सरस्वती महर्जनले सानोमा स्कुल पढ्न पाइनन्। ३० घन्टा टाफ्रिक प्रहरी भएर स्कुले विद्यार्थीलाई बाटो कटाइदिँदा भने स्कुल पढ्न गएजत्तिकै सुखद अनुभूति सँगालिन्।
ती विद्यार्थी कहिलेकाहीँ हात हल्लाउँदै उनलाई भन्थे, 'थ्यांक्यु, ट्राफ्रिक आन्टी!'
त्यसले झनै उनलाई ऊर्जा थपिदिन्थ्यो। अशक्त, वृद्धवृद्धालाई बाटो कटाइदिँदा त्यत्तिकै आत्मसन्तुष्टि बटुलेर उनी काम गर्थिन्।
पाँच दशक उमेर काटेपछि मिलेको यस्तो सन्तुष्टिले सरस्वतीको जीवन नै उज्यालो बनाइदिएको छ।
ललितपुर महानगरपालिकाले दिएको ट्राफिक तालिमअन्तर्गत जावलाखेल चोकमा उनले १५ दिनसम्म काम गरेकी थिइन्। ट्राफिक अभियान मात्र होइन उनी महानगरको 'साइकल अभियान' मा पनि जोडिएकी छन्।
'गाउँमा साथीभाइले साइकलको पेडल घुमाएको देख्दा मलाई पनि साइकल चलाउन कम्ता रहर थिएन!,' उनले भनिन्।
स्कुल पठाउन नसकेको उनको परिवारले साइकल चलाउन सिकाउनु परको कुरा थियो। अहिले महानगरकै तालिममार्फत् एक महिना लगाएर साइकल सिक्दै बालापनको रहर पूरा गरिन्।
उनको अर्को पनि रहर थियो, प्रहरी बन्ने। स्कुल नगएकै कारण यो रहर पनि रहरैमा सीमित थियो।
बिहान पाँच बजे उठेर घाँसदाउरा अनि खेतबारीमा काम गर्दै सरस्वतीको बाल्यकाल टीकाभैरवमा बितेको थियो।
'छोरीलाई स्कुल पठायो भने चिठी लेखेर पोइला जान्छ' भन्ने परिवारमा जन्मेकी उनले १७ वर्षको उमेरमा प्रौढ शिक्षा पढ्ने अवसर पाइन्। ६ महिनापछि आफ्नो नाम लेख्न सिकिन्।
टाफ्रिक र साइकल अभियानमा जोडिनुअगाडि महानगरबाटै सरस्वतीले मकैको बोक्राबाट पुतली (गुडिया) बनाउने सिप सिकेकी थिइन्। त्यही पैसाले उनले आफ्नो परिवारको गर्जो टारिन्। अझ श्रीमान रोगले थलिएपछि उनकै आयश्रोत परिवारको एक मात्र कमाइको स्रोत बन्यो। श्रीमानको रोगकै कारण निधन भयो। पूरा परिवारको जिम्मेवारी उनकै काँधमा आयो।
अहिले पनि दुई छोराछोरीको आड र भर सरस्वती नै हुन्। जेठा छोराले प्लस-टु पास गरेपछि जागिर खान थालेका छन्। कान्छी छोरी स्नातक पढ्दै छिन्।
महानगरले दिएका तालिमहरू बेलाबखत लिँदै, सिप सिक्दै र जीविकोपार्जन गर्दै आएकी सरस्वती अहिले हातले झोलाहरू सिलाएर बिक्री गर्छिन्। झोला बनाउने तालिम उनले महानगरबाटै लिएकी हुन्।
सरस्वतीजस्तै ललितपुर महानगरबाटै तालिम पाएर भक्तपुरकी विन्दा लोहनीले पनि आफ्नो जीवनलाई लय दिएकी छन्। पढे–लेखेको परिवारमा हुर्किएकी उनलाई पढ्न त्यति गाह्रो भएन। ४५ वर्षीया उनले बिहेपछि पनि स्कुल जाने अवसर पाइन्। माइतमा आठ कक्षासम्म पढेकी उनले छोरासँगै एसएलसी सकिन्। माइतमा मूर्ति कुँद्ने काम सिकेकी थिइन्। बिहेपछि पनि त्यही कामलाई निरन्तरता दिइन्।
तर आफ्नो कामलाई अरूले जागिरजस्तो मान्यता नदिएको महसुस उनले गरिन्।
'जेठानीहरू बाहिर जागिरमा जाँदा मलाई पनि त्यसरी नै बाहिर गएर काम गर्ने मन हुन्थ्यो,' उनले भनिन्।
एकदिन उनले जावलाखेलमा केही महिलाहरूले साइकल गुडाइरहेको देखिन्। उनलाई त्यसरी नै साइकल चलाउने रहर जाग्यो।
महानगरले साइकल उपलब्ध गराएर सिकाइरहेको जानकारी पाएपछि उनी त्यतै लागिन्।
अहिले साइकल चलाएरै उनी विभिन्न ठाउँ पुग्छिन्, भन्छिन्, 'साइकलले मेरो जीवन पूर्ण रूपमा स्वतन्त्र बनाइएको छ। पहिला त यसरी साइकल चलाउन सक्छु जस्तो लाग्दैन थियो। अहिले साइकलसँगै उडिरहेको महसुस गर्छु।'
विन्दाले महानगरले नै दिएको ब्युटिपार्लरको तालिम लिएकी थिइन्। तालिमपछि आफ्नै पार्लर खोलिन्। लकडाउनअघिसम्म राम्रै चलेको थियो। लकडाउनपछि भने पेसा बदलिन्। हाल उनी होस्टल चलाउँछिन्।
'पहिला घरमै मूर्ति कुँद्ने काम गर्थेँ। महानगरले दिएको तालिमहरूमा सहभागी भएपछि आत्मविश्वास थपिएको छ,' उनले भनिन्।
विन्दाले पनि ट्राफिक प्रहरी भएर काम गरिन्। महानगरले महिलालाई आत्मविश्वासी र स्वतन्त्र बनाउने उद्देश्यले सञ्चालन गरेको ट्राफिक प्रहरी तालिममा उभिन पाउँदा उनी खुसी छिन्।
'घरमा मैले यसबारे भनेकै थिइनँ। चिनजानकाहरूले मैले पैदलयात्रुलाई बाटो कटाइरहेको देखेपछि थाहा पाउनुभएको हो,' यस्तो भन्दै उनी हाँसिन्।
कहिलेकाहीँ घरकै सदस्य वा छिमेकीले उनलाई बाटो कटाइरहेको अवस्थामा भेट्छन्। यस्तो अवस्थामा उनको हौसला झनै बढ्थ्यो, बढ्छ।
सरस्वती र विन्दाको झैं प्रविका शाक्य ब्रजाचार्यको जीवन पनि महानगरकै तालिमले सुधारिएको छ।
शिक्षित परिवारमा जन्मिएकी उनले पढ्नका लागि खासै दुःख गर्नुपरेन। २२ वर्षको उमेरमा बिहे भएपछि पनि उनलाई पढ्ने राम्रै वातावरण मिल्यो। बिहे गरेपछि उनले प्लस टु पास गरिन्। त्यसपछिको पढाइ भने स्वास्थ्य समस्याका कारण रोकियो।
उनले धेरैपटक जागिरका लागि प्रयास गरिन्। हरेक पटक असफल भइन्। यसले उनलाई चिन्तित बनाउँथ्यो।
'श्रीमान काम गर्ने, आफू भने घरमै थन्किनुपर्दा छटपटी हुन्थ्यो। पढे-लेखेको मान्छे त्यत्तिकै अरूको भरमा बाँच्न हुँदैन, केही गर्नुपर्छ भन्ने सोचले सधैं सताउँथ्यो,' उनले भनिन्।
त्यसैले उनले परिवारलाई थाहै नदिई विभिन्न ठाउँमा कामका लागि फारम भरिन्। सुरूमा अचारको तालिम लिँदै सहकारीमा लेखा सदस्यमा जागिरे भइन्। पछि थाइरोइडले धेरै दुःख दिन थाल्यो। अनि काम बीचमै रोकिन्।
बिरामी भइराख्दा पनि उनको मन अन्तै हुन्थ्यो। आत्मनिर्भर हुने सोचमै समय बित्थ्यो। त्यसैबीच एकदिन उनले महानगरले दिने ब्युटिपार्लर तालिमबारे जानकारी पाइन्। यसै बस्नुभन्दा तालिम लिनु उचित लाग्यो। त्यही तालिमले उनको जीवनमा सुखद मोड ल्याइदियो।
अहिले ब्युटिपार्लर चलाउँदै आम्दानी गरिरहेकी उनले भनिन्, 'मलाई आत्मनिर्भर हुन सिकाउने महानगरसँगै मेरी छोरीलाई पनि धन्यवाद दिन चाहन्छु। ममीले पनि केही जान्नुहोस् भन्दै छोरी मेरो सबै काममा सघाउँथिन्।'
प्रविकाका अनुसार उनले छोरीकै कारण प्रौढ शिक्षा पनि पढाइन्। घरबाहिर जान थालेपछि पिँजडाबाट फुत्किएको चराजस्तै महसुस भएको उनी बताउँछिन्।
उनलाई चराजस्तै स्वतन्त्र महानगरको साइकल अभियानले पनि बनाएको छ।
चार दिन लगाएर साइकल सिकेकी उनले भनिन्, 'अहिले साइकल चलाएर म जहाँ पनि पुग्न सक्छु। स्वतन्त्र अनुभव गर्छु।'
उनी अरूलाई पनि साइकल चलाउन सिकाउँछिन्।
महिलाहरूको आत्मविश्वास बढाउने उद्देश्यले साइकल र ट्राफिक अभियान ल्याइएको ललितपुर महानगरपालिकाकी महिला विकास अधिकृत, प्रमुख महेश्वरी विष्ट बताउँछिन्। तर सुरूमा यो अभियान ल्याउन र लागू गर्न निकै समय लागेको थियो।
'महिलालाई उही पुराना सिपमूलक तालिम छँदै छन्, किन साइकल चलाउन लगाउने भन्दै पुरुष कर्मचारीले रोकतोक गर्न खोजेका थिए,' अधिकृत विष्टले सेतोपाटीसँग भनिन्, 'तर महिला बाहिर निस्केपछि उनीहरू आफैं आत्मनिर्भर हुन सक्छन् भन्ने बुझाएपछि उहाँहरू सकारात्मक हुनुभयो। महिलाहरू घरभित्र बस्ने र त्यहीँको काम गर्ने हुन् भन्ने सोच चिरफार गर्न पनि साइकल अभियान ल्याएका हौं।'
उनका अनुसार साइकल र ट्राफिक अभियानमा सहभागी हुन पहिलेपहिले महिलाहरू लुकेर आउँथे। अचेल खुलेर आउन थालेका छन्। सुरूमा साइकल चलाउने महिलाको संख्या जम्मा एघार जना थियो। अहिले दोब्बर छ।
यो अभियानले उनीहरूलाई आत्मविश्वासीसँगै आत्मनिर्भर पनि बनाएको उनले बताइन्।