अपरान्ह ४ बजेतिर रामनगरका नुरेश्वर अधिकारी र विश्वास बास्तोला हस्याङफस्याङ गर्दै जुगेडी बजारतर्फ ओर्लिरहेका थिए। नारायणगढ-मुग्लिन सडकमा पर्ने जुगेडी बजारबाट करिब डेढ घन्टा पैदल हिँडेपछि पुगिने मगर खहरेबाट फर्किएका हुन् उनीहरू।
मगर खहरे भरतपुर महानगरपालिकामा पर्ने कविलासको पहाडमा रहेको मुहानबाट निस्किएको छ। ४६ वर्षअघि यहाँको पानी पिउन नारायणगढ, भरतपुरसम्म ल्याइएको थियो। तत्कालीन श्री ५ को सरकारले पञ्चवर्षीय योजनाअन्तर्गत निर्माण सम्पन्न गरेर २०३३ मंसिरमा राजा वीरेन्द्र शाहले उद्घाटन गरेका थिए। पाइपलाइन बिच्छाएर यहाँको पानी रामनगर, दरबारको स्वामित्वमा रहेको दियालो बंगला हुँदै नारायणगढ, भरतपुरसम्म पुर्याइएको थियो।
२०६१ को भदौमा झरेको पहिरोले पानीको मुहानै बगायो। पहिरोसँगै केही पाइप पनि बगेर गए। कविलास र भरतपुरबासीको पिउने पानीले जोडिएको नाता टुट्न पुग्यो।
पछि भरतपुर र नारायणगढका धेरैजसो क्षेत्रमा खानेपानी संस्थानले पिउने पानी पुर्यायो। कविलास, रामनगर, ठिमुरा र देवघाटका बासिन्दाका लागि पर्याप्त पानीको व्यवस्था अझै भएको छैन।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट सांसद निर्वाचित भएपछि मगर खहरे पुनर्जिवित गर्ने अभियानमा लागेका छन्। विजयी भएको केहीदिनमै उनी पिउने पानीको स्रोत खोज्दै भरतपुर महानगरको २९ नम्बर वडामा पर्ने मगर खहरे पुगेका थिए। तत्कालै उनले त्यहाँको मुहान, पानी ट्यांकी सरसफाइका लागि श्रमदान गर्न आह्वान गरे। त्यहीँ पुगेर श्रमदान गरी फर्किएका थिए, रामनगरका अधिकारी र बास्तोला।
रामनगरका बासिन्दाका लागि पिउने पानीको स्रोत नै नभएको भने होइन। २०३३ देखि २०६१ सालसम्म कविलासबाट आएको पानी रामनगरका सार्वजनिक धारामा अनवरत झर्थ्यो। त्यसपछि भने रामनगरका धाराहरू सुके। त्यसपछि पिउने पानीको लागि तत्कालको जोहो गर्न सक्नेले आँगनमा इनार खने, नसक्नेले नजिकका कुवा, खोलाबाट भरेर पानीको जोहो गरे।
२०६३ मा यहाँ खानेपानीको एउटा योजना सञ्चालनमा आयो। तत्कालीन भरतपुर नगरपालिका, सामुदायिक वन र लुमन्ती नामको गैरसरकारी संस्थाको सहकार्यमा करिब पाँच वर्ष लगाएर बस्तीको पल्लो छेउको खोल्सोमा रहेको टोड्के मुहानको पानीलाई ओभरहेड ट्यांकीमा पुर्याउने योजना सम्पन्न भयो।
यहाँका पुराना बासिन्दा जीवनाथ पराजुलीका अनुसार २०६८ देखि उक्त योजनाको पानी रामनगरका घर-घरमा पुग्न थालेको थियो।
‘अहिले पनि रामनगरबासीले पिउनका लागि त्यही पानी प्रयोग गर्दै आएका छन्। यहाँका ५ सयमध्ये ३ सय परिवारले यही पानी पिउँछन्,’ हाल उक्त खानेपानी समितिका अध्यक्ष रहेका पराजुली भन्छन्, ‘हरेक दिन बिहान १-२ घन्टा पाइपलाइनबाट पानी पठाउने गरिएको छ। मिटरमा चढे अनुसारको रकम समितिले संकलन गर्छ।’
राजा वीरेन्द्रले उद्घाटन गरेको मगर खहरेको खानेपानी योजना खासमा २०६० सालमै पहिरोले क्षति पुर्याएको थियो। ६ महिना लगाएर मर्मत गरेपछि सञ्चालनमा आएको आयोजनाको संरचना ७ महिनापछिको पहिरोले सर्लक्कै बगायो। त्यसपछि धेरैले इनार खनेका हुन्। इनार हुने कतिपयले अर्को खानेपानी योजना आए पनि त्यसको धारा जोडेका छैनन्।
त्यसैले रामनगरमा खानेपानी नै नभएको भने होइन।
‘रामनगरवासीले पानी पिउनै पाएनन् भन्ने कुरा त गलत हो। पानी धेरै खपत गर्नेहरूलाई अपुग चाहिँ भएको छ,’ पराजुलीले भने।
खडेरी परेको समयमा मुहानको पानी कम हुने र सुक्ने हुँदा चैतदेखि जेठसम्म पानी अपुग हुने गरेको उनले सुनाए।
रामनगरका ५४ वर्षीय नुरेश्वर अधिकारीले पर्याप्त पानी नपाइने भएकाले हाल सञ्चालनमा रहेको योजनाअन्तर्गतको पानी घरमा नजोडेको बताए।
‘जोडेर मात्रै के गर्नु पानी नियमित आउँदैन, आए पनि पर्याप्त हुँदैन। त्यसैले इनारबाट पानी निकालेर प्रयोग गर्दै आएका छौं,’ १८ वर्ष अघिसम्म मगर खहरेबाटै आएको पानी पिउने गरेका उनले भने, ‘रवि भाइले रामनगरबासीलाई पानी खुवाउने अभियान सुरू गर्नु भएकाले साथ दिन मुहानसम्म पुगें। अब छिट्टै यो पानी घर-घरमा पुग्ने आशा राखेका छौं।’
रामनगरमा पर्याप्त खानेपानीको व्यवस्था गर्न सरकारी तबरमा अहिले अर्को योजना पनि जारी छ। भरतपुर महानगरपालिकाले ढ्यांग्रे खोलाको पानी लिफ्ट गरेर रामनगर ल्याउने योजनामा काम गरिरहेको छ।
रामनगरको बस्ती आडैको जंगलमा रहेको ढ्यांग्रे खोलाको पानी ल्याएर खुवाउने योजनामा काम भइरहेको छ। महानगरको १९ लाख र बाँकी स्थानीयको गरेर २१ लाख ५९ हजार ४९३ रुपैयाँ लागतमा यो योजना अघि बढेको हो।
बस्ती छेउमा एउटा ट्यांकी बनाउने, त्यो खोलाको पानीलाई लिफ्ट गरेर ट्यांकीमा जम्मा गर्ने र प्रशोधन गरेर अपुग भएको ठाउँमा वितरण गर्नेगरी काम भइरहेको महानगरका इन्जिनियर साकार लामाले बताए।
‘ट्यांकी निर्माणको काम अन्तिम चरणमा पुगेको छ। अबको एक महिनामा यो योजना सम्पन्न भइसक्छ,’ उनले भने।
यहाँबाट आएको पानी पनि पछि पर्याप्त नभए बोरिङबाट भूमिगत पानी निकाल्ने योजना रहेको उनले बताए। त्यसका लागि महानगरले ५०० मिटर गहिराइसम्म पानीको अवस्था पत्ता लगाउन सक्ने उपकरण (म्याग्नेटो टेल्पुलिक डिभाइस) ल्याएर पानी रहेको ठाउँको पहिचान गरिसकेको उनले बताए।
‘रामनगर र ठिमुरामा भूमिगत पानीको स्रोत पत्ता लागेको छ। अब महानगरले बोरिङमार्फत् पानी झिकेर भए पनि नगरबासीकहाँ पर्याप्त पानी पुर्याउँछ,’ लामाले भने।
ढ्यांग्रे खोलामा बन्दै गरेको रामनगर खानेपानी तथा सरसफाइ निर्माण योजनाका अध्यक्ष मधु न्यौपानेले पनि हाल चालु रहेको पानीमा ढ्यांग्रे खोलाको पानी मिसाउँदा रामनगरलाई पानी पर्याप्त हुने दाबी गरे।
यी योजनाबाहेक भरतपुर महागरका सबै वडामा दीर्घकालका लागि खानेपानीको व्यवस्था गर्न कविलासबाट आउने खोलाको पानीको कसरी उपयोग गर्न सकिन्छ भनेर संघीय सरकार अन्तर्गतको एकीकृत खानेपानी तथा ढल निकास आयोजनाले सर्भेको काम गरिरहेको छ।
त्यसो भए रवि लामिछानेले अभियान चलाएको मगर खहरेबाट पानी सुचारू गर्ने काम कति उपयोगी हो? कि यति धेरै योजना जारी रहेका बेला अर्को योजना र अभियान बेकार हो?
यो प्रश्न मैले भरतपुर खानेपानी बोर्डका प्रमुख प्रजापती दाहाललाई सोधें।
‘उहाँहरूले गर्नुभएको काम पिउने पानीको व्यवस्थापनका लागि स्थायी त होइन। तत्कालका लागि अस्थायी समाधान हो यो,’ उनले भने, ‘मगर खहरेबाट ल्याइने पानी हाल रामनगर, ठिमुरा र देवघाटमा रहेका ट्यांकीमा खसालेर पर्याप्त पानी वितरण गर्न सकिन्छ।’
उनले रवि लामिछानेको आह्वानमा भइरहेको पिउने पानीको स्रोत, पुरानो ट्यांकी सरसफाइ र रामनगरसम्म श्रमदान गरेर पाइप बिच्छाउने काममा बोर्डले पनि सहयोग गर्ने बताए।
यी तीनवटै बस्तीमा पानीको स्रोत सानो भएकाले कविलासबाट आउने पानीले यहाँका बासिन्दालाई राहत दिनसक्ने उनले बताए। त्यसैले उक्त खोलाको पानीलाई व्यवस्थित र स्थायी रूपमा भरतपुर ल्याउन संघीय सरकारअन्तर्गतको एकीकृत खानेपानी तथा ढल निकास आयोजनामार्फत् सर्भेको काम भइरहेको उनले जानकारी दिए।
‘पहिरोका कारण बन्द भएको आयोजनालाई कसरी पुनः सञ्चालन गर्न सकिएला भन्ने विषयमा पहिले पनि धेरै पटक अध्ययन भएको हो। सर्भे, डिजाइन हुने तर योजना अघि नबढ्ने भइराख्यो। अहिले फेरि सर्भे भइराखेको छ, संघीय सरकारले नै त्यो आयोजना निर्माणमा लगानी गर्यो भने त्यो दीर्घकालीन हुनसक्छ,’ उनले भने।
प्रारम्भिक अध्ययनबाट अब फेरि उक्त खोलाको पानी भरतपुरसम्म ल्याउन सक्ने देखिए पनि त्यसको लागत स्टिमेट भइनसकेको उनले बताए।
‘केही ठाउँ पहिरोको जोखिममा छ तर अब फेरि स्थायी संरचना निर्माण गर्दा पहिरोलाई पनि मध्यनजर गरेर निर्माण गरिनुपर्छ,’ दाहाल भन्छन्, ‘फेरि पनि पहिलेजस्तै पहिरोले बगाउने हो कि भन्नेमा सतर्क भएर काम गर्नुपर्ने चुनौती छ। हिउँदमा पनि नसुक्ने पानीको स्रोत भएका कारण यहाँको पानी ल्याउनसक्दा दीर्घकालका लागि राम्रै हुन्छ।’
अहिले यहाँ संरचना बनाउँदा भविष्यमा नेपाल सरकारले निर्माण गर्ने योजनालाई पनि काम लाग्नेगरी निर्माण कार्य गर्न रवि लामिछानेलाई आफूहरूले आग्रह गरेको बताए।
पहिले नेपाल सरकारले सुरू गरेको आयोजनाअन्तर्गत मगर खहरेको पानी पाइपमार्फत् रामनगर र आँपटारीको बीच भागमा रहेको ट्यांकीमा जम्मा हुन्थ्यो। त्यो पानी सिधै उपभोक्ताको धारोमा पुग्थ्यो। उक्त पानीलाई फिल्टर गरेर उपभोक्तासम्म पुर्याउन २०४८ सालमा जाइका पनि यो योजनामा मिसियो।
‘जाइका (जापान सरकारको सहयोग निकाय) आएपछि पुराना संरचनाहरू मर्मत गर्नेदेखि रामनगर र आँपटारीको बीचमा रहेको रिजर्भ ट्यांकी नजिकै ट्रिटमेन्ट प्लान्ट पनि बन्यो, २०५० मा जाइकाले नेपाल सरकारलाई हस्तान्तरण गरेपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गरेका थिए,’ त्यतिखेर भरतपुर खानेपानी कार्यालयमा कार्यरत रामप्रसाद दवाडीले सेतोपाटीसँग भने।
त्यो बेलासम्म खोलाको पानीमा सामान्य औषधी राखेर वितरण हुँदै आएकोमा त्यसपछि भरतपुर, नारायणगढका बासिन्दाले शुद्ध पिउने पानी पाएका थिए। २०५० ताका भरतपुर र नारायणगढ क्षेत्रका १२ सयभन्दा बढी परिवारले मगर खहरेबाट आएको पानी पिउँथे। जाइका आएपछि नै भरतपुरका विभिन्न ठाउँमा बोरिङमार्फत् भूमिगत पानी निकालेर पनि बाँड्न थालियो।
पहिरोले मुहान बगाएसँगै पानीका ट्यांकी, ट्रिटमेन्ट प्लान्ट खण्डहर बने।
‘बन्द योजना सुचारू गराउन त्यतिखेर खानेपानी कार्यालयले केन्द्रमा कुरा पुर्याएको पनि हो तर पुनर्निमाण हुन सकेन,’ हाल भरतपुर खानेपानी बोर्डमा प्राविधिक सहायक पदमा कार्यरत उनी भन्छन्, ‘मर्मत गर्न भनेर सामग्रीहरूले लिएर जान खोज्दा नेपाली सेनाले बम बनाउन लाग्यो कि भनेर रोक्थ्यो। सरकारको ध्यान माओवादीतर्फ बढी भएर पनि होला यता चासो पुग्न सकेन जस्तो लाग्छ।’
प्रतिनिधि सभा सदस्यमा निर्वाचित रवि र उनका समर्थकले खण्डहर बनेका फिल्टर प्लान्ट, पानी ट्यांकीहरू पनि सफा बनाएका छन्। तर करिब ८ किलोमिटर पर रहेको मगर खहरेको पानी त्यो ट्यांकीमा खसालेपछि के गर्ने भन्ने ठोस योजना उनीहरूसँग छैन।
भरतपुर खानेपानी बोर्डका इन्जिनियर अधिकार चालिसेले पुरानो ट्यांकीको पानी विगतमा नारायणगढ क्षेत्रका घरहरूमा पुगे पनि अब त्यहाँ जम्मा भएको पानी के गर्ने भन्ने विषयमा कुनै निर्णय नभएको बताए।
‘अहिले उहाँहरूले कविलासबाट पानी ल्याएर त्यहाँ झार्नेसम्मको कुरा गर्नुभएको छ त्यसपछि के गर्ने भन्ने विषयमा कुनै निर्णय भएको छैन,’ उनले भने, ‘ती ट्यांकीमा जम्मा भएको पानीको व्यवस्थापन कहाँ र कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गरेरमात्रै भन्न सकिन्छ।’
बोर्डका प्रमुख दाहालले यो आयोजनाका संरचनाहरू बोर्डको मातहतमा आइनसकेकाले यस विषयमा निर्णय गर्न नसकिएको बताए।
‘वडा, उपभोक्ता समितिहरूले पुराना संरचनाहरू बोर्डलाई हस्तान्तरण गर्ने कुरा त गर्नुभएको थियो तर त्यो काम भइसकेको छैन,’ दाहालले भने, ‘हाम्रो मातहतमा आएको अवस्थामा त्यसको प्रयोग कसरी गर्ने, त्यहाँसम्म ल्याइएको पानीलाई कसरी नेटवर्कमा जोड्ने भन्ने कुरा अघि बढाउन सकिन्छ।’
उनले मगर खहरेको पानी बोर्डको नेटवर्कमा जोड्दा भरतपुर र नारायणगढ क्षेत्रमा पनि पानीको सुविधा थपिने बताए। बोर्डको मातहतमा नआएको अवस्थामा त्यहाँबाट ल्याएको पानी उपभोक्ता समितिमार्फत् नै रामनगर, ठिमुरा र देवघाट क्षेत्रका ट्यांकीहरूमा थपेर तत्कालको माग पूरा गर्न सकिने उनले बताए।
सेतोपाटीसँग कुरा गर्दै सांसद लामिछानेले निर्वाचनअघि गरेको प्रतिवद्धताअनुरूप जुगेडी, रामनगर, ठिमुरा र देवघाटका बासिन्दालाई पानी खुवाउन प्रयास सुरू गरेको बताए। त्यस क्षेत्रका धेरै मतदाताले पानीको समस्या सुनाएका कारण आफूले सरोकारवाला निकायसँग समन्वय गरेरै काम सुरू गरेको उनले बताए।
‘जाइकाको सहयोगमा बनेको योजना पहिरोले बगाएर अलपत्र परेको रहेछ। प्राविधिकहरूलाई पनि लगेर हामीले त्यसको सम्भावना बुझ्यौं। यहाँको पानी पहिलेजसरी फेरि भरतपुर ल्याउ नेगरी सर्भे भइरहेको जानकारी पनि पायौं,’ लामिछानेले भने, ‘मैले खानेपानी विभाग, बोर्डका अधिकारीहरूसँग यस विषयमा पनि कुरा गरें। त्यो सर्भेअनुसारको योजना आउँदा पनि काम लाग्नेगरी अहिलेलाई तुरून्तै पानी खुवाउने प्रयास गरेका हौं।’
लामिछानेले सकेसम्म भविष्यको योजनामा पनि काम लाग्ने गरी र काम नलागेको अवस्थामा पनि यसबाट कुनै असर नपर्ने गरी पानी ल्याउने बताए।
उनले आफूले पानी ल्याउने वाचा गरेका चार वटा ठाउँलाई पुगेपछि बाँकी पानी भरतपुरतर्फ ल्याउन सकिने बताए।
‘अहिले उपभोक्ता समितिमार्फत् काम भइरहेको छ। बनिसकेपछि चलाउने त भरतपुर खानेपानी बोर्डले नै हो,’ उनले भने, ‘मैले सकेसम्म सबै सरोकारवालासँग समन्वय गरेर काम अघि बढाएको छु। कतै समन्वय गर्न छुटेको रहेछ भने पनि जनप्रतिनिधिको हैसियतमा आफैं पुग्छु भनेको छु। मेरो प्रयास दुई महिना भित्रमा पानी ल्याउनेमा छ।’
उक्त योजनाका लागि देश, विदेशमा रहेका सहयोगीहरूसँग सहयोग संकलन गरेर करिब एक करोड रुपैयाँ खर्च गर्ने तयारी भएको लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले बताए।
खानेपानी विभागअन्तर्गतको खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनाका निर्देशक शालिग्राम पौडेलले रामनगर र त्यस आसपासका क्षेत्रमा तत्काल अस्थायी रूपमा खानेपानी ल्याउन सकिने बताए। चितवनको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको प्रमुख भएर काम गरिसकेका पौडेलले पाइपलाइन तयार पारेर पानी सफा गर्न एउटा फिल्टर ट्यांकी निर्माण गरे केही क्षेत्रका लागि खानेपानीको अस्थायी व्यवस्थापन हुने बताए।
‘एकीकृत खानेपानी तथा ढल निकास आयोजनामार्फत् देशका केही मुख्य सहरहरूमा खानेपानी, ढल, सरसफाइका योजना एकीकृत रूपमा गर्ने गरी प्रयास भएको छ तर त्यो छिटै सुरू होलाजस्तो मलाई लाग्दैन,’ पौडेल भन्छन्, ‘त्यो सुरू भएर निर्माण भइञ्जेलसम्मलाई भए पनि आफ्नो क्षेत्रका जनतालाई पानी खुवाउँ भन्ने चाहना उहाँको होला। यो असम्भव छैन।’
उनले मगर खहरेको पानीलाई व्यवस्थित रूपमा भरतपुर ल्याउन ठूलो लगानी लाग्ने र त्यसका लागि संघीय सरकारकै बजेट आवश्यक पर्ने उनले बताए।
‘रामनगर, ठिमुरा, देवघाटतिर अहिले स-साना मुहानको पानी जुटाएर पिउने गरिएको छ। यसको विकल्पमा दीर्घकाललाई हुने योजना चाहिन्छ भनेर हामीले पहिल्यैबाट भनिरहेको हो तर ठूलो योजनाका लागि बजेट पनि ठूलै चाहियो,’ उनले भने, ‘अहिले जनप्रतिनिधि तातेर लाग्नुभएको रहेछ, उहाँले अस्थायी रूपमा पानी खुवाउन सक्नुहोला। केही वर्षपछि संघीय सरकारको योजना त्यहीँ सञ्चालन गर्न सकिन्छ।’
भरतपुर खानपानी बोर्डले वडा नम्बर १ देखि १६ सम्म र वडा नम्बर २२ मा खानेपानी सञ्जाल बिस्तार गरेको छ। ३५ वटा बोरिङमार्फत जमिनमुनीको पानी निकालेर यी १७ वटा वडामा पुर्याइएको छ। थप पाँच वटा बोरिङका काम भइरहेका छन्। यी १७ बाहेकका वडाहरूमा स्थानीय उपभोक्ता समितिमार्फत् पानी उपलब्ध गराइएको छ।
‘भूमिगत पानी उल्लेख्य नघटेका कारण अहिलेलाई त समस्या छैन। तर बन-जंगल विनास, बढ्दो सहरीकरणलगायत कारण जमिनमूनिको पानीले धेरै वर्ष नधान्न सक्छ,’ बोर्डका प्रमुख दाहालले भने, ‘जिल्लाको दुईतर्फ ठूला नदीहरू नारायणी र राप्ती भएका कारण अहिलेसम्म पानीको रिचार्ज त भइरहेको छ।’
उनले बोरिङको पानी दीर्घकालका लागि नहुनसक्ने भएकाले बेलैमा स्रोत पहिल्याएर व्यवस्थापन गर्नुपर्ने बताए।
जुगेडीलाई पनि पुगेको छैन पानी
भरतपुर महानगरपालिकाका वडाहरूमध्ये सबैभन्दा पिछाडिएको वडा हो, २९ नम्बर। पहाडी भूभाग रहेको साविकको कविलास गाविसलाई महानगरमा गाभेर अन्तिम वडा बनाइएको हो। यही ठाउँको खोलाको पानी रवि लामिछानेको नेतृत्वमा भरतपुरका अन्य वडाहरूमा लैजाने प्रयास भएको हो।
आफूहरूलाई नखुवाई अन्य ठाउँमा पानी लैजान लागेकोमा भरतपुर-२९ का बासिन्दाले गुनासो गरेका छन्। उक्त वडाको पात्लेबास घर भएका प्रकाशबहादुर पाण्डेले मगर खहरे आसपासका धेरै मान्छेहरूले त्यही खोलाको पानी पिउने गरेको बताए।
‘हाम्रो ठाउँको पानी हामीलाई नदिई अन्यत्र लैजान खोजिँदैछ। यस विषयमा हामीले भरतपुर महानगरपालिकाको ध्यानाकर्षण गराएका छौं,’ पाण्डेले भने, ‘मुहानका मान्छेलाई नदिई अन्यत्रमात्रै लैजान खोजियो भने हामी चुप लागेर बस्दैनौं।’
भरतपुर महानगरपालिकाकाअनुसार उक्त वडाको उपल्लो भेगमा संघीय सरकारको बजेटमा चौकीडाँडा खानेपानी योजना र प्रदेश सरकारको बजेटमा ढोडेनी खानेपानी योजना निर्माणको अन्तिम चरणमा छ। तर राजमार्गबाट नजिक रहेका र जोडिएका भतेरी, सुविधानगर, जुगेडीमा व्यवस्थित खानेपानी योजना नरहेको पाण्डेले बताए। स्थानीयस्तरमा मुहानमा पाइप जोडेर धेरैले पानीको जोहो गर्ने गरेको उनले बताए।
लामिछानेले वडा नम्बर २९ का मतदाताको समस्यालाई पनि आफूले बुझेको बताए।
‘त्यहाँको पानी अन्य वडामा लैजाँदा एक लाइन जुगेडीकै लागि छुट्टाउने योजना बनाएका छौं,’ उनले भने, ‘सबैले पिउने पानी पाउनुपर्छ भनेर म लागेको छु।’