यो फागुन ६ गते शनिबारको कुरा हो। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन लगनखेलको हनुमानथान दर्शन गर्न गएका थिए। मन्दिरको प्रवेशद्वारदेखि वरिपरिको क्षेत्र जम्मै गाडी र मोटरसाइकलले ढाकिएको थियो।
सम्पदा क्षेत्रमा पर्ने उक्त स्थल मन्दिर दर्शनार्थीहरूको मात्र होइन, वरपरका स्थानीयको निम्ति पनि पार्किङ स्थल बनेको थियो। लगनखेलका व्यवसायीले पनि आफ्ना सवारी यहीँ पार्किङ गर्ने गरेका थिए। बजारमा राख्दा असुरक्षित हुन्छ भनेर मन्दिरमा ल्याएको उनीहरूको भनाइ थियो।
यति मात्र होइन, नजिकै मालपोत कार्यालय आउने सेवाग्राहीहरूले पनि आफ्ना गाडी र मोटरसाइकल मन्दिरकै प्रांगणमा राख्थे।
मेयर महर्जनले त्यसै दिन ललितपुरका नगर प्रहरी प्रमुख सीताराम हाछेथूलाई मन्दिर वरिपरिको स्थलबाट पार्किङ हटाउनू भनेर निर्देशन दिए।
उक्त निर्देशनपछि नगर प्रहरीको टिमले तुरून्तै काम सुरू गर्यो र दुई दिनमै पार्किङ हटाएर त्यो ठाउँलाई पार्कमा परिणत गर्यो।
गत सातासम्म जुन ठाउँमा गाडी पार्किङले मान्छेलाई हिँड्नधरि असुविधा थियो, अहिले त्यहाँ टोलका केटाकेटीले खेल्न खाली ठाउँ पाएका छन्। बिहान-बिहान मन्दिर आउनेहरूका लागि एकछिन टहलिने ठाउँ पनि भएको छ।
महानगरले यो ठाउँको सुन्दरता बढाउन रंगीबिरंगी फूलसहितका १५ वटा गमला राखेको छ। मान्छेलाई आराम गर्न आठवटा कुर्सीको व्यवस्था गरेको छ। महानगरले पुष्पराज नर्सरीबाट ३० वटा गमला किनेकोमा १५ वटा यहाँ राखेको हो। बाँकी गमला मंगलबजारमा राख्ने योजना छ।
यसरी सवारी पार्किङमा परिणत भएको सम्पदा क्षेत्रलाई दुई दिनमै पार्कमा बदल्न सजिलो-असजिलो के भयो त?
हाम्रो यो प्रश्नमा ललितपुरका नगर प्रहरी प्रमुख सीताराम हाछेथूले भने, 'सुरूमा त स्थानीयले पार्किङ हटाउने कुरामा असहमति जनाएका थिए। एक्कासि पार्किङ हटायो भने यहाँको व्यापार व्यवसाय सुक्ला कि भन्ने उनीहरूलाई डर थियो। तर हामीले पार्किङ गर्न लगनखेल बजारमै अर्को ठाउँ छुट्टयाइदिएका छौं। त्यहाँ असजिलो भए खबर गर्नुहोस् भनेका छौं।'
नगर प्रहरी टोलीले त्यो ठाउँको फोहोरमैला हटाएर पार्क बनाएपछि र मन्दिर वरिपरिको क्षेत्र खुला भएपछि स्थानीय खुसी भएको हाछेथूले बताए।
'सर्वसाधारणलाई विश्वासमा लियो भने गाह्रो केही छैन। हामीले उहाँहरूलाई सम्झाइबुझाइ पार्किङ स्थललाई पार्कमा परिणत गरेका हौं,' उनले भने, 'अहिले हनुमानथान मन्दिर क्षेत्र खुला हुनुका साथै सवारी पार्किङको वैकल्पिक व्यवस्था पनि भएको छ।'
ललितपुर महानगरले योभन्दा अगाडि पाटन क्याम्पस वरिपरि गरिने पार्किङ हटाएको थियो। त्यहाँ क्याम्पसका विद्यार्थीलाई ओहोरदोहोर गर्न असुविधा भएपछि पार्किङमा रोक लगाइएको महानगरले जनाएको छ।
त्यस्तै, रातो मच्छिन्द्रनाथको जात्रा बेला भोटो देखाइने जावालाखेल चोकको पार्किङ पनि हटाइएको छ।
पाटनभित्र सांस्कृतिक तथा ऐतिहासिक महत्वका सम्पदा स्थलहरूमा पार्किङ निषेध गर्ने महानगरको योजना रहेको हाछेथू बताउँछन्।
यसरी पार्किङ हटाएपछि सवारी कहाँ राख्ने त?
नगर प्रहरी प्रमुख हाछेथूले ललितपुर महानगरभित्र २८ ठाउँमा पार्किङ व्यवस्था गरिएको जानकारी दिए।
उनका अनुसार महानगरपालिका भवन नजिकै, पाटन अस्पताल, भनिमण्डल, लगनखेल चोक, कुमारी पाटी, कुपण्डोल, महालक्ष्मी स्थान, एकान्तकुनाको यातायात कार्यालयअगाडि लगायत ठाँउमा नि:शुल्क पार्किङको व्यवस्था गरिएको छ।
ललितपुर महानगरका सामान्य प्रशासन महाशाखा प्रमुख सागर थापाका अनुसार नगरस्तरीय गौरवको आयोजनाका लागि छुट्टाइएको ६ करोड रूपैयाँ बजेटबाटै यस्ता पार्कका कामहरू भइरहेका छन्। पार्कमा गमला, कुर्सी लगायतका फर्निचरको व्यवस्था पनि त्यही बजेटबाट गरिँदैछ।
सबै तस्बिर सौजन्यः सीताराम हाछेथू