भरतपुर महानगरपालिका नारायणगढस्थित नारायणी नदीको किनारलाई प्रमुख पर्यटकीय गन्तव्य मान्छ। पछिल्ला वर्षमा यहाँ चहलपहल निकै बढेको छ। नदीमा स्नान गर्ने, आरती गर्ने, डुंगा चढ्ने, खाजा खाने, फोटो खिचाउनेदेखि समय बिताउन आउनेहरूले नदी किनार प्रायः भरिभराउ देखिन्छ।
आइतबार भने यो चौरमा एकाएक फोहोरको डंगुर देखापर्यो। नगरभरिबाट संकलन गरिएका दर्जनौं ट्र्याक्टर फोहोर नदीको किनारमा थुपारिएको देख्दा यहाँ घुम्न आएका पर्यटक अचम्म परे। आफ्नो घरअगाडिको चौर फोहोरले भरिन थालेपछि स्थानीयबासी पनि आक्रोशित भए। तर जिज्ञासु सबैलाई फकाइवरी भरतपुर महानगरपालिका र उद्योग वाणिज्य संघ चितवनले नारायणी नदीसँग जोडिएको मैदानमा खाल्डो खनेर फोहोर गाडे।
नदीको पारिस्थितिकीय प्रणाली नै खल्बलिने गरी किनारलाई डम्पिङ साइट बनाउन खोजिएको भन्दै अहिले भरतपुर महानगरपालिका र उद्योग वाणिज्य संघ चितवनको चर्को विरोध भइरहेको छ। महानगरपालिकाले फोहोर व्यवस्थापनको उचित विकल्पतर्फ ध्यान नदिई नारायणी नदीलाई दुषित बनाउने गरी काम गरेको भन्दै सामाजिक अभियन्ताहरले विरोध गरेका छन्। आफूहरूलाई झुक्काएर फोहोर गाडिएको भन्दै स्थानीयबासीले पनि विरोध गरेका छन्।
उद्योग वाणिज्य संघ चितवनले नदी किनारमा हरेक दुई वर्षमा चितवन महोत्सव आयोजना गर्छ। आगामी पुस २५ गतेदेखि महोत्सव गरिँदैछ। महोत्सव गर्ने गरिएको स्थानमा यस वर्ष नदीमा आएको बाढीले ठूलो खाल्डो बनाइदिएपछि महानगरपालिका र संघले फोहोरले पुर्ने जुक्ति निकालेका थिए। खाल्डो पुर्न ढुंगा, माटो नपाएपछि बाध्य भएर फोहोरको विकल्प रोज्नुपरेको संघले जनाएको छ।
संघका अध्यक्ष चुननारायण श्रेष्ठले महोत्सवका लागि किनार सम्याउन ढुंगा, माटो नपाएपछि महानगरपालिकासँग सहमति लिएर फोहोर प्रयोग गरिएको बताए।
'यसै पनि भरतपुरको फोहोर नदीको किनारमै फाल्ने गरिएको थियो। हामीले त्यो फोहोर बाहिर ननिस्कने गरी गाडेर महोत्सव सञ्चालन गर्न मिल्ने बनाएका हौं,' श्रेष्ठले भने, 'यसले नदीलाई असर गर्छ जस्तो लाग्दैन।'
तर पर्यावरण संरक्षणका क्षेत्रमा कार्यरत संस्थाहरू भने मानव चहलपहल बाक्लो हुने स्थानमा गाडिएको फोहोरको रसायनले नदी, जलचर, नदीसँग जोडिने व्यक्ति र समुदायमा गम्भीर असर पार्ने बताउँछन्।
वातावरण संरक्षणका लागि काम गर्ने संस्था नेपाल विकास समाजमा आवद्ध इञ्जिनियर सागर कार्की किनारमा गाडिएको फोहोरले नदीको पारिस्थितिकीय प्रणालीमा असर पुर्याउनुका साथै हानिकारक र विषादीयुक्त रसायनले भूमिगत पानीलाई विकार गर्ने बताउँछन्।
'वातावरण र मानव स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएकाले यो वातावरण र उपभोक्ता हीतविपरीत डरलाग्दो कदम हो,' कार्कीले भने, 'पर्यटकीय चहलपहल बढी हुँदै गएको ठाउँमा यसरी फोहोर गाडिनु ठूलो खेलवाड हो।'
भरतपुर महानगर क्षेत्रमा सरसफाइ अभियानमा सक्रिय संस्था 'वे ग्रुप नेपाल' का अध्यक्ष भोजनारायण कँडेलले नदी किनारमा गाडेर फोहोर व्यवस्थापन गर्ने सोच गलत भएको बताए।
'फोहोर व्यवस्थापनका लागि जतिसक्दो छिटो ल्यान्डफिल साइटको व्यवस्था गर्नुपर्नेमा नदीको किनारमा गाढेर काम चलाउँछौं भन्ने सोच्नु गलत हो,' कँडेलले भने, 'माटोको विकल्प घरेलु फोहोर हुनै सक्दैन।'
नारायणी नदीले हरेक वर्ष खतराको तह पार गर्ने गरेको छ। नदीमा बाढी आउँदा किनारमा क्षति पुर्याउने र यहाँ गाडिएका फोहोर नदीमा मिसिने चिन्ता धेरैको छ।
'बेटर चितवन' नामक संस्थाका वातावरण संयोजक सुवर्ण घिमिरेले धार्मिक तथा पर्यटकीय स्थलको रूपमा परिचय बनाउँदै गएको नारायणी नदीको किनारमा फोहोर गाडिएको कार्यको विरोधमा संघर्षमा उत्रिएको बताए।
'हामीले यस विषयमा महानगरपालिका, उद्योग वाणिज्य संघ, निर्वाचित जनप्रतिनिधिहरूको ध्यानाकर्षण गराइसकेका छौं। यस विषयमा गम्भीर भएर नदी किनारलाई विगतकै अवस्थामा नफर्काइँदासम्म हामी संघर्षमै रहन्छौं,' उनले भने, 'फोहोरको थुप्रोमाथि उभिएर महोत्सवमा भाग नलिन हामी सबैलाई आह्वान गर्छौं।'
वातावरण संरक्षणमा सक्रिय युवाहरूको चिन्ता नदी किनारमा खुला र जमिनमुनि फोहोर फाल्ने क्रम बढ्दै जाँदा महानगरपालिकाले फोहोर व्यवस्थापनको स्थानीय विकल्पतिर चासो नदिने दिन छाड्ने हो कि भन्नेतर्फ पनि देखिन्छ।
महानगरका उपमेयर चित्रसेन अधिकारीले उद्योग वाणिज्य संघले नदी किनारमा फोहोर गाडेको विषयमा आफूलाई जानकारी नभएको बताए।
'गाडिएको रहेछ भने त्यो गलत भयो। म तत्काल बैठक राखेर पहिलेकै अवस्थामा फर्काउन प्रयास गर्छु,' उनले सेतोपाटीसँग भनेका थिए।
तर उनले भनेजस्तो पहिलेको अवस्थामा फर्काउने काम भएको छैन। बरू फोहोरलाई ढुंगामाटोले पुरेको ठाउँमा पानी हालेर पक्की बनाउने प्रयास भइरहेको छ।
त्यसो त भरतपुर महानगरपालिकाले नारायणी नदीको किनारमा फोहोर फाल्न थालेको १६ वर्षभन्दा बढी भयो। नारायणी पुलदेखि पश्चिमतर्फको किनारमा फाल्दै आएको फोहोरलाई पहिलोपटक उत्तरतर्फको किनारमा गाडिएको हो।
नगरभरिको फोहोर लगेर नदी किनारमा फालिएकोमा महानगरपालिकाको आलोचना हुँदै आएको छ। महानगरपालिकाकी प्रमुख रेनु दाहालले नदी फोहोर फाल्ने ठाउँ होइन भन्ने जान्दाजान्दै पनि यसबाहेकको विकल्प तयार नहुँदासम्म नदी किनारमै व्यवस्थापन गर्न बाध्य भएको बताउने गरेकी छन्।
फोहोर व्यवस्थापनका लागि भरतपुर महानगरपालिकाले ल्यान्डफिल साइटको योजना अघि सारेको वर्षौं भयो। तर अहिलेसम्म जमिन प्राप्त गर्नेभन्दा बढी प्रगति भएको छैन।
ल्यान्डफिल साइट निर्माणका लागि नेपाल सरकारले भरतपुर–२ मा रहेको जलदेवी सामुदायिक वन अन्तर्गतको १५ बिगाहा वन क्षेत्रको जमिन उपलब्ध गराएको करिब एक दशक भयो। उक्त जमिनको सट्टामा तत्कालीन उपमहानगरपालिकाले करिब दुई करोड रूपैयाँ खर्च गरेर माडी नगरपालिकामा १५ बिगाहा जमिन खरिद गरेको पनि पाँच वर्ष भयो। सरकारी वन उपयोग गर्दा सोही बराबरको अर्को जमिनमा वृक्षरोपण गर्नुपर्ने प्रावधान अन्तर्गत यसो गरिएको हो।
लामो समयपछि महानगरपालिकाले २०७५ सालमा ल्यान्डफिल साइट बनाउन साझेदार फेला पार्यो। दक्षिण कोरियाको सुडोनोन ल्यान्डफिल साइट म्यानेजमेन्ट कर्पोरेसनका प्रमुख सियो जु वन र महानगरकी मेयर रेनु दाहालबीच २०७५ भदौ २८ गते ल्यान्डफिल साइट निर्माणको सम्झौता भएको थियो। सोही दिनबाट लागू हुनेगरी १५ महिना भित्रमा गुरुयोजना तथा विस्तृत अध्ययन प्रतिवेदन तयार पार्ने घोषणासमेत गरिएको थियो। यसका लागि आवश्यक बजेट कोरियाली सरकारले उपलब्ध गराउने सहमति थियो।
तर चार वर्षभन्दा धेरै समय भइसक्दा पनि ल्यान्डफिल साइटको डिपिआरसमेत महानगरले प्राप्त गरेको छैन।
महानगरको वातावरण तथा सरसफाइ शाखाका प्रमुख इञ्जिनियर विराट घिमिरे कोरियन संस्थाले डिपिआर निर्माणको काम सकेको जानकारी गराए पनि महानगरले प्राप्त नगरेको बताए।
'उसले गर्दै आएको ढिलाइबाट अब ऊ यहाँ काम गर्न अनिच्छुक भएको हो कि भन्ने पनि बुझिन्छ,' घिमिरेले भने, 'काम गर्दैनौं भनिसकेको त छैन तर काम गर्ने नगर्नेबारे आगामी जनवरीसम्ममा जानकारी गराउँछौं भनेका छन्।'
घिमिरेले कोरियन संस्थाले कम चासो देखाएको बुझेपछि महानगरपालिकाले छुट्टै मोडलमा ल्यान्डफिल साइट निर्माण गर्नेगरी योजना तयार पार्न थालेको बताए। उनले आगामी असार मसान्तसम्ममा राय, सुझाव संकलन गरेर योजना तयार पार्ने र आगामी आर्थिक वर्षबाट निर्माणको प्रक्रिया अघि बढाउने तयारी भइरहेको बताए।
'कोरियन संस्थालाई कुर्दाकुर्दा चार वर्ष खेर गयो। अब नयाँ योजना बनेर ल्यान्डफिल साइट नबन्दासम्म फोहोर व्यवस्थापनको नयाँ विकल्प हामीसँग हुँदैन। सकेसम्म कम क्षति हुने गरी नदी किनारमा व्यवस्थापन गर्ने एक मात्र उपाय हामीसँग छ,' उनले भने।
घिमिरेले उद्योग वाणिज्य संघले महोत्सवका लागि चौर सम्याउन ढुंगा, माटो नपाएको गुनासो गरेपछि फोहोरलाई गाड्ने विकल्प दिनुपरेको बताए।
महानगरबाट दैनिक ७० टनभन्दा बढी फोहोर निस्किने गरेको घिमिरे बताउँछन्। दैनिक २० देखि २५ वटा ट्रक उक्त फोहोर बोकेर फाल्न नारायणी किनारमा पुग्ने गर्छन्। त्यो फोहोरले नारायणी नदी त दुर्गन्धित बनाएको छ नै, किनारसँग जोडिएको नगर वन क्षेत्रका रूखबिरूवाहरूमा समेत असर पार्ने गरेको छ। नदीमा बस्ने गोही, डल्फिन लगायतका लोपोन्मुख प्राणी तथा पानी खान नदीमा पुग्ने वन्यजन्तुमा गम्भीर असर परिरहेको छ।
नारायणीको किनारमा फाल्नुअघि महानगरले जलदेवी सामुदायिक वनमै लगेर फोहोर फाल्थ्यो। जैविक महत्वको वनमा फोहर फालेको भनेर १६ वर्षअघि तत्कालीन पुनरावेदन अदालत हेटौंडाले रोक लगायो। पछि वन क्षत्रमा आइइई गरेर वैधानिक रूपमै ल्यान्डफिल साइट बनाउने गरी मन्त्रिपरिषद बैठकले निर्णय गरिदिएको थियो।
त्यसपछि भरतपुरको ओरालो र व्यस्त बजार नारायणगढको पुल्चोकबाट भित्र नारायणी नदी किनारमा भरतपुर महानगरबाट उठाइएको फोहोर फाल्न थालिएको हो। त्यसयता नारायणीले भरतपुरबाट निस्किएको फोहोर निरन्तर बगाइरहेको छ। भरतपुर–३ को पुल्चोकबाट सुरू गरेर वडा प्रहरी कार्यालय, सन्सारीमाई टोल क्षेत्र हुँदै भरतपुर–४ को नारायणी दोभान टोल नजिकको किनारसम्म ७ किलोमिटर फोहोरले भरिएको छ।
महानगरले फोहोर फालिसकेपछि माटो हालेर पुर्ने त गरेको छ तर पुरेको फोहार जीवजन्तु तथा पानीले खोतलेर छरपस्टै पारिदिन्छ। हिउँदमा नदी सुक्ने हुँदा गाडीहरू बस्तीदेखि तीन-चार किलोमिटर परसम्म पुगेर फोहोर फाल्छन्। वर्षामा नदीको भंगालो नै नदीसरह उर्लने हुँदा फोहोर बोक्ने गाडी पर जान सक्दैनन्। त्यसैले वरै फोहोर बिसर्जन गरिने गरिएको छ।