टुकुचाको भूमिगत सुरूङ राणाकालमै निर्मित पुरातात्विक सम्पदा भए पनि त्यसमाथिको जग्गा कसैले अतिक्रमण गर्न नपाउने र उनीहरूलाई त्यहाँबाट हटाउनुपर्ने जिकिर धेरैले गरिरहेका छन्।
कतिले त जयनेपाल हलदेखि काठमाडौं प्लाजासम्मको हात्तीसार क्षेत्रमा बसोबास गर्नेहरूलाई अनधिकृत रूपमा टुकुचा पुरेर घर बनाएको भन्दै ‘भूमाफिया’ को आरोप पनि लगाएका छन्।
हात्तीसारमा बस्नेहरू आखिर को हुन्? उनीहरू कसरी यहाँ आइपुगे? कसरी यहाँको जग्गा उनीहरूको स्वामित्वमा आयो? यी जग्गा उनीहरूले किनेका हुन् कि सार्वजनिक सम्पत्ति हडपेका हुन्? किनेका हुन् भने कोबाट किनेका हुन्? जग्गा बेच्नले पनि त्यो कहाँबाट पाए?
हामी यिनै प्रश्न लिएर सोमबार हात्तीसार गयौं।
यो हात्तीसारका पाँच जना जग्गा/घरधनीहरूको कथा हो। उनीहरूको कथा यहाँका धेरैजसो बासिन्दाको साझा कथा पनि हो।
सबभन्दा पहिला ८० वर्ष नाघेकी शारदा मानन्धरको कथा सुनौं।
जयनेपाल हलबाट काठमाडौं प्लाजातिर जाँदा लक्ष्मी बैंक पुग्नुभन्दा अलिकति अगाडि दाहिनेतर्फ ‘कफी टक’ भन्ने क्याफे आउँछ। यो क्याफे शारदाको जग्गा भाडामा लिएर खोलिएको हो। उनी बस्ने घर क्याफेको ठ्याक्कै पछाडि र मूल सडकभन्दा अलिकति भित्र पर्छ। उनी आफ्ना छोरा–बुहारीसँग यही घरमा बस्छिन्।
काठमाडौं महानगरपालिकाले उनको जग्गा पनि टुकुचामाथि पर्छ भन्दै त्यहाँ बनेका संरचना भत्काउने चेतावनी दिएको छ। सोमबार उनको घर छिर्ने ढोकामै महानगरले डोजर चलायो र त्यो क्याफे भएको संरचना टुकुचामाथि बनेको भन्दै तत्काल हटाउन चेतावनी दियो। औपचारिक चिठी र म्याद दिइएको छैन तर कुनै पनि बेला डोजर चल्नसक्छ भन्ने डरले कफी टक क्याफेले सोमबारै आफ्ना सामान खाली गरेका छन्।
काठमाडौंको रैथाने नेवार परिवारकी शारदा मानन्धर कसरी हात्तीसार आइपुगिन् त?
उनी २०२७ सालमा तेजराज मानन्धरसँग विवाह गरेर हात्तीसार आएकी हुन्। उनको माइती वसन्तपुर हो भने तेजराजको पुर्ख्यौली घर मखन हो।
तेजराजका बुवा दीपराज मानन्धर पहिल्यैदेखि व्यापार व्यवसायमा संलग्न थिए। व्यापारकै सिलसिलामा उनी भारतको कलकत्ता गए। त्यहाँ केही समय काम गरेर नेपाल फर्के। यहाँ आएपछि हात्तीसारमा एउटा पुरानो घर किने र मखनको पुर्ख्यौली थलो छाडेर यतै बसोबास गर्न थाले।
‘मेरो ससुरा (दीपराज मानन्धर) ले २०२१ सालमा यो घर किनेको भन्नुहुन्थ्यो। त्यति बेला यो लालदरबारकै हिस्सा थियो। हामीले वीरशमशेरकै सन्तानमध्येबाट किनेका थियौं। उहाँको नाउँ चाहिँ मलाई सम्झना छैन। हामी ‘रानीसाहेब’ भन्थ्यौं। म बिहे गरेर आउँदा रानीसाहेबहरू यहीँ पछाडि अर्को घरमा बस्नुहुन्थ्यो,’ शारदाले भनिन्, ‘अहिले त रानीसाहेब बितिसक्नुभयो। उहाँको परिवार पनि यो ठाउँ छाडेर गइसक्नुभयो।’
‘रानीसाहेब’ भनिने ती जग्गा/घरधनी वीरशमशेरको पाँचौं पुस्ताकी छोरी हुन्। उनले यो सम्पत्ति दाइजोमा पाएकी थिइन्।
शारदा मानन्धर अहिले पनि त्यही घरमा बस्छिन् जहाँ उनी बिहे गरेर आइन्। नब्बे सालको भुइँचालोभन्दा अगाडि नै बनेको यही घरमा उनले जिन्दगीका ५२ वर्ष बिताइसकिन्। अहिले बुढेसकालमा एकाएक आफ्नो घर भत्काउने चेतावनी सुन्दा उनी कहालिन्छिन्।
‘जिन्दगी लगभग यही घरमा बित्यो,’ उनले भनिन्, ‘मलाई यसको कत्ति माया कत्ति!’
शारदाका अनुसार उनको ससुराले यो घर किन्दा जग्गाको लालपुर्जा र घरको नक्सा थिएन। २०४५ सालमा ससुराको निधनपछि उनका श्रीमानले २०४९/५० तिर लालपुर्जा बनाउनुका साथै नक्सासमेत पास गराएको उनी बताउँछिन्।
तीस वर्ष सरकारी सेवामा रहेर राष्ट्रिय योजना आयोगको अधिकृतबाट रिटायर्ड भएकी शारदाले भनिन्, ‘पहिले पहिले हामीले यहाँ जमिनमुनि टुकुचा बग्छ भन्ने त सुनेका थियौं तर कहाँनिर बग्छ कसैलाई थाहा थिएन। नापीनक्सामा कहीँ पनि टुकुचाको बाटो उल्लेख छैन। कहाँ घर बनाउन हुन्छ र कहाँ हुँदैन भनेर अहिलेसम्म कसैले भनेनन्।’
हात्तीसारको यो ठाउँमा अहिले तीन–चार घर मानन्धर परिवारको बसोबास छ। उनीहरू सबै दीपराजकै खलक हुन्।दीपराजले नै आफ्ना छोराहरूमा जग्गा भागबन्डा गरिदिएका थिए। उनले जम्मा कति क्षेत्रफल किनेका थिए भन्ने शारदालाई थाहा छैन। तर आफ्नो श्रीमानको भागमा १ रोपनी १४ आना २ पैसा परेको उनी बताउँछिन्।
नब्बे सालको भुइँचालोमा एउटा इँटाधरि नहल्लिएको उनको घरलाई २०७२ को भुइँचालोले भने केही क्षति पुर्याएको थियो। घरका भित्ताहरूमा ठाउँठाउँ चिरा परेका थिए। एउटा पर्खाल पनि भत्किएको थियो। उनीहरूलाई घर मर्मतसम्भार गर्न पैसाको खाँचो पर्यो।
‘त्यही भएर हामीले आफू बस्ने घर र सडकको बीचमा रहेको खाली जग्गा कफी टकलाई भाडामा दियौं,’ उनले भनिन्, 'यसको भाडा जीविकाको एउटा बाटो बनेको थियो। यो पनि हटेपछि गाह्रो होला।'
शारदालाई क्याफे बसेको जग्गा मात्र होइन, आफू बिहे गरेर आएको र ५० वर्षदेखि बसिरहेको पुरानो घरमा समेत डोजर चल्ला कि भन्ने डर छ।
‘म फोक्सोको बिरामी छु। थुप्रै महिना भइसक्यो ओछ्यान परेकी। अस्ति भर्खर अस्पतालमा लामो समय बिताएर आएँ,’ शारदाले भनिन्, ‘भन्नासाथ जुरूक्क उठेर हिँड्न सक्दिनँ। भोलि तुरून्तै घर छाडेर जाऊ भन्यो भने म बिरामी बूढी मान्छेलाई रातारात अर्को ठाउँ सार्न मेरा छोराहरूलाई कति गाह्रो हुन्छ होला! म त सम्झिएरै आत्तिएकी छु।’
शारदा मानन्धरको घरभन्दा अलिकति अगाडि जयनेपाल हल नजिकै अर्का स्थानीय योगेश मिश्रको घर छ।
योगेश ५४ वर्षका भए। उनको जन्म २०२५ सालमा हात्तीसारमै भएको थियो।
‘मेरो बुवा (भवानी मिश्र) ले २०२१ सालमा ढाकेन्द्र दिव्येश्वरी शाहबाट यो जग्गा किन्नुभएको थियो,’ योगेशले भने, ‘दिव्येश्वरी शाह भनेको वीरशमशेरको पाँचौं पुस्ताकी छोरी हुनुहुन्थ्यो। यहाँ करिब पाँच–छ रोपनी जग्गा उहाँलाई दाइजोमा प्राप्त भएको थियो। त्यही जग्गामध्ये करिब एक रोपनी मेरो बुवाले किन्नुभयो।’
शारदाले भनेको ‘रानीसाहेब’ र दिव्येश्वरी शाह दिदीबहिनी हुनसक्ने उनी बताउँछन्।
उनका अनुसार यो जग्गा पहिले लालदरबार परिसरभित्रको एउटा अंश थियो। वीरशमशेरको पालामा यो ठाउँलाई गिन्नी पोखरी बगैंचा भनिन्थ्यो। जग्गाको स्वामित्व हस्तान्तरण गरिएको कागजातमा ‘लालदरबारमा रहेको गिन्नी पोखरी बगैंचाको जग्गा फलानोलाई दिने’ भनेर लेखिएको मिश्र बताउँछन्।
‘वीरशमशेरले दरबारको बगैंचालाई असर नपरोस् भनेर टुकुचा जमिनमुनि बगाएका हुन् भन्ने पनि सुनिन्छ,’ उनले भने।
मिश्रको पुर्ख्यौली घर किलागल हो। आजभन्दा करिब चार सय वर्षअघि मल्लकालमै आफ्नो खलक काठमाडौं आएको उनी बताउँछन्। ‘हाम्रो पुर्खाको इतिहास हेर्ने हो भने हामी पृथ्वीनारायण शाहभन्दा अगाडि काठमाडौं आएका हौं,’ उनले भने।
योगेशका बुवा भवानी त्रिभुवन विश्वविद्यालयमा अंग्रेजीका प्राध्यापक थिए। उनी त्रिचन्द्र कलेज लगायत काठमाडौंका विभिन्न कलेजमा पढाउँथे। राणा खलकका सन्तानलाई घरमै गएर अंग्रेजी ट्युसन पनि पढाउँथे। यही कारणले राणा परिवारसँग उनको चिनजान भयो र त्यही सम्बन्धका आधारमा उनले हात्तीसारमा जग्गा किने।
जग्गा किनेको चार वर्षपछि योगेश जन्मेकै साल भवानीले दुईवटा साना घर बनाए। दुवै घर यथावत् छन्। तीमध्ये एउटा घरको केही भाग मूल सडकमा लागू भएको नयाँ मापदण्डबमोजिम भत्काउनुपरेको थियो भने दोस्रो घर जस्ताको तस्तै छ।
‘दुवै घर धेरै पुराना भइसके। नजिक डोजर चल्यो भने यसै भत्केला कि भन्ने डर हुन्छ,’ उनले भने, ‘म अहिले पनि यही घरमा बस्छु। मेरो भान्सा अहिले पनि यही घरमा छ। मेरो दैनिक जीवन यहीँबाट चल्छ।’
‘हाम्रो घरको नक्सा तत्कालीन नगर पञ्चायतबाट स्वीकृत भएको छ। त्यो बेला हात्तीसारमा घर बनाउन राजदरबारबाट पनि नक्सा स्वीकृत गराउनुपर्थ्यो। नगर पञ्चायत र राजदबारबाट स्वीकृत नक्सामा हामीले एक इन्च तलमाथि गरेका छैनौं,’ मिश्रले भने।
शारदा र योगेशपछि हामीले हात्तीसारमै घर भएका तर हाल भक्तपुर बस्ने एक व्यवसायीसँग कुरा गर्यौं। उनले आफ्नो नाम उल्लेख गर्न चाहेनन्।
उनले पनि आफ्ना बुवाले २०२१–२२ सालतिर राणाहरूबाटै जग्गा किनेको बताए। उनको बुवाले जग्गा किनेको शाम्बशमशेर जंगबहादुर राणाबाट हो। शाम्बशमशेर भनेका वीरशमशेरका नाति हुन्।
‘मेरो बुवाले जग्गा किन्दा राणाजीहरूका दरबारबाहेक यस्तै पाँच–छवटा घर मात्र थिए,’ उनले भने, ‘मलाई सम्झना भएसम्म यहाँ पहिले राणाजीहरूकै बसोबास थियो। सुरूमा वीरशमशेरले आफ्ना छोरा–नातिहरूमा जग्गा भागबन्डा गरे। तिनै छोरा–नातिहरूले बिस्तारै हामीजस्ता बाहिरका मान्छेलाई पनि बेच्न थाले र सर्वसाधारण नागरिकहरूको पनि हात्तीसारमा प्रवेश सुरू भयो।’
यसरी वीरशमशेर राणाका सन्तानबाट सोझै जग्गा किनेर अहिलेसम्म भोगचलन गरिरहेका परिवार करिब आधा दर्जन छन्। त्यसबाहेक अधिकांश जग्गाको कारोबार तीन–चारचोटिभन्दा बढी भइसकेको छ। वीरशमशेरको खलकबाट तीन–चार जना व्यक्तिलाई बिक्री हुँदै अहिलेका जग्गाधनीको नाममा स्वामित्व हस्तान्तरण हुन आएको देखिन्छ। लक्ष्मी बैंक बसेको जग्गा त्यसैमध्ये एक हो।
लक्ष्मी बैंक जुन घरमा बसेको छ, त्यो जग्गाको क्षेत्रफल ५८ आना छ। उनीहरूले यो जग्गा २०५७ र २०६३ गरी दुईपटक किनेका हुन्। कुनै जग्गा सुनीलकृष्ण ताम्राकारबाट किनेका थिए, कुनै निलिकृष्ण ताम्राकारबाट। त्यस्तै कुनै जग्गा महेश्वरराज वैद्यबाट किने त कुनै डाक्टर सच्चेकुमार पहाडीबाट। तर यी जग्गाको मूल स्रोत ओमकारशमशेर जंगबहादुर राणा भएको मालपोतको लालपुर्जाबाट देखिन्छ। ओमकार भनेका शाम्बशमशेरका छोरा र वीरशमशेरका पनाति हुन्।
हामीले यसबारे जयनेपाल हलका एक सञ्चालक अशोक राणासँग पनि कुरा गरेका थियौं। उनी वीरशमशेरका खनाति हुन्। अहिले हात्तीसारमा वीरशमशेरको खलकसँग प्रत्यक्ष सम्बन्धित राणाहरूको बसोबास कम हुँदै गएको छ। तीमध्ये अशोक राणा एक हुन्।
कुनै समय यहाँ वीरशमशेरकै खलकका सदस्यहरूको दरबार मात्र भएको र पछि उनकै परिवारबाट अरूलाई जग्गा बिक्री गरिएको उनले बताए। शाम्बशमेशर भनेका वीरशमशेरका नाति र शाम्बशमशेरका छोरा ओमकारशमशेर भएको पनि उनले पुष्टि गरे।
हात्तीसारमा घर भएका शारदा मानन्धर, योगेश मिश्र, नाम उल्लेख गर्न नचाहने व्यवसायी, लक्ष्मी बैंक र अशोक राणासँगको कुराकानीका आधारमा हामी के थाहा पाउँछौं भने यहाँका जुन जग्गा ‘टुकुचा मिचेर अनधिकृत रूपमा कब्जा गरिएको’ भनेर काठमाडौं महानगरले भनिरहेको छ, ती सबै कुनै न कुनै रूपमा वीरशमशेरकै खलकबाट बिक्री वितरण भएका हुन्।
राणा प्रधानमन्त्री वीरशमशेरको छाप लागेको एक दस्तावेजमा बिक्रम सम्बत् १९४९ मा टुकुचामाथि पटांगिनी अर्थात् खुला चउर बनाउन जग्गा अधिग्रहण गरिएको र टुकुचालाई सुरूङभित्र बगाएर माथि पुरिएको उल्लेख छ। उक्त जग्गा प्रतिरोपनी दुई सय रूपैयाँका दरले अधिग्रहण गरिएको दस्तावेजबाट देखिन्छ। जग्गा अधिग्रहण क्रममा त्यहाँ उब्जनी भएको बालीको हरहिसाब गरेर भुक्तानी गर्नूसमेत भनिएको छ।
यसबाट थाहा हुन्छ, तत्कालीन राणा प्रधानमन्त्री वीरशमशेरले दरबारको प्रयोजनका लागि स्थानीय किसानका जग्गा मुआब्जा दिएर अधिग्रहण गरी आफ्नो स्वामित्वमा ल्याएका थिए। सम्पदाविद् सुदर्शनराज तिवारीका अनुसार निर्वाचन आयोग बसेको बहादुर भवनदेखि नागपोखरी–कमलपोखरी क्षेत्रसम्मको जग्गा अधिग्रहण गरिएको थियो।
वीरशमशेरले आफ्नो स्वामित्वमा ल्याएका तिनै जग्गा २००७ सालमा राणा शासन अन्त्यपछि अन्य व्यक्तिहरूलाई बिक्री गर्न थालिएको योगेश मिश्र बताउँछन्।
‘यहाँ २०१४–१५ सालदेखि जग्गा किनबेच सुरू भएको हो। सबभन्दा बढी किनबेच २०२१ सालपछि भयो,’ उनले भने।
काठमाडौंमा पहिलोपटक २०२२ सालमा नापी भए पनि हात्तीसारको नापी भएको थिएन। त्यो बेलासम्म पूरै क्षेत्र लालदरबारको हिस्सा भएकाले नापी नभएको हो कि भन्ने मिश्रलाई लाग्छ, ‘यहाँको पहिलो नापी २०३२ सालमा भयो। मसँग त्यो नापीनक्सा सुरक्षित छ। कहीँ पनि टुकुचा उल्लेख छैन।’
हामीले भेटेका अरू जग्गाधनीहरूले पनि आफूसँग भएको सरकारी नापी कार्यालयबाट जारी नक्सामा टुकुचा नभएको बताएका छन्।
'आजभन्दा करिब १३० वर्षअघि राणा प्रधानमन्त्रीले नै भूमिगत सुरूङ खनेर जमिनमुनि हालेको टुकुचाबारे सरकारलाई त केही थाहा थिएन भने त्यो कुरा हामीले थाहा पाउनुपर्छ भनेर महानगरले जोरजबर्जस्ती गर्नु सरासर अत्याचार र गुन्डागर्दी हो,' मिश्रले भने।
यहाँका अधिकांश स्थानीयले काठमाडौं महानगरबाट घरको नक्सा पास पनि गराएका छन्। उनीहरूसँग निर्माण सम्पन्न भएको कागजात पनि छ। नापीनक्सा, घरनक्सा लगायत कुनै पनि सरकारी दस्तावेजमा कहीँकतै टुकुचा बग्ने बाटो खुलाइएको छैन।
काठमाडौं महानगरले भने यी कुरा वास्ता राखेको देखिँदैन।
दलबलसहित डोजर लिएर घर भत्काउने एकसूत्रीय एजेन्डामा निस्केको महानगरले हात्तीसारका यी जग्गा कुन सालमा कसले कसबाट खरिद गरे र त्यसको स्वामित्व कति व्यक्तिहरूमा हस्तान्तरण हुँदै आजका जग्गाधनीसम्म आइपुग्यो भन्ने सामान्य खोजबीन पनि गरेको छैन। स्थानीयहरूसँग एकचोटि छलफल गरेको भए सजिलै थाहा पाइने यो तथ्यसँग महानगर बेखबर छ र सबैलाई एउटै डालोमा हाल्दै ‘टुकुचा मासेर घर बनाउने भूमाफिया’ को लेबल लगाएर बदनाम गरिरहेको छ।
महानगरले न जग्गा किनबेचको लगत राखेको देखिन्छ, न त उनीहरूसँग भएको नापीनक्सा, घरको नक्सा र निर्माण सम्पन्न भएको कागजपत्र नै हेर्ने आवश्यकता ठानेको छ।
‘नगर प्रहरीहरू आउँदा टोलमा जात्रा लाग्छ। मान्छेहरू वरिपरि घेरा हालेर हामीलाई चिडियाखानाका जन्तुजस्तो हेर्छन्। भूमाफिया भनेको को रहेछ भनेको त यी पो रहेछन् भनेर कराउँछन्। यसले हामीलाई मानसिक तनाव दिइरहेको छ। के यो राज्यको दमन होइन? हाम्रो निजी सम्पत्तिको हकमाथि राज्यको ठाडो अतिक्रमण होइन? खासमा हामीले जग्गा अतिक्रमण गरेको होइन, महानगरले हाम्रो निजी सम्पत्तिमाथि अतिक्रमण गरेको छ,’ योगेश मिश्रले भने।
उनले अगाडि भने, ‘महानगर डोजर लिएर आउँदा हामी आफूसँग भएका कागजपत्र देखाउन जान्छौं। नगर प्रहरी प्रमुख ती कागजपत्र हेर्न मान्नुहुन्न। यस्ता प्राविधिक कुरामा मलाई मतलब छैन, तपाईंहरू इञ्जिनियरलाई देखाउन जानूस् भन्नुहुन्छ। तर इञ्जिनियर फिल्डमा आएका हुँदैनन्।’
‘उहाँहरू चाहिँ सिधै आएर हाम्रो घरको आँगनमा डोजर तेर्स्याउने अनि हामी आफ्नो बचाउको निम्ति कागजपत्र देखाउन इञ्जिनियरलाई कहाँ खोज्दै हिँड्ने? कि त इञ्जिनियर पनि सँगसँगै लिएर आउनुपर्यो,’ उनले भने।
मिश्रका अनुसार महानगर टोली हरेक दिन गुन्डागर्दी शैलीमा डोजर, क्यामरा र भीड लिएर आउँछ। चारैतिरबाट क्यामराले घेर्छन् र कसैले आफ्नो कुरा राख्न खोज्यो भने भीडका मान्छे होहल्ला गर्न थाल्छन्। ‘भूमाफियालाई हटाउनैपर्छ’ भनेर कराउँदै सुरूमै हतोत्साही गराउँछन्। चिच्याउँछन्, हाहु गर्छन्। नगर प्रहरीहरू पनि स्थानीयका कुरा सुन्नै खोज्दैनन्। कसैले तर्क गर्न खोजे, उल्टै ठूल्ठूलो स्वरले थर्काउँछन्।
योगेशले भनेजस्तै घटना हात्तीसारमा सोमबार भएको थियो।
उदीपरत्न शाक्यले चार वर्षअगाडि मात्र यहाँ घर बनाएका रहेछन्। अहिले त्यही घरमुनि टुकुचा बग्छ भनेर महानगर टोली डोजर लिएर आएपछि उनी आफ्नो कागजपत्रको फाइल बोकेर नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेलाई देखाउन आएका थिए।
उनीसँग नापीनक्सा छ जसमा टुकुचाको चिह्न कहीँकतै छैन। उनीसँग महानगरले नै पास गरेको घर नक्सा र निर्माण सम्पन्न भएको कागजपत्र पनि छ। उनले ती सबै नक्सा हेरेर त्यसपछि मात्र निर्णय लिन नगर प्रहरी प्रमुख पाण्डेलाई बारम्बार आग्रह गरे।
पाण्डेले उनको कुरा सुन्न चाहेनन्।
शाक्यले ल्याएको फाइल एकचोटि खोल्ने कष्टधरि नगरी उनले भने, ‘यस्तो कागजपत्र मलाई देखाउन जरूरी छैन।’
शाक्यले सोधे, ‘किन जरूरी छैन?’
पाण्डेले उनलाई थर्काउँदै ठूलो स्वरमा भने, ‘के तपाईंले मेरो काममा हर्डल (अवरोध) गर्न खोजेको?’
उनले अगाडि भने, ‘यो प्राविधिक विषय हो। म यस्तो प्राविधिक विषय बुझ्दिनँ। तपाईं कार्यालयमा गएर इञ्जिनियरलाई देखाउनुस्।’
त्यसपछि शाक्यले उनलाई आफ्नो कुरा बुझाउन खोजे। उनलाई एकचोटि आफ्नो कागजपत्र हेरिदिन अनुनयविनय नै गरे।
तर पाण्डे फोनमा कुरा गर्दै पन्छिन थाले।
तै पनि शाक्यले पछ्याउन नछाडेपछि पाण्डेले फेरि भने, ‘मलाई यो प्राविधिक विषयको आइडिया भएन। तपाईंको घरमुनि टुकुचा बगेको छ भने त्यो भत्किन्छ।’
शाक्यले सोधे, ‘त्यसो भए भन्नुस् न त, टुकुचा बगेको छ कि छैन?’
पाण्डेले ठूलो स्वरमा झर्किँदै ठाडो जवाफ दिए, ‘त्यही त हामी खोज्दैछौं। हामीले खोजेर तल बगेको पत्ता लाग्यो भने भत्किन्छ।’
आखिर शाक्यको केही सीप चलेन। नापीदेखि मालपोत र महानगरसमेतले दिएका कागजपत्र प्रस्तुत गर्दागर्दै पनि उनको कुरा सुनुवाइ भएन। उनी निरीह बने।
हात्तीसारका हरेक जग्गा/घरधनीले अहिले यस्तै निरीह अनुभव गरिरहेका छन्।
नगर प्रहरी प्रमुख पाण्डे मात्र होइन, मेयर बालेन शाहको रवैया पनि यस्तै भएको उनीहरू बताउँछन्।
योगेश मिश्र यो डोजर आतंक सुरू हुनुभन्दा करिब एक साताअघि नै महानगरको कार्यालयमै बालेन शाहलाई भेट्न गएका थिए। दुई–तीन दिन लगातार प्रयासपछि बल्लतल्ल भेट भए पनि शाहले आफ्नो कुरामा चासो नदेखाएको उनले बताए।
‘मैले व्यक्तिगत रूपमा उहाँलाई भेटेर यहाँको सबै स्थिति जानकारी गराएको थिएँ। हामीसँग नापीनक्सा छ, लालपुर्जा छ र घरको नक्सापास पनि भइसकेको छ भनेर भनेको थिएँ,’ उनले बालेनसँगको कुराकानी उद्धृत गर्दै भने, ‘जमिनमुनि पुरिएको टुकुचा खोल्नुछ र त्यसको निम्ति हाम्रो घर हटाउनुछ भने नियम–कानुनअनुसार आउनुस्, सबैको सहमतिमा कसरी व्यवस्थापन गर्न सकिन्छ छलफल गरौं भन्दा पनि उहाँले सुन्नुभएन।’
उनले अगाडि भने, ‘मेयरज्यूले तात्तै खाऊँ, जल्दी मरौं जस्तो गर्नुभयो। मैले उहाँलाई आफ्नो कुरा सम्झाउनै सकिनँ। खासमा उहाँ हाम्रो कुरा सुन्नै चाहनुहुन्न। जसरी भए पनि यहाँका घरहरू हटाएरै छाड्ने मनसायमा हुनुहुन्छ।’
महानगरले हात्तीसारमा डोजर चलाउनुअघि कानुनी प्रक्रियासमेत पूरा गरेको छैन।
उसले अहिलेसम्म दुईवटा सूचना जारी गरेको छ। पहिलो सूचनामा ‘प्रचलित मापदण्डअनुरूप निर्माण भएका तर नक्सापास नगरिएका भवनलाई एक वर्षभित्र नक्सा पास गर्न’ आह्वान गरिएको थियो।
यही सूचनामा ‘नक्सा पास नगरी बनाइएका तर मापदण्ड अनुकूल रहेमा त्यस्ता भवनको नक्सा सूचना प्रकाशित भएको मितिले ९० दिनभित्र पेस गर्न’ भनिएको थियो।
त्यसपछि अर्को सूचनामा ‘टुकुचा किनार क्षेत्रमा स्वीकृत नक्साविपरीत, मापदण्डविपरीत वा स्वीकृति नै नलिई घर/टहरा निर्माण गरिएको भए सूचना प्रकाशित भएको ३५ दिनभित्र उक्त संरचना हटाउन’ भनिएको थियो।
‘यी दुवै सूचना हाम्रो निम्ति आकर्षित हुँदैनन्,’ मिश्रले भने, ‘एक त हामीले मापदण्डअनुरूप घर बनाएर नक्सापास गरिसकेका छौं। अर्को, हाम्रो हात्तीसारको नापीनक्सामा टुकुचाको उल्लेख नै नभएकाले हामीले किनार क्षेत्रको मापदण्ड पालना गर्नुपर्ने कुरै आएन।’
अहिले आएर महानगरले हुँदै नभएको टुकुचा किनारको मापदण्डसमेत यहाँका बासिन्दाले पालना गर्नुपर्छ भन्दै दिनरात माइकिङ गरेर थर्काइरहेको छ। मापदण्ड पूरा नभएका घर भत्काउने चेतावनी पनि दिइरहेको छ।
‘जब राज्यसँग नै हात्तीसारमा भूमिगत टुकुचा बग्ने बाटोको नक्सा छैन भने हामीसँग हुने कुरै भएन,’ मिश्रले भने, ‘एकातिर महानगर आफैं टुकुचा खोज्दै हिँडेको छ, उसलाई नै कहाँबाट बग्छ थाहा छैन। अर्कातिर ऊ आफैं हचुवा पारामा हाम्रो जग्गामुनि बग्छ भनेर घर भत्काउने चेतावनी दिइरहेको छ।’
महानगरले हात्तीसारमा पनि टुकुचा किनारको मापदण्ड लागू गरेर घर–जग्गा हटाउने हो भने त्यसको निम्ति कानुनी प्रक्रिया पूरा गर्नुपर्ने र स्थानीयसँग छलफल गरी कानुनी रूपमै नयाँ शिराबाट यहाँका घरजग्गा अधिग्रहण गर्नुपर्ने मिश्रको भनाइ छ।
‘महानगरको टुकुचा पुनर्स्थापना अभियानमा हामी सहयोग गर्न तयार छौं तर उहाँहरू कानुनी रूपमा आउनुपर्यो। राज्यले नागरिकमाथि जथाभाबी दमन गर्नुभएन,’ उनले भने।
उनले अगाडि भने, ‘महानगरले अलिकति पनि कानुनी बाटो पालना गरेको थियो भने हिजो (आइतबार) उच्च अदालतले अन्तरिम आदेश दिँदादिँदै भोलिपल्ट त्यस्तै प्रकृतिका अरू घर भत्काउन एकाबिहानै डोजर लिएर किन आयो? अदालतमा रिट लिएर गएका तीनवटा घर नभत्काउनू भनी अन्तरिम आदेश भएपछि अरू घरमा पनि त्यही नियम लागू हुनुपर्दैन र? यो त सामान्य कमन सेन्सको कुरा होइन?’
आइतबार उच्च अदालत पाटनका न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका नाममा रहेका कित्ता नम्बर ७, ३०३८ र ३०३९ को जग्गामाथि बनेका घर कानुनी रित नपुर्याई र उचित क्षतिपूर्ति नदिई नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो।
अन्तरिम आदेश जारी भएका तीन घरमा महानगरले हात हालेको छैन। घरधनीले महानगर आएर संरचना भत्काउला भनेर अदालतको अन्तरिम आदेश घरबाहिरै टाँसेका छन्।
त्यस्तै प्रकृतिका अन्य केही घरमा भने सोमबार नै धमाधम डोजर चलाइयो। एउटा घरमा त बिहानदेखि साँझसम्म लगातार खनिएको थियो। दिनभरि खन्दा पनि भूमिगत सुरूङ फेला परेको थिएन।
हात्तीसारको घटनामा दुईवटा डरलाग्दा पक्ष देखिएका छन् —
एउटा, नियम–कानुन पुर्याएर जग्गा किनेका र नियमअनुसारै घर बनाएर बसिरहेकाहरू पनि महानगरको आतंकसँग डराइरहेका छन्। उनीहरू हातमा सरकारी कागजपत्र बोकेर बसेका छन् तर कानुनी उपचार निम्ति अदालत जाने हिम्मत गर्दैनन्।
धेरै मान्छे महानगरको पक्षमा उभिएकाले आफ्नो सही कुरा पनि कसैले नसुनेको स्थानीयको गुनासो छ। यसविरूद्ध बोल्दा महानगरको डोजर सँगसँगै घर घेर्न आइपुग्ने भीड आक्रामक भएर जाइलाग्ने हो कि भन्ने उनीहरूलाई डर छ।
‘अहिलेको समय महानगरसँग झगडा कसले मोलोस्! बरू हामी सकेसम्म कम्प्रमाइज गर्न खोजिरहेका छौं,’ हात्तीसारमा घर भएका एक स्थानीयले भने, ‘सबै कागजपत्र दुरूस्त भए पनि हामीलाई झगडा गर्नु छैन। हाम्रो घर भत्किँदैन र जग्गा मात्र अलिकति जाने हो भने हामी सहमति गर्न तयार छौं।’
दोस्रो डरलाग्दो पक्ष के भने, यहाँका स्थानीयले आफ्नो समस्या लिएर विभिन्न राजनीतिक दलका नेताहरूलाई भेटिसके। काठमाडौंका सांसदहरूसँग कुरा गरिसके। उनीहरू सहानुभूति देखाउँछन् तर खुलेर बोल्न तयार छैनन्।
‘उहाँहरू सबैलाई हामी कानुनसम्मत छौं र महानगरको कदम गैरकानुनी छ भन्ने थाहा छ। तर चुनावको अगाडि धेरैको वाहवाही पाइरहेको महानगरको अभियानविरूद्ध बोल्दा कतै चुनावमै असर पर्ने हो कि भन्ने उहाँहरूलाई डर छ,’ ती स्थानीयले भने, ‘काठमाडौंका मेयरलाई आफूले के–के न काम गरेँ भनेर देखाउनुछ, नेताहरूलाई भने आफ्नो राजनीतिको मात्र चिन्ता छ। त्यसको घानमा हामी पिसिएका छौं।’
यसरी महानगरको एकलौटी ‘दादागिरी’ का अगाडि हार मान्दै गइरहेका स्थानीयहरू सम्झौताका लागि तयार त हुँदै छन् तर महानगर त्यसका लागि पनि राजी नहोला भन्ने उनीहरूलाई चिन्ता छ।
'राजनीतिज्ञहरूले त सुनेनन् नै, मिडिया पनि हाम्रो कुरा सोध्न आएका छैनन्,' उनीहरू भन्छन्।
आफूहरूले दशकौंअघि कानुनी रूपमा किनेको, सरकार र महानगरको स्वीकृति लिएर नक्सा पास गरी घर बनाएको र सरकारी दस्तुर तिर्दै आएको सम्पत्तिमाथि महानगरले डोजर चलाउन खोज्दा मिडियाले आफ्नो कुरा सुन्ने चासो नदेखाएको स्थानीयले बताएका छन्।
महानगरले भूमिगत सुरूङ खनेर टुकुचा खोल्छ र त्यसमाथि बनेका घर भत्काउँछ भने पनि नियमसम्मत आउनुपर्यो र क्षतिपूर्ति दिएर स्थानान्तरणको बाटो खोल्नुपर्यो भन्ने उनीहरूको माग छ।
थप पढ्नुहोस्: