गत शनिबार 'अक्सिजेनेटर' मेसिन नभएपछि काठमाडौंस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र अस्पतालमा मुटुको शल्यक्रिया ठप्प भयो। चिकित्सकका अनुसार यो मेसिनलाई मुटुको शल्यक्रिया गर्दा फोक्सोको रुपमा प्रयोग गरिन्छ।
शल्यक्रिया गर्न चाहिने मुख्य उपकरण नै नभएपछि अस्पतालले भर्ना भएका बिरामीलाई घर पठाइदियो। लगत्तै त्यसको सर्वत्र विरोधले दबाब बढाएपछि अस्पतालले मनमोहन अस्पतालबाट झन्डै ५० वटा अस्सिजेनेटर पैंचोमा ल्याएर शल्यक्रिया सुरु गर्यो। तर अहिले त्यो पनि सकिन लागेपछि आजै मात्र अस्पतालले थप ५० वटा अक्सिजेनेटर मनमोहनसँग सापटी मागेको छ।
गंगालाल आफैँले खरिद गरेको एक हजार थान अक्सिजेनेटर भने कहिले आइपुग्छ भन्ने अत्तोपत्तो छैन। अस्पताल प्रशासनले भने अक्सिजेनेटर भारतको कलकत्तामा आइसकेको र अबको एक सातामा नेपाल आइपुग्ने दाबी गरेको छ। तर यस्तो दाबीको स्पष्ट आधार भने अस्पताल प्रशासनले दिन सकेको छैन।
अक्सिजेनेटरको व्यवस्थापन जस्तो गम्भीर विषयमा कसरी चुक्यो गंगालाल? अस्पतालतले अक्सिजेनेटर किन्न अपनाएको प्रक्रिया हेर्ने हो भने त्यसमै गरेको गम्भीर लापरवाहीका कारण अहिले सर्जरी नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको देखिन्छ।
अस्पताल प्रशासनले खरिद प्रक्रियामा सुरुदेखि नै हेलचेक्राइ नगरेको भए यो स्थिति आउने थिएन। किनकी अस्पतालले अक्सिजेनेटर खरिदका लागि बोलपत्र आह्वान गर्ने काम नै पाँच महिनासम्म ढिलासुस्ती गरेको देखिन्छ। अन्तिम समयमा आएर मात्र खरिद प्रक्रिया अघि बढाउँदा समयमा अक्सिजेनेरेटर नआइपुगेको देखिन्छ।
विस्तृतमा हेरौं, कसरी चुक्यो अस्पताल व्यवस्थापन?
२०७८ साल साउन २२ गते अस्पताल प्रशासनले शल्यक्रिया विभागलाई 'वर्ष दिनका लागि कति अक्सिजेनेटर आवश्यक पर्छ, लेखेर पठाउनु' भनेर भन्यो। त्यसको एक सातामा विभागले एक हजार ५० थान अक्सिजेनेटर आवश्यक पर्ने भनेर पत्र पठायो। यसरी विभागको पत्र आएपछि तुरुन्तै वा एक सातामा अस्पतालले बोलपत्रको लागि सूचना प्रकाशित गर्न सक्थ्यो। तर पाँच महिनासम्म अस्पताल प्रशासन हात बाँधेर बस्यो।
२०७८ पुस ९ गते बल्ल अस्पतालले गोरखापत्रमा बोलपत्रका लागि सूचना प्रकाशित गर्यो। अस्पताल प्रशासनले मंसिरमै सूचना निकालेको दाबी गरेको छ, जुन तथ्यसँग मिल्दैन।
त्यसपछि अस्पतालले चैतको अन्तिम सातामा 'मेडिटेक इन्टर्नेस्नल प्रा.लि' सँग एक हजार बढी थान अक्सिजेनेटर इटालीबाट ल्याउने गरी सम्झौता गर्यो। सम्झौता गरेपछि अक्सिजेनेटर किनेर नेपाल ल्याउन तुरुन्तै एलसी खोल्ने प्रक्रिया सुरु गर्नुपर्थ्यो। तर अस्पताल व्यवस्थापन यहाँ पनि चुक्यो। उसले एलसी खोल्ने कुरामा पनि झन्डै डेढ महिना ढिला गर्यो। जेठको ४ गते बल्ल अस्पतालले एलसी खोल्यो।
सामान्यता एलसी खोलेपछि इटलीबाट अक्सिजेनेटर नेपाल आइपुग्न ३-४ महिना लाग्छ। त्यसैले अहिलेसम्म अक्सिजेनेटर आइपुगेको छैन।
जेठको ४ गते एलसी खोलेर साउनमा सामान आएन त्यसैले अभाव भयो भन्दै अस्पताल व्यवस्थापन पन्छिन नमिल्ने एक वरिष्ठ चिकित्सकले बताए।
‘सम्झौता गर्ने र एलसी खोल्ने प्रक्रियामा ६ महिना त्यसै खेर फाल्नेले अक्सिजेनेटर समयमा नआएको कुराको जिम्मा लिनुपर्छ,’ ती चिकित्सकले भने।
अक्सिजेनेटर इटालीबाट नेपाल आइपुग्न सधैं नै लामो समय लाग्छ। किनभने त्यो सामान सुरुमा ठूला पानीजहाजबाट सिंगापुर आउँछ। त्यहाँबाट फेरि सानो जहाजमा भारतको कोलकत्ता ल्याइन्छ। र कोलकत्ताबाट रेल हुँदै कन्टेनरमा सामान नेपाल ल्याइपुग्दा छिटोमा तीन महिना, नत्र चार महिना लाग्छ।
यदी अस्पतालले ढिलोमा पनि माघमा एलसी खोलेको भए जेठभित्रै सामान नेपाल आइसक्थ्यो। त्यसका लागि अस्पतालसँग पर्याप्त समय थियो। तर अस्पताल प्रशासनको ढिलासुस्ती र हेलचक्याइँका कारण अक्सिजेनेटर समयमा आएन र मुटुको शल्यक्रिया गर्ने देशकै ठूलो अस्पतालमा केही समय काम नै ठप्प भयो। एकातिर बिरामीले उपचार पाएनन् भने अर्कोतिर अस्पताललाई ठूलो आर्थिक नोक्सानी भयो।
एक चिकित्सकका अनुसार एक जना बिरामीको शल्यक्रिया गर्दा तीनदेखि चार लाख खर्च हुने गर्छ। र गंगालालले मासिक १८० देखि १९० जनाको शल्यक्रिया गर्छ। एकदिन पनि शल्यक्रिया रोकियो भने यो हिसाबले अस्पताललाई १८ लाख रूपैयाँ घाटा पर्छ।
गत असारमा मात्र अस्पतालले १९० जनाको शल्यक्रिया गरेको थियो। तर साउनमा त्यो संख्या झरेर ७०/८० मा पुगेको छ।
यसबारे अस्पताल निर्देशक डाक्टर चन्द्रमणि अधिकारीसँग कुरा गर्न खोज्दा उनले खुलेर कुरा गर्न चाहेनन्। छोटो कुराकानी गर्दै निर्देशक अधिकारीले अस्पतालले सबै कुरा सार्वजनिक खरिद ऐनअनुसार काम भएको जिकीर गरे। अक्सिजेनेटर किन्न किन अस्पतालले किन ढिलासुस्ती गर्यो, किन सामान समयमा आइपुगेको छैन भन्नेबारे उनले कुरा गर्न चाहेनन्।
अस्पताल प्रशासनका अर्का उच्च अधिकारीसँग कुरा गर्दा उनले अक्सिजेनेटरको अभाव हुनुको कारण कोभिड र अस्पतालको कम भण्डारण क्षमता रहेको बताए। उनले आफ्नो नाम भने उल्लेख गर्न मानेनन्।
अघिल्लो वर्ष कोभिडका कारण अस्पतालमा कम बिरामीको शल्यक्रिया भएको उल्लेख गर्दै ती अधिकारीले भने, 'त्यो बेला हामीसँग एक हजार बढी अक्सिजेनेटर मौजाद थियो। र त्यसले हामीलाई वर्षदिन पुग्छ भन्ने थियो। तर त्यहीबेला कोभिड ठ्याक्कै हट्यो र दैनिक ६ देखि ७ वटा शल्यक्रिया हुन थाल्यो।'
योसँगै अस्पतालमा कम भण्डारण क्षमता भएका कारण पनि छिटो टेन्डर प्रकृया सुरु नगरिएको उनी बताउँछन्।
'हामीले किन प्रक्रिया ढिला सुरु गर्यौ भने हामीसँग सामान राख्ने ठाउँ थिएन। अहिले आउने समान तीन कन्टेनर जति हुन्छ, अनि त्यत्रो सामान ल्याएर कहाँ राख्ने?,' उनले भने, 'त्यसैले मंसिरतिर प्रक्रिया सुरु गर्यो भने ठ्याक्कै अहिलेको समयमा आइपुग्छ अनि यता गोदाम पनि विस्तारै खालि हुन्छ भनेर अनुमान गर्यौं तर हाम्रो अनुमान फेल खायो।'