गत भदौ ३० गते साँझ एक पुरुष स्कुटर चढेर नारायणी नदीको पुलमा पुगे। चाँदी रङको स्कुटर, निलो चप्पल र सामसुङ मोबाइल फोन पुलैमा राखे अनि आफू नदीमा हामफाले।
ती पुरुष चितवनको कालिका नगरपालिका–७ का बासिन्दा रहेको पत्ता लाग्यो। उनको अवस्था अझै थाहा भएको छैन।
त्यसको ९ दिनअघि त्यही पुलबाट ३० वर्षीय एक पुरुष नदीमा हामफालेका थिए। त्यसअघि भदौ १२ गते पनि स्कुटी चढेर पुलमा पुगेका अन्दाजी ३० वर्षका पुरुष हामफालेर बेपत्ता भएका थिए।
भदौकै ८ गते भरतपुर महानगर–८ का ४९ वर्षीय एक पुरुषले नारायणी पुलबाट हामफालेका थिए। अघिल्लो दिन ७ गते खैरहनी नगरपालिका–७ की २६ वर्षीया एक महिला हामफालेकी थिइन्। चितवनको नारायणगढ र नवलपुरको गैंडाकोट जोड्ने यो पुलबाट भदौको तीन हप्तामा नारायणी नदीमा हामफालेका मध्ये एक जनाको प्रहरीले सकुशल उद्धार गर्यो। अरू बेपत्ता छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) विजयराज पण्डितले जिल्लामा आत्महत्या गर्ने क्रम बढेको बताए।
‘तीन हप्तामा एकै ठाउँबाट पाँच जनाले आत्महत्याको प्रयास गर्ने असाध्यै दुखद अवस्था देखियो,’ उनले भने, ‘यी घटनाले नारायणी नदीको पुल सुरक्षित बनाउन आवश्यक रहेको देखाउँछन्।’
उनले पुल सुरक्षाको प्रबन्ध गर्न तीन वटै तहका सरकार गम्भीर बन्नु पर्ने अवस्था देखिएको बताए।
भदौ ३१ गते तनहुँ र चितवन जोड्ने मुग्लिन पुलबाट हामफालेर २७ वर्षीय युवकले आत्महत्या गरे। दोलखाको गैरीमुदी–९ का ती युवक मोटरसाइकल, चप्पल र झोला पुलमा राखेर त्रिशूली नदीमा हामफालेका थिए। उनको शव सोही दिन फेला परेको थियो।
‘यी घटनाहरूले युवाहरूले आत्महत्या कति सजिलो ठानेका छन् भन्ने देखाउँछ,’ जिल्ला प्रहरी कार्यालय चितवनका अर्का डिएसपी नरहरि अधिकारी भन्छन्, ‘केही समययता देखिएको आत्महत्या र आत्महत्या प्रयास निकै खतरानाक छ।’
उनका अनुसार गत आर्थिक वर्षमा चितवनमा २१४ जनाले आत्महत्या गरेकोमा ४० जना २६ देखि ३५ वर्षसम्म उमेरका थिए। आत्महत्या गर्नेमा ३६ देखि ४५ वर्षसम्मका ३४ जना, ४६ देखि ६० वर्षसम्मका ५० जना र ६० वर्षमाथिका ४२ जना थिए। १६ देखि २५ वर्षसम्मका ३७ जना र १६ वर्षमुनिका ८ जना थिए।
‘विश्व आत्महत्या रोकथाम दिवस’ को अवसरमा जिल्ला प्रहरी कार्यालय, चितवनले सार्वजनिक गरेको तथ्यांकले आत्महत्या गर्नेमध्ये ३९ प्रतिशत कृषि क्षेत्रमा आबद्ध व्यक्ति रहेको देखाउँछ। उक्त तथ्यांकमा कृषक ८४ जना, ज्यामी/मजदुर ३८ जना, गृहिणी ३३ जना, विद्यार्थी २२ जना, कर्मचारी र व्यापारी पाँच–पाँच जना रहेको उल्लेख गरिएको छ। आत्महत्या गर्नेमा बेरोजगार युवा १८ जना थिए। अन्य ७ जनाको पेसा नखुलेको जनाइएको छ। गत असारमा मात्रै १३ जना किसानले आत्महत्या गरेको विवरण प्रहरीमा छ।
जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको विवरणमा ६२ जनाले आवेशमा आएर आत्महत्या गरेको उल्लेख गरिएको छ।
४२ जना निराशाले, ३२ जना पारिवारिक कलहले, १९ जना असफलताले, १७ जना परिवारबाट अपहेलनाका कारणले, १७ जना दीर्घ रोगका कारणले, १२ जना प्रेममा धोका पाएका कारणले र ८ जना गरिबीका कारणले आत्महत्याको बाटो रोजेको प्रहरीको विवरणमा उल्लेख गरिएको छ।
गत आर्थिक वर्षमा १४७ जनाले आत्महत्याको प्रयास गरेको पनि प्रहरीको विवरण छ।
चितवनमा आर्थिक वर्ष २०७७/७८ मा अझ बढी, २१९ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको विवरण छ।पछिल्ला तीन वर्षमा बागमती प्रदेशका १० जिल्लाको तथ्यांक हेर्दा सबैभन्दा बढी आत्महत्याका घटना चितवनमा भएको देखिन्छ।
गत आर्थिक वर्षमा देशभरमा ६ हजार ७९३ जनाले आत्महत्या गरेकोमा बागमती प्रदेशमामात्रै ९०२ जना थिए। प्रदेश एक, लुम्बिनी प्रदेश र मधेस प्रदेशले बागमतीलाई पनि उछिनेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी पण्डितका अनुसार सामान्य निहुँमा पनि आत्महत्याको बाटो रोज्ने गरेको पाइएको छ। कपाल छोटो बनाइदिएको, मोबाइल चलाउन नपाएको, आफूले भनेजस्तो मोबाइल नपाएको, रोजेको पाइन्ट नकिनिदिएको जस्ता निहुँमा पनि बालबालिकामा आत्महत्याका घटना भएका छन्।
‘छोराछोरीले टेरेनन् भनेर आमाले र आमालाई रोग लाग्यो भनेर छोरीले आत्महत्या गरेका घटना छन्,’ उनले भने, ‘परीक्षामा राम्रो अंक आएन भनेर विद्यार्थीले आत्महत्या गरेका छन्।
पण्डितका अनुसार अन्तरजातीय प्रेम परिवारमा अस्वीकार भएर, प्रेममा बिछोड भएर, व्यापारमा घाटा भएर, लेनदेनमा झगडा भएर पनि आत्महत्याका घटना भएका छन्।
वैदेशिक रोजगारी र पेशाव्यवसायमा असफलता, निःसन्तान हुनुको पीडा पनि आत्महत्याका कारण बनेका छन्।
सामाजिक सञ्जालमा अश्लिल फोटो र भिडिओ पोस्ट गरिदिने धम्की आएर पनि आत्महत्याका घटना भएको डिएसपी पण्डितले बताए।
पेसा-व्यवसायमा असफल भएपछि आत्महत्याको बाटो रोज्नेमा चार्टर्ड एकाउन्टेन्ट र डाक्टर पनि छन्।
बागमती प्रदेश प्रहरी प्रमुख किरण बज्राचार्यका अनुसार मान्छेले आत्महत्या गर्नुअघि केही न केही प्रतिक्रिया जनाउने भएकाले समयमै पहिचान गरेर परामर्श दिन सके आत्महत्या रोकिन सक्छ।
प्रदेश प्रहरीले आत्महत्या न्यूनीकरणका लागि प्रदेश सरकार, स्थानीय तह तथा विभिन्न सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरी चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताइन्।
गरिब, बेरोजगार, गम्भीर प्रकृतिका दीर्घरोगबाट पीडित व्यक्तिहरू आत्महत्यातिर अग्रसर हुने गरेको मनोपरामर्शदाताहरू बताउँछन्। दुःखी पारिवारिक जीवन, अवैध गर्भजस्ता कारणले आत्महत्या हुने गरेको छ। अत्यधिक मादक पदार्थ तथा लागूपदार्थ सेवन, घरेलु हिंसा, डिप्रेसनको रोग, मानसिक विचलन, पारिवारिक तथा सामाजिक तिरस्कारका कारणले पनि आत्महत्या हुने गरेको छ।
मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको संस्था ‘होल्डिङ होप’ की मानसिक परामर्शदाता रीता केसी मानसिक स्वास्थ्यसम्बन्धी चेतनाको कमीले आत्महत्याका घटना बढ्दै गएको बताउँछिन्।
कोरोना महामारीपछि देखिएको आर्थिक मन्दी, बढ्दो बेरोजगारी र गरिबीले मानसिक स्वास्थ्यमा गम्भीर असर गरेको पनि उनले बताइन्।
‘कोरोना महामारीपछि धेरै मान्छेको आनीबानीमा परिवर्तन आएको देखिन्छ। व्यापार पहिलेको लयमा फर्किन नसक्दा तनाव भएको छ। झर्किने र नबोल्ने समस्याबाट सुरु भएर आत्महत्यासम्म पुग्ने गरेको छ,’ उनी भन्छिन्।
समयमा मलबिउ नपाउने, उत्पादनले उचित मूल्य नपाउने, परिवार पाल्न कठिन हुने, ऋणको बोझ बढ्दै जाने समस्याले किसानलाई आत्यहत्यातिर लैजाने गरेको उनले बताइन्।
‘तनाव बढ्दै गएर डिप्रेसनको तहमा पुग्छ तै पनि मान्छे कुरा लुकाएर राख्छ। अन्ततः आत्महत्याको बाटो रोज्ने गरेको पाइएको छ,’ केसी भन्छिन्।
के हो त यसको समाधान?
मानसिक स्वास्थ्यलाई शारीरिक स्वास्थ्यजस्तै ख्याल गर्नु पर्ने मानसिक परामर्शदाता केसीको भनाइ छ।
उनका अनुसार रुघाखोकी लाग्दा, टाउको दुख्दा, ज्वरो आउँदा अस्पताल गएजस्तै मनमा तनाव हुने, डर लाग्ने, निद्रा नलाग्ने, खाना नरुच्ने, धेरै रिस उठ्ने, विरक्त लाग्ने र जाँगर नलाग्ने जस्ता समस्या हुँदा मनोपरामर्शदाता वा मनोचिकित्सक भेट्नु पर्छ।
‘बरु बोक्सी लाग्यो कि भनेर झारफुक गर्ने चलन छ, अस्पताल जाने चलन छैन। समस्या देखाउन लाज मान्ने चलन छ,’ केसी भन्छिन्, ‘मानसिक स्वास्थ्य ठीक राख्नु आवश्यक छ, समयमै समस्या पहिचान भयो भने ज्यान बचाउन सकिन्छ।’
केसीका अनुसार बालबालिकाको आनीबानीबारे घर र विद्यालयले ध्यान दिनु पर्छ। छोराछोरीले आमाबाबुको आनीबानीमा ध्यान दिनु पर्छ। समस्या छ भन्ने लागेमा तरुन्तै मनोपरामर्शदाता वा मनोचिकित्सकलाई भेटेर सबै कुरा बताउनु पर्छ।
केसीका अनुसार मानसिक समस्यामा केही शारीरिक लक्षणहरू देखापर्छन्। यस्तो समस्या नजिकका मान्छेलाई थाहा हुन्छ।
‘बेलैमा नियन्त्रण गर्न सकियो भने आत्महत्यासम्म पुग्नै पाउँदैन,’ उनी भन्छिन्, ‘समस्या सुनिदिँदामात्रै पनि धेरै समाधान निस्कन सक्छ।’
निजी क्षेत्रले बिस्तारै मानसिक स्वास्थ्यमा ध्यान दिन थाले पनि सरकारी निकायले अझै पनि बेवास्ता गरेको केसीको भनाइ छ।
‘मान्छेको मन छ भने त्यो पनि दुख्छ र हामी मनको बिरामी हुन्छौँ, यौ नौलो कुरा होइन। यसको उपचार सम्भव छ,’ उनले भनिन्, ‘कसैलाई औषधि आवश्यक पर्छ, कसैलाई परामर्शले नै काम गर्छ।’
आत्महत्या न्यूनीकरण गर्न मानसिक समस्यामा समयमै परामर्श र उपचार नै सबैभन्दा राम्रो उपाय हो। केसीका अनुसार जति चाँडो समस्या थाहा हुन्छ समाधानको मौका पनि त्यति नै बढी हुन्छ।