६० वर्षीय टेकबहादुर गुरुङ चितवनका पुराना नेचर गाइड हुन्। जंगल घुम्न आउने पर्यटकलाई घुमाउन सौराहामा 'जंगल टुरिस्ट गाइड' नामको संस्था खोलेका उनी चराको विषयमा खास रूचि राख्छन्।
चराको संरक्षणमा काम गर्ने संस्था 'बर्ड एजुकेसन सोसाइटी, सौराहा' का पूर्वअध्यक्ष उनी सन् २०१२ यता भएका सबैजसो चरा गणनामा सहभागी भएका छन्। पछिल्ला केही वर्षमा भएका गणनाबाट आएको तथ्यांकले भने उनलाई चिन्तित बनाएको छ।
पानीमा आश्रित चरा गन्न चितवन राष्ट्रिय निकुञ्जभित्रको देवी ताल पुग्दा २५ प्रजातिसम्म चरा भेटिएको अनुभव उनीसँग छ।
'देवी तालमा त अहिले पानी नै देखिन छाडेछ। पानी सुक्न थालेपछि चरा देखिनै छाडे,' गत हप्ता चरा गन्न उक्त ताल पुगेका गुरुङले भने, 'अन्य ताल, सिमसारको अवस्था पनि यस्तै बनिरहेको छ।'
निकुञ्जभित्रको पटना ताल, भीमपुर तालहरूमा पनि विगतमाभन्दा निकै कम चरा देखिएको उनले सुनाए।
'२० वर्षअघि सानो कर्याङकुरुङ भनिने डुमुसेल क्रेन सौराहाको राप्ती ड्याकनजिकै प्रशस्त देखिन्थे। अचेल मानव चहलपहल बढ्यो, पानीमा प्रदूषण पनि बढ्यो। बासस्थानको विनाश भयो। खानाको कमी भयो, यत्रो वर्षदेखि ती चरा यता देखिएकै छैनन्,' गुरुङले भने, 'यसपालिको गणनामा मैले हाँस प्रजातिका चराहरू ५० प्रतिशतले घटेको अनुभव गरेँ।'
जनवरीको ८ र ९ तारिखमा चितवनका विभिन्न ठाउँमा पानीमा आश्रित चराको गणना गरेपछि बर्ड एजुकेसन सोसाइटीले सार्वजनिक गरेको तथ्यांकले पनि हाँस प्रजातिका चराहरूको संख्या घट्दो देखाएको छ।
चिसो छल्न हिमालपारिबाट चितवन आउने पानीचराको संख्या हरेक वर्ष घट्दै गएको सोसाइटीका अध्यक्ष टिकाराम गिरी बताउँछन्। गत वर्ष पानीमा आश्रित चराका ५४ प्रजाति अभिलेख गरिएकामा यस वर्ष ४९ प्रजातिमात्रै भेटिएको उनले बताए।
यस वर्षको गणनामा 'चखेवा-चखेवी' भनेर चिनिने रूडी सेलडकबाहेक अन्य सबै चराको संख्या घटेको देखिएको छ। विभिन्न नदी, खोला, ताल, सिमसार क्षेत्रमा एकैपटक गरिएको गणनामा यस वर्ष ५ हजार ७४ वटा चखेवा-चखेवी भेटिए। जाडो छल्न हिमालपारिका विभिन्न देशबाट लामो दुरी यात्रा गरेर यहाँ आइपुग्ने चखेवा प्रायः जोडीमा भेटिन्छन्। गत वर्ष ४ हजार ४१५ वटा भेटिएका थिए।
अघिल्लो वर्ष करिब दुई सय वटा भेटिएका 'खोया हाँस' यस पटक ७५ वटा मात्रै भेटिए। बार हेडेड घोष नामको यो चरामध्ये एसियाका देशहरूबाट करिब ९ हजार मिटर उचाइमा उडेर नेपालका हिमालहरू पार गर्दै चितवन आइपुग्छ।
नेपालमा जलेवा भनिने ग्रेट कर्मोरेन्ट ३८४ वटा, सानो जलेवा भनेर चिनिने लिटिल कर्मोरेन्ट १६४, मणि तण्डुक भनिने घोसन्डेर १६०, खोले हुटिट्याउँ भनिने रिभर अपविङ १४९, श्वेत माथा कालहाँस भनिने ग्रेटर ह्वाइट फ्रन्टेड घोष एउटा, कालो गडुर भनिने व्ल्याक स्ट्रोक ३२, भुँडिफोर गडुर भनिने लेसेर एडजुटेन्ट ४४ वटा भेटिएको अध्यक्ष गिरीले बताए।
नेपाली रैथाने मान्ने गरिएको सिलसिले हाँस (लेजेर विस्टलिङ डक) १७० वटा भेटिए। यीमध्ये सिलसिले हाँसले नेपालमै प्रजनन् गर्छ। अरू चाहिँ मंगोलिया, काजकिस्तान, उज्वेकिस्तान साइवेरिया, तिब्बततिरबाट अक्टोबरतिर नेपाल आउँछन्, फेब्रुअरीको अन्त्यतिरबाट फर्कन थाल्छन्। अप्रिलसम्ममा ती चरा सबै फर्किसक्छन्। उनीहरूले आफ्नै ठाउँमा पुगेर प्रजनन गर्ने सोसाइटीका पूर्वअध्यक्ष वासु विडारीले बताए।
ठूलो झुण्डमा उडेर युरोपका विभिन्न देश तथा मंगोलियाबाट पश्चिम चितवनको धान खेतमा आइपुग्ने कर्याङकुरुङ चरा (कमन क्रेन) पनि यसपालि असाध्यै कम देखिएको विडारीले बताए। गत वर्ष चितवनको दिव्यनगरमा १७८ वटा कर्याङकुरुङ भेटिएका थिए। सोही ठाउँमा यस वर्ष १७ वटा मात्रै भेटिए।
'धान खान भनेर दिव्यनगरको धानबारीमा पुग्ने चराहरू यति कम हुनुको मुख्य कारण त्यहाँ बढेको मानवीय चहलपहल हो। धानखेत मासेर उद्योग, व्यवसाय बिस्तार हुँदै जानाले चराहरूले आफ्नो ठाउँ गुमाउँदै गएका छन्,' विडारीले भने।
चितवनमा गत वर्ष भेटिएका सुनजरे हाँस, कैलो टाउके हाँस, हलोमुखे, भारक चाह र लालढेंडे चखेवा यस वर्ष कतै नदेखिएको अध्यक्ष टिकाराम गिरीले बताए। अघिल्ला वर्षमा पनि यी यहाँ कम संख्यामा देखिन्थे।
'सामान्यतया चखेवा-चखेवी नियमित रूपमा यहाँ आइरहेका देखिन्छन्। अन्य फिरन्ते चरा एक पटक आएपछि वर्षौंसम्म नआउन पनि सक्छन्। त्यसैले यहाँ पाइने प्रजातिमा घटबढ भइरहन्छ,' गिरीले भने, 'जलवायु परिवर्तन, दूषित वातावरण लगायतका कारण अन्त पनि पानीमा आश्रित चराहरू संकटमा पर्दै गएका छन्। यहाँ पनि यसको असर देखिइरहेको छ।'
तालहरूमा पानी सुक्ने, पानी भएका ताल वरपर वनभोज गर्ने, होहल्ला गर्ने चलनले चरालाई असर गरेको उनले बताए।
उनका अनुसार गत वर्ष गरिएको गणनामा चितवनमा पानीमा र बाहिर रहने चराका २०६ प्रजाति भेटिएकामा यसपालि २०३ प्रजाति रेकर्ड भएको छ। गत वर्ष १६ हजार १६५ वटा चरा भेटिएका थिए। समान अवधिमा गरिएको गणनामा यस वर्ष १२ हजार ७७७ वटा मात्रै भेटिए।
दुई दिनको गणनामा एक सय भन्दा बढी गणक सहभागी थिए।