भरतपुर अस्पतालमा बिरामीले शल्यक्रियाका लागि ६ महिनाभन्दा लामो समय कुर्ने गरेका छन्।
बिरामीको अनुपातमा शल्यक्रिया कक्ष र (एनेस्थेसियोलोजिस्ट)बेहोस बनाउने डाक्टर कम हुँदा समयमै शल्यक्रिया गर्न नसकेको अस्पतालले जनाएको छ।
अप्रेशनका लागि महिनौं कुर्ने बिरामीहरू प्रायः पित्तथैली, हर्नियाँको समस्या भएकाहरू छन्।
सूचना अधिकारी गोपाल पौडेलकाअनुसार अस्पतालमा अहिले शल्यक्रिया कक्ष ७ वटा र सरकारी दरबन्दीका एनेस्थेसियोलोजिस्ट एक जनामात्रै छन्।
अस्पताल विकास समितिका ३ र छात्रवृत्ति करारका ३ जना एनेस्थेसियोलोजिस्ट यहाँ कार्यरत छन्। सातवटा शल्यक्रिया कक्षहरूमा आकस्मिक शल्यक्रिया चौबिसै घण्टा र बारअनुसार विभिन्न विभागका शल्यक्रियाहरू हुन्छन्। त्यसका लागि आवश्यक सर्जनहरूको भने कमी छैन।
‘अहिले विभिन्न विभागका गरेर ४० जना सर्जनहरू हुनुहुन्छ तर बेहोस बनाउने डाक्टर ६ जनामात्रै र अप्रेशन थिएटर पनि कम हुँदा बिरामीले समयमै सेवा पाउन सकेका छैनन्,’ भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.कृष्णप्रसाद पौडेलले भने।
स्वास्थ्य बीमाको सुविधा रहेका कारण बिरामीको चाप भने बढ्दोक्रममा रहेको उनले बताए। बिरामीको संख्या बढ्दै जाने तर त्यसअनुरुप जनशक्ति र संरचना नुहँदा समयमा सेवा दिन नसकेको पौडेलले बताए। उनले शल्यक्रियाका लागि बिरामीले ९ महिनासम्म पालो कुर्नु परेको बताए।
२०७९ सालको साउन १ गतेदेखि पुस मासन्तसम्ममा भरतपुर अस्पतालमा ७ हजार ४६५ वटा शल्यक्रियाहरू भएको सूचना अधिकारी पौडेलले जानकारी दिए। यसमध्ये ४ हजार २१ मेजर अप्रेशन, २२२ मध्यम, ४८८ सामान्य, २ हजार ५८१ सुत्केरीको सामान्य, १५८ जना सुत्केरीको जटिल अप्रेशन गरिएको पौडेलले बताए।
यी मध्ये ६५ देखि ७० प्रतिशतले बीमामार्फत शल्यक्रिया गरेका हुन्।
‘सातवटा कक्षमा जनशक्तिले भ्याएसम्म नियमित शल्यक्रिया भइरहेको छ तैपनी मेजर अप्रेसनकै लागि ६ महिनाभन्दा बढी समय कुर्नुपर्ने बाध्यता छँदैछ,’ पौडेलले भने, ‘आजको दिनमा आउने बिरामीलाई असारअघिको समय दिन नसक्ने अवस्था छ।’
तर आकस्मिकरुपमा शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामीलाई नकुराइएको उनको भनाइ छ।
‘बीमाको सुविधा अन्य ठूला अस्पतालमा नभएका कारण बिरामीको चाप यहाँ बढेको हो,’ पौडेलले भने, ‘केही महिना कुर्दा पनि हुने खालका बिरामी भए कुर्नुहुन्छ, हतार भए पैसा तिरेर छिटो अप्रेशन गर्ने व्यवस्था पनि छ।’
भरतपुर अस्पतालले नियमितबाहेकको समयमा एक्सटेण्ड हस्पिटल सर्भिस(ईएचएस) सेवा सञ्चालन गरेर सशुल्क शल्यक्रिया पनि गर्दै आएको पौडेलले बताए। यो सेवाअन्तर्गत बिरामीबाट प्राप्त शुल्कको ८० प्रतिशत खटिने स्वास्थ्यकर्मीले र २० प्रतिशत अस्पताल विकास कोषले प्राप्त गर्ने व्यवस्था छ।
अस्पतालका एनेस्थेसियोलोजी विभागका प्रमुख डा.प्रदिप अधिकारीले एनेस्थेसियोलोजिस्टको संख्या बढाउनु आवश्यक रहेको बताए। शल्यक्रिया गर्नुपर्ने प्रत्येक बिरामीका लागि कम्तीमा एक जना एनेस्थेसियोलोजिस्ट आवश्यक पर्ने उनले बताए।
‘हामीसँग अप्रेसन थियटर सातवटा छन्। कतिपय अवस्थामा आइसियू, आकस्मिक कक्षमै सेवा दिनुपर्ने पनि हुन्छ तर हामी जनशक्ति भने ६ जनामात्रै छौं,’ डा.अधिकारीले भने, ‘पर्याप्त जनशक्ति हुँदा सहज हुन्थ्यो। बिरामीले स्ट्याण्डर उपचार पाउँथे। तर हामीले भएका जनशक्तिको भरपुर उपयोग गरेर, एसिस्टेन्सहरुमार्फत पनि काम गरिरहेका छौं।’
उनले एक जनाले दिनमा तीनजनासम्म बिरामीलाई सेवा दिने गरेको बताए। डा.अधिकारीकाअनुसार नेपालमा एनेस्थेसियोलोजिस्ट साढे तीन सय जना जति छन्।
‘हाम्रो भूमिका झन्–झन् बढिरहेको छ। कोभिड–१९ को महामारीका बेलामा जिम्मेवारी थप बढ्यो तर देशभरमा यो संख्या कम हो,’ उनले भने, ‘यसकारण जनशक्ति पाउन पनि कठिन नै छ।’
अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट डा.पौडेलले बिरामीलाई समयमा सेवा दिनका लागि जनशक्ति थप गर्नु आवश्यक रहेको बताए। अस्पतालले समयमा शल्यक्रिया सेवा दिन कम्तीमा १५ वटा शल्यक्रिया कक्ष र १० जना एनेस्थेसियोलोजिस्ट आवश्यक पर्ने जनाएको छ।
‘यहीअनुसारको ओएनएम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृत भइसकेको छ। तर त्यसअनुसारको जनशक्ति प्राप्त गर्न सकिएको छैन,’ डा.पौडेलले भने।
भरतपुर अस्पतालले ११ औं तहका २ जना, नबौं तह र दशौं तहका ४ जना एनेस्थेसियोलोजिष्ट तथा ४ जना सहायकको दरबन्दी माग गरेको छ।
पित्तथैलीको शल्यक्रिया गर्न बिरामीले महिनौं कुर्नु परेको गुनासो आएको भन्दै महालेखा परीक्षकको प्रतिवेदनले पनि भरतपुर अस्पताललाई त्यस्तो गुनासो नआउने व्यवस्था मिलाउनुपर्ने सुझाव दिँदै आएको छ। तर अस्पतालले भने त्यसलाई बाध्यता भन्ने गरेको छ।
हाल ६०० शैयामा चलिरहेको यस अस्पतालमा नेपाल सरकारको स्वीकृत दरबन्दी १७५ मात्रै छ। ९ जना छात्रवृत्ति करारका चिकित्सकहरु कार्यरत छन्। यो अस्पतालले १५० शैया सञ्चालनको स्वीकृती पाउँदाको दरबन्दी हो।
अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले हाल दिइरहेको सेवालाई प्रभावकारी बनाउन कम्तीमा १ हजार ८ जना विभिन्न तहमा काम गर्ने कर्मचारी दरबन्दी अवस्यक पर्ने बताए। अहिले यहाँ अस्पताल विकास समितिका स्थायी ५७ जना, अस्थायी १ जना, करारमा ३४४ र ज्यालादारीमा ९३ जना कर्मचारी कार्यरत छन्। त्यसैगरी आमा सुरक्षा कार्यक्रमतर्फ १८, पोषण कार्यक्रमतर्फ ९, ओसिएमसीमा २, एआरटीमा २ जना कार्यरत छन्। २७ जना सुरक्षाकर्मी र १२० जना सरसफाइकर्मीहरु ठेकेदार कम्पनीमार्फत कार्यरत छन्।
गत साउनदेखि पुस मसान्तसम्ममा भरतपुर अस्पतालबाट १ लाख ४८ हजार २३७ जनाले ओपिडी सेवा लिएका थिए। उनीहरुमध्ये ९८ हजार ७४० जनाले बीमामार्फत सेवा लिएका हुन्। यो अवधिमा आकस्मिक कक्षको सेवा २७ हजार ९७८ जनाले लिएका थिए। १५ हजार ९१६ जनाले भर्ना भएर उपचार सेवा लिएका थिए।
डायलासिसमा १४० जना प्रतिक्षारत
मिर्गौलाको समस्याका कारण डायलासिस गर्नुपर्ने बिरामीहरुले पनि समयमा उपचार पाउन सकेका छैनन्। भरतपुर अस्पतालमा दैनिक १० वटा मेसिनमार्फत चार सिफ्टमा डायलासिस सेवा दिने गरिएको छ।
अस्पतालका सूचनाअधिकारी गोपाल पौडेलले बिरामीको चाप बढेका कारण सबैलाई समयमा सेवा दिन नसकिएको बताए।
‘यहाँ अहिले दशवटामात्रै मेसिन सञ्चालनको अवस्थामा छन्। ती मेसिनहरु चौबिसै घण्टा चलिरहेका छन्,’ पौडेलले भने, ‘चारवटा सिफ्टमा निरन्तर चलाउँदा पनि मंगलबार १४० जना प्रतिक्षामा छन्।’
उनले पुरानो मेडिकल कलेजले बीमामार्फत हुने डायलासिस सेवा बन्द गरेपछि भरतपुर अस्पतालमा बिरामीको चाप बढेको बताए। अहिले भरतपुर अस्पताल र चितवन मेडिकल कलेजलेमात्रै बीमामार्फतको डायलासिस सेवा दिन्छन्। चितवन मेडिकल कलेजमा डायलासिस गर्ने ५ वटा मेसिन छन्।