देशभरका डाक्टरहरूको पेसागत संगठन नेपाल चिकित्सक संघको नेतृत्व चयनका लागि शुक्रबारबाट मतदान सुरू हुँदैछ।
काठमाडौं उपत्यका बाहिरका शाखाहरूमा शुक्रबार बिहान ९ बजेदेखि मतदान सुरू हुनेछ। शुक्रबार र शनिबार काठमाडौं उपत्यका बाहिरका शाखाहरूमा र उपत्यकाभित्र माघ १९, २० र २१ गते मतदान हुनेछ।
देशभरबाट १२ हजार ८ सय जना चिकित्सकहरू मतदानमा सहभागी हुन पाउने छन्।
संघको नेतृत्वका लागि नेपाली कांग्रेस निकटको प्रजातान्त्रिक समूहबाट डा. अनिलविक्रम कार्की, नेकपा एमाले निकटको पेसागत (प्रगतिशील) समावेशी समूहबाट डा. सन्तोष पौडेल र स्वतन्त्र समूहको नेतृत्व गरेर डा. शिवजीविक्रम सिलवाल चुनावी मैदानमा छन्।
डाक्टर कार्की बिपी मेमोरियल क्यान्सर अस्पतालका सिनियर कन्सल्टेन्ट हुन्। अघिल्लो कार्यकालमा उनी उपाध्यक्षमा निर्वाचित भएका थिए। त्यसअघि उनले संघको काउन्सिल सदस्य र केन्द्रीय सदस्य भएर काम गरेका थिए।
डाक्टर पौडेल राष्ट्रिय ट्रमा सेन्टरका सिनियर कन्सल्टेन्ट, अर्थोपेडिक स्पाइन सर्जन हुन्। उनी राष्ट्रिय स्वास्थ्यकर्मी संघका महासचिवसमेत हुन्। डाक्टर सिलवाल उपराष्ट्रपति नन्दकिशोर पुनका निजी चिकित्सक हुन्।
अध्यक्षका उम्मेदवार डाक्टर अनिलविक्रम कार्कीले अस्पताल तथा स्वास्थ्य संस्थाको सुरक्षाका निम्ति छुट्टै ‘स्वास्थ्य सुरक्षा बल’ बनाउन पहल गर्ने बताएका छन्। स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई सुरक्षित बनाउन छुट्टै सुरक्षा बलको आवश्यक भएको उनले बताए।
शुक्रबारबाट सुरू हुने संघको निर्वाचन प्रचारका क्रममा डा. कार्कीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन), ऐन २०७९ को शतप्रतिशत कार्यान्वयन गराउने बताए।
‘म समितिमा रहँदा यो ऐन निर्माण र कार्यान्वयनका लागि धेरै प्रयासहरू गरेँ। अब यसको शतप्रतिशत कार्यान्वयन गरी स्वास्थ्य संस्थालाई सुरक्षित क्षेत्र भएको प्रत्याभूति गराउन नेतृत्वमा जान खोजेको छु,’ डा. कार्कीले सेतोपाटीसँग भने, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) ऐन २०७९ आए पनि अस्पतालमा तोडफोड, स्वास्थ्यकर्मीमाथि कुटपिटका घटना रोकिएका छैनन्। सुरक्षाका निम्ति छुट्टै स्वास्थ्य सुरक्षा बल बनाउन म पहल गर्नेछु।’
उनले आफू निर्वाचित भए चिकित्सक सेवा आयोगको स्थापना र चिकित्सक ऐनका लागि पहल गर्ने बताए। कार्की नेतृत्वको प्रजातान्त्रिक समूहले चिकित्सकको तलब वृद्धि, वैज्ञानिक ड्युटी-आवर, वर्षमा एक पटक अनिवार्य रूपमा १५ दिन तलबी अनिवार्य भ्रमण बिदाको व्यवस्था, संघीय संरचनाअनुसार सातै प्रदेशमा सुविधासम्पन्न कार्यालय स्थापना गर्ने, लाइसेन्सप्राप्त सबै चिकित्सकको सबै प्रकारका बीमा सरकारले गरिदिने व्यवस्था मिलाउने, चिकित्सक र उनीहरूको परिवारका लागि डेडिकेटेड अस्पताल निर्माणको पहल गर्ने, आवासीय चिकित्सकलाई तलबी सुत्केरी, बिरामी र किरिया बिदाका लागि पहल ग र्नेलगायतका १७ वटा प्रमुख एजेन्डाहरू अघि सारेको छ ।
डा. कार्कीले बिरामीको स्वास्थ्यका लागि दिनरात खटिरहने चिकित्सक आफू बिरामी पर्दा राज्यले समेत बेवास्ता गरेको भन्दै स्वस्थ नेपालका लागि स्वस्थ चिकित्सक अभियान बोकेर नेतृत्वका लागि अघि सरेको बताए।
पेसागत (प्रगतिशील) समूहबाट अध्यक्ष पदको उम्मेदवार बनेका डा. पौडेलले 'सुरक्षित पेसा, खुसी चिकित्सक' को नारा अघि सारेका छन्। उनले एक चिकित्सक, एक स्वास्थ्य संस्था, सबै डाक्टर एक पटक सरकारी डाक्टर, सबै डाक्टरलाई रोजगारीः १० वर्षमा घर र गाडी, वैज्ञानिक ड्यूटी-आवर, अनिवार्य बिदाको व्यवस्था जस्ता एजेन्डा अघि सारेका छन्।
सिलवालले चिकित्सा सेवा आयोग गठन गरेर स्वास्थ्य क्षेत्रका सबै निकायलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन पहल गर्ने बताएका छन्। उनले चिकित्सक परिवार कल्याणकारी कोषलाई प्राथमिकतामा राखेर स्वास्थ्यकर्मी अस्पताल खोल्न सरकारसमक्ष पहल गर्ने, चिकित्सकहरूको सुरक्षा, तलब, सीप विकास र रोजगारीका लागि पहल गर्ने, मेडिकल अफिसरलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक र सेवा सुविधाका लागि पहल गर्ने, स्वास्थ्य बीमा लगायतका एजेन्डा अघि सारेका छन्।
२००७ सालमा स्थापना भएको चिकित्सक संघमा अहिलेसम्म लगातार प्रजातान्त्रिक समूहले नेतृत्व गरिरहेको छ। प्रजातान्त्रिक समूह अहिलेको चुनावमा पनि जित हात पार्दै विरासत जोगाउन चाहन्छ। पेसागत समूह भने संघमा प्रजातान्त्रिक समूहको विरासत भत्काउन लागिपरेको छ।
संघको महासचिवका लागि डा. रक्षा श्रेष्ठ, डा. सन्जीव तिवारी र डा. अमृत भुसालबीच प्रतिस्पर्धा हुँदैछ।
वरिष्ठ उपाध्यक्षमा डा. बद्री रिजाल, उपाध्यक्ष (प्रदेश–१) मा डा. विपेश आचार्य, उपाध्यक्ष (लुम्बिनी) मा डा. नन्दाकुमारी गुरुङ र उपाध्यक्ष (कर्णाली प्रदेश) डा. केशरबहादुर ढकाल, कोषाध्यक्षमा डा. प्रमोद जोशी, सह–कोषाध्यक्षमा डा. विक्रान्त ढकाल र सह–सचिव पदमा डा. लिजन महर्जन निर्विरोध निर्वाचित भइसकेका छन्।