अविरल वर्षाले गलेको भिरबाट सडकमा लेदो खसिरहेको थियो। कतै ठूला चट्टान र गेगर झरेका थिए। सडक हिलाम्मे थियो, कतै सडकमै खोलो बगेको देखिन्थ्यो। यात्रुहरू घन्टौंदेखि सडकमा अलपत्र थिए।
वर्षायाममा यस्तै हुन्छ नारायणगढ–मुग्लिन सडकको हाल।
यसपालि त दसैंमा पनि सुखले यात्रा गर्न दिएन यो सडकले। केराबारी, सत्रकिलो र अठारकिलो भन्ने ठाउँमा झरेको पहिरोले नारायणगढ–मुग्लिन सडक बिहीबार दिनभरजसो अवरूद्ध बन्यो। विजया दशमीको दिन यात्रा गर्दै गरेका यात्रुहरू दिनभर सडकमै रोकिए।
पूर्वी र पश्चिम नेपाललाई देशको राजधानी काठमाडौंसँग जोड्छ नारायणगढ–मुग्लिन सडकले। पूर्वका यात्रुहरूका लागि सडकको अर्को विकल्प भए पनि पश्चिमका यात्रुका सहज विकल्प छैन। जतिसुकै ट्राफिक जाम भए पनि पर्खिनु उनीहरूको बाध्यता हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक धर्म अधिकारीका अनुसार गत जेठ २४ गतेयता पहिरोका कारण यो सडक १०९ घन्टा अवरूद्ध बनेको छ। २४ गते सडकमा सुख्खा पहिरो झरेको थियो। त्यसयता प्रायः लेदो, गेगर, चट्टान झरेर सडक बन्द भएको छ।
गत साउनको १७ गते मौरी पुलमा झरेको पहिरोले लगातार २३ घन्टा सडक बन्द भएको थियो। सडक भासिने समस्या पनि यहाँ उस्तै छ।
'बिहीबार दसैंको दिन यात्रुहरूलाई यात्रामा असहज नहोस् भनेर हामीले पहिल्यैबाटै तयारी गरेका थियौं। लगातारको वर्षासँगै पहिरो झर्न थाल्यो। तैपनि सकेसम्म छिटो पहिरो पन्छाएर यात्रुलाई गन्तव्यमा पठाउन प्रयास गर्यौं,' अधिकारीले भने, 'हामीले गर्नसक्ने भनेको ट्राफिक व्यवस्थापन मात्रै हो। पहिरो पन्छाउने काम सडक कार्यालयले गर्छ। जतिसक्दो छिटो सडक सञ्चालनमा ल्याउन समन्वय गर्छौं।'
उनले यो सडक भएर दैनिक करिब १५ हजार सवारी साधनहरू चल्ने गरेको बताए। दसैंको समयमा ठूला गाडी कम चले पनि साना सवारी साधन अत्यधिक चलेको अधिकारीले बताए।
'उपल्लो निकायबाट किन अहिलेसम्म सडक खुलेन भनेर सोधनी भइराख्ने, यात्रुहरू हामीले नै सडक बन्द गरे झैं गरेर ट्राफिक प्रहरीमाथि खनिने चलन छ,' उनले भने, 'राति पहिरो जाँदा काम गर्न उस्तै गाह्रो छ। तैपनि हामी आफ्नो जिम्मेवारीलाई सम्झिएर संयमित भएर काम गर्छौं।'
२०६० सालमा १६ ठाउँमा पहिरो जाँदा यो सडक एक महिनासम्म अवरूद्ध भएको थियो। पछिल्लो पटक सन् २०१५ बाट दुई अर्ब ९० करोड रूपैयाँ लगानीमा तीन वर्ष लगाएर यो सडकको विस्तार गरिएको थियो। सडक विस्तारअन्तर्गत नै पुल निर्माणको काम अझै सकिएको छैन। केही पुल निर्माण सुरू गर्नै बाँकी छ। तर ठाउँठाउँमा पहिरो झरिरहने र सडक भासिने समस्याले यो सडकको यात्रा सधैं कष्टकर बन्ने गरेको छ।
मुग्लिनदेखि नागढुंगा, नारायणगढदेखि बुटवल र मुग्लिनदेखि पोखरासम्मको सडक विस्तारको काम पनि अहिले चलिरहेको छ। निर्माण कार्य चलिरहेका यी सडकहरूको यात्रा पनि कम कष्टकर छैन।
करिब तीन घन्टामा सकिने नारायणगढ–बुटवल यात्राको अवधि अहिले झन्डै दोब्बर पुगेको छ।
यो सडक खण्डलाई एसियन राजमार्गको गुणस्तर मापदण्डमा विस्तार गर्ने भनेर सम्झौता भएको ४४ महिना पूरा भयो। ४२ महिनाभित्र काम सम्पन्न गर्नेगरी २०७५ सालको माघ २४ गते सम्झौता भएको सडकको प्रगति अहिलेसम्म करिब १८ प्रतिशत मात्रै छ।
चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले निश्चित समय (२०७९ साउन २२ गते) भित्र काम नसकेपछि पुनः एक वर्षलाई म्याद थपिएको थियो। तर थपिएको समयमा पनि काम सुस्त गतिमा चलिरहेको छ।
चाइना स्टेट कन्स्ट्रक्सनले पूर्व-पश्चिम राजमार्गको नारायणगढ-बुटवल खण्डको ११४ किलोमिटर सडक निर्माणको काम गरिरहेको हो। उक्त सडकलाई दुई खण्डमा बाँडेर ठेक्का लगाइएको थियो। दसैं सुरू भएपछि यो सडक निर्माणको काम ठप्प छ। भत्किएर जिर्ण बनेको सडकमा यात्रा गर्न यात्रुहरूले निकै कष्ट झेलिरहेका छन्।
समय थप्दा पनि काममा ढालासुस्ती भएपछि सडक आयोजनाले सार्वजनिक सूचना नै जारी गरेर निर्माण कम्पनीलाई चेतावनी दिएको थियो। २८ दिनभित्रमा उपस्थित भएर समयभित्रै निर्माण कार्य सक्ने प्रतिबद्धता गर्न सार्वजनिक सूचना जारी गरिएको थियो।
'उक्त अवधिभित्रै कम्पनीका प्रतिनिधि र सडक विभागको उच्चस्तरीय बैठक भयो। चाडपर्व र वर्षाका कारण ढिलाई भयो। दसैंलगत्तै द्रूत गतिमा काम गर्छौं भनेर प्रतिबद्धता जनाएका छन्,' आयोजनाको गैंडाकोट-दाउन्ने खण्डका प्रमुख रमेशकुमार दिष्टीले भने।
उनले कम्पनीले द्रूत गतिमा काम गरेर अब बाँकी अवधिमा काम सक्न सम्भव रहेको बताए।
'हामीले काम समयमा सक्न निर्देशन दिने, समन्वय गर्ने हो। काम सक्ने त ठेकेदारले नै हो। पछिल्लो प्रतिबद्धता पूरा गर्लान् भन्ने आशा गरौं,' उनले भने, 'पश्चिमतर्फ पनि समान गतिमा काम भए अर्को दसैंमा नारायणगढ-बुटवल सडक तयार भइसक्छ।'
उनले आफ्नो खण्डमा पर्ने २२ मध्ये १५ पुल निर्माण भएर सवारी साधन चल्न थालिसकेको बताए। यी १५ पुल मध्ये केहीको एकतर्फी लेनमात्रै बनेको छ।
'कम्तीमा एकतर्फी लेन १५ वटा पुलको बनिसकेकाले अब डाइभर्सनको भरपर्नु पर्ने अवस्था सकियो। यसले यात्रा केही हदसम्म भए पनि सहज भएको छ। अब सडक बनाउने, कालोपत्रे गर्ने काम दसैंलगत्तै अघि बढ्छ होला,' दिष्टीले भने।
यो सडकमा पुल निर्माण गर्नेक्रममा बनाइएका डाइभर्सन बाढीले बगाउँदा वर्षायाममा घन्टौंसम्म राजमार्ग अवरूद्ध हुन्थ्यो।
हाल दुई लेन रहेको नारायणगढ-बुटवल सडक खण्डलाई विस्तार गर्दै कतै चार लेन, कतै ६ र तीन लेनको बनाउन लागिएको छ।
गैंडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर र दाउन्नेदेखि बुटवलसम्मको ४९ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ।
१६ अर्ब ९९ करोड ५२ लाख रूपैयाँ लागत लाग्ने यो योजनामा एसियाली विकास बैंकको ८५ प्रतिशत र बाँकी नेपाल सरकारको लगानी रहने छ। यो सडकले रूपन्देही, नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गरी तीन जिल्लालाई छुन्छ।
२०१८ सालमा तत्कालीन राजा महेन्द्रले गैंडाकोटमा शिलान्यास गरेको सडक ५७ वर्षपछि फराकिलो हुन थालेको थियो। विस्तार कार्यको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ८ गते बुटवलमा गरेका थिए।
पृथ्वी राजमार्गको मुग्लिन-पोखरा सडक खण्डलाई दुइटा प्याकेज बनाएर ठेक्का लगाइएको छ। यो राजमार्गको विस्तारको प्रगति पनि सन्तोषजनक छैन। चार लेन विस्तार गर्न लागिएको सडकको ठेक्का अवधिको एक वर्ष बित्नै लाग्दा प्रगति करिब तीन प्रतिशत मात्रै छ। निर्माणाधीन सडक र ठाउँठाउँमा पहिरो गएको, सडक भासिएका कारण यात्रा गर्न सहज छैन।
यो सडक गण्डकी प्रदेशलाई देशको राजधानी काठमाडौंसँग जोड्ने प्रमुख राजमार्ग हो। ८०.३३ किलोमिटर लम्बाइको सडकको स्तरोन्नति आर्थिक वर्ष २०७६/७७ मा सुरू भएको थियो। योजनाको अवधि आर्थिक वर्ष २०८५/८६ सम्म छ। योजनाको लागत १३.६२ अर्ब रूपैयाँ छ।
मुग्लिनदेखि नागढुंगा जोड्ने सडकको विस्तार काम पनि अहिले चलिरहेको छ। यो सडकअन्तर्गत तेस्रो खण्डमा पर्ने मलेखुदेखि मुग्लिनसम्म ४० किलोमिटर ठेक्का लागेको छ। सडकमा निर्माणको काम चलिरहँदा यातायात सेवा प्रभावित हुँदै आएको छ।
चार अर्ब ८० करोड रूपैयाँमा बजेटमा शर्मा–जेडआईसीजी जोइन्ट भेन्चरले कम्पनीले काम गरिरहेको छ। मलेखुबाट मुग्लिनसम्मको खण्डका लागि साढे ६ अर्ब रूपैयाँ खर्च हुने अनुमान गरिएको थियो। तर उक्त निर्माण कम्पनीले १ अर्ब ५० करोड रूपैयाँ कम आर्थिक प्रस्ताव गरेकाले ठेक्का पाएको हो। निर्माण कम्पनीले पूर्व तयारीका कामहरू सम्पन्न गरी निर्माणको कार्य ३ वर्षभित्र सक्नुपर्ने छ।
यो मुग्लिन–नागढुंगा सडक आयोजना विश्व बैंकको १९ अर्ब ऋण सहयोगमा निर्माण हुन लागेको हो। यसअन्तर्गत नागढुंगा–नौबिसे खण्ड १२.२६ किलोमिटरको ठेक्का १ अर्ब ३१ करोड ८४ लाख रूपैयाँमा एमएस जियाङसु–सगुन जेभी र नौबिसे–मलेखु खण्ड ४३.५४२ किलोमिटरको ठेक्का शर्मा–लामा–जेडआइसीजी जेभीले ५ अर्ब ३३ करोड १९ लाखमा पाएको हो। यो सडक विस्तारको काम ३ वर्षमा सम्पन्न गरीसक्नुपर्ने छ।
पृथ्वी राजमार्गकै नौबिसेदेखि नागढुंगासम्म सुरुङमार्ग निर्माणको काम अहिले चलिरहेको छ।