिरहेको छ।
एकातिर कहालीलाग्दो उपत्यकाको सवारीको संख्या अर्कोतिर यातायात ब्यवस्थामा अनेकौं समस्याले थप अस्तव्यस्त बनिरहेको छ।
उपत्यका भित्र गाडी चल्ने स्थानको निर्धारणदेखि लिएर फुटपाथ निर्माण गर्नेसम्म सरकारी नीतिहरू स्पष्ट नहुँदा जताततै समस्या र अस्तव्यस्थता छ। समयमै यस क्षेत्रको सुधारका लागि ध्यान नपुग्दा यातायात क्षेत्रमा दिनहुँ समस्या थुप्रिएका छन्। पछि अझ भयाभह भन्ने निश्चित छ।
म ललितपुर महानगरको नगर प्ररही प्रमुख भएर आएपछि काठमाडौंको तुलनामा ट्राफिक व्यवस्थामा धेरै सुधार गरेको छु। २९ वर्ष लामो ट्राफिक प्रहरीको मेरो अनुभव, महानगरका नगर प्रमुख चिरीबाबु महर्जन र नगरबासीको प्रत्यक्ष साथ र सहयोगले ललितपुरमा ट्राफिक जाम नियन्त्रण गरेको छु।
तर ललितपुरमा ट्राफिक जाम नियन्त्रण गर्दैमा समग्र उपत्यकामा ट्राफिक जाम हट्दैन। यसमा सबै सरोकारवाला निकायले प्रत्यक्ष काम गर्नुपर्छ।
सधैको ट्राफिक जाम हुने भनेकै काठमाडौं थापाथली- सुन्धारा- रत्नपार्क क्षेत्रमा हो।
कोटेश्वर, कुपण्डोल, कालीमाटी, सोह्रखुट्टे, नारायणगोपाल चोक, गौशाला, पुरानो बानेश्वर, सिनामंगलका नाकाबाट सवारी साधन अत्यधिक आउने भएकोले रत्नपार्क क्षेत्रमा सवारी जाम हुँदै आएको छ।
प्रशासनिक क्षेत्र सिंहदरबार र अन्य संस्थाहरुको कार्यालय, मुख्य किनमेलको बजार, सिनेमा हल लगायत यहीँ क्षेत्रमा भएकाले सवारी चाप स्वत बढ्ने नै भयो।
यस्तै स्कुल, क्याम्पससँगै ठूला व्यवसायीहरू दरबारमार्ग, न्यूरोड, पुतलीसडक, सुन्धारा, असन, इन्द्रचोक जस्ता क्षेत्रमा भएकाले दैनिक ओहोर दोहर बढिरहेको छ। फेरि मठ मन्दिर र जात्रा पर्व, र्याली, जुलुस लगायत गतिविधि दैनिक भइरहने यो क्षेत्रमा पैदल यात्रुकोसमेत अत्यधिक चाप हुन्छ।
यस्तो अवस्थामा ट्राफिक जाम नियन्त्रण गर्नु एउटा ठूलो चुनौती हो।
तत्काल मेट्रो रेल, मोनोरेल जस्ता खर्चिलो र धेरै समय लाग्ने उपाय अपनाउन सकिन्न। दीर्घकालिन रूपमा यस्तो योजनाहरू बनाएरै जानुपर्छ। तर तत्कालका लागि सम्भव भएका र हाम्रो क्षमताले भ्याएसम्मको उपाय अपनाएर बढ्दो सवारी जामलाई न्यूनिकरण गर्न सकिन्छ।
बढ्दो सवारी जाम सामान्यतय तीन किसिमले नियन्त्रण गर्न सकिन्छ। ट्राफिक लाईट, वान वे र फ्लाईओभर ब्रिज। यी मध्ये अहिलेको समयमा वान वे नै उपर्युक्त माध्यम हो। खर्च पनि कम लाग्ने, कुनै घर पर्खाल पनि भत्काउनु नपर्ने, ट्राफिक लाइट थप्न नपर्ने तर थोरै घुमेर भए पनि जामरहित यात्रा गर्न पाइने भएकाले वान वे निर्विकल्प हो।
पछिल्लो सवारी चापलाई हेर्दा काठमाडौंको रत्नपार्क क्षेत्रमा ट्राफिक लाईटले व्यवस्थापन गर्न गाह्रो भईसक्यो। यहाँ १ मिनेटमा मोटरसाईकल र चारपाङ्ग्रे सवारी साधन १२१ वटा चल्ने भएकोले ट्राफिक लाईटले यसलाई धान्न सक्दैन। फेरि अत्यधिक भिड हुने यो ठाउँमा पैदल यात्रुलाई पनि ट्राफिक लाइटमा छुट्टाएको समयले पुग्दैन।
वीर अस्पताल क्षेत्रमा हाल एक मिनेटमा ९९ वटा मोटरसाइकल र ५९ वटा चारपाङ्ग्रे सवारी हिँड्छन्।
यस्तै भद्रकाली क्षेत्रमा एक मिनेटमा ८४ वटा मोटरसाइकल र ५० वटा चारपाङ्ग्रे गाडी चल्छन्। यो नियन्त्रण गर्नका लागि पनि वान वे निर्विकल्प हो।
हाल वान वे नभएको पनि होइन, तर यसलाई व्यवस्थित गरेमा जामलाई शून्यमा झार्न नसके पनि ९९ प्रतिशत हटाउन सकिन्छ।
हाल वान वे रहेको सुन्धारा-जलम-घन्टाघर-भद्रकाली-सुन्धारा २.६ किमीलाई बढाउनुपर्छ।
अब हामीले थापाथली-त्रिपुरेश्वर-जमल-केशरमहल-नारायणहिटी संग्रहालय-महेन्द्र सालिक-भद्रकाली-सिहंदरबार-माईतीघर-थापाथली गरेर ६ किलोमिटर दुरीलाई वान वे बनाउनुपर्छ।
यसो गरेको क्रसिङमा धेरै समय जाम हुने ठाउँहरू थापाथली चोक, त्रिपुरेश्वर, सुन्धारा, केशरमहल, दरबारमार्ग चोक, महेन्द्र शालिक, सिंहदरबार, पुरातत्व विभाग (हनुमानथान जानेबाटो) र माइतीघरको समस्या समाधान हुन्छ।
यसअघि भएको भद्रकाली-सुन्धारालाई सुन्धारा-भद्रकाली बनाउनुपर्छ। यस्तै जमल-तीनधारा पाठशालालाई-तीनधाराबाट जमल बनाउनुपर्छ।
अहिलेसम्म यी हरेक ठाउँमा यात्रुले पिक आवरमा १० देखि १५ मिनेटसम्म पर्खनुपर्ने हुन्छ। तर यो क्षेत्रलाई वान वे बनाएमा सवारी साधन रोकिराख्नु पर्दैन र ट्राफिक जाम हुँदैन।
हामीले अहिले यति गर्यौ भने पाटनको कुपण्डोल तर्फबाट आउने सवारी साधन सहजै थापाथली-त्रिपुरेश्वरहुँदै गन्तब्यतिर जान पाउँछन्।
यस्तै कालिमाटीबाट त्रिपुरेश्वरतर्फ आउने सवारीहरू थापाथली आउन नपाउने भएपछि सुन्धाराहुँदै गन्तब्यमा जाँदा दोहोरो ट्राफिक जाम हुँदैन।
यस्तै सोहखुट्टे, लाजिम्पाटबाट केशरमहलतर्फ आउने सवारीहरू दरबारमार्ग महेन्द्रशालिक हुँदै आउने भएकाले यो क्षेत्रमा सवारी जाम हुन्न।
यस्तै नागपोखरी-जयनेपाल नारायणहिटी संग्रहालय हुँदै दरबारमार्ग आउनुपर्ने भएकाले उनीहरू सवारी जाममा बस्नुपर्दैन।
यहाँबाट केशरमहल-ठमेल जानुपर्ने सवारीले तीनधारा-जमल हुँदै जाने भएकाले यो क्षेत्रमा सवारी जाममा बस्नुपर्दैन।
यति गरेमा महेन्द्र सालिक क्षेत्रमा जाम शून्य हुन्छ। यस्तै भद्रकाली, सिंहदरबारदेखि माइतीघरसम्म जाम हट्छ।
वान वे सुरू गरेपछि कसरी गन्तब्यमा जाने?
१) पाटनको कुपण्डोलबाट आएको सवारी साधनहरू माईतीघर तर्फ जान नपाउने। सबै सवारीहरू त्रिपुरेश्वर तर्फ जान पाउने।
२) कालीमाटी तर्फबाट आएका सवारी साधनहरू त्रिपुरेश्वर हुँदै थापाथली तर्फ जान नपाउने सबै सवारी साधन सुन्धारा तर्फ जान पाउने। यदि पाटन जाने सवारीसाधन भए सुन्धारा-माइतीघर-थापाथलीहुँदै जानुपर्ने।
३) त्रिपुरेश्वरबाट आएका सवारी साधनहरू भद्रकाली र सिधै न्यूरोडतर्फ जान पाउने।
४) भद्रकालीबाट शहिदगेटतर्फ र त्रिपुरेश्वर तर्फ जान नपाउने।
५) जमलबाट तीनधारा पाठशाला महेन्द्र शालिक, घण्टाघर तर्फ जान नपाउने। तीनधारा पाठशालाबाट जमल हुँदै केशरमहल तर्फ जान पाउने।
६) केशरमहल चोकबाट जमलतर्फ जान नपाउने। केशरमहल चोकबाट नारायणहिटी संग्रहालय (दरबारमार्ग) तर्फ जान पाउने।
७) ठमेलबाट जमल तिर जान नपाउने।
८) दरबारमार्गबाट (नारायणहिटी संग्रहालय), नागपोखरी तर्फ र महेन्द्र सालिकतर्फ जान पाउने तर महेन्द्र सालिक तर्फबाट नारायणहिटी संग्रहालय तर्फ आउन नपाउने।
९) जय नेपाल (नागपोखरी) तर्फबाट नारायणहिटी संग्रहालय हुँदै केशरमहल तर्फ जान नपाउने, महेन्द्र सालिक तर्फ जान पाउने।
१०) महेन्द्र सालिक र तीनधारा पाठशालाबाट जमलहुँदै केशरमहल र घण्टाघर तर्फ जान पाउने।
११) भद्रकालीबाट सुन्धारा र त्रिपुरेश्वरतर्फ जान नपाउने। सिंहदरबार र माईतीघर तर्फ जान पाउने ।
१२) सिंहदरबारबाट भद्रकाली तर्फ जान नपाउने पुतलीसडक र माईतीघर तर्फ जान पाउने।
१३) माइतीघरबाट सिंहदरबारतर्फ जान नपाउने। माइतीघरबाट थापाथली-त्रिपुरेश्वर- सुन्धारा-भन्द्रकालीहुँदै सिंहदरबार, पुतलीसडक जानुपर्ने।
हेर्नुहोस् नक्सामा