चितवनको रत्ननगर नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गको कयर खोला पुलनजिकै बेल्सीबाट दक्षिणतर्फ लागेपछि हाजीपुर गाउँ आउँछ। करिब एक किलोमिटर साँघुरो कालोपत्रे सडक सकिएपछि कच्ची बाटो सुरू हुन्छ।
करिब पाँच सय मिटर अघि बढेपछि त्यो बाटो पनि सकिन्छ। त्यहाँबाट पाँच सय मिटरभन्दा बढी खेत कटेपछि बुढी राप्ती खोला देखिन्छ।
यो खोलामा बन्दै गरेको एउटा पुल छ।
सामान्यतया मान्छेको सुविधाका लागि भौतिक पूर्वाधार निर्माण गरिन्छन्। यसका लागि राज्यले लगानी गर्छ। तर करोडौं रूपैयाँ खर्चिएर बनाइएको यो पुलबारे स्थानीयलाई अत्तोपत्तो छैन। स्थानीयबासी मात्रै नभएर स्थानीय तहसमेत यो संरचनाको विषयमा बेखबर छ।
केही समयअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले पनि यो पुल अवलोकन गरेका थिए।
अवलोकनपछि फेसबुकमा फोटो राख्दै उनले लेखेका थिए, 'कतै नजाने पुल! पूर्वी चितवनको बुढी राप्ती खोलाको यो पुल कसरी यहाँ बन्यो, कसले बनायो, स्थानीयलाई थाहा छैन। सडक पनि जोडिएका छैनन्। यहाँबाट एक–डेढ किलोमिटरको दुरीमा नै दुई–तीन वटा अरू पुल छन्। अन्य विकासका काममा जस लिन होडबाजी गर्नेहरू पनि यो पुल आफूले बनाएको भनेर जस लिन खोज्दैनन्।'
सोमबार दिउँसो हामी पुग्दा पुलमुनि बनाइएको खाटमा बसेर टोलाइरहेका थिए रत्ननगर नगरपालिका–३ का ६७ वर्षीय जनु महतो। उनी यो पुलका संरक्षक हुन्।
पुल निर्माण ठेक्का पाएको कम्पनी लोहनी एन्ड ब्रदर्स कन्स्ट्रक्सनले आफूलाई पुल हेरचाहको जिम्मा दिएको उनले बताए। २०७६ साल साउनबाट यो पुल र निर्माण सामग्री हेरचाहको काम गर्दै आएका छन् उनी।
'पोहोर दसैंअघि घर गएका मान्छेहरू कोही फर्केर आएनन्। न साहु आए न मजदुर। तै पनि म आफ्नो जिम्मा पूरा गर्दैछु,' जनु महतोले भने, 'महिनाको पन्ध्र हजार रूपैयाँ तलब दिन्थे। दुई लाख रूपैयाँभन्दा बढी पाउनु पर्नेछ। तलब लिएर आऊलान् भन्ने आशमा साहुको बाटो हेरिरहेको छु।'
रत्ननगरको हाजीपुरको पारि खैरहनी नगरपालिकाको वडा नम्बर ५ पर्छ। पारि पनि वारि जस्तै करिब ५ सय मिटर नम्बरी जमिन कटेपछि बल्ल साँघुरो कच्ची सडक भेटिन्छ। त्यो सडक कटेर एक किलोमिटर जति पर पुगेपछि थारू समुदायको बसोबास रहेको गाउँहरू फसेरा, फसेर्नी पुगिन्छ। त्यहाँ १२५ भन्दा बढी परिवार बस्छन्।
यी गाउँका बासिन्दाहरूले बुढीराप्ती तर्न हामी पुगेभन्दा करिब एक/एक किलोमिटर पूर्व र पश्चिमका पुल प्रयोग गर्दै आएका छन्। रत्ननगर, भरतपुरतर्फ जान बिस्कुट उद्योग नजिकैको र खैरहनीतर्फ जान पूर्वतिरको पुल प्रयोग गर्छन्।
पुलनजिकै भेटिएका दुई स्थानीयले हामीलाई सोधे, 'यो पुल किन बनाएको रहेछ? किन अलपत्र छाडिएको रहेछ?'
हामीसँग यी प्रश्नको जवाफ थिएन।
उनीहरूलाई नै सौध्यौं– यो कुरा त स्थानीयबासीलाई थाहा हुनुपर्ने होइन र?
स्थानीय पूर्णबहादुर कुँवर क्षेत्रीले भने, 'हामीले त यो पुल भारत र चीन जोड्ने सडकका लागि बनाइएको भन्ने सुनेका हौं। यो कुरा सुन्दा गाउँतिरबाट ठूलो सडक बन्ने भयो, गाउँ विकास हुने भयो भन्ने लागेको थियो। तर किन अलपत्र पर्यो, बुझ्न सकेको छैन।'
उनले नजिकै रहेको एउटा घरको कोठैभरि राखिएका सिमेन्टका बोराहरू देखाए। ती बोरा यही पुल बनाउन कोठा भाडामा लिएर राखिएको रहेछ। केही बोरा सिमेन्ट पुलमुनि असरल्ल थिए। पुलमाथि निर्माण सामग्री लठपत्रै थिए।
आडैमा एउटा बिग्रिएको डोजर देखाउँदै जनु महतोले भने, 'चलिरहेको डोजरै छाडेर गए। अरू सानातिना सामान त कतिछन् कति।'
पुलदेखि करिब एक किलोमिटर पर छ उक्त वडाका पूर्व वडाध्यक्ष गुप्तनाथ भट्टराईको घर। तर भट्टराईले पनि यो पुलको विषयमा यकिन जानकारी पाउन नसकेको बताए।
'२०७४ सालमा म वडाध्यक्ष बन्दा यो पुल बन्न सुरू भइसकेको थियो। वडाध्यक्षको हैसियतमा मैले आफ्नो क्षेत्रमा बनेको पुलको विषयमा धेरै निकायसँग चासो राखेँ। कतैबाट पनि वास्तविक कुरो भनिएन,' उनले भने, 'कुन प्रयोजनका लागि पुल बनेको रहेछ भनेर सडक डिभिजन कार्यालयका कर्मचारी, ठेकेदार, सांसदहरूलाई पनि सोधेँ। जानकारी पाउन सकिनँ। तत्कालीन मेयर नारायण वनलाई पनि यस विषयमा जानकारी रहेनछ।'
उनले वडाभित्र सञ्चालित प्रदेश, संघका अन्य योजनाका विषयमा नगरपालिकालाई जानकारी हुने भए पनि यो योजना किन लुकाइयो बुझ्न नसकेको बताए।
नजिकै घर भएका अहिलेका वडाध्यक्ष सोहेन्द्र खरेल पनि पुलको विषयमा नगरपालिका बेखबर रहेको बताउँछन्।
'मेरो घर पुलबाट नजिकै छ। यही वडाबाट निर्वाचित भएर वडाध्यक्ष भएको छु तर पनि मलाई यो पुलको विषयमा केही जानकारी छैन। दुःखका साथ भन्नुपर्छ,' उनले भने, 'बाटो नै नभएको ठाउँमा किन पुल बनाइयो भन्ने कुरा बुझ्न म अझै पनि प्रयास गर्दैछु।'
उनले चितवन जिल्ला क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद सुरेन्द्र पाण्डेको पहलमा उक्त योजना आएको आफूले सुनेको बताए।
'पहिले जताततै नेकपाको हालीमुहाली हुँदा सबै योजना हाम्रो पहलमा आएको हो भन्थे। सुरूसुरूमा यो योजना पनि हाम्रै नेताले पारेको हो भन्थे,' नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष खरेलले भने, 'असफल भएपछि हामीले ल्याएको योजना होइन भन्दै हिँडेका छन् सबै।'
खैरहनी नगरपालिकाको वडा नम्बर ५ का वडाध्यक्ष छत्रनाथ सुवेदीले पनि पुलबारे कुनै जानकारी नभएको बताए।
'दुवैतर्फ बाटो छैन, बीचमा टुक्रुक्क पुल बसेको रहेछ। वरपर भेटिएका मान्छेलाई सोधेँ, उनीहरूलाई केही थाहा रहेनछ,' सुवेदीले भने, 'कसले, कुन प्रयोजनका लागि बनाएको हो भन्ने खैरहनी नगरपालिकालाई थाहा छैन। म पत्ता लगाउन कोसिस गर्छु।'
सडक विभागको योजनामा यो पुलको निर्माण सम्झौता २०७३ साल मंसिर २९ गते भएको थियो। आठ करोड ४५ लाख ५५ हजार ९५२ रूपैयाँ बजेटमा दुई वर्षभित्र सम्पन्न गरिसक्ने सम्झौता भए पनि कहिले खरिद नियमावली संशोधन, कहिले कोरोना महामारीको कारण देखाउँदै म्याद सार्दै लगियो। पुल र त्यहाँसम्म पुग्ने पहुँचमार्ग तयार गर्ने अन्तिम मिति आगामी माघ मसान्तसम्म हो।
'९० प्रतिशतजति काम भइसकेको छ। ठेकेदारले चाहयो भने एक महिनाभित्रै सबै काम सकिन्छ,' सडक डिभिजन कार्यालय भरतपुरका इञ्जिनियर विजय दराईले भने, 'ठेकेदारले महिनौंदेखि काम रोकेको छ। समयमै काम सक्ने प्रतिबद्धता भने गरिरहेकै छ।'
इञ्जिनियर दराईले पुल बनिरहेको ठाउँ र त्यहाँसम्म पुग्ने पहुँच मार्ग निर्माणको विषयमा विवाद भएपछि कम्पनीले काम रोकेको जानकारी पाएको बताए। ७० मिटर लामो, ११ मिटर चौडा यो पुल ढलान सकेर रेलिङ हाल्न सुरू भएको थियो। अब पनि तोकिएको समयमा काम नसके निर्माण कम्पनीलाई कारबाही हुने उनले बताए।
'त्यो पुलको के कति प्रयोग हुन्छ, त्यो अलग कुरा भयो। तर निर्माण कम्पनीले सम्झौताअनुसार समयमा काम पूरा गर्नुपर्छ,' उनले भने, 'अब त्यसको म्याद थप हुँदैन। समयमा काम नसकिए कारबाहीको प्रक्रिया सुरू हुन्छ।'
कार्यालयका सूचना अधिकारी इञ्जिनियर शिव खनालले सडक विभागमार्फत योजना आएपछि डिभिजन कार्यालयले काम अघि बढाएको बताए।
'माथिबाट योजना कसरी आयो भन्ने कुरा हामीलाई थाहा हुँदैन। यो ठाउँमा यस्तो पुल बनाउने भनेर योजना आएपछि हामीले काम गर्ने हो,' खनालले भने।
उनका अनुसार यो पुल निर्माणको सुरूबाटै जग्गाको विषयमा विवाद हुँदै आएको थियो। अझै पनि त्यो विवाद कायमै छ। उक्त पुल खैरहनीको फसेराका बासिन्दालाई हाजीपुरतर्फ आउन निर्माण गरिएको उनले बताए।
'यो अरू कुनै सडक आयोजनाअन्तर्गतको पुल होइन। बुढी राप्ती खोला पुल फसेर्नी घाट योजना हो,' खनालले भने, 'पहुँच मार्गसहित पुल निर्माण भयो भने स्थानीयलाई अहिलेको भन्दा सहज हुन्छ।'
बुढी राप्ती खोला पहिले हालको भन्दा करिब एक सय मिटर परबाट बग्थ्यो। पहिलेको र अहिलेको धारको बीचमा व्यक्तिको जमिन छ। खोला पनि व्यक्तिको नाममा रहेको जमिनबाट बगिरहेको छ। पुलमुनिको भाग स्थानीय अनिलकृष्ण श्रेष्ठ, प्रेम खनालको नाममा दर्ता छ। उनीहरू आफूलाई जानकारी नै नगराई पुल बनाउन थालिएको बताउँछन्। डोजर आएर खन्न थालेपछि बल्ल आफ्नो जमिनमा पुल बन्न लागेको थाहा पाएको श्रेष्ठले बताए।
'एउटा पिलर देखाएर छेउको भाग यही हो भनेका थिए तर त्यो बीचको भाग रहेछ। मेरो जमिन सर्लक्कै पुल र खोलामा मिसाइदिए। जग्गाधनीको अनुमतिबिना जबर्जस्ती पुल बनाइयो,' श्रेष्ठले भने।
पुलका लागि भनेर अब थप जमिन दिन नसक्ने उनले बताए।
अर्का जग्गाधनी खनालले भने जानकारी नगराई पुल बनाए पनि विकास हुन्छ भने ठीकै छ भनेर केही नबोलेको बताए।
'अहिले लालपूर्जामा भएको जमिनमा खोला हिँडेको छ। खोलाको वास्तविक जमिन मान्छेले भोगचलन गर्न थालेका छन्,' एक स्थानीयबासिन्दाले भने, 'यस्तै–यस्तै कुराको विवाद यहाँ निस्किराख्छ। त्यही भएर होला पुल बन्दा बन्दै रोकिएको।'
रत्ननगरका एक व्यवसायी भने भू-माफियाहरूले खैरहनीतर्फको जमिन बिकाउन बाटै नभएको ठाउँमा पुल योजना ल्याएको दाबी गर्छन्।
'पुलपारि खैरहनीको क्षेत्रमा गएर हेर्नुस्, त्यही पुलको हल्ला गरेर ठूला प्लट किनिएको छ। पुल बनेर विकास हुन्छ भन्दै जग्गा बिक्री गरेका छन्। यसरी पुल देखाएर जग्गाको कारोबार गर्नेमा जनप्रतिनिधि पनि छन्,' उनले भने।
स्थानीय सुमित्रा रेग्मीले विवाद समाधान गरेर मात्रै निर्माणको काम अघि बढाउनुपर्नेमा हतार गरेर अनुपयुक्त ठाउँमा पुल बनाइएको बताइन्। पुलको उत्तरतर्फको जमिन उनैको हो। त्यो जमिन नपाउँदासम्म पुलसम्म पुग्ने पहुँचमार्ग हुँदैन। उनले आफूहरुूलाई जानकारी नै नदिई गुणस्तरहीन काम गरेर पुल बनाइएको बताइन्। माटो परीक्षण अर्को ठाउँमा गरेर यहाँ पुल निर्माण गरेको उनको दाबी छ।
'यो पुल यहाँ किन बनाएको भनेर कसैलाई पनि थाहा छैन। पुल त गाँजा खानेहरू लुक्ने ठाउँ बनेको छ। अहिले आएर यस्तो पुलका लागि बाटो देऊ भनेर हामी हाम्रो जमिन दिन सक्दैनौं,' उनले भनिन्।
दक्षिणतर्फको जमिनका धनी प्रेम खनालले पुल बने पहुँचमार्गका लागि थप जमिन दिन तयार रहेको बताए।
'पहिले त जग्गाधनीलाई सामान्य जानकारी पनि गराइएन। काम सुरू भएपछि बनिरहेको थाहा पाएँ। विकासको काम हो भनेर केही बोलिनँ,' खनालले भने, 'अहिले पुल अलपत्र छ। राज्यको करोडौं लगानी भइसकेको पुल बन्नुपर्छ। बरू पुलसम्म पुग्न बाटो दिन म तयार छु।'