पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न नगर्ने एक निर्माण कम्पनीलाई सडक डिभिजन कार्यालय चितवनले कारबाही गरेको छ।
भरतपुर महानगरपालिकाको केन्द्रीय बस टर्मिनल चोकदेखि विशालचोक सम्मको ‘बाइपास सडक’ निर्माणमा ढिलासुस्ती गर्ने कम्पनीलाई कारबाही गरिएको हो।
निर्माण कम्पनी गौरी पार्वती निर्माण सेवा प्रालिलाई दैनिक ०.०५ प्रतिशत हर्जना तोकेर अशुल गर्न थालिएको सडक डिभिजन कार्यालयका ईन्जिनियर राजिव मानन्धरले बताए।
‘पाचौं पटक थपिएको म्यादभित्र पनि काम नसकेपछि गौरी पार्वती निर्माण सेवा असोजको सुरूबाट दैनिक हर्जनामा परेको छ,’ ईन्जिनियर मानन्धरले भने, ‘अहिलेसम्म ८ लाख रूपैयाँ हर्जना अशुल गरिसकेका छौं।’
२०७३ सालको पुस १९ गते ठेक्का सम्झौता भएको यो सडकको पाचौं पटक थपिएको म्याद गत भदौ ३१ गते सकिएको थियो।
सुरूआतमा केन्द्रीय बस टर्मिनलदेखि आँपटारीसम्मको ६ किलोमिटर सडक ७ मिटर चौडा बनाएर कालोपत्रे गर्नेगरी सम्झौता भएको थियो। यसका लागि १२ करोड ८१ लाख ८२ हजार ९४७ रूपैयाँमा सम्झौता भएको थियो। तर केही समयमै डिजाइनमा परिमार्जनगरी बीच भागमा ‘मिडियन’ बनाएर त्यसको दायाँ–बायाँ ७-७ मिटरको कालोपत्रे सडक र दुबैतर्फ एक/एक लेन ग्राभेल सडक बनाउने सम्झौता भयो। पहिले आँपटारीसम्म बनाउने भनिएको ६ किलोमिटर सडकलाई घटाएर ४ किलोमिटर बनाउने भनि १३ करोड ४५ लाख ८२ हजार ७९१ रुपैयाँमा सम्झौता गरिएको थियो।
सडक डिभिजन कार्यालयका अनुसार यो सडकको समग्र प्रगति ९१ प्रतिशत छ। करिब ३ प्रतिशत कालोपत्रे गर्न बाँकी छ। ग्राभेलको काम पनि बाँकी छ।
‘डिजाइन परिवर्तन, कोरोना महामारी, निर्माण सामग्रीको मूल्यबृद्धि जस्ता कारणले म्याद थप हुँदै आएको थियो। भदौ ३१ को म्यादभित्र पनि काम नसकेपछि फेरि म्याद थप्नुपर्ने कारण देखिएन,’ मानन्धरले भने, ‘पहिलो चरणको कारबाहीस्वरूप हर्जना लागाएका हौं।’
हर्जना तिर्नुपर्ने भएपछि निर्माण कम्पनीले लामो समयदेखि अड्किएको काम सुरु गरेको छ। केन्द्रीय बस टर्मिनल चोकदेखि मालपोत चोकसम्म ग्राभेल गर्न सडक छेउमा खन्ने काम अहिले भइरहेको छ। लगातार एक महिना काम गरे सम्झौताअनुसारको काम सकिने ईन्जिनियर मानन्धरले बताए।
१० प्रतिशत हर्जना तिरिसक्दा पनि सन्तोजनक काम नभए ठेक्का सम्झौता रद्द गरेर निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने व्यवस्था खरिद ऐनमा छ। यो ठेक्काको १० प्रतिशत रकम सवा एक करोड रुपैयाँ भन्दा बढी हुन्छ। निर्माण कम्पनीले ठेक्काबापतको करिब एक करोड रुपैयाँमात्रै बुझ्न बाँकी छ।
‘मंगलबारसम्म ४६ दिनको हर्जनाबापत २६ लाख २२ हजार रुपैयाँ तिर्नुपर्ने देखिन्छ। हर्जना रकम हामी कम्पनीले पाउने रकमबाट अशुल गर्दै जान्छौं, नपुगे धरौटी रकमबाट पनि अशुल गरिन्छ,’ उनले भने, ‘अब जतिसक्दो छिटो काम सक्छौं भनेर निर्माण कम्पनीले प्रतिबद्धता गरेको छ। मुख्य कामहरु सकिएकाले बाँकी काम छिट्टै सकिएला भन्ने आशा गरेका छौं।’
नयाँ ठेक्का पनि म्याद थप, काम सन्तोषजनक
बाइपासकै विशालचोकदेखि आँपटारीसम्मको सडक बिस्तारको काम पनि अहिले भइरहेको छ। २०७७ असार २६ गते यो खण्डलाई ६ लेनको बनाउने र विशालचोकदेखि केन्द्रीय बस टर्मिनल चोकसम्मको ४ लेन सडकमा थप एक/एक लेन कालोपत्रे गर्ने गरी सम्झौता भएको थियो। २६ करोड ६ लाख ६६ हजार ७५३ रुपैयाँमा २०७८ फागुन २० गतेभित्र निर्माण सक्नेगरी रायमाझी–पशुपती जेभीसँग उक्त सम्झौता भएको थियो। तर समयमै नसकिएपछि म्याद २०८० जेठ १० गतेसम्मका लागि थपिएको छ।
सडक डिभिजन कार्यालयका ईन्जिनियर राजिव मानन्धरले यो सडकको वित्तीय प्रगति २३ प्रतिशत भएको बताए।
अहिले ग्राभेल गर्ने र कालोपत्रे गर्ने काम चलिरहेको उनले बताए। ‘अहिलेको गतिमा काम भयो भने यो सडकको निर्माण समयमै सकिन्छ,’ उनले भने, ‘विद्युत् प्राधिकरणले पोल नसारिदिँदा केही ठाउँमा ढिलाई भएको छ। हामीले प्राधिकरणलाई आग्रह गरेका छौं।’
यो योजनाको निर्माण सकिएपछि हाल अन्तिम चरणमा रहेको विशालचोक–केन्द्रीय बसटर्मिनल चोक सडकको कालोपत्रे सडकमा पुनः एक पत्र थप्ने तयारी भएको मानन्धरले बताए। यो खण्डको कालोपत्रे सडक योजना सम्पन्न हुनुअघिबाटै बिग्रन थालेको छ। सडकको ठाउँ–ठाउँमा खाल्डाहरु छन्।