भारतको हरियाणास्थित केमिकल उद्योगमा २५ वर्ष काम गरेर घर फर्किएका चिन्तामणि चापागाईं कृषि र समाजसेवामा व्यस्त थिए।
नवलपुरको डण्डामा १५ कट्ठा खेतमा अन्नबाली लगाउने, गाईवस्तुलाई घाँस जोहो गर्नेदेखि छिमेकमा आपतविपद पर्दा कुद्न भ्याउँथे। समाजसेवामा सक्रिय उनी सरकारबाट अनुदान लिएर स्थानीयलाई कृषि, पशुपालनमा लाग्न प्रोत्साहन र सहजीकरण समेत गर्थे।
६७ वर्षको उमेरमा पनि उनको सक्रियता घटेको थिएन। बाबुमा देखिएको ऊर्जाले चार छोराहरूलाई समेत मेहनत गर्न प्रेरित गर्थ्यो।
झट्ट हेर्दा बलियो, हृष्टपुष्ट देखिने चिन्तामणि भदौ १४ गते मंगलबार साँझ पनि सधैंझैं डोको बोकेर घर नजिकैको खेतमा घाँस काट्न पुगे। खाँदेर डोको भरिने गरी घाँस काटे। जब घाँस डोकोमा हाल्ने बेला भयो, उनलाई पृथ्वी घुमेको अनुभव भयो। आँखा अगाडिका सबै बस्तु घुमेको देखेको करिब चौबीस घन्टापछि बल्ल चिन्तामणिले आफू अस्पतालको शैय्यामा रहेको थाहा पाए।
यो अवधिमा चितवन मेडिकल कलेजका स्वास्थ्यकर्मीको समूहले उनको समस्या पत्ता लगाएर मुटुको शल्यक्रिया गरिसकेका थिए।
अस्पतालका मुटु, छाती र रक्तनली (सिभिटिएस) सर्जन डाक्टर अनिल आचार्यले चिन्तामणिको मुटुबाट बाहिर निस्किने मुख्य नली च्यातिएर मुटुको बाहिर र झिल्लीमा रगत चुहिने समस्या (टाइप ए ओर्टिक डिसेक्सन विथ कार्डियाक टेम्पोनेन्ड) भएको पत्ता लागेपछि तुरून्तै शल्यक्रिया गरिएको बताए।
'यो असाध्यै जटिल शल्यक्रिया हो। यो अवस्थामा बिरामीले समयमा उपचार नपाएन बाँच्न गाह्रो हुन्छ। यस्तो समस्या भएका बिरामीको शल्यक्रियाको तयारी हुँदाहुँदै निधन भएका घटना पनि छन्,' डा. आचार्यले भने, 'उहाँ समयमै अस्पताल आइपुग्नुभयो। हामीले समयमै रोग पत्ता लगाएर शल्यक्रिया गर्न सक्यौं।'
यस्तो शल्यक्रिया चितवन मेडिकल कलेजमा पहिलो पटक गरिएको डा. आचार्यले जानकारी दिए।
डा. आचार्य, सिभिटिएस सर्जन डा. अल्का सिंह, एनेस्थेसियोलोजिस्ट डा. प्रवेश ज्ञवाली, डा. विमल रानाभाट, पर्फ्युजनिस्ट गोविन्द बुढानगरिया तथा नर्सहरूको समूहले शल्यक्रिया गरेका थिए। चिन्तामणिको मुटुबाट बाहिर निस्कने मुख्य नली झिकेर नयाँ राखिएको र भल्भको मर्मत गरिएको डा. आचार्यले बताए।
घाँस काट्न गएका बाबु लामो समय घर नफर्किएपछि घरमै रहेका कान्छा छोराले खोजी सुरू गरेका थिए। खेतमा खोज्दै जाँदा डोकोनजिकै हिलोमा लडेको अवस्थामा भेटिएपछि चिन्तामणिलाई तुरून्तै एम्बुलेन्समा मध्यविन्दु अस्पताल लगियो। अस्पतालले उपचारको प्रयास गर्यो।
'पिसाब जाँच गर्न खोज्दा बुबाको पिसाब नै आएनछ,' अस्पतालमा भेटिएका माइला छोरा हरिले भने, 'अस्पतालले चितवन मेडिकल कलेज रिफर गरिदियो।'
गत बुधबार बिहान १ बजे उनलाई भरतपुरस्थित चितवन मेडिकल कलेज ल्याइयो।
'बिरामीको अवस्था देखेपछि हामीले तुरून्तै जाँच गर्यौं, रोग पत्ता लाग्यो। हामीसँग मुटुको जटिल शल्यक्रियाका लागि आवश्यक जनशक्ति भएकाले सोही दिन शल्यक्रिया सुरू गर्न सक्यौं,' डा. आचार्यले भने, 'उहाँ अब खतरामुक्त हुनुहुन्छ।'
शल्यक्रियापछि लगातार दस दिन आइसियुमा रहेका चिन्तामणि अहिले सिभिटिएस वार्डमा छन्।
'होस खुल्दा त अब नबाँच्ने भएँ कि जस्तो लागेको थियो,' शैय्यामै रहेका चिन्तामणिले भने, 'डाक्टरले हृदय खोलेर हाँस्न सक्ने बनाइदिए। अब मलाई पहाडमा काम गरेर पनि बाँच्न सक्छु जस्तो लागेको छ। हिम्मत अझै बढेको छ।'
छोरा हरिका अनुसार यसअघि सामान्य युरिक एसिड, कहिलेकाहीँ निद्रा कम लाग्नेबाहेक चिन्तामणिको स्वास्थ्यमा समस्या थिएन। केही महिनाअघि अर्का छोरा भेट्न भारत जाँदा उनले त्यहीँको अस्पतालमा स्वास्थ्य परीक्षण गरेका थिए।
'त्यतिखेर सबै रिपोर्टहरू सामान्य आए। तर अहिले एक्कासि मुटुमा समस्या आइपर्यो,' हरिले सुनाए।
शल्यक्रियामा सहभागी सिभिटिएस सर्जन डा. अल्का सिंहका अनुसार यस्तो समस्या कमै मान्छेमा हुन्छ। लक्षणहरू सबै हृदयघातका जस्तै हुन्छन्। तर यो रोग हृदयघातभन्दा फरक हो।
'अचानक छाती र पिठ्युँमा अत्यधिक दुख्ने लक्षणहरू देखिन्छ। मिर्गौला र कलेजोमा पनि समस्या ल्याउँछ। जतिसक्दो छिटो अस्पताल पुर्याएर जाँच गर्ने, तुरून्तै शल्यक्रिया गर्ने र शल्यक्रिया पछिको स्याहार अवस्था राम्रो भएन भने बचाउन गाह्रो हुन्छ,' डा. सिंहले भनिन्, 'उहाँको पनि मिर्गौला र कलेजोसमेत बिग्रिसकेको थियो। शल्यक्रियापछि सुधार भइरहेको छ।'
यस्तो समस्या रगतका नलीहरू कमजोर भएका, उच्च रक्तचाप भएका बिरामीमा देखिने गरेको उनले बताइन्।
चिन्तामणिको शल्यक्रियामा मात्रै करिब पाँच लाख रूपैयाँ खर्च भएको छ। जटिल रोगको उपचारमा सरकारले विपन्न नागरिकका लागि एक लाख रूपैयाँ बराबरको छुट उपलब्ध गराउँछ। शल्यक्रियादेखि अहिलेसम्म आठ लाख रूपैयाँभन्दा बढी खर्च भएको उनको परिवारका सदस्यले बताए।
मुटुको शल्यक्रिया काठमाडौंका गंगलाल राष्ट्रिय हृदयरोग केन्द्र र मनमोहन कार्डियाथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा हुन्छ। यी अस्पतालले १४ वर्षभन्दा कम र ७५ वर्षभन्दा माथिका तथा मुटुका बाथ रोग भएका बिरामीको उपचार निःशुल्क गर्छन्। यसबाहेक चितवन मेडिकल कलेजमा मुटुको जटिल शल्यक्रिया हुने गरेको छ।
जन्मिएको केही महिनाका बालबालिकादेखि वृद्धवृद्धाको समेत मुटुको जटिल शल्यक्रिया गर्दै आएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले बताए।
'हामीकहाँ मुटुका जटिल शल्यक्रिया गर्नसक्ने संरचना, उपकरण र स्वास्थ्यकर्मीको समूह छ,' देवकोटाले भने, 'सामान्य नागरिकले पनि यहाँ सहज रूपमा उपचार पाउने गरी सरकारले व्यवस्था गर्नुपर्छ।'
डा. आचार्यले देशभरका बिरामीहरू मुटुको शल्यक्रियाका लागि काठमाडौंका दुइटा अस्पतालको मात्रै भर पर्नु पर्दा समस्या भइरहेको बताए। उपचार सेवामा विकेन्द्रीकरण गर्न सके देशभरका बिरामीले सहज र सुलभ उपचार सेवा पाउने उनको भनाइ छ।
चितवन मेडिकल कलेजमा दैनिक एक जना बिरामीको मुटुको शल्यक्रिया गर्नसक्ने क्षमता छ। यहाँ पूर्वी, पश्चिम तराई तथा पहाडी जिल्लाबाट धेरै बिरामी मुटुको समस्या लिएर उपचारका लागि आउने गरेको देवकोटाले बताए।