खेलाडी होइनन् उनी। तर अक्सर खेल मैदानमै भेटिन्छन्। मैदान सफा गरेर खेलका लागि तयार गर्नु उनको काम हो। काम मात्रै होइन, उनको लगन हो। उनी यसमै आनन्दित छन्।
उनी हुन् धनगढी उपमहानगरपालिकाका बासिन्दा ६८ वर्षीय दायाराम राना।
राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता तयारीको समयमा दयाराम मैदानमै भेटिन्छन्। खेलाडीका भरपर्दा सहयोगी बनेका छन्। उनी यसरी खेल मैदानमा भेटिन थालेको तीन दशक हुन लागिसक्यो।
खेल मैदानमा हुने सबै किसिमको फोहोर वस्तु टिप्छन्। मैदानमा झाडु लगाउँछन्। पाहुनाका लागि कुर्सी मिलाउँछन्। आवश्यक सामान ओसारपसार गर्छन्।
'म यहाँको तलबी कर्मचारी होइन। तर कामबापत केही पारिश्रमिक पाउँछु,' उनले भने, 'त्यही पैसाले आफ्नो परिवारको गर्जो टार्छु।'
दयारामको अधिकांश समय खेल र खेलाडीकै वरिपरि बित्छ। उमेर बुढ्यौलीतिर गए पनि जोसजाँगर घटेको छैन। खेलका सहयोगी उनी धेरैको नजरमा पनि पर्दैनन्। तर सधैं जसो मैदान र खेलाडीहरूसँगै हुन्छन्।
खेल र खेलाडीको आसपासमा रमाएर काम गर्न किन यति लगनशील छन् त दयाराम?
हामीले उनको विगतबारे सोध्यौं।
उनका बुबाआमा कृषक थिए। उनीहरूको १२ बिघा जमिन थियो। दयारामहरू ६ दाजुभाइ थिए। एक भाइको सानैमा मृत्यु भयो। पछि बुबाले छोराहरूलाई जग्गा भाग लगाइदिए। बुबाले छोराहरूलाई स्कुल पनि पठाएका थिए। दयाराम पनि गए। उनी पढ्ने स्कुलमा पाँच कक्षासम्म मात्र पढाइ हुन्थ्यो। योभन्दा माथि पढ्न डेरा बस्ने गरी घरबाट टाढा जानु पर्थ्यो।
तर दयारामले तीन कक्षासम्म पढेर स्कुल छाडे।
'गाउँमा खासै कोही पढ्दैन थिए। वातावरण नमिलेपछि मैले पनि पढाइ छोडेँ,' उनले भने।
पढाइ छोडेपछि दयाराम खेतमा काम गर्न थाले। गाईगोरु चराउँथे। समय बित्दै गयो। उनी खेतीपातीमै तल्लीन भए।
उनका भाइ भने डेरामा बसेर पढ्थे। दयाराम कहिलेकाहीँ सामान पुर्याउन जान्थे। त्यही क्रममा स्कुलका खेलकुद शिक्षकसँग चिनजान भयो। दयारामले ती शिक्षक र अरूलाई पनि काम खोजिदिन भने।
एक दिन उनको चाहना पूरा भयो। २०५० सालमा सेती ग्रामीण इकाई सिँचाइ आयोजनामा उनले कार्यालय सहयोगी कर्मचारीका रूपमा काम गर्ने अवसर पाए।
त्यो समय सम्झँदै उनले भने, 'चिनजानका मान्छेहरूसँग कुरा गरेपछि श्री ५ सरकारको जागिर गर्न पाएँ। तलब एक हजार ५० रूपैयाँ थियो।'
चिठीपत्र बुझाउन जानु, कार्यालय सरसफाइ गर्नु र हाकिमले अह्राएको काम गर्नु नै उनको दिनचर्या हुन्थ्यो। तर यो जागिर सात महिनामै छुट्यो। पछि २०५२ सालमा दयाराम क्षेत्रीय खेलकुद विकास समितिमा पुगे। त्यहाँ भने दस वर्ष काम गर्न पाए।
मासिक एघार सय रूपैयाँ पाउने गरी काम थालेका थिए उनले। दस वर्षमा दुई हजार ६ सय १० रूपैयाँ भएको उनी बताउँछन्। कमाइ धेरै नभए पनि खेलकुद विकास समितिका काम गर्दा उनले धेरै अनुभव हासिल गरे। खेलाडीहरूलाई चिन्ने अवसर पाए। खेल मैदानप्रति प्रेम बस्यो। स्थानीय र राष्ट्रियस्तरका खेलकुद प्रतियोगिताहरूमा सहयोगी भए।
खेलकुद प्रतियोगिताका नभएका बेला उनले कार्यालयमै काम गर्नुपर्थ्यो। प्रतियोगिताको समय खेल हुने ठाउँमै जानु पर्थ्यो। उनको मुख्य काम झाडु लगाएर मैदान सफा गर्ने, चुना हाल्ने इत्यादि हुन्थ्यो। यसबाहेक आइपरेको सबै काम फत्ते गर्थे।
खेलकुदका बेला अलिक टाढासम्म जान पनि पाउँथे। एकपटक काठमाडौं जान पाए।
'गुरुहरू (खेल प्रशिक्षक) ले हामी (कार्यालय सहयोगीहरू) लाई पालैपालो घुमाउने गर्थे। मैले पनि अवसर पाएँ। खेलाडी र गुरुको झोला बोक्नुपर्थ्यो,' उनले भने।
खेलाडी र गुरुसँग काठमाडौं पुग्न पाउँदा दयाराम धेरै खुसी भएका थिए। उनी काठमाडौं गएको कुराको चर्चा उनको गाउँमा पनि भएको थियो रे।
२०५३ सालको कुरा हो, उनले धनगढीबाट झापा पुग्ने अवसर पनि पाए। झोला बोक्नु त छँदै थियो, त्यस पटक उनले खेलाडी हुने मौका पनि पाए।
एथ्लेटिक्सका लागि सुदूरपश्चिमको टिम झापा गएको थियो। म्याराथन दौडका लागि खेलाडी अपुग भयो। प्रशिक्षकले दयारामलाई दौडमा सहभागी हुन भने। उनीसहित ४० जना सहभागी थिए, ४२ किलोमिटर दौडनु पर्थ्यो।
उनी राजी भए।
'सुरूमा त डर लाग्यो। गुरुले सम्झाएपछि दौडमा सहभागी भएँ,' उनले आफ्नो स्मरण सुनाए, 'खेलाडीको झोला बोक्ने र मैदान सफा गर्ने मान्छे खेलाडी बनेर पुरस्कार पाउँदा धेरै खुसी लाग्यो।'
दौडमा उनी एघारौं स्थानमा परेका थिए। सहभागिताको प्रमाणपत्र, पदक र पुरस्कार पाए।
यिनै कारणले दयारामलाई खेलाडी र खेल मैदानको निकट पुर्याएको हो जसलाई उनले जागिरबिनै पनि निरन्तरता दिएका छन्।
उनलाई खेलाडीहरूको सहयोगी हुनमा बडो आनन्द अनुभव हुन्छ।
भन्छन्, 'खेलाडीको झोला बोक्न पाउँदा पनि गर्व लाग्छ। त्यसमै आनन्द हुन्छ।'
उनले खेल क्षेत्रमा आफूले गर्ने कामलाई ज्यानले सकुन्जेल निरन्तरता दिने निधो गरेका छन्। यसैअनुसार उनी खेलाडीहरू माझ हुन्छन्। खेल मैदान सफाइ गर्ने काममा खट्छन्।
केही महिनाअघि पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उनी सुदूरपश्चिमबाट स्वयंसेवक भएर गएका थिए।
उनले खुसी प्रकट गरे, 'गुरुले पोखरा लग्छु भन्नुभएको थियो। मैले त मजाक सोचेँ तर साँच्चै लग्नुभयो।'
यही मौकामा उनले पोखराका फेवाताल र महेन्द्रगुफा हेरे। अरू केही ठाउँ पनि घुमे। घुम्नका लागि 'हाकिम' ले खर्च दिएको पनि उनले खुसीसाथ बताए।
नवौं राष्ट्रिय खेलकुदमा उनले खेलाडीहरूलाई सहयोग गरे। उनीहरूका झोला बोके। मैदान सफाइमा सहयोग गरे। उनले भत्ता र ट्र्याक सुट पाए। खेलकुदका समय उनी टिसर्ट र टोपी पाउँछन्। ट्र्याक सुट भने पोखरामा मात्रै पाएका हुन्। ट्र्याक सुटले उनलाई निकै खुसी दिएको छ। खेलको समयमा पाउने लुगाले उनको खर्च घटाउँछ।
'नयाँनयाँ टिसर्ट र टोपी पाउँछु। लुगामा धेरै खर्च हुँदैन। कहिलेकाहीँ पाइन्ट किन्छु,' उनी भन्छन्।
दयाराम खेलकुदबाहेक मेला, महोत्सव र सभासम्मेलनमा पनि काम गर्छन्। खुसी भने खेलले नै दिन्छ। धनगढी र आसपासमा खेलकुद प्रतियोगिता हुँदा आयोजकहरूले पनि दयारामलाई नै सम्झिन्छन्।
उनलाई कसैकसैले बुढेसकालमा फोहोर टिप्दै किन हिँड्छौ पनि भन्छन् रे। तर उनलाई आफ्नो काममा गर्व छ।
'मलाई फोहोर टिपेर खेल मैदान सफा गर्दा गर्व लाग्छ,' दयाराम भन्छन्।