कुरो एक हप्ता अघिको हो। नेपालसँग सीमाना जोडिएको भारतको बिहार राज्यको एउटा गाउँमा बस्ने आमा–छोरालाई बाघले आक्रमण गरेर ज्यानै लियो।
बाल्मीकि टाइगर रिजर्भसँग जोडिएको गाउँ ‘बलुवा’मा बस्थे उनीहरू। बाघ प्रायः उनीहरूकै गाउँको उखुबारीमा बस्थ्यो।
बिहारको रामनगर प्रखंडमा ‘चम्पारण आदमखोर’ नामले परिचित यो रोयल बेंगल टाइगरले गत शनिबार बिहान ती आमा–छोरालाई खानुअघि ८ जना स्थानीय बासिन्दाको ज्यान लिइसकेको थियो।
उसले स्थानीयले पालेका कति पशु चौपाय खायो भन्ने कुराको त कुनै लेखाजोखा नै छैन। तर नरभक्षी बाघलाई नियन्त्रणमा लिन त्यहाँका निकायले गरेको प्रयास सार्थक हुन सकेको थिएन।
अन्ततः मान्छे खान पल्किएको बाघलाई मार्ने निर्णयमा त्यहाँको प्रशासन पुग्यो।
गत शुक्रबार बाघलाई गोली हानेर मार्ने निर्णय नै भयो। तर नरभक्षी बाघलाई मार्न कागजमा निर्णय गरेजस्तो सजिलो कहाँ थियो र?
बिहारले चम्पारण आदमखोरलाई नियन्त्रणमा लिन नेपालको सहयोग माग्ने निर्णय गर्यो।
बिहारको आग्रह राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग हुँदै चितवन राष्ट्रिय निकुञ्जमा आइपुग्यो।
चितवन निकुञ्जका वन्यजन्तु चिकित्सक डा.विजयकुमार श्रेष्ठको नेतृत्वमा बाघको डार्टमा अनुभवी प्राविधिकहरू बिहार पुगे।
बाघ नियन्त्रणका लागि बिहार पुलिसको स्पेशल टास्क फोर्स, त्यहाँका वन्यजन्तु प्राविधिक, कर्मचारी र स्थानीयहरू तयारी अवस्थामा थिए।
नेपालबाट वन्यजन्तु एम्बुलेन्समा चढेर गएको टोलीले बाघ नियन्त्रणको व्यवस्थापन गरिदियो। करिब ७ घण्टाको प्रयास (विशेष अपरेसन) पछि बाघलाई गोली हानेर मारिएको थियो।
‘मान्छे खाने बाघलाई नियन्त्रणमा लिन ४०० जना मान्छेहरू खटेका थिए। नेपालको चितवन राष्ट्रिय निकुञ्जबाट आएको टिमसहित बिहारका प्रहरी, वन्यजन्तु प्राविधिक, तालिम प्राप्त हात्तीहरू, कर्मचारी, स्थानीयबासीहरूले घेरेर बाघलाई गोली हानेर मारिएको थियो,’ भारतबाट प्रकाशन हुने टाइम्स अफ इन्डिया डटकमले लेखेको छ।
ड्रोन क्यामेरा उडाएर बाघ भएको ठाउँ पहिचान गरियो। त्यो ठाउँमा ‘भिट’ लगाइयो। बाघले सेतो घेरा नाघ्दैन भन्ने विश्वास गरिन्छ। त्यसैले सेतो कपडाको घेरा हालेर बाघलाई छेक्ने चलन छ। यसलाई भिट भनिन्छ।
भिट लगाएपछि हात्तीसहितको समूह घेरा साँघुरो बनाउँदै लगेर बाघसम्म पुग्छ।
बिहारका प्रमुख वन्यजन्तु वार्डेन प्रभातकुमार गुप्ताका अनुसार यो बाघ रामनगरको बगही सखुपाती पंचायतअन्तर्गत पर्ने बलुवा गाउँ नजिकैको उखुबारीमा जन्मिएको थियो। उसकी आमाले यो उखुबारीमा तीन वटा डमरूहरूलाई जन्म दिएकी थिइन्। अन्य दुई भाले र पोथी डमरूहरू बाल्मीकि टाइगर रिजर्भभित्र पसे पनि यसले भने उखुबारी छाडेन।
‘यो बस्ती नजिकैको उखुबारीमा जन्मियो, सधैं मानवबस्ती वरपर नै बसेर मानवमाथि आक्रमण गरिरह्यो। अन्त्यमा उखुबारीमै मर्यो। मर्ने बेलामा पनि ऊ गोली हान्ने मान्छेसँग आँखा जुधाउँदै थियो,’ गुप्ताको भनाई उदृध गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ।
बाघलाई मारेपछि स्थानीय बासिन्दामा खुसी छाएको थियो। यो बाघका कारण यहाँका बासिन्दा अँध्यारोमा बाहिर निस्कन सक्दैनथे। उज्यालोमा पनि एक्लै बाहिर निस्कन डराउँथे।
टि–१०४ नाममा रेकर्ड भएको यो ३ वर्षे बाघले २८ दिनको अवधिमा करिब ३० किलोमिटर क्षेत्रभित्र १० जना मान्छेको ज्यान लिएको थियो।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बाघ संरक्षण, मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण, बाघको नियन्त्रण जस्ता काममा निकुञ्जसँग धेरै अनुभव रहेकाले बिहारले सहयोग मागेको बताए।
‘उनीहरूका लागि अन्य प्रान्तहरूभन्दा नेपाल नै नजिक भयो। हामीले गरिरहेको कामबारे जानकारी भएकाले उनीहरूले व्यवस्थापकीय सहयोग मागेपछि हामीले डा.श्रेष्ठको नेतृत्वमा अनुभवी प्राविधिकहरूको टोली पठाएका थियौं,’ तिवारीले भने।
नेपालभरमा ३५५ वटा बाघ रहेको तथ्यांक छ। चितवन निकुञ्जमा मात्रै १२८ वटा बाघ छन्। सन् २०१८ यता यहाँ बाघको संख्या ३५ ले बढेको छ। बाघको संख्या बढेसँगै यसले मान्छेमाथि आक्रमण गर्ने क्रम पनि यहाँ बढ्दो छ। तर नेपालमा नरभक्षी बाघलाई नियन्त्रणमा लिएर पिँजडामा राख्ने चलन छ। त्यस्ता बाघहरूलाई नियन्त्रणमा लिएर राख्न निकुञ्जको हेडक्वाटर कसरा र पूर्वी सेक्टर सौराहामा गरेर पाँच वटा पिँजडा छन्। एउटा नयाँ पिँजडा बन्दैछ। अहिले पनि विभिन्न ठाउँबाट समातेर ल्याएका चार वटा बाघ पिँजडामा छन्। उनीहरूलाई त्यहाँ राखेर व्यवहार सुध्रिएको छनक पाएपछि निकुञ्जको कोर क्षेत्रमा लगेर छाडिन्छ।
‘नरभक्षी वन्यजन्तुलाई गोली हानेर मार्ने कानुन हाम्रोमा पनि छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअन्तर्गतको नियमावलीले त्यो व्यवस्था गरेको छ तर हामीले सकेसम्म नियन्त्रणमा लिएर बानी सुधार्नमै जोड दिने गरेका छौं,’ तिवारीले भने।
त्यही नियमावलीमा टेकेर निकुञ्जले २०७० सालमा धुर्बे हात्तीलाई मार्ने प्रयास गरेको थियो। तर ऊ फुत्किन सफल भयो। त्यसअघि निकुञ्जले माडीको गणेशकुञ्जमा पाँच जना मान्छेको ज्यान लिने बाघलाई गोली हानेर मारेको थियो।