मंगलबार एक दम्पतीलाई एम्बुलेन्सले चितवन मेडिकल कलेज पुर्यायो। आकस्मिक कक्षमा पुग्दा उनीहरू दुबै छटपटाइरहेका थिए। श्रीमतीलाई हृदयघात भइसकेको थियो। स्वास्थ्य परीक्षण गर्दा श्रीमानको मुटुमा पनि कडा समस्या देखियो। हृदयघात भएकी श्रीमतीको तुरून्तै शल्यक्रिया गरी नशा खोलेर आइसियुमा उपचार भइरहेको छ। मुटुको चाल अत्यधिक भएका श्रीमानको अवस्था थप खराब बन्दै गएको छ।
‘बुझ्दै जाँदा उनीहरूले निर्मसी(जडीबुटी)को सेवन धेरै गरेको पाइयो। त्यसले उनीहरूको मुटुमा धेरै असर गरिसकेको रहेछ,’ अस्पतालका मुटु रोग विशेषज्ञ डा.श्यामराज रेग्मीले भने, ‘आयुर्वेदिक औषधि, जडीबुटीले कुनै असर गर्दैन भन्ने गरिन्छ। त्यही भनेर मान्छेहरू जुनसुकै समयमा विधि नपुर्याई सेवन गर्छन्। त्यसले नजानिँदो रूपमा असर गरिरहेको हुनसक्छ।’
भाइरल संक्रमणबाट मुक्त हुन यार्सागुम्बा, जटामसी, निर्मसीजस्ता जडीबुटी खाने चलन छ।
नेपालमा पाइने धेरै जडीबुटीमा औषधिय गुण भएको प्रमाणित भए पनि मात्रा नमिलाई मनपरी सेवन गर्दा स्वास्थ्यमा असर गर्ने चिकित्सकहरू बताउँछन्।
रेग्मीले आफ्नो कुरालाई आयुर्वेदिक औषधिको विरोध गरिएको रूपमा नबुझ्न आग्रह गरे।
‘आयुर्वेदको विरोध गरेजस्तो हुनसक्छ तर मैले लामो समयमा मुटुको उपचारमा बिताउँदाको अनुभव सुनाउँदैछु। यसको मनपरी सेवनले मुटुलाई असर परिरहेको छ,’ उनले भने।
कतिपय बिरामीले परीक्षणपछि दिइएका आवश्यक औषधि थन्काएर आयुर्वेदिक औषधि खाँदा स्वास्थ्य बिग्रिएको पनि पाएको डा.रेग्मीले बताए।
‘आयुर्वेदिक औषधि खाँदै नखाऊ भन्न त हामीले मिलेन तर डाक्टरले जाँचेर दिएको औषधि फालेर जडीबुटी, आयुर्वेदिक औषधिमात्रै खाँदा त समस्या हुन्छ,’ उनले भने, ‘मुटुको समस्या हुँदा संसारभरका डाक्टरले सिफारिस गर्ने औषधि उस्तै हुन्छन्। तर त्यो नखाएर अन्य औषधि खाने, केही समयपछि अर्को नशा पनि बन्द गरेर अस्पताल आउने चलन बढ्न थाल्यो।’
काठमाडौंको गंगालाल राष्ट्रिय हृदय केन्द्रमा १० वर्ष सेवा गरेर विगत १० वर्षदेखि चितवन मेडिकल कलेजमा कार्यरत डा.रेग्मीले सकेसम्म मुटुमा समस्या आउनै नदिने र आइहाले विज्ञानले प्रमाणित गरेका औषधि सेवन गर्नुको अरू विकल्प नभएको बताए।
विश्व मुटु दिवसको अवसरमा गरिएको अन्तर्क्रियामा डा.रेग्मीले मुटुमा समस्या देखिएपछि परीक्षण गर्न ढिलो गरिँदा पनि धेरैले ज्यान गुमाएको बताए।
‘मुटुबाट रगत पास गर्ने नली बन्द भएको अवस्थामा ३० देखि ९० मिनेटभित्रमा अपरेशन गरिसक्नुपर्ने हुन्छ तर अन्य औषधि प्रयोग गर्ने, उपचार कता गर्ने भनेर निर्णय गर्नमा अलमल गर्ने, पैसा जुटाउन समय लाग्ने, उपचार सामग्रीको अभाव जस्ता समस्याले उपचार सुरू गर्नै नभ्याएका उदाहरण नेपालमा धेरै छन्,’ उनले भने।
काठमाडौंका सरकारी अस्पतालको शुल्क र यहाँका निजी अस्पतालको शुल्क बराबर र प्रविधि उही हुँदाहुँदै पनि मोफसलको मानसिकताले बिरामी यहाँ उपचार गराउन हिचकिच्याउने गरेको उनले बताए।
पुरानो मेडिकल कलेज भरतपुरका मुटु रोग विशेषज्ञ डा.मनोज श्रेष्ठले मुटुमा समस्या भएपछि धेरै ढिलो अस्पताल पुगेका बिरामीहरूको परीक्षण गर्दागर्दै मृत्यु भएको अनुभव सुनाए।
अस्पताल ढिलो पुग्दा शल्यक्रियाको तयारीमै बिरामीले ज्यान गुमाउन पुगेको उनले बताए।
‘यहाँ उपचार हुन्छ भन्ने थाहा नपाएर वा थाहा पाउँदा-पाउँदै पनि डाक्टरको विश्वास नगरेर उपचारका लागि काठमाडौं लैजाने चलन अझै छ। यसो गर्दा बिरामीको बाटैमा मृत्यु भएको, अस्पतालमा पुगेलगत्तै मृत्यु भएका घटना धेरै छन्,’ श्रेष्ठले भने, ‘अब चितवन मुटु रोगको उपचार गर्न काठमाडौं जत्तिकै तयार भइसकेको छ। दुई वटै मेडिकल कलेजमा आधुनिक क्याथल्याब छन्, काठमाडौंमा जत्तिकै सेवा दिइरहेका छन्।’
नारायणी सामुदायिक अस्पतालका मुटु रोग विशेषज्ञ डा.सुधिर रेग्मीले मुटु रोगको उपचारमा चितवनका स्वास्थ्य संस्थाहरूको विश्वसनीयता विस्तारै बढ्दै गएको बताए। तर मुटुको समस्या भएका बिरामीको उपचारमा राज्यबाट अपेक्षित सहयोग नभएको उनले बताए।
‘धेरै देशमा मुटुको उपचार नि:शुल्क हुन्छ। अस्पतालको आकस्मिक कक्षमा पुगेपछि बिरामीलाई पैसाको तनाव हुँदैन तर यहाँ तनाव नै पैसाकै कुराबाट सुरू हुन्छ। पैसा जम्मा नगरेसम्म उपचार सुरू नै हुँदैन,’ रेग्मी भन्छन्, ‘अस्पतालको आकस्मिक कक्षमा पुगेपछि उपचार पाइन्छ भन्ने अनुभूति राज्यले गराउनुपर्छ।’
भरतपुर अस्पतालका मुटु रोग विशेषज्ञ डा.मणि गौतमकाअनुसार नेपालमा ‘हाइपरटेन्सन’का कारण मुटुका रोगी बढिरहेका छन्।
युवाहरूमा मुटुका बाथ रोगको समस्या पनि बढी देखिएको छ। तनाव, धूमपान, सुर्तीजन्य पदार्थ सेवन, मध्यपान, मधुमेह, उच्च रक्तचापका कारण मुटुको समस्या बढेको पाइएको उनले बताए।
‘नेपालमा ७० प्रतिशतभन्दा बढीले कम्तीमा एक पटक मदिरा सेवन गरेको र ४८.८ प्रतिशतले नियमित सेवन गर्ने गरेको पाइएको छ। धूमपान गर्नेहरू २८ देखि ३० प्रतिशत रहेछन्। सुर्तीजन्य पदार्थ सेवन अझ बढीले गर्ने रहेछन्,’ १५ वर्षदेखि ६९ वर्ष उमेरसम्मका समूहमा सन् २०१९ मा गरिएको सर्वेक्षणले यो तथ्यांक प्रस्तुत गर्दै डा.गौतमले भने, ‘मुटुको समस्या उनीहरूलाई नै बढी देखिएको छ।’
डा.गौतमले हरेक चार जनामध्ये एक जनामा हाइपरटेन्सनको समस्या रहेको देखिएको बताए।
‘योभन्दा अघिल्लो अवस्था मानिने प्रि–हाइपरटेन्सनको चरणमा कुल जनसंख्याको १० प्रतिशत छन्। मोटोपना, पेट बढ्ने समस्या धेरै नेपालीमा छ। शारीरिक गतिविधि घट्दो क्रममा छ,’ गौतमले भने, ‘यी कारणले मान्छेको मुटुमा समस्या आउने गरेको छ।’
उनले कुल जनसंख्याको ९.१ प्रतिशतलाई मधुमेह भएको र १०.५ प्रतिशतलाई मधुमेहको सुरू हुन थालेको अध्ययनबाट देखिएको बताए।
विश्वका १७ प्रतिशत मधुमेही भारतमा रहेको, नेपाल र भारतको खानपान र जीवनशैली उस्तै भएकाले नेपाल पनि उच्च जोखिममा रहेको डा.गौतमले बताए।
नेपालमा २४.५ प्रतिशत वयस्कहरूमा उच्च रक्तचाप रहेको र मुटु रोगको लागि बलियो कारक उच्च रक्तचाप पनि रहेको उनले बताए।
चितवन मुटु अस्पतालका मुटु रोग विशेषज्ञ डा.शंकर लौडारीले वायु प्रदूषण पनि नेपालीमा मुटुको समस्या बढ्नुको प्रमुख कारण बनिरहेको बताए।
यसबाहेक खानामा चिल्लो र गुलियो पदार्थको प्रयोग बढी हुनु, तनाव र एन्जाइटीका कारण पनि मुटुमा असर परिरहेको उनले बताए।
उनले वायु प्रदूषणले २५ देखि २७ प्रतिशत मुटुका रोगहरू निम्त्याउने क्यान्सरको जोखिम पनि बढाउने बताए।
डा.लौडारीले नेपालमा मुटुको रक्तनलीका रोगहरू ३७ देखि ४३ प्रतिशत, मुटुको बाथरोग २० देखि २९ प्रतिशत, उच्च रक्तचापका कारणले मुटु सुन्निने रोग ७ देखि ९ प्रतिशत, मुटुको धड्कन गडबडी हुने रोगहरू ४ देखि ११ प्रतिशत र जन्मजात मुटुको रोगहरू ४ देखि ७ प्रतिशतमा देखिएको बताए।
छाती दुख्ने, रिंगटा लाग्ने, बेहोस हुने जस्ता लक्षण मुटु रोगका हुन्छन्। ४० वर्ष उमेरपछि मुटु रोगको जोखिम बढ्दै जाने विशेषज्ञ चिकित्सकहरूले बताए।
मुटु रोगको उपचारमा सरकारले १ लाख रुपैयाँ उपलब्ध गराउने गरेको छ।
काठमाडौंको गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भने ७५ वर्षभन्दा बढी र १५ वर्षभन्दा कम उमेरका बिरामीको नि:शुल्क उपचार हुन्छ। यो उमेरका बिरामीलाई नि:शुल्क सेवा पाउन काठमाडौं नै पुग्नुपर्ने बाध्यता छ।
चितवन मेडिकल कलेजका डाक्टर रेग्मीले यो सेवालाई विकेन्द्रीकरण गर्नुपर्ने बताए।
विकसित देशमा मुटु ट्रान्सप्लान्ट गर्न, कृत्रिम मुटु राख्न पनि सुरू गरिए पनि नेपालमा भने यो सेवा सुरू हुन धेरै समय लाग्ने डा.रेग्मी बताउँछन्।
‘जेजस्ता सुविधा छन् तिनलाई स्तरीय बनाउने र सेवाको विकेन्द्रीकरण गर्ने हो भने यही पनि धेरै सार्थक बन्न सक्छ,’ रेग्मी भन्छन्, ‘यस विषयमा राज्य गम्भीर बनोस् भन्ने सुझाव छ।’
मुटु रोग विशेषज्ञ डा.मणि गौतमले मुटुको समस्या कम गर्न खानपान, शारीरिक व्यायाममा ध्यान दिनुपर्ने बताए।
‘पर्याप्त फलफूल, तरकारीको सेवन गर्नुपर्छ, खानामा नुनको परिमाण घटाउनुपर्छ। नेपालमा नुनको मात्रा बढी सेवन गर्ने चलन छ, फलफूल नियमित खाने चलन छैन। यसमा सन्तुलन कायम गर्नुपर्छ,’ डा.गौतमले भने।
विशेषज्ञ चिकित्सकहरूले मुटुको समस्या आउन नदिन रातो मासु, चिल्लो खाना, तेलमा भुटेको, तारेको तयारी खाना नखान, हप्तामा ५ देखि ६ दिन २० देखि ३० मिनेट हिँड्न, दैनिक १० मिनेट जति दौडिन सुझाव दिएका छन्।