नारायणगढ–मुग्लिन सडकका दुईवटा खोलामा पुल बनाउनका लागि पहरो फुटाउन शनिबारदेखि थप १५ दिन सडक बन्द हुँदैछ। चिसेन्जी र तुइनखोलामा पुल निर्माणका लागि नारायणगढ–मुग्लिन सडक आयोजनाले गत पुस ५ गतेदेखि दिउँसोको समयमा यातायात बन्द गर्दै आएको छ।
सडक आयोजनाका प्रमुख ईन्जिनियर किरण कार्कीले गत गत पुस ५ गतेदेखि माघ ५ गतेसम्म पहिलो र माघ ५ देखि फागुन ५ गतेसम्म दोस्रोपटक दैनिक ४ घण्टा सडक बन्द गरेर पहरो फोड्ने काम गरे पनि नसकिएपछि थप १५ दिन बन्द गर्न लागेको बताए।
‘अघिल्ला दुई महिनामा काम नसकिएका कारण फागुन २० गतेसम्म समय थपगरी दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर पहरो फोड्ने काम गर्दैछौं,’ कार्कीले सेतोपाटीसँग भने।
आयोजनाले यो सडकको चिसेन्जी, तुइन र कालीखोलामा पुल बनाउनका लागि आवश्यक क्षेत्र तयार गर्न पहरो फुटाएको हो।
कालीखोलाको दुबैतर्फको पहरो फुटाएर पुल निर्माणको काम चलिरहेको छ। अन्य दुई खोलामा अपेक्षा गरेभन्दा कडा चट्टान भेटिएपछि पहरो फोड्न सकस भइरहेको कार्कीले बताए।
‘चिसेन्जीको मुग्लिनतर्फको पहरो काट्ने काम लगभग सकिएको छ तर नारायणगढतर्फको ३० प्रतिशत काम अझै बाँकी छ। तुइन खोलाको मुग्लिनतर्फको पहरो फुटाउन गाह्रो भयो,’ आयोजना प्रमुख कार्कीले भने, ‘अब १५ दिनमा केही काम हुन्छ। अहिलेसम्म भएका कामलाई सेटअप गर्छौं।’
चिसेन्जीको नारायणगढतर्फको र तुइन खोलाको मुग्लिनतर्फको ६० मिटर अग्लो पहाडलाई काटेर करीव २५ मिटरमा झारिएको भए पनि बाँकी फाड्न रक ब्रेकरले संभव नहुने निष्कर्षमा आयोजना पुगेको छ।
कार्कीले १५ दिन रक ब्रेकरले काम गरेपछि बम विष्फोट गरेर बाँकी पहाड फोड्ने निर्णय भएको बताए। ‘बाँकी भागलाई अब विस्फोट गराएर फुटाउनुको विकल्प भएन। सबै प्रक्रिया पूरा गरेर फाइल विभाग हुँदै गृहमन्त्रालयमा पुगिसकेको छ,’ उनले भने, ‘गृहबाट रक्षा मन्त्रालयमा गएपछि नेपाली सेनाको प्राविधिक टोलीले पहरोमा कन्ट्रोल विस्फोट गर्छ।’
निर्णय हुन र विष्फोटक पदार्थ खरिद गर्न केही समय लाग्ने उनले बताए। सबै काम भएपछि दैनिक केही घण्टामात्रै यातायात बन्द गरेर काम सक्ने कार्कीले बताए। धेरै माथिबाट विस्फोट गराउँदा हाल सचालनमा रहेको पुल र सडकलाई क्षति गर्नसक्ने भएकाले ब्रेकर लगाएर पहाड घटाउनुपरेको उनले बताए।
यो सडकखण्डमा पर्ने १९ वटा पुल मध्ये ४ वटा तयार भएर सञ्चालनमा आइसकेका छन्। बाँकी १५ वटा पुल मध्ये ९ वटा पुल तयार करिब तयार भैसकेका छन्। सेती दोभान, खहरे, डुम्रे, टोपे, न्याम्सी, खोर, लामोबालुवा, भोर्लेका पुल तयार भएर सञ्चालनको तयारीमा छन्।
मुग्लिनबाट नारायणगढतर्फ आउँदाको पहिलो खोलो खहरेको पुलको काम अझै सुरु हुन सकेको छैन। पहुँचमार्गमा रहेका घरहरु भत्काउँदा दिनुपर्ने मुआब्जा रकम प्राप्त नहुँदा बनेका पुलहरु सञ्चालन गर्न र नयाँ बनाउन समस्या भइरहेको आयोजनाले जानकारी दियो। चालु आर्थिक वर्षमा १३ वटा पुलको काम सक्ने र मुअब्जाका लागि बजेट आएलगत्तै बनेका पुलहरु सञ्चालन गर्ने योजनामा आयोजना छ।
पुल निर्माणका लागि २०८० पुस ९ गतेसम्मको म्याद छ।
यो सडकखण्डमा पुल बनाउने जिम्मा अनक कन्स्ट्रक्सनले पाएको हो। मुग्लिन नजिकैको खहरे खोलादेखि रिग्दी खोलासम्मका सात वटा पुललाई प्याकेज–१ र जुगेडीदेखि सिमलतालसम्मका आठ वटा पुललाई प्याकेज–२ बनाएर २०७६ चैत्र १० मा सम्झौता भएको थियो।
प्याकेज–१ का पुल निर्माण गर्न ६७ करोड ९९ लाख ५९ हजार रुपैयाँमा र प्याकेज - २ का पुल निर्माण गर्न ५९ करोड ५ लाख ५९ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।