‘नारायणी नदी जोगाऊ’ अभियानमा संलग्न युवाहरूको समूहले भरतपुर महानगरपालिकालाई माटो दान गरेको छ।
विभिन्न सामाजिक संस्थाहरूमा संलग्न दर्जनौं युवाहरू बिहीबार साना झोलामा माटो लिएर महानगरको कार्यालय पुगेका थिए। कार्यालय भवनको मूल गेटमा त्यो माटो थुपारेर महानगरलाई दान गरेको बेटर चितवन नामक संस्थाका संस्थापक अध्यक्ष सागर कार्कीले जानकारी दिए।
चितवन महोत्सव आयोजना गर्न नारायणी नदीको किनारमा खाल्डो खनेर फोहोर गाडिएपछि यो समूहले विरोध गर्दै आएको छ। उद्योग वाणिज्य संघ चितवनले पुस २४ गतेदेखि नदी किनारमा महोत्सव गर्दैछ। महोत्सवका लागि किनार सम्याउन माटो नपाएपछि फोहोर गाड्नुपरेको संघका पदाधिकारीहरूले बताउने गरेका छन्।
भरतपुर महानगरपालिकाका मेयर र उपमेयरले भने नदी किनारमा फोहोर गाडेको विषय आफूलाई जानकारी नभएको बताएका थिए।
‘माटोको विकल्प फोहोर होइन। नदीको किनारमा फोहोर गाड्दा त्यसको प्रत्यक्ष असर पानी, जलचर प्राणी र मानवस्वास्थ्यमा पर्छ,’ कार्कीले भने, ‘हामीले उद्योग वाणिज्य संघले गरेको गलत काम सच्याउन महानगरसँग धेरै पटक माग गर्यौं तर बेवास्ता गरिएपछि विभिन्न शैलीमा विरोध गर्दै आएका छौं।’
उनले फोहोरलाई माटोको विकल्प नबनाई छुट्टै तरिकाले व्यवस्थापन गर्नुपर्छ भन्ने सन्देशसहित नदी किनारमा गाडिएको फोहोर निकालेर अन्यत्र व्यवस्थापन गर्न महानगरपालिकालाई सांकेतिक रूपमा दवाव दिएको बताए।
महानगरलाई माटो दान गर्न पुग्दा जनप्रतिनिधि र कर्मचारीहरूले बेवास्ता गरेपछि मुल गेटमै थुपारेर छाडेको वेटर चितवनका सदस्य सचिन चापागाईंले बताए। यो समूहले नारायणी किनारमा गाडिएको फोहोर निकालेर व्यवस्थापन गर्न हस्ताक्षर अभियान पनि चलाएको थियो। संकलित हस्ताक्षर महानगरपालिकामा टाँसिएको उनले बताए।
सरसफाई सम्बन्धी गतिविधिमा सकृय संस्था वे ग्रुपका अध्यक्ष भोजनारायण कंडेलले समग्र नगर र नारायणी नदीको संरक्षणका लागि युवाहरूले महानगरलाई दवाव दिएको बताए।
नदी संरक्षणका लागि सरोकारवालालाई प्रेरित गर्ने उद्देश्यले युवाहरूको समूहले सामाजिक सञ्जालहरूमा ह्यासट्याग सेभ नारायणी अभियान पनि चलाइरहेको छ। उनीहरूले सामाजिक सञ्जालमार्फत फोहोरमाथि गरिने महोत्सव बहिष्कार गर्न पनि आह्वान गरिरहेका छन्।
उद्योग वाणिज्य संघले भने ठूलो परिमाणमा माटो नपाएपछि महानगरकै सुझावको आधारमा फोहोर गाडेर सम्याएको बताउँदै आएको छ। संघका उपाध्यक्ष शिरीष पन्तले महोत्सव नजिकिँदै गरेको अवस्थामा तत्काल फोहोर हटाउन सम्भव नभएको बताए।
भरतपुर महानगरपालिकाले नगरेको फोहोर नारायणी नदीको किनारमा थुपार्ने गरेको छ। महानगरले फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल साइट बनाउन कोरियन संस्थासँग सम्झौता गरेपनि काम अघि बढ्न सकेको छैन। नयाँ विकल्प तयार नहुँदासम्म नारायणी नदी किनारमा फोहोरको व्यवस्थापन गर्नुपर्ने बाध्यता भएको महानगरका वातावरण शाखाका प्रमुख इन्जिनियर विराट घिमिरे बताउँछन्।