राष्ट्रिय मानव अधिकार आयोगले शिक्षक सेवा आयोगले लिएको परीक्षा उत्तीर्ण गरेर स्थायी नियुक्तपत्र लिएकी दृष्टिविहीन शिक्षकलाई हाजिर नगराउनुको कारण माग गरेको छ। चितवनको चनौली घर भएकी पूर्ण दृष्टिविहीन संगीता पराजुलीले गत पुस १० गते शिक्षक सेवा आयोगले लिएको परीक्षा उत्तीर्ण गरेकी थिइन्। परीक्षामा उत्तीर्ण गरेपछि रोल नम्बरका आधारमा उनको नियुक्ति रामेछाप जिल्लामा भएको थियो।
रामेछापस्थित शिक्षा विकास तथा समन्वय इकाइले उनलाई निम्न माध्यामिक तहमा नेपाली विषयको स्थायी शिक्षकको नियुक्तिपत्र दिएर खाँडादेवी गाउँपालिका कार्यालय पठायो। गाउँपालिकाले वडा नम्बर ९ मा तीनखुरीमा रहेको मानेडाँडा माध्यामिक विद्यालयमा पदस्थापन गरिदियो। पदस्थापनको पत्र लिएर विद्यालय जान लागेकी शिक्षक पराजुलीलाई विद्यालयले हाजिरी गराउन मानेको छैन। विद्यालय व्यवस्थापन समिति र वडा कार्यालयले दृष्टिविहीन शिक्षकलाई हाजिरी गराउन नसक्ने व्यहोराको पत्र गाउँपालिकालाई पठाएको छ।
यस विषयमा गत फागुन ११ गते सेतोपाटीमा ‘स्थायी नियुक्ति पाइन् तर दृष्टिविहीन भनेर हाजिरी गर्नै दिइएन’ शीर्षकमा समाचार प्रकाशन भएको थियो।
समाचार प्रकाशन भएपछि राष्ट्रिय मानव अधिकार आयोगले शिक्षा विकास तथा समन्वय इकाइ रामेछाप, खाँडादेवी गाउँपालिका र मानेडाँडा माध्यामिक विद्यालयको नाममा पत्र पठाएर दृष्टिविहीन शिक्षकलाई हाजिरी नगराउनुको कारण सोधेको छ।
‘खाँडादेवी गाउँपालिकाले दिएको पदस्थापनको पत्र लिएर हाजिर हुन जाँदा मानेडाँडा मावि तीनखुरेले हाजिरी नगराएको समाचार प्रकाशित भएको र यसले अपाङ्गता भएका व्यक्तिको मानव अधिकार हनन् हुन सक्ने देखिएकाले यस विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,’ राष्ट्रिय मानवअधिकार आयोगले पठाएको पत्रमा उल्लेख छ। आयोगको केन्द्रीय कार्यालयमा अपाङ्गताको विषय हेर्ने फोकल पर्सन कल्पना नेपाल आचार्यले दृष्टिविहीन शिक्षकलाई के कति कारणले हाजिरी नगराइएको हो त्यो समेतको जानकारी यथाशीघ्र मानव अधिकार आयोगमा मानव अधिकार आयोग ऐनअनुसार उपलब्ध गराइदिन भनेर पत्र पठाइएको बताइन्।
गत आइतबार नै पत्र पठाएको र उक्त पत्र इमेलमार्फत् पनि पठाइएको आचार्यले बताइन्। तर यी कुनै पनि निकायले मानव अधिकार आयोगको पत्रको जवाफ पठाएका छैनन्।
खाँडादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण लामिछानेले आयोगको पत्र प्राप्त नभएको बताए। लामिछानेले उक्त विद्यालय विकट ठाउँमा भएकाले दृष्टिविहीन शिक्षकलाई उपयुक्त नहुने देखेर विद्यालयले हाजिरी गराउन नसक्ने जानकारी गाउँपालिकालाई गराएको बताए।
‘उहाँलाई अप्ठेरो पार्ने हाम्रो नियत होइन। जिल्ला शिक्षा विकास तथा समन्वय इकाइले पठाइसकेपछि पालिकाले फिर्ता पठाउन मिल्दैन, हामी सकेसम्म सजिलो ठाउँमा उहाँलाई पठाउनुपर्छ भनेर सहजीकरणको प्रयास गरिरहेका छौं,’ उनले सेतोपाटीसँग भने।
मानेडाँडा माविका प्रधानाध्यापक राजन बुढाथोकीले पनि आयोगले पठाएको पत्र प्राप्त नभएको दाबी गरे।
‘इमेल आएको रहेछ भने म जवाफ लेखेर पठाउँछु,’ उनले भने।
उनले दृष्टिविहीन शिक्षक संगीता पराजुलीको पदस्थापनको पत्र शिक्षा विकास तथा समन्वय इकाइमार्फत् विद्यालयमा प्राप्त भएर दर्ता भइसकेको बताए।
‘तर उहाँलाई हाजिरी गराउन स्थानीय सहमत छैनन्,’ उनले भने, ‘मैले पालिकामा गएर पनि पटक-पटक कुरा राखेको छु तर प्रधानाध्यापकले चाहेरमात्रै हुँदैन।’
राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय कार्यालयका अपाङ्गताको विषय हेर्ने फोकल पर्सन कल्पना नेपाल आचार्यले हुलाक र इमेलमार्फत् पत्र पठाएको बताइन्।
‘आयोगले जवाफ पर्खिरहेको छ। हामी पर्ख र हेरको अवस्थामा छौं, जवाफ आएपछि अवस्था त्यही रहेछ भने कारबाहीकोलागि पत्र लेख्छौं,’ उनले भनिन्। उनले यस विषयमा आफूले अपाङ्ग महासंघको पनि ध्यानाकर्षण गराएको बताइन्।
मानवअधिकार आयोगले पठाएको पत्र र दृष्टिविहीन शिक्षक पराजुलीको पदस्थापनको विषयमा भएको प्रगति बुझ्न खोज्दा शिक्षा विकास तथा समन्वय इकाइ रामेछापका प्रमुख भरत भट्टराईसँग सम्पर्क हुन सकेन।
गत माघ २३ गते नियुक्ति पत्र र पदस्थापनको पत्र प्राप्त गरे पनि विद्यालयले हाजिरी नगराएपछि पराजुलीले पुरानै विद्यालयमा पढाउन थालेकी छन्। उनी १४ वर्षअघि राहत दरबन्दीको प्रावि शिक्षकको रूपमा कार्यरत छिन्। हाल उनी भरतपुर-२७ मेघौलीस्थित जानकी माविमा पढाउँछिन्।