पृथ्वी राजमार्गको आँबुखैरहनी–पोखरा खण्ड विस्तारको सम्झौता भएको दुई वर्ष हुनै लाग्यो। तीन वर्षमा काम सक्नेगरी सम्झौता भए पनि कामको गति असाध्यै सुस्त छ।
केही दिनअघि हामी पुग्दा राजमार्गका केही ठाउँमा मात्रै काम भइरहेको थियो। सडक विस्तारका लागि अहिले भित्ता काट्ने, रिटेनिङ वाल बनाउने, नाली, कल्भर्ट बनाउने कामहरू भइरहेका छन्। काम सुस्त गतिमा हुँदा यात्रु र राजमार्ग आसपासका बासिन्दाहरूले हिलो र धुलोको सास्ती पाइरहेका छन्। ट्राफिक जामको समस्या झेलिरहेका छन्। सीमित कामदारले सुस्तगतिमा काम गर्दा सडक विस्तारले गति लिन नसकेको देखिन्छ।
सम्झौताअनुसार काम भए पृथ्वी राजमार्गको तनहुँमा पर्ने आँबुखैरहनी–जामुने(पहिलो खण्ड)खण्डको काम २०८१ सालको वैशाखभित्रमा सकिनुपर्छ।
तनहुँको जामुनेदेखि कास्कीको पोखरा(दोस्रो खण्ड)सम्मको काम २०८१ सालको भदौसम्ममा सकिनुपर्छ। आधाभन्दा बढी अवधि गुज्रिसक्दा आँबुखैरहनी–जामुने खण्डको काममा १५.५ र जामुने–पोखरा खण्डको काममा ४.१ प्रतिशतमात्रै भौतिक प्रगति भएको छ।
एसियाली विकास बैंकको ऋण सहयोगमा राजमार्ग विस्तारको काम चलिरहेको हो। ८० किलोमिटर सडकखण्डलाई दुई भागमा बाँडेर आँबुखैरहनी–पोखरा सडक विस्तार थालिएको हो। यसको अहिलेसम्मको समग्र भौतिक प्रगति करिब १० प्रतिशत छ।
आँबुखैरहनी–जामुने खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले र जामुने–पोखरा खण्डको ठेक्का चाइनाकै अन्हुई काइयुनले पाएका छन्। पहिलो खण्डका लागि ६ अर्ब २१ करोड र दोस्रो खण्डका लागि ७ अर्ब ४० करोड रुपैयाँमा सम्झौता भएको थियो।
पहिलो खण्डका आयोजना प्रमुख इन्जिनियर नगेन्द्र सुवेदीले अहिलेको सडकलाई विस्तार गरी सहरी क्षेत्रमा सर्भिसलेनसहित ६ लेन र अन्यत्र चार लेनमा विस्तार गरिने बताए। साथै सडकको बीच भागमा ३ मिटरको मेडियन बन्ने उनले बताए।
‘६ लेन भएको ठाउँमा भने तीन वटा मेडियन बन्ने छन्,’ उनले भने, ‘विमलनगर, डुम्रे, दमौली, खैरहनीटार लगायतका बजार क्षेत्रमा ६ लेन सडक बन्नेछ। मेडियनको दुईतर्फ ७(७ मिटरको सडक हुनेछ।’
उनले तीन वर्ष निर्माण, एक वर्ष मर्मत र त्यसपछि पाँच वर्ष सम्भारका लागि कम्पनीसँग सम्झौता भएको बताए।
एसियाली विकास बैंकअन्तर्गतको योजना हेर्ने एडिबी निर्देशनालयका निर्देशक इन्जिनियर सुशील ढकालले पहिलो खण्डको निर्माणको गति पछिल्ला दिनमा बढेको बताए।
‘यसलाई सन्तोषजनक नै भन्न त मिल्दैन तर पछिल्ला दिनमा भइरहेको कामले केही आशा देखाएको छ,’ ढकालले भने, ‘यही गतिमा काम भइरहे समयमै काम नसकिए पनि धेरै समय थप गर्नुपर्दैन।’
दोस्रो खण्डको कामको गतिले निरास बनाएको उनले बताए। निर्माण कम्पनीले चाहिँदो जनशक्ति र स्रोत परिचालन नगर्दा प्रगति असाध्यै कम भइरहेको उनले बताए।
‘जामुनेदेखि पोखरासम्मको खण्डको काममा सन्तोष मान्ने अवस्था देखिएन। किन यस्तो भयो भनेर निर्माण कम्पनीलाई पत्राचार भइसकेको छ,’ इन्जिनियर ढकालले भने, ‘परामर्शदाताले तत्काल एक्सन लिनुपर्ने भएको छ।’
उनले उक्त निर्माण कम्पनीलाई मनासिव समय तोकी त्रुटी सच्याउन मौका दिइने र त्यसपछि पनि यस्तै अवस्था रहे ठेक्का खारेजसम्मको अवस्थामा पुग्नुपर्ने बताए।
पहिलो खण्डमा पनि काममा ढिलाइ भएपछि चेतावनी दिइएको थियो।
‘पछि उसले कामको गति बढायो। अहिले महिनामा ४–५ प्रतिशत प्रगति भइरहेको छ,’ ढकालले भने।
दोस्रो खण्डका आयोजना प्रमुख अमृत श्रेष्ठले निर्माण कम्पनीले काममा ढिलाइ गरिरहेको स्वीकार गरे। साथै, बिजुलीको पोल सार्ने, खानेपानीको पाइप सार्ने लगायतका काममा भइरहेको ढिलाइले पनि असर गरेको उनले बताए।
‘कन्ट्याक्टरबाट काममा ढिलाइ भइरहेको छ। हामीले उसलाई भनिरहेका छौं। यसका अलावा विद्युत पोल र खानेपानीको पाइप सार्नमा ढिलाइ हुँदा पनि काममा असर परिरहेको छ,’ श्रेष्ठले भने, ‘यी काम जतिसक्दो छिटो सम्पन्न गर्नुपर्नेछ।’
उनले पोल सार्ने काम तत्काल सुरू भए आगामी असारसम्ममा प्रगति २० प्रतिशत पुर्याउन सकिने दाबी गरे।
निर्माण व्यवसायीसँगको सम्झौतामा विद्युतका पोल सार्ने र पुल बनाउने पनि उल्लेख गरिएको छ। यसमा मादी र सेती नदीको पुल, सडकको अधिकार क्षेत्रभित्र रहेका घर भत्काउँदा दिनुपर्ने मुआब्जा समेटिएको छैन।
विद्युतका पोलहरू सार्ने काममा ढिलाइ हुँदा सडक विस्तारमा केही समस्या भएको आयोजना प्रमुख सुवेदीले बताए।
विद्युत प्राधिकरणले पुल बन्ने क्षेत्रका पोलहरू भने समयमै सारिदिएको थियो।
यो खण्डका विद्युतका पोल सार्नका लागि १९ करोड रुपैयाँ रकम छुट्टाइएको छ।
१८ वटा नयाँ पुलहरू निर्माण गर्नुपर्नेमा ७ वटा निर्माण सुरू भएको सुवेदीले बताए। एउटा पुल निर्माण भइसकेको छ। सडकखण्डमा पर्ने १७० कल्भर्टमध्ये ४० वटा बनिसकेका छन्, ४० वटा बनिरहेका छन्।
यो खण्डमा घाँसीकुवादेखि छिर्कर्नेसम्मको सडक बिस्तार गर्न अल्ली अप्ठ्यारो छ। करिब ६ किलोमिटर सडक विस्तारका लागि डाइभर्सन बनाउन नमिल्ने र माथि भीर भएकाले केही समय सडक रोकेर विस्तारको काम गर्ने तयारी गरिएको सुवेदीको भनाइ छ।
यो खण्डमा ५०५ वटा घरहरू राजमार्गको अधिकार क्षेत्रमा पर्छन्। अहिलेसम्म ३७५ घरहरू हटाउने निर्णय भैसकेको छ। आँबुखैरहनीदेखि दमौलीसम्मका सडक सीमामा पर्ने कपितय घरहरू भत्काउने प्रक्रिया अगाडि बढिसकेको आयोजना प्रमुख सुवेदीले जानकारी दिए।
डुम्रे बजार प्रवेश गर्ने मुख्य ठाउँ र विमलनगर बजारको माथिल्लो भागका अधिकांश घरहरू सडक विस्तारका क्रममा भत्किने छन्।
सडक सीमाबाट दायाँ/बायाँ २३ मिटरलाई ‘राइट अफ वे’ निर्धारण गरिएको छ। मुआब्जाका लागि करिब ३० करोड रुपैयाँ खर्च हुने अनुमान छ। अहिलेसम्म ७ करोड रुपैयाँ मुआब्जा बाँडिसकेको सुवेदीले बताए। यस वर्ष यो खण्डमा मुआब्जाका लागि भनेर सरकारले १० करोड रुपैयाँ छुट्टाएको थियो।
यहाँ अहिले ३२ जना चिनियाँसहित ४५० जना कामदारले काम गरिरहेका छन्।
‘सुरूमा वन र विद्युत प्राधिकरणले समयमा नै काम नगरिँदा केही ढिलाइ भयो तर अहिले कामले गति लिएको छ,’ आयोजना प्रमुख सुवेदीले भने, ‘सकेसम्म समयमै नभए पनि थोरै समय थप गरेर काम सक्ने लक्ष्य छ।’
पहिलो खण्डमा ४६ सय वटा रूखहरू पर्नेमा ४२ सय काटिसकिएको छ। बाँकी रूख काट्ने काम अघि बढेको सुवेदीले बताए।
दोस्रो खण्डको सडक निर्माणमा अहिले १५ जना चिनियाँसहित २ सय जना कामदार सहभागी छन्। यो खण्डमा ८ वटा साना र ४ वटा ठूला पुल गरी १२ वटा नयाँ पुलहरू बन्नेछन्। २ वटा ठूला पुलको निर्माणको काम सुरू भएको छ भने बाँकी पुलहरूको ‘ड्रोइङ्ग डिजाइन’ सकेर निर्माणको चरणमा छन्। यहाँ पर्ने १२५ भन्दा बढी कल्भर्टमध्ये २६ वटाको काम सुरू भएको छ।
अहिले सडकको भित्तो काट्ने र रिटेन्सन पर्खाल लगाउने काम धमाधम भैरहेको आयोजना प्रमुख श्रेष्ठले बताए।
पश्चिम खण्डमा झण्डै ३ हजार रूखहरू काट्नुपर्नेमा ९८ प्रतिशत रूख हटाउने काम सकिएको उनले बताए। कास्कीको विजयपुरमा रहेको सैनिक ब्यारेक भित्रका केही रूखमात्रै काट्न बाँकी रहेको उनले बताए।
यो खण्डमा तनहुँतर्फ १३८ र कास्कीतर्फ २ सय घर टहरा भत्काउनुपर्ने छ। विषयमा स्थानीय प्रशासन र पालिकाहरूसँगको समन्वयमा घरहरू भत्काउने निर्णय र काम भइरहेको उनले बताए।
यो खण्डमा यस वर्ष सरकारले मुआब्जाका लागि ५ करोड रुपैयाँ विनियोजन गरेको छ। त्यसमध्ये तनहुँतर्फका घर भत्काएर ६० लाख रुपैयाँ वितरण गरिसकिएको श्रेष्ठले जानकारी दिए।
विद्युतका पोल सार्न आयोजनाले रुपैयाँ २६ करोड रुपैयाँ छुट्टाएको छ।
तनहुँको दमौली नजिक रहेको मादी नदी र पोखराको सेती नदीमाथि पुल बनाउन सडक विभागले अलग-अलग ठेक्का लगाएको छ। पोखराको सेती नदीमाथि सिग्नेचर ब्रिज बनाउने ठेक्का रसुवा कन्स्ट्रक्सन प्रालिले पाएको छ। १ अर्ब ७ करोड रुपैयाँमा ठेक्का सम्झौता भई ठेकेदार कम्पनीले पुलको नक्सा डिजाइन गरिरहेको छ।
मादी नदीमाथि पुल बनाउन जेआइइसी र अनक जेभीसँग गत कात्तिकमा ठेक्का सम्झौता भएको छ। अहिले रहेको पुलभन्दा माथिल्लो भागमा पुल बनाउन १ अर्ब २० करोड रुपैयाँमा ठेक्का भई डिजाइनको काम भैरहेको छ।
मुग्लिन–आँबुखैरहनी सडक पारिबाट
मुग्लिनदेखि आँबुखैरहनीसम्मको सडकको ट्र्याक नै परिवर्तन गर्नेगरी तयारी भइरहेको छ। एसियाली विकास बैंकअन्तर्गतको योजना हेर्ने एडिबी निर्देशनालयका निर्देशक इन्जिनियर सुशील ढकालले मुग्लिनभन्दा वरबाटै त्रिशूली नदी तारेर मर्स्याङ्दी जलविद्युतको पावर हाउसभन्दा परबाट फेरि वारि आउनेगरी सर्भे भइसकेको बताए।
‘पृथ्वी राजमार्ग मुग्लिन बजार नपुग्दै त्रिशूली तरेर गोर्खा पुग्नेगरी डिजाइन भएको छ। पावर हाउस कटेपछि मर्स्याङ्दीमा पुल बन्छ, राजमार्ग फेरि वारि नै आएर आँबुखैरहनीमा जोडिन्छ,’ ढकालले भने।
सडक निर्माणका लागि अहिले वातावरणीय अध्ययन प्रतिवेदन तयार भइरहेको उनले बताए।
प्राविधिक अध्ययनले हालकै सडकलाई विस्तार गर्न सकिने सम्भावना झिनोमात्रै देखाएको इन्जिनियर ढकालले बताए।
‘मुग्लिनमा अहिलेको पुलभन्दा माथि अर्को पुल हाल्न, त्यसपछि आउने पहरो फोर्न, मर्स्याङ्दी जलविद्युतको पावर हाउसलाई नबिगारी विस्तार गर्न धेरै चुनौती छन्,’ उनले भने, ‘योभन्दा पारिबाट सडक बनाउँदा सहज हुने देखियो।’
उनले वातावरणीय अध्ययन भइसकेपछि अन्तिम निर्णय हुने र योजना अघि बढ्ने बताए।
‘यही आर्थिक वर्षभित्र खरिद प्रक्रियामा गइसक्छ होला,’ ढकालले भने।