मंसिर १५ गते कैलालीको धनगढीको पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्ने विद्यार्थी चेतना साउदलाई ग्रेडरले ठक्कर दियो।
उनी साइकल चलाएर स्कुल जाँदै थिइन्। पुग्नै लाग्दा ग्रेडरले ठक्कर दियो। उनी भुइँमा पछारिइन्। घटनास्थलमै उनको ज्यान गयो। प्रत्यक्षदर्शीहरूका अनुसार चालकले ग्रेडर ब्याक गरेर पनि चेतनालाई किचेको थियो। घटनापछि उक्त विद्यालयका विद्यार्थीहरूले आन्दोलन गरे। ग्रेडर चालक र निर्माण कम्पनीका मालिकविरूद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको छ।
तीन दिनपछि मंसिर १८ गते धनगढी–३ स्थित जनता आधारभूत माविमा कक्षा ६ मा पढ्ने सुस्मिता साउदलाई ट्र्याक्टरले ठक्कर दियो। उनी गम्भीर घाइते भइन्। उनको उपचार धनगढीको निसर्ग अस्पतालमा भइरहेको छ।
सुस्मिता पनि घरबाट स्कुल जाँदै थिइन्। ठक्कर दिने ट्र्याक्टरका चालक तुरून्तै भागेका थिए। पछि प्रहरीले ती चालकलाई कञ्चनपुरको पुनर्वास नगरपालिकाबाट पक्राउ गर्यो।
त्यसको १५ दिन पनि बित्न नपाउँदै पुस १ गते कञ्चनपुरमा पूर्व–पश्चिम राजमार्गअन्तर्गतको सुडा भन्ने ठाउँमा स्नातक तह प्रथम वर्षमा पढ्ने विद्यार्थी कविराज बैजलाई बसले ठक्कर दियो। बैज साइकलमा कलेज जाँदै थिए। घटनास्थलमै उनको ज्यान गयो।
यो घटनाको पाँच दिनपछि पुस ६ गते टिपरको ठक्करबाट पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–७, हरैयाका तीन वर्षीय बालकको मृत्यु भयो। ती बालक आमा र हजुरबासँग अटोमा थिए। आमा र हजुरबा घाइते भए। घटनापछि स्थानीयबासीहरूले राजमार्ग बन्द गराए। मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने र घाइतेको उपचार गरिदिने सहमतिपछि सडक खुल्यो।
यसरी लापरबाह सवारी चालकका कारण २१ दिनभित्र दुई जिल्लाका तीन जनाको ज्यान गयो, एक जना गम्भीर घाइते छिन्।
घाइते तथा मृतकका परिवार र आफन्तको अहिले एउटै माग छ - ट्राफिक नियममा कडाइ गर्नुपर्यो।
चेतनाका बुवा गणेश साउदले चालकको मनपरीका कारणले छोरी गुमाउनु परेको बताए।
उनले भने, ‘म न्यायको लागि लडिरहेको छु। अपराधीलाई कडा कारबाही होस्।’
ट्राफिक नियम कार्यान्वयनमा कडाइ नहुँदा चालकहरूले मनपरी सवारी हाँक्ने गरेको उनको भनाइ छ।
भन्छन्, ‘धेरै चालकहरू रक्सी पिएर गाडी हाँक्छन्। उनीहरूलाई ट्राफिक प्रहरीको डर छैन। नियम त मान्दै मान्दैनन्। प्रहरीले कडाइ नगरेर मेरी छोरीको ज्यान गयो।’
बैतडीबाट पढ्नका लागि धनगढी आएकी थिइन्। उनी आफन्तको घरमा बस्थिन्।
कविराजका परिवारजन र आफन्तहरू अहिले गहिरो शोकमा छन्। उनीहरू पनि आफ्नो परिवारमा जस्तो अरूलाई नपरोस् भन्ने कामना गरिरहेका छन्। त्यसका लागि त ट्राफिकले जिम्मेवार र कडाइपूर्वक काम गर्नुपर्ने उनीहरूको भनाइ छ।
‘कहाँ कसरी गाडी हाँक्ने भन्ने कुरा चालकलाई सिकाउनु पर्यो। मनपरी गर्न दिनु भएन। ट्राफिक नियम पालनामा कडाइ गर्नु पर्यो,’ कविरामका आफन्त धनरीराम बैजले भने।
उनले विद्यार्थी स्कुल जाने–आउने समयमा विशेष निगरानी गर्नुपर्ने बताए।
गणेश र कविराम दुवैको प्रश्न छ- ट्राफिक नियममा कडाइ गर्न कसले रोकेको छ? ज्यानै लाने सवारीलाई कहिले रोक्छ प्रहरीले?
पछिल्लो समय एकपछि अर्को सडकमा दुर्घटना भएपछि विद्यार्थी र अभिभावकहरू त्रासमा परेका छन्।
कैलालीको गोदावरी नगरपालिका–७ की मुस्कान भट्ट सधैं साइकल चढेर सात किलोमिटर टाढाको कलेज जान्छिन्। घरबाट बिहान पाँच बजे निस्कन्छिन्।
‘राजमार्गमा साइकल चलाएर कलेज जान्छु। नपुगुन्जेल डर लाग्छ। अहिलेका घटनाहरूपछि त मलाई धेरै डर लाग्न थालेको छ,’ उनी भन्छिन्, ‘टिपर देख्नेबित्तिकै मन आत्तिन्छ।’
राजमार्गमा साइकल चलाउने सबै विद्यार्थीहरू जोखिममा रहेको उनले बताइन्। टिपर ठक्करले उनको गोडामा चोट लागेको छ।
‘म कलेज जाने विद्यार्थी हुँ। धेरै पटक खतराबाट बाँचेकी छु। यो सडक जति खुला भए पनि टिपरले केही देख्दैन,’ उनले भनिन्।
उनले बिहान साइकलमा कलेज जाने विद्यार्थीहरू लस्करै आफ्नो लेनमा चल्ने भए पनि टिपर चालकले लापरबाही गरेर ठक्कर दिने गरेको बताइन्।
टिपर धेरै उछिनपाछिन नगरी आफ्नो लेनमा चल्ने हो भने दुर्घटना नहुने उनको भनाइ छ।
‘टिपरले ठोकेर मेरो खुट्टामा घाउ भएको छ। ठक्कर दिएपछि पछाडि हेर्छ। लडेको भए उल्टै ब्याक गरेर मार्छ,’ उनले भनिन्, ‘एक पटक म यस्तै घटनाबाट बाँचेकी छु। लड्ने बित्तिकै उठेर बाँचेँ।’
प्रहरीलाई पैसा दिएपछि सबै कुरा मिलिहाल्छ भन्ने चालकहरूको मानसिकताका कारणले सवारी दुर्घटना हुने गरेको मुस्कानको भनाइ छ।
भन्छिन्, ‘पैसाले मान्छेको ज्यान आउँदैन। पैसा छ भन्दैमा सडकमा मान्छे मार्नु भएन। यहाँ विद्यार्थीहरू साइकलमै स्कुल–कलेज जाने चलन छ।’
गोदावरी नगरपालिका–७, हरैयाकी कल्पना विष्टका विचारमा ट्राफिक नियम कार्यान्वयनमा कडाइ नहुनु, घटनापछि चालक र सवारीधनीले सजिलै मुक्ति पाउनु, सिकारू चालकहरू धेरै हुनु, चालकहरूबीच उछिनपाछिनको प्रतिस्पर्धा हुनु जस्ता कारणले दुर्घटना बढेको हो।
ट्राफिक नियम पालनामा कडाइ गर्नु नै दुर्घटना नियन्त्रणको मुख्य उपाय हुने उनको भनाइ छ।
कैलालीमा चालु आर्थिक वर्षको हालसम्ममा सवारी दुर्घटनामा २९ जनाको ज्यान गएको छ। यी घटनामा ८१ जना घाइते भएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, कैलालीका प्रमुख प्रहरी निरीक्षक वकिल सिंहका अनुसार सडक दुर्घटना हुनुको मुख्य कारण मानवीय त्रुटी नै हो।
ठूला–साना सबै खाले सवारी चालक र पैदल यात्रुले ट्राफिक नियम पालना गर्ने हो भने सवारी दुर्घटना न्यूनीकरणमा मद्दत पुग्ने उनको भनाइ छ।
उनले पूर्ण रूपमा ट्राफिक नियम पालना गराउन चुनौती रहेको बताए।
‘हामी जनशक्ति अनुसार प्रदेशभर काम गरिरहेका छौं। सर्वसाधारण, विद्यार्थी र चालकहरूका लागि सचेतनाका कक्षाहरू पनि चलाउने गरेका छौं,’ उनी भन्छन्, ‘तै पनि ट्राफिक नियमको उल्लंघन हुने गरेको छ। प्रहरी एक्लैले गरेरमात्र सम्भव छैन। सबै सचेत हुनुपर्यो।’
उनका अनुसार ट्राफिक नियम कडाइका साथ पालना गराउन नसक्नुमा मुख्य चुनौती त जनशक्ति अभाव हो।
सवारी साधनको संख्याका आधारमा हेर्ने हो भने अहिले कैलाली जिल्लामा मात्रै कम्तीमा चार सय ट्राफिक प्रहरी आवश्यक पर्छ। तर त्यसको आधा पनि ट्राफिक प्रहरी छैनन्।
कुन सडकमा कस्ता सवारी चलाउने भन्ने निर्णय स्थानीय सरकार र प्रशासनले गर्नुपर्ने पनि उनले बताए।
हामीले प्रहरीले सुनाएको समस्या पीडितलाई पनि सुनायौं। राज्यले शान्ति, जिउज्यान र सम्पत्तिको सुरक्षाको जिम्मा लिएको हो भने त्यो पूरा गर्नुपर्ने उनीहरूको भनाइ छ।
चेतनाका बुवा गणेशले भने- मान्छेको ज्यान गएको गयै छ, प्रहरीले जनशक्ति अभाव भयो भनेर सुख पाउँछ र?