पछिल्लो केही दिनयता देशभर डेंगी संक्रमण बढेरहेकोमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल डेंगी विरामीले भरिएको छ।
करिब सय बेड क्षमताको उक्त अस्पतालमा अहिले सबैजसो बेड डेंगु संक्रमितले भरिएका छन्। अस्पतालका इमर्जेन्सी इन्चार्ज डा. श्रवणकुमार मण्डलका अनुसार अहिले दुई-चार जनाबाहेक सबै डेंगीका विरामी छन्।
झन्डै सय जना डेंगीका विरामीमध्ये १० जनाको आइसियूमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले जानकारी दिए। गौतमका अनुसार उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
'आइसियूमा रहेका विरामीको अवस्था सामान्यनै छ तर अलिक प्लेटिलेट्स मात्रा कम देखिएर आइसियूमा उपचार गर्नुपरेको हो,' इमर्जेन्सी प्रमुख डा. मण्डलले भने।
बेड भरिएसँगै अस्पतालमा नयाँ आउने विरामीलाई भर्ना गर्न सकस भएको छ। यसरी नै दिनौं विरामीको चाँप बढ्दै गए अस्पतालले भुइँमै राखेर पनि विरामीको उपचार गर्नुपर्ने अवस्था हुन्छ। जुन दृश्य कोभिडको बेला पनि देखिएको थियो।
डा. मण्डलकै अनुसार अहिले दैनिक २ सय बढी डेंगी शंकास्पद विरामीहरू जाँच गर्न आउँछन्। र तीमध्ये ९० प्रतिशत विरामीमा डेंगी पुष्टि हुन्छन्।
यसरी दैनिक सयभन्दा बढी मानिसमा डेंगी पुष्टि भए पनि केहीलाई मात्र अस्पताल भर्ना गर्ने गरिएको र बाँकीलाई घरमै आराम गर्न भनिएको डा. मण्डल बताउँछन्।
'हाम्रो अस्पतालको क्षमता सय बेडको हो। तर सबै विरामीलाई भर्ना गर्नुपर्छ भन्ने हुँदैन। उहाँलाई परामर्श गरेर घरमै आराम गर्न भन्छौं,' उनले भने, 'अब आउने दिनमा जस्तो अवस्था आउँछ, त्यसरी नै सामना गर्दै जान्छौं।'
सामान्य अवस्थामा डेंगी विरामी घरमै पनि आराम गर्न सक्ने डा. मण्डल बताउँछन्। 'डेंगी भएपछि ज्वरो आउनेदेखि हड्डी दुख्ने खालको दुखाइ हुन्छ। तर कतिलाई सिटामोलले पनि ठिक नगर्दा 'फ्लेक्जन' खाने गर्नुहुन्छ। तर फ्लेक्जनले रक्तश्राप हुने सम्भावना हुन्छ। त्यसैले प्लेन सिटामोल लिनुपर्छ,' उनले भने।
डेंगी लागेका बिरामी मेवाको पात खाएर निको हुने भन्ने भ्रम मात्र रहेको उनले बताए।
'केहीले मेवाको पात पनि खाने गरेको देखिएको छ। एक दुई जना विरामी मेवाको पात खाएर बेहोस भएर पनि आएका छन्। त्यसैले अरूको कुरामा लागेर जथाभावी कुरा खाने गर्नुहुन्न। किनकि मेवाको पातले डेंगी ठीक गर्छ भन्ने कतै पुष्टि भएको छैन। त्यसैले चिकित्सकको परामर्शमा मात्र औषधि सेवन गर्नुपर्छ,' उनले भने।
उनका अनुसार अहिले भर्ना भएका अधिकांश बिरामीमा उच्च ज्वरोको लक्षण देखिएको छ। यो सँगै टाउको, आँखाको गेडी दुख्ने, वान्ता आउने र केही महिलामा 'भेजिनल ब्लिडिङ' पनि हुने गरेको उनले बताए।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार देशभर १३ हजार बढी मानिसलाई डेंगी संक्रमण भएको छ। जसमध्ये १० हजार बढी विरामी बागमतीका छन्।
डा. मण्डलले डेंगी हुने मुख्य कारण भनेकै लामखुट्टेको टोकाइ रहेको उल्लेख गर्दै लामखुट्टेको टोकाइबाट जोगिन सरसफाइमा ध्यान दिनुपर्ने बताए।
त्यसका लागि घर वरपर रहेका खाल्डा पुर्ने र सुत्दा झुलको प्रयोग गर्नुपर्ने उनको भनाइ छ। यति गर्दागर्दै पनि डेंगीको लक्षण देखिए सुरूमा नजिकैको स्वास्थ्य संस्था जाने वा चिकित्सकसँग परामर्श गर्नुपर्ने उनी सुझाउँछन्।
हेर्नुहोस् भिडिओ