कैलालीको गोदावरी नगरपालिका–१२, ओलानीका ३८ वर्षीय बजिरसिंह विक चार महिनायता सेती अस्पतालको सर्जिकल वार्डमा उपचाररत् छन्।
बजिरसिंहको कम्मरमुनिको भागमा पक्षघात भएको छ। डाक्टरले सुधार हुन्छ भनेर आशा देखाएका छन् तर कहिलेसम्ममा भन्ने केही थाहा छैन।
अस्पतालको शय्यासँगै बजिरसिंह र उनकी श्रीमती मनसराको सपना निराकार भएको छ, बजिरसिंह आफैंले पूरा गर्न नसक्ने गरी।
बजिरसिंहको रेखदेखमा छिन् श्रीमती मनसरा। औषधी पानी खुवाउनु, खाना खुवाउनु र उपचारको आवश्यक बन्दोबस्त मिलाउनु उनको दिनचर्या भएको छ। दिन बित्दै जाँदा मनसराको चिन्ता थपिँदो छ।
चिन्ताको मुख्य कारण हो श्रीमानको उपचारका लागि पैसाको अभाव। अस्पतालको बेडमा लमतन्न बजिरसिंहलाई श्रीमतीको पीडाले भित्रैदेखि आहत बनाउँछ।
उनी हिँड्न सक्दैनन्। हात राम्ररी चल्छन्। मोबाइल फोनबाट साथीभाइलाई म्यासेज गर्छन्, फोन गर्छन् र सहयोगका लागि आग्रह गर्छन्।
बजिरसिंहको दिमागमा कुरा खेल्छ– सापटी दिनेहरूले दिइसके, सधैँ कसैले पनि दिन सक्ने होइन, अब त माग्ने ठाउँ पनि बाँकी छैन।
बजिरसिंहको परिवारमा सगोलको तीन कठ्ठा जमिन छ जो पाँच दाजुभाइ र आमाबुवाको भाग लाग्छ। जमिन बेचेर भए पनि उपचार गराऊँ भन्ने ठाउँ छैन।
बजिरसिंह थला परेपछि श्रीमती र पाँच जना छोराछोरी समस्यामा परेका छन्। अस्पताल भर्ना भएपछि घरमा भएका छोराछोरीको पढाइ छुट्न थालेको छ। उनीहरू अस्पतालबाट बुवाआमा फर्किने बाटो कुरेर बसेका छन्।
बजिरसिंहले अस्पतालको शय्याबाट भावुक मुद्रामा भने, ‘घरजग्गा जोडेर केटाकेटीलाई खुसी दिने रहर अधुरो भयो। अब त अपांग नै भएँ, कसरी गर्नु र!’
बजिरसिंह यति असहाय हुने गरी कसरी पुगे त अस्पतालको शय्यामा? उनको विगततिर फर्कौं।
उनले कक्षा पाँच कक्षासम्म मात्र पढे। गरिब परिवारमा घरको जेठो छोरो भएपछि सानैदेखि कमाइको दबाब पर्छ। पैसा भएन, कमाउनु पर्यो। पाँच कक्षामै पढाइ टुंगियो।
पढाइ छाडेर चौध वर्षको उमेरमा बजिरसिंह धन कमाउन भारतको मुम्बई गए। दस वर्ष उतै चौकीदारी गरे। यही बीचमा बिहे भयो, छोराछोेरी भए। आमाबुबा र भाइबहिनीलाई पनि मद्दत गर्नै पर्यो। सबै कमाइ घर चलाउँदैमा सकिन्थ्यो।
मुम्बईमा कमाएर नेपालमा एउटा घर बनाउने धोको थियो। महिनाभरिको तलब घरखर्च चलाउनमै ठिक्क भएपछि धोको पूरा हुने छाँट देखेनन् तै पनि दस वर्ष त बितिगयो।
यता गाउँमा सानो कच्ची घर थियो। ठूलो जहानका लागि घर धेरै सानो भएको थियो। कमाइ दैनिक खर्चमै सकिन्थ्यो। घर कसरी बनाउनु र! रहरले मात्रै हुने होइन।
केही वर्षअघि घरमा आमा बिमार परिन्। बजिरसिंह मुम्बईबाट फर्के। अलिअलि हुने कमाइ पनि ठप्प भयो। पैसाको समस्या झन् बढ्यो। उनले विदेश जाने विचार गरे।
अस्पतालबाटै उनले भने, ‘भारतको कमाइले केही उपलव्धि नभएपछि मैले विदेश जाने सोच बनाएँ।’
आज, भोलि भन्दाभन्दै घरमै छ महिना बित्यो। घरजग्गा जोड्ने सपना छँदै थियो। बजिरसिंहले राहदानी (पासपोर्ट) बनाए। फ्री (निःशुल्क) भिसा लाग्यो भने तर पनि म्यानपावर कम्पनीले साढे एक लाख रुपैयाँ लिएर दस हजार रुपैयाँको रसिद दियो।
ऋण र सापटी खोजेर पैसा दिए।
मेडिकल रिपोर्ट बन्यो। बीमाको प्रक्रिया पनि पूरा भयो। सबै प्रक्रिया पूरा भएपछि बजिरसिंह २०७४ साल वैशाख १८ गते मलेसियाका लागि उडे।
मलेसियाको ‘हडलाइन एचआइबिआर प्रोसिङ एसडिएन बिएचडी’ नामको मासु प्रशोधन कम्पनीसँग उनको तीन वर्षको कामको सम्झौता भएको थियो। उनी कुखुराको मासु प्याकिङको काम गर्थे।
पारिश्रमिक थियो मलेसियाली रकम एक हजार रिंगिट। तीन वर्ष काम राम्रै चल्यो। दुई वर्ष म्याद पनि थपियो।
‘विदेश जाँदा लागेको ऋण तिरेर, केटाकेटीको खर्च पुर्याएर केही पैसा बचत गर्न थालेको थिएँ। थप काम गर्न मन लाग्यो,’ उनले भने।
कमाएको पैसा श्रीमती मनसरालाई पठाउँथे। मनसराले घरखर्च र पाँच छोराछोरीको पढाइ खर्च पुर्याएर पैसा बचत गर्न थालेकी थिइन्।
बचत गरेको पैसाले जग्गा किनेर घर बनाउने उनीहरूको सपना थियो।
पाँच महिनाअघिको कुरा हो। बजिरसिंहले मलेसियामा काम गरेको पाँच वर्ष पुग्न दुई महिना बाँकी थियो। सधैंझैं उनी कार्यस्थल गए। सिमसिम पानी पर्दै थियो। साथीहरू पुगिसेकका थिए। पानीले भिजेको सिँढीमा चिप्लेर लडे। बेहोस भएछन्।
एक जना नेपाली साथीले एम्बुलेन्समा राखेर तुरून्तै अस्पताल पुर्याए। दुई दिनपछि मात्र होस आयो। होस त आयो तर डाक्टरले मेरुदण्ड भाँचिएको जानकारी गराए। टाउको र पछाडिपट्टि कम्मरको तल्लो भागमा चोट थियो।
बजिरसिंहको होसहवास उड्यो। छाँगाबाट खसेजस्ता भए। त्यो क्षण सम्झँदै उनले भने, ‘परिवारको मेरुदण्ड म थिएँ। मेरै मेरुदण्ड भाँचियो भन्ने थाहा पाएर मेरो मुटु नै काम्यो।’
बाह्र दिन अस्पताल बसे। उपचारमा २० हजार रिंगिट अर्थात् नेपाली पाँच लाख ७० हजार रुपैयाँ खर्च भयो। बचत भएको पैसा उपचारमा सकियो। स्वदेशमै उपचार गराउँछु भनेर अस्पतालबाट डिस्चार्ज भए।
तुरून्तै घर फर्किन पैसा थिएन। मलेसियास्थित नेपाली राजदूतावासका एक जना कर्मचारीको परिवारमा दुई साता बसे। ओछ्यानमा सुत्यासुत्यै कम्मरको घाउ बढ्यो। उठ्नबस्न सघाउने पनि कोही भएन।
नेपाली राजदूतावासले साढे चार हजार रिंगिट जुटाइदिएपछि घर फर्किने बाटो खुल्यो।
फर्केपछि सेती प्रादेशिक अस्पतालको सर्जिकल वार्डमा भर्ना भए। चार महिना भयो अस्पतालमै छन्। कम्मरमुनिको भागमा पक्षघात भएको छ। केही दिनअघि मेरुदण्डको शल्यक्रिया भएको छ।
दिसापिसाब भएको थाहा हुँदैन। पाइपबाट जम्मा हुन्छ। हालसम्म सेती प्रादेशिक अस्पतालमा साढे दुई लाख रुपैयाँ खर्च भयो। मेरुदण्डको शल्यक्रिया गरेर रड राख्नमात्रै एक लाख रुपैयाँ खर्च लागेको मनसराले बताइन्।
बजिरसिंहको उपचारमा अहिलेसम्म करिब नौ लाख रुपैयाँ खर्च भयो। यसमध्ये पाँच लाख रुपैयाँ ऋण छ। आशलाग्दो सुधार भएको छैन। अझै कतिदिन अस्पताल बस्नुपर्छ, कति खर्च लाग्छ, खर्च कसरी जुटाउने; मनसरालाई केही थाहा छैन। बजिरसिंह त अशक्त भइहाले।
आशाको झिनो त्यान्द्रो छ। मनसरा भन्छिन्, ‘डाक्टरले अपरेसन (शल्यक्रिया) पछि ठिक हुन्छ भनेका छन्। त्यही आशामा छौं। थेरापी गर्नुपर्छ भनेका छन्। पैसा छैन।’
मनसराका अनुसार दैनिक औषधि किन्न पनि मुश्किल पर्न थालेको छ। वडा कार्यालयले अस्पतालको फार्मेसीमा दस हजार रुपैयाँको औषधि निःशुल्क गरिदियो। त्यसले केही सहयोग भयो।
तर, अस्पतालको फार्मेसीमा सबै औषधि पाइँदैन। बाहिर किन्नु पर्छ।
विदेशमा श्रम गरेर घर बनाउने सपना एकाएक भताभुंग भयो। अस्पतालको शय्यामा लामो सास तान्दै बजिरसिंहले भने, ‘घर बनाउने सपना बुन्दै विदेश गएको थिएँ, अब त्यो सपना कहिल्यै पूरा नहुने भयो।’