भैरहवाका दुई युवा विष्णु पौडेल र दीपु जैसवालले झन्डै एक करोड रूपैयाँ लगानीमा एक महिनाअघि मात्र सञ्चालनमा ल्याएको 'जेल रेस्टुरेन्ट' जिल्ला प्रशासन कार्यालय रूपन्देहीले बन्द गर्ने निर्णय गरेको छ।
हुबहु जेलजस्तै देखिने गरी रेस्टुरेन्ट बनाएको भन्दै प्रशासन कार्यालयले सोमबार अनुमगन गरी बन्द गराउने निर्णय गरेको हो।
सञ्चालक जैसवालले भने रेस्टुरेन्टमा जेलको ढाँचा ल्याउन केही खेलौना मात्र प्रयोग गरेको बताएका छन्। भारतमा यस्तै रेस्टुरेन्ट देखेपछि नेपालमा पनि नयाँ प्रयोग हुने सोचेर साथी विष्णु पौडेलसँगको साझेदारीमा खोलेको उनको भनाइ छ।
'प्रशासन कार्यालयको कदमले हामी मारमा परेका छौं,' उनले मंगलबार सेतोपाटीसँग भने, 'ऋण लिएर खोलेको रेस्टुरेन्ट यसरी बन्द गरिदिएपछि हाम्रो त सब कुरा बिग्रियो नि!'
यही विषयलाई लिएर मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा दुवै पक्षबीच छलफल भएको थियो। छलफल क्रममा आफूहरूले गल्ती स्वीकार गरी भनेअनुसार परिवर्तन गर्न तयार हुँदा पनि प्रशासनले कुरै नसुनेको जैसवालको गुनासो छ।
'हामीले गल्ती भयो सर, जेलको थिम दिनलाई मात्र खेलौनाहरू राखेका हौं, तपाईंहरूलाई चित्त बुझेको छैन भने जसरी भन्नुहुन्छ त्यसरी चलाउँछौं भनेर भन्दा पनि उहाँहरू मान्नुभएन,' उनले भने, 'त्यसरी कहाँ हुन्छ, कानुनी प्रक्रियामा जान्छ भन्नुभयो।'
दर्ता गर्ने बेलामै 'जेल रेस्टुरेन्ट' भनेर दर्ता गरेकाले प्रशासन कार्यालयले यो विषय ठूलो बनाउन नहुने उनले बताए।
'हामीले दर्ता गर्दा नै रेस्टुरेन्टलाई जेलजस्तो देखाउन हतकडी, बन्दुक लगायत खेलौनाहरू सजाउने जानकारी गराएका थियौं। अहिले त्यही कुरामा प्रशासनले रेस्टुरेन्ट बन्द गराएर हामीमाथि अन्याय गरेको छ,' उनले भने।
रेस्टुरेन्टमा प्रयोग भएका सामग्री मनोरञ्जनका लागि मात्र राखिएको उनले बताए। यस्ता सामग्री बजार वा मेलातिर खुलेआम प्रयोग भइरहेकाले प्रशासन कार्यालयले आफूहरूलाई मात्र च्याप्न नहुने उनको जिकिर छ।
'हामीले रेस्टुरेन्टमा राखेको बन्दुक मेलाहरूमा देखिने बेलुनमा हाल्ने बन्दुक हो,' उनले भने, 'मेलामा खुलेआम चलाउँदा कुनै जोखिम भएन, एउटा रेस्टुरेन्टले डिजाइनको निम्ति प्रयोग गर्दा चाहिँ किन समस्या?'
यति हुँदाहुँदै आफूहरू प्रशासनले भनेअनुसार ती सामग्री हटाउन तयार भए पनि प्रशासन सकारात्मक नभएको जैसवाल बताउँछन्।
'अब कानुनी प्रक्रियामा जान्छ रे। मुद्दा चलाउने रे। बयान लिने भन्नुभएको छ,' उनले दुखेसो पोख्दै भने, 'यहाँ गरिखान नदिने भयो। सबै कुरा छाडेर अन्तिममा यो रेस्टुरेन्ट खोलेको, अब यो पनि बन्द भयो भने भोलि हामीले के गर्ने?'
प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जेल रेस्टुरेन्टमाथि थप अनुसन्धान गर्नुपर्ने भएकाले बन्द गरिएको बताएका छन्।
रेस्टुरेन्टको सजावटमा प्रयोग भएका सामग्री समाजका लागि अपाच्य रहेको भन्दै थप अनुसन्धान गर्नुपर्ने उनको जिकिर छ।
'पहिलो कुरा त रेस्टुरेन्टको नामै सान्दर्भिक भएन। दोस्रो कुरा, उहाँहरूले जुन आवरण बनाउनुभएको छ, त्यो समाजका लागि पाच्य भएन। बन्दुक बोक्ने, हतकडी बोक्ने भनेको त सुरक्षा निकायले हो। यी चिज सार्वजनिक रूपमा यसरी प्रदर्शन गर्न पाइने कि नपाइने भनेर हामी अनुसन्धान गर्छौं,' पाण्डेले भने।
रेस्टुरेन्टमा प्रयोग भएका सामग्री खेलौना मात्र भएको र ती सामग्री बजारमा बिक्री भइरहेकै छन् नि त भन्ने प्रश्नमा प्रमुख जिल्ला अधिकारी पाण्डेले भने, 'कुन मनसायले प्रयोग गरेको हो भन्ने कुरा त अनुसन्धानबाट खुल्ला नि!'
पाण्डेले यो विषय कानुनी प्रक्रियामा गएकाले सञ्चालकहरूले भन्नेबित्तिकै रेस्टुरेन्ट सञ्चालन गर्न दिन नसकिने बताए।
'उहाँहरूले हटाउने कि नहटाउने बेग्लै कुरा भयो। यो कानुनी प्रक्रियामा गइसकेको छ। त्यसैले प्रक्रियाअनुसार नै टुंगिन्छ,' उनले भने।