चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा एक महिने शिशुको मुटुको जटिल शल्यक्रिया सफल भएको छ।
भरतपुर महानगरपालिका–१ ठिमुरा बस्ने मिलन प्रजा (चेपाङ) र सविता प्रजा (चेपाङ) की ३५ दिनकी छोरी महिमाको मुटुको शल्यक्रिया गरिएको हो।
उनको डेक्ट्रो ट्रान्सपोजिसन्स अफ ग्रेट आर्टरिज (डिटिजिए) अर्थात मुटुबाट निस्कने मुख्य नलीहरु उल्टो अवस्थामा थिए। यो शिशुमा जन्मजात हुने समस्या हो। यो समस्याले गर्दा शिशु जन्मदा र केही समयपछि श्वास फेर्न गाह्रो हुने समस्या भएको थियो।
अस्पतालका मुटु, छाती र रक्तनली (सिटिभिएस) सर्जन डा.अनिल आचार्यले नेपालमा निकै जटिल मानिने ‘आर्टेरियल स्वीच अप्रेशन’ गरेर उनलाई निको पारिएको बताए।
‘यो समस्या शिशुले जन्मँदै लिएर आउँछ। जतिसक्दो छिटो शल्यक्रिया गरिएन भने जोखिम बढ्छ। सामान्यतया दुई हप्ताभित्रमा शल्यक्रिया गर्नुपर्ने हुन्छ,’ डा.आचार्यले सेतोपाटीसँग भने, ‘अस्पताल आइपुग्दा बच्ची ३२ दिनकी थिइन्। हामीले तत्कालै ईको कार्डियोग्राम गरेर उनको समस्या पहिचान गर्यौं। ढिलै भए पनि बचाउन सकिने अवस्थामा देखेर अप्रेशन सुरु गरिहाल्यौं।’
उनकाअनुसार यस्तो शल्यक्रिया नेपालमा यसअघि दुई वटा मात्रै सफल भएका छन्। अहिलेसम्म काठमाडौंका गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र र मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एक-एक जनाको मात्रै शल्यक्रिया सफल भएको आफूले जानकारी पाएको आचार्यले बताए।
‘नेपालमा यस्तो शल्यक्रियामा मृत्युदर ९० प्रतिशतभन्दा बढी छ,’ डा.आचार्यले सेतोपाटीसँग भने, ‘काठमाडौं बाहिर हामी पहिलो पटक यस्तो शल्यक्रियामा सफल भएका छौं।’
उनकाअनुसार विकसित देशहरुमा ‘फिटल एको कार्डियोग्राम’ गरेर बच्चा गर्भमा छँदैमा उसको मुटुको अवस्था बुझ्ने चलन छ। मुटुमा समस्या भएको पाए जन्मनेबितिक्कै शल्यक्रिया गर्ने गरिन्छ। ‘तर नेपालमा सबैतिर यस्तो सुविधा, विशेषज्ञ नभएका कारण गर्भमा रहँदाको अवस्थामा त्यति चासो दिइँदैन,’ उनले भने, ‘केही समयमा श्वासप्रश्वासमा अप्ठेरो हुने, ओठ, हात, खुट्टालगायत शरीरका अंगहरु निलो भएको देखेपछि बल्ल बच्चा लिएर अस्पताल पुग्ने चलन छ। उपचार सुरु गर्दा ढिलो भइसक्छ।’
पहिले जन्मिएका शिशुको मृत्यु भएको अवस्थामा, जन्मँदै समस्या भएको अवस्थामा, आमामा दीर्घरोग भएको अवस्थामा यो परीक्षण गरेर गर्भको बच्चाको बारेमा धेरै कुरा जान्न सकिने उनले बताए।
यस्तो समस्या भएको बच्चाको मुटुको माथिल्लो २ वटा कोठाको बीचमा सानो प्वाल अर्थात एट्रियल सेप्टल डिफेक्ट (एएसडी), फोक्सोतिर जाने र शरीरतिर जाने नलीको बीचमा कनेक्सन अर्थात पेटेन्ट डक्टस आर्टेरियोसस (पिडिए) नभए जन्मँदै मृत्यु हुन्छ।
‘यी बच्चीको यी कुराले पनि साथ दियो, अस्पतालको जनशक्तिको मेहनतले शल्यक्रिया सफल भयो,’ डा.आचार्यले भने।
शल्यक्रियामा डा.आचार्य, डा.अलका सिंह, एनेस्थेसियोलोजिस्ट डा.प्रवेश ज्ञवाली, पफर्युजनिस्ट (मुटु र फोक्सो बन्द गरेर शल्यक्रिया गर्दा त्यसको काम मेसिनमार्फत गर्ने व्यक्ति) गोबिन्द बुधनगरिया र स्टाफ नर्सहरु सहभागी थिए। शल्यक्रियापछि २० दिन एनआइसियुमा राखिएको थियो।
‘यस्तो बिरामीको शल्यक्रिया अघि बेहोस बनाउँदा, शल्यक्रिया गर्दा, शल्यक्रिया सकिएपछि एनआइसियुमा राख्दा निकै जोखिम हुन्छ। शल्यक्रियामा सहभागी जनशक्तिले जस्तै एनआइसियुमा रहेका डा.विराज पराजुलीसहितका जनशक्तिको ठूलो मेहनतले उनी निको भएकी छन्,’ आचार्यले भने।
गत माघको २५ गते शल्यक्रिया गरिएको शिशु मंगलबार अस्पतालबाट डिस्चार्ज हुँदैछिन्।
महिमाको स्वास्थ्य जन्मिएको दिनमै बिग्रिएको थियो। भरतपुर अस्पतालमा जन्मिएलगत्तै श्वासप्रश्वासमा समस्या भएपछि उनलाई एनआइसियुमा राखियो। चार दिनपछि बल्ल उनी डिस्चार्ज भएकी थिइन्।
‘केही हप्ता ठीकै थियो। बिस्तारै खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, घ्यारघ्यार हुने, दूध चुस्न नमान्ने, ज्वरो आउने हुन थाल्यो,’ आमा सविताले भनिन्, ‘ठिमुरामै रहेको स्वास्थ्य चौकी, रामनगर र जुगेडीका मेडिकलहरु लग्यौं, औषधि खुवायौं तर निको भएन।’
औषधिले काम नगरेपछि बल्ल मिलन र सविता बच्चा लिएर भरतपुर अस्पताल पुगेका थिए।
‘राति १० बजेतिर भरतपुर अस्पताल पुग्दा छोरीको अवस्था धेरै खस्किएको थियो। अस्पतालमा एनआइसियु खाली रहेनछ, निमोनियका शंका गरेर चितवन मेडिकल कलेज रिफर गरिदियो। एम्बुलेन्समा राखेर अक्सिजन लगाउँदै यहाँ आइपुग्यौं,’ बाबु मिलनले भने।
चितवन मेडिकल कलेजमा उपचारकाक्रममा उनीहरुले बिपन्न नागरिकले पाउने एक लाख रुपैयाँ बराबरको सुविधा पाएका छन्। अन्य खर्चमा केही छुट दिइएको अस्पतालले जनाएको छ।
मजदुरी गरेर परिवार पाल्दै आएका मिलनले उपचारको क्रममा करिब ५ लाख रुपैयाँ खर्च लागेको बताए। ‘अस्पताललाई तिर्ने पैसा छैन। ऋण खोज्दैछु, नपाएकाले निको भइसके पनि डिस्चार्ज गर्न सकेको छैन,’ उनले भने।
सरकारले काठमाडौंका दुई सरकारी अस्पतालहरू मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर र गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा १५ वर्ष मुनिका, ७५ वर्ष माथिका र मुटुको बाथ रोग भएका बिरामीहरूको उपचार निःशुल्कको व्यवस्था गरेको छ।
डा.आचार्यले सरकारले काठमाडौंका अस्पताललाई जस्तै सुविधा मेडिकल कलेजलाई पनि दिए धेरै बिरामीले राहत पाउने बताए। ‘देशभरका बिरामीले सहज र सुलभ रूपमा उपचारका लागि काठमाडौंका दुई अस्पतालको भर पर्नुपरेको छ। तर हाम्रो जस्तो उपचारका लागि योग्य अस्पतालबाट पनि त्यस्ता सुविधा उपलब्ध गराउन सके धेरै बिरामी लाभान्वित हुने थिए,’ उनले भने, ‘हामीले यति जटिल शल्यक्रिया गरेर देखायौं तर विपन्न समुदायले यसमा लागेको खर्च बुझाउन नसकेर समस्या भएको छ।’
मुटुका कतिपय बिरामीहरु आर्थिक र शारीरिक अवस्थाका कारण काठमाडौं पुग्न नसक्ने भएकाले सेवाको बिकेन्द्रीकरण गर्नुपर्ने उनले बताए। उनले चितवन मेडिकल कलेज जुनसुकै उमेर समूहका बिरामीको मुटुको अपरेसन गर्न सक्षम रहेको दाबी गरे।
यहाँ पूर्वी, पश्चिम तराई तथा पहाडी जिल्लाका धेरै बिरामीहरु मुटुको समस्या लिएर उपचारका लागि आउँछन्।