चितवनको सौराहा ‘वाइल्डलाइफ टुरिजम’ को केन्द्र मानिन्छ। चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको सौराहामा वन र वन्यजन्तुको अवलोकन गर्न लालायित देशी, विदेशी पर्यटकहरू पुग्ने गर्छन्।
निकुञ्जभित्रका दुर्लभ वन्यजन्तु हेरेर लोभिन्छन्। आडैमा रहेको राप्ती नदीमा देखिने घडियाल गोही हेरेर दंग पर्छन्।
पर्यटकको आकर्षणको केन्द्र सौराहाको मुख्य सडक अचेल व्यस्त छ। पर्यटकको चापले होइन, यहाँ भइरहेको विकासले गतिविधिले।
दुवैतर्फ राखिएका निर्माण सामग्रीले सडक साँघुरो बनेको छ। नियमित वर्षाबीच पनि केही मजदुरहरू काम गर्दै देखिन्छन्।
करिब दुई किलोमिटर लामो मुख्य सडकको धेरैजसो ठाउँमा दुबैतर्फ कुलो खनिएको छ। केही ठाउँमा ढलान भइसकेको छ। कतै ढलानको काम हुँदैछ।
‘सौराहा नाला तथा फुटपाथ निर्माण योजना’ शीर्षकमा प्रदेश समपूरक बजेटबाट यो काम भइरहेको हो।
यो योजनाअन्तर्गत सौराहाको मुख्य सडकमा दुबै किनारामा डेढ–डेढ मिटरको नाला बनाउने काम अहिले हुँदैछ। ढलान गरिएको नालामाथि टायल ओछ्याएर फुटपाथ बनाउने योजना छ।
यसरी काम हुँदै गरे पनि यसबाट राप्ती नदी र चितवन राष्ट्रिय निकुञ्जलाई प्रत्यक्ष असर पर्ने देखिएको छ। सौराहाको सडकमा अहिलेसम्म वर्षाको समयमा अकासे पानी बग्थ्यो। त्यो पानी आडैमा रहेको राप्ती नदीमा मिसिन्थ्यो।
उक्त योजना सम्पन्न भएसँगै बन्द नालाभित्र बग्ने जुनसुकै वस्तु सिधै राप्ती नदीमा जानेछ।
‘नौ मिटरको पिचपछिको होचो भाग ओपन ड्रेन जस्तो थियो। त्यहाँबाट के बग्छ हामी सबैले देख्थ्यौँ। त्यसैले सिधै नदीमा जाँदा पनि खासै असर परेको थिएन,’ सौराहाको हात्ती चोकमा रेस्टुरेन्ट चलाउने एक व्यवसायीले भने, ‘अब त बन्द नालाबाट जे पनि सिधै राप्तीमा खस्ने भयो।’
उनका अनुसार बन्द ढलको फाइदा उठाएर व्यापारीहरूले सबै फोहोर राप्ती नदीमा विसर्जन गर्ने अवसर पाउने छन्।
नगरपालिकाले आगामी दिनमा नयाँ योजना बनाउँदा सौराहालाई बेवास्ता गर्ने र आफूलाई लक्षित गर्ने डरले यहाँका पर्यटन व्यवसायीहरू मौन छन्।
सञ्चारमाध्यमबाट नाम सार्वजनिक नगर्ने सर्तमा धेरै पर्यटन व्यवसायीले उक्त योजनाको आलोचना गरेका छन्।
एक जना पुराना पर्यटन व्यवसायीले सेतोपाटीसँग भने, ‘हामीले संरक्षणमा गम्भीर असर पर्ने योजना सौराहामा नल्याइदिनू भनेर नगरपालिकालाई पटक–पटक आग्रह गर्यौँ। उनीहरूले ल्याएरै छाडे। यो कसको लागि, किन ल्याइयो भन्ने हामीले जान्न सकेका छैनौँ।’
ढल निर्माण सकिएसँगै सौराहाबाट बग्ने फोहोरले राप्ती दुर्गन्धित भयो, फोहोर पानी खाएर वन्यजन्तु बिरामी परे, निकुञ्ज संरक्षण असर पर्यो भन्ने आरोप पर्यटन व्यवसायीमाथि आउन थाल्ने उनको शंका छ।
गैंडा चोकका एक व्यवसायीले निर्माण सम्पन्न गर्नु पर्ने म्याद नजिकिन थालेपछि हतारमा गुणस्तरहीन काम भएको आरोप लगाए।
‘पहिले हामीले यो काम सुरु नगर्न आग्रह गर्यौं। सुरु भइसकेपछि काम गुणस्तरीय भए हुन्थ्यो भन्ने आशा गर्यौँ तर यी दुबै भएन,’ ती व्यवसायीले भने, ‘मुसलधारे वर्षामा पनि काम भइरहेको छ। ढलानमा हिलोसहितको मसला छ। माटोमाथि मसला हालेर काम भइरहेको छ।’
उनले सस्तोमा काम सक्न ठेकेदारले निर्माणमा लापरबाही गरेको आरोप लगाए।
‘नचाहिने योजना ल्याएर गुणस्तरहीन काम गरी सरकारी बजेट दोहन गरिएको छ,’ ती व्यवसायीले भने, ‘सौराहाको बदनाम गर्न सरकारी निकायहरू लागेको देखेर चकित छौँ।’
उक्त योजनाको काम गत असार मसान्तभित्रमा सकिने गरी २०७८ माघ १६ गते सुरु भएको थियो।
बागमती प्रदेश सरकारको डेढ करोड र रत्ननगर नगरपालिकाको डेढ करोड रुपैयाँ बजेटमा सुरु भएको योजना गत असार मसान्तसम्ममा एक छेउ पनि सकिएन।
निर्माण व्यवसायीले निर्माण सामग्रीको मूल्य वृद्धि भएकाले समयमा काम गर्न नसकेको जिकिर गर्दै म्याद थप थप्न दबाब दिएपछि पुस मसान्तसम्म थपिएको छ।
रत्ननगर नगरपालिकाको पूर्वाधार शाखाका इन्जिनियर शंकरबहादुर कुँवरका अनुसार नाला निर्माणको काम भरतपुरको शिवम कन्स्ट्रक्सन र काठमाडौंको एसओ कन्स्ट्रक्सनले गर्दै छन्।
पहिलो चरणमा करिब ११ सय मिटर सडकमा नाला बनाउने काम भइरहेको कुँवरले बताए। उनले भने, ‘हाल गैँडा चोकबाट दक्षिणतर्फको नालाको पानी राप्ती ड्याम नजिकै जम्मा गरेर ट्रिटमेन्ट गरी नदीमा पठाउने, उत्तरतर्फको नालाको पानी बीचको घोलबाट सिधै राप्तीमा जानेछ।’
उनले ढल निर्माणका क्रममा केही ठाउँमा विवाद आएको र त्यसको समाधानका लागि नगरपालिकाले प्रयास गरिरहेको बताए।
ढल निर्माण गर्दा सडक छेउका केही घरहरू भत्किने भएकाले केही ठाउँमा विवाद भइरहेको कुँवरको भनाइ छ।
सौराहामा यस वर्ष पनि सोही कामका लागि समपुरक बजेटमा तीन करोड रुपैयाँको योजना परेको छ। उक्त बजेटले बाँकी नाला निर्माण गर्ने लक्ष्य रहेको कुँवरले बताए।
‘अख्तियारी आइसकेको छ। मेयरसाबको टोलीले स्थलगत अवलोकन गरिसकेको छ। अब ठेक्का लाग्न बाँकी छ,’ उनले भने, ‘छिटै काम सुरु हुन्छ।’
नयाँ बजेटले चरा चोकबाट पश्चिमतर्फ करिब पाँच सय मिटर सडकको दुई किनारामा नाला बनाउने तयारी भएको बताए।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले निर्माणको जानकारी पाएसँगै तत्कालीन मेयरसँग जिज्ञासा राख्दा पानीमात्र बग्ने गरी ढल र फुटपाथ निर्माण गर्न लागिएको जानकारी गराएको बताए।
तत्कालीन मेयरसँग कुरा गर्दा यहाँबाट फोहार वस्तु बग्दैन भनेको आचार्यले बताए।
‘मैले ढल ट्रिटमेन्ट गरेरमात्रै नदीमा फाल्नुपर्छ भनेको थिएँ,’ उनले भने, ‘त्यसो नहुने हो भने त संरक्षणमा असर गर्छ। यस्तो अवस्थामा सच्याउनुपर्ने हुनुसक्छ। म फेरि पनि नगरपालिकासँग कुरा गर्छु।’
सौराहा रत्ननगर नगरपालिकाको वडा नम्बर ६ मा पर्छ। यो वडाका वडाध्यक्ष किरण महतोेले विशुद्ध आकाशे पानीको लागिमात्रै ढल निर्माण गरिएको बताए। ‘तैपनी कसैले अन्य फोहोर पनि मिसाइदिन्छन् कि भन्ने डर त छ,’ महतोले भने, ‘हामी यस विषयमा सचेत छौं। नियमित निगरानी गर्छौं।’
उनले आकाशे पानीमात्रै बग्ने भएकाले फिल्टर नगरी नदीमा फाल्दा पनि असर नपर्ने बताए। ‘कैसैले बेइमानी गरि नाला फोरेर पानीमा अरु फोहोर मिसाइदिन सक्छ, त्यो सिधै नदीमा पस्यो भने असर गर्छ भन्ने कुरा आइरहेको छ। हामीले पनि यस विषयमा छलफल गरिरहेका छौं। मेयर, उपमेयरसहितको टोलीले अनुगमन गरेपछि यहाँ केही गर्नुपर्छ भन्ने सल्लाह चाहि भएको छ,’ वडाध्यक्ष महतोले भने।
उनले उक्त योजना सौराहाका पर्यटन व्यवसायी, स्थानीयबासी, विभिन्न संघ, संस्थाहरुको सुझावको आधारमा बनेको गुरुयोजनाका आधारमा अघि बढेको दाबी गरे। करोडौं रुपैयाँ खर्च गरेर बनिरहेको योजनालाई सफल बनाउन पर्यटन व्यवसायीले सहयोग नगरे यसको असर समग्र सौराहाको पर्यटनमा पर्ने महतोले बताए। उनले गुरुयोजनाअनुसार नै ढल निर्माण कार्यलाई हरेक वर्ष बढाउँदै लैजान बजेट प्राप्त भइरहेको बताए।