अहिले धेरैजसो डेंगीका बिरामी घरमै छन्। यस्तो अवस्थामा के-के कुरा खाने, कस्ता औषधि सेवन गर्ने भन्ने धेरैलाई अलमल हुन्छ।
कतिपयले सामाजिक सञ्जालमा लेखिएका विभिन्न औषधि सेवन गर्दा उल्टो त्यसले बिरामीको स्वास्थ्यमा समस्या आएको चिकित्सकहरू बताउँछन्।
टेकु अस्पतालका डाक्टर शेरबहादुर पुनले बिरामीहरूले अरूको लहलहैमा विभिन्न औषधि सेवन गर्दा त्यसले रक्तस्रावलगायत अन्य समस्या देखिएको बताए। कतिपयले त 'प्लेट्लेट्स' बढ्छ भनेर मेवाको पात पनि खाने गरेको सुनाउँदै डा. पुनले त्यसमा कुनै सत्यता नभएको बताए।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अहिले देशभर २४ हजार बढी मानिसलाई डेंगी संक्रमण भएको छ भने २९ जनाको मृत्यु भइसकेको छ। तर अहिले तथ्यांकमा भन्दा धेरै डेंगी संक्रमितहरू देशैभरी छन् र उनीहरू सबै आ-आफ्नै घरमा स्वास्थ्य लाभ गरिरहेको बताइएको छ।
यस्तो अवस्थामा घरमा रहेका डेंगीका बिरामीलाई के गर्ने, के नगर्ने भन्ने दुविधा हुनसक्छ।
हेर्नुस्, यही सन्दर्भमा डा. पुनसँग घरमा रहेका डेंगीका बिरामीले आफ्नो ख्याल कसरी गर्ने भन्नेबारे कुराकानी गरेर तयार पारिएको यो भिडिओः