सर्वोच्च अदालतले नारायणी नदीको किनारमा फोहोर नफाल्न र चितवन महोत्सवको स्थलमा गाडिएको फोहोर तुरून्त निकाल्न अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश नहकुल सुवेदीको इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयविरूद्ध अन्तरिम आदेश जारी गर्दै मुद्दाको अन्तिम किनारा नभएसम्म नारायणी नदीमा कुनै प्रकारको ढल मिसाउने कार्य नगर्न, डम्पिङ साइटमा बिसर्जन गर्ने फोहोर मैला नदी किनारमा बिसर्जन नगर्न, गर्न नदिन र उद्योग वाणिज्य संघ चितवनले चितवन महोत्सव गर्न नारायणी नदीको किनारमा गाडेको फोहोर अबिलम्ब निकाल्न लगाई नदी प्रदूषित हुने अन्य कुनै कार्य हुन नदिन अन्तरिम आदेश जारी गरेको हो।
महोत्सव गर्न नदी किनारको खाल्डाहरूमा फोहोरले पुरेपछि बेटर चितवन, वे ग्रूप, हाम्रो दृष्टी राम्रो दृष्टी, नेपाल डेभलपमेन्ट सोसाइटी लगायत चितवनका विभिन्न संस्थाहरूले उद्योग वाणिज्य संघ र भरतपुर महानगरपालिकाविरूद्ध अन्दोलन गर्दै ‘सेभ नारायणी’ अभियान सञ्चालन गरेका थिए।
स्थानीयको माग सुनुवाई नभएपछि अधिवक्ता सञ्जय अधिकारीले नदी प्रदूषित भई वातावरण तथा जलचर प्राणीहरूमा नकरात्मक असर परेको र स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको संविधानप्रदत्त मौलिक हकमा आघात पुगेको भन्दै उक्त कार्य नगर्न अन्तरिम आदेश र परमादेशको मागदाबी गर्दै गत पुस १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।
अदालतले निवेदकको मागबमोजिमको आदेश जारी गर्नु नपर्ने आधार कारण भए सो खुलाई बाटाको म्यादबाहेक १५ दिनभित्रमा लिखित जवाफ पेस गर्न विपक्षीको नाममा आदेश जारी गरेको छ।
सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै नेपालको संविधानको धारा ३० ले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको र उक्त व्यवस्थाअनुसार वातावरण प्रदूषित हुन नदिने, प्रदूषित वातावरणका कारण सर्वसाधारण जनताको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई न्यूनीकरण गर्ने, नदीको स्वच्छता र पवित्रता कायम गर्दै नदीप्रतिको धार्मिक, साँस्कृतिक आस्था कायम रहने अवस्था सिर्जना गर्ने एवम् नदीमा आश्रित जलचर लगायत जलाधार क्षेत्रको वातावरणीय स्वच्छता कायम गर्ने लगायतका जिम्मेवारी र दायित्व प्रत्यार्थी मध्येका विभिन्न निकायहरूको देखिने उल्लेख गरेको छ।
‘नेपालको धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक महत्वको पवित्र नारायणी नदी किनारमा महोत्सवका लागि पूर्वाधार तयार गर्न वा अन्य जुनसकै प्रयोजनका लागि फोहोर थुपार्न वा फोहोर थुपारी पुर्ने लगायतका कार्य गर्दा फोहोरबाट निस्कने हानिकारक रसायनयुक्त विषालु पदार्थले भूमिगत एवम् सतहको जलश्रोत प्रदूषित हुन गई त्यसबाट मानिस एवम् अन्य जीवजन्तुको जीवनमा गम्भीर संकट उत्पन्न हुनका साथै त्यस क्षेत्रको समग्र धार्मिक, सामाजिक तथा वातावरणीय स्थितिमा नकरात्मक असर पर्न जाने देखियो,’ आदेशमा भनिएको छ।
नारायणी नदीमा फोहोर फाल्ने र चितवन महोत्सव स्थलमा फोहोरले पुर्ने कार्यविरूद्ध अभियानको नेतृत्व गरेका अभियान्ता सागर कार्कीले सम्बन्धित निकायले सर्वोच्च अदालतको आदेशको सम्मान गर्ने विश्वास व्यक्त गरे।