चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा पाइने चराबारे विष्णु महतोको विज्ञताबारे मैले धेरै सुनेको थिएँ।
चितवनमै भएर पनि उनीसँग जंगल घुम्ने, बसेर गफ गर्ने समय जुरेको थिएन।
गत जनवरीको सुरूतिर मैले फोन गर्दा उनी निकुञ्जभित्र विदेशी पर्यटकलाई चरा देखाउँदै रहेछन्। त्यतिखेरै हो मैले उनीसँग समय मागेको। मेरो आग्रह उनले स्वीकार गरे तर समय निकाल्न उनलाई करिब दुई महिना लाग्यो।
नेचर गाइडको पोशाक लगाएर हातमा 'नेपालका चराहरू' नामको किताब लिएर उभिएका थिए विष्णु। उनीसँग मेरो भेट सौराहाको हात्तीचोक नजिकैको खाजाघर 'थारू कर्नर' मा भयो। उनले यो दिनको केही घन्टा मेरा लागि छुट्टाएका थिए।
कुर्सीमा बस्नेबित्तिक्कै राप्ती नदी किनारतिरको रूखबाट कुनै चराको आवाज सुनियो। उनले तुरून्तै साथमा रहेको किताब पल्टाएर नेपालमा 'छिर्के कुथुर्के' भनिने 'लिनेटेड वार्वेट' को फोटो देखाए।
'तपाईंले आवाज सुनिरहनुभएको छ नि, हो त्यो चराको नाम छिर्के कुथुर्के हो। यो फोटोको चरा हो यो। यसले रूखमा प्वाल पारेर गुँड बनाउँछ,' उनले भने। आवाजकै भरमा चराको परिचय गराएर उनले कुराकानी सुरू गरे।
विष्णुको विशेषता नै यही हो।
चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा रहेका चार सयभन्दा बढी प्रजातिका चराको आवाज सुनेरै चिन्छन् उनी। तीमध्ये धेरै चराको आवाज निकाल्न पनि सक्छन्। चितवनमा ६ सय ५० भन्दा धेरै प्रजातिका चरा रेकर्ड भएका छन्।
'अब म तपाईंलाई एउटा रोचक कुरा सुनाउँछु है,' महतोले हाँस्दै कुरा बढाए।
'अघिको चरा मैले आवाजबाटै चिनेँ नि, त्यो त्यही चरा हो भनेर म ढुक्क छु। तर केही चरा यस्ता हुन्छन् जसले हामी जस्ता गाइडलाई पनि झुक्याइदिन्छन्।'
उनले उदाहरण दिए- हामीले लामपुच्छ्रे चिबे भन्ने गरेको राकेट–टेल्ड ड्रोङ्गोले आफ्नो आसपास भएका चराहरूलाई उनीहरूको जस्तै आवाज निकालेर जिस्काउँछ। त्यसले बेलाबेलामा फरकफरक चराको आवाज निकाल्छ।
धोबी चराले पनि अरूको आवाज निकाल्छ।
'राम्ररी विचार गरेन भने त चिबे र धोबी चराले गाइडलाई झुक्याउने भए नि,' उनले ठट्टा गर्दै थपे, 'विदेशीसँग हुँदा अंग्रेजी, हिन्दी बोले पनि खासमा म त नेपाली नै हुँ। जतिसुकै अरूको आवाज निकालोस्, त्यो आखिर चिबे नै हो।'
उनका अनुसार चिबेको वास्तविक कुरो पत्ता लगाउन खोज्नेले धैर्य भने गर्नुपर्छ। नभए उसले सजिलै झुक्याइदिन सक्छ।
चिबेपछि उनी घेघरी घाँसेफिस्टो भनिने ग्रेक्राउन्ड प्रिनियाको प्रसंग सुनाउन थाले। उनका अनुसार चरा खोज्न वा खोज्दै चितवन आउने धेरै पर्यटकले यसको विषयमा चासो राख्छन्। घेघरी घाँसेफिस्टोका बारेमा मान्छेको चासो जति धेरै छ, सानो आकारको यो चरो देख्न उत्तिकै मुश्किल छ।
यो घाँसे मैदानमा बस्ने चरा रहेछ। घाँसे मैदानमा धेरै प्रकारका फिस्टा पाइन्छन्। तीमध्येबाट घेघरी घाँसेफिस्टो पहिचान गर्न सजिलो हुँदैन रे। आफूले खोजेको चरो आडैमा हुँदा पनि कतिपयले चिन्दैनन्।
फिस्टाहरूमध्ये यसको आवाज मिठो छ। विष्णु आफैं पनि यसको आवाज निकाल्न सक्ने रहेछन्।
एक दिनको कुरा हो। पर्यटकलाई लिएर जाँदा उनले यसको आवाज निकाले। घेघरी घाँसेफिस्टोको एक झुन्ड भुरूरू उडेर बाहिर निस्कियो। पर्यटकले तुरून्तै फोटो खिचे।
'मैले त्यसरी आवाज निकाल्दा ती फिस्टालाई आफ्नो साथीले केही भन्यो भन्ने लाग्छ होला र सुन्न आउँछन् होला,' विष्णुले भने, 'अरू गाइडले एउटा पनि देखाउन नसकेको ठाउँमा एकैचोटि पाँचवटा चरा देखाइदिँदा अरू मान्छे दंगै परे।'
विष्णुका अनुसार चितवनमा गैंडा मात्र होइन, विभिन्न प्रजातिका दुर्लभ चरा हेर्न आउनेहरू पनि थुप्रै हुन्छन्। चरामा चासो हुनेहरूको रोजाइमा पर्छ यो ठाउँ।
त्यसैले पर्यटकहरूलाई चरा देखाउन उनी हौसिन्छन्। धेरै चराको आवाज मोबाइलमा रेकर्ड गरेर राखेका छन्। पर्यटकको चाहना र समयको आवश्यकताअनुसार त्यो रेकर्ड प्रयोग गर्छन्।
कहिले आफैं आवाज निकालेर त कहिले मोबाइल बजाएर चरा बोलाउँछन्। मौसम, चरा बसेको स्थान, उडेको, खाएको लगायत गतिविधिको पनि अभिलेख राख्छन्। यी सबैले उनलाई पछिका दिनमा पनि चरा खोज्न सहज हुन्छ।
'आँखा अगाडि नपर्दासम्म देख्न सकिँदैन, टाढा कराएको सुन्यो भने त्यहाँ रहेछ भनेर गएर खोज्न सकिन्छ,' महतो भन्छन्, 'आवाज सुनिसकेपछि अब त्यो चरा भेटिन्छ भन्नेमा ५० प्रतिशत ढुक्क हुन सक्छु।'
उनको सम्पर्कमा आएका धेरैजसो पर्यटकले चितवन निकुञ्जमा बेंगल फ्लोरिक्यान (खरमजुर), रूफोस–रम्प्ड ग्रासबर्ड (घाँसचरी), पेल–फुटेड बुस वावलर (घेघरी झाडीफिस्टो) हेर्न खोज्छन्। खरमजुर दक्षिण एसियामा उत्तरी भारत र नेपालको तराईको घाँसे मैदान, दक्षिण–पूर्वी एसियाको कम्बोडियामा पाइन्छ। घाँसचरी र घेघरी झाडीफिस्टो भुटान, उत्तरी भारत र नेपालको तराईका घाँसे मैदानमा पाइन्छन्। बासस्थानका रूपमा रहेको घाँसे मैदानको व्यवस्थापन राम्रो नहुँदा यी चरा लोपोन्मुख रहेको उनले बताए।
विदेशी पर्यटकहरू यी चरा देख्न पाउँदा हुरूक्कै हुने गरेको उनी बताउँछन्।
'म सकेसम्म सबै उपाय गरेर उनीहरूले खोजेको चरा देखाउँछु। त्यसैले उनीहरू फर्किएर पनि मलाई नै खोज्दै आउँछन्। साथीहरूलाई पनि मेरो सिफारिस गर्छन्,' उनले भने।
उनले एक पटकको किस्सा सुनाए।
सौराहा आएका दुई जना अमेरिकी पर्यटक नेचर गाइड लिएर चरा खोज्न चितवन निकुञ्ज पसेछन्। गाइडले तीन दिनसम्म उनीहरूलाई घुमाएछन्। तर पर्यटकले भनेजस्तो कुनै चरा देखिएन। निराश पर्यटकलाई कसैले विष्णुको नाम सुझायो। विष्णु ती पर्यटक भेट्न उनीहरू बसेको होटलमै पुगे। उनीहरूले विष्णुको मौखिक परीक्षा नै लिए। विष्णुले पनि उनीहरूलाई चराको आवाज मात्र सुनाएनन्, आवाजको माध्यमबाट चरा नै अगाडि ल्याएर देखाइदिए।
'उनीहरू प्रभावित भएर एक बिहान मसँग फेरि जंगल जान तयार भए। मैले उनीहरूले खोजेका धेरै चरा देखाइदिएँ। फर्किएपछि साँझ फेरि जंगल जाऊँ भन्न थाले,' विष्णुले सुनाए, 'बाघ देखाउन पो टाढा–टाढा जानुपर्छ। चरो त मेसो पायो भने यहीँ नजिकै देख्न सकिन्छ।'
आफूले मेसो पाइरहेका चरा देखाउन त उनी ग्यारेन्टी दिन्छन्। देखाउन नसके 'लागेको खर्च आफैं तिरिदिन्छु' पनि भनेका छन्।
चितवन जिल्लाभरमा निकुञ्जका लागि अनुमति पाएका ४ सय ८० जना नेचर गाइड छन्। सौराहामा मात्रै करिब तीन सय छन्। यीमध्ये चराको विषयमा जानकार २० जनाजति रहेको नेचर गाइड एसोसिएसन सौराहाका अध्यक्ष राजेन्द्र धामीले बताए।
'ती मध्ये पनि अनुभवका आधारमा चराको विषयमा विज्ञ बनिसकेका केही नेचर गाइड हुनुहुन्छ। विष्णु महतो सरल, इमानदार र विज्ञ हुनुहुन्छ। चराको विषयमा अध्ययन गर्न आउने धेरैले उहाँकै सहयोगमा सफलता पाएका छन्,' धामीले भने।
चराको खोजीमा विष्णु मेचीदेखि महाकालीसम्मका तराईका प्रायः जंगल पुगेका छन्। विदेशी पर्यटकले एउटा चरा हेर्न लाखौं रूपैयाँ खर्च गरेको उनले देखेका छन्।
'उनीहरू लाखौं खर्च गरेर एउटा चरा हेर्न आउँछन्। हामीले उनीहरूलाई त्यही अनुसारको सेवा दिनुपर्छ,' उनी भन्छन्, 'केही पैसाको लोभ मात्रै गरेर उनीहरूलाई निरास बनाएर फर्कायौं भने हाम्रो पेसा नै धरापमा पर्छ।'
चरा विज्ञ डा. हेमसागर बरालले घाँसे मैदानमा पाइने चराको विषयमा अध्ययन गर्दा विष्णु थुप्रै वर्ष उनीसँगै थिए। त्यो साथले पनि उनलाई चराको विषयमा धेरै सिकायो। पछि उनले अन्य धेरैलाई चराको विषयमा अध्ययन गर्न सघाएका छन्।
रत्ननगरको झुवानी घर भएका ४३ वर्षीय विष्णुले कक्षा ७ सम्ममात्रै पढेका छन्। विपन्न परिवारमा जन्मिएका उनले आर्थिक अवस्थाकै कारण पढाइ छाडेर सानै उमेरमा रेस्टुरेन्टको काम सुरू गरेका थिए। सौराहाको पिकक लजमा काम गर्दा उनले विदेशी पर्यटकहरू बोलेको सुन्दासुन्दै अंग्रेजी भाषा सिके। बिस्तारै उनीहरूसँग गफिन सक्ने भए।
पछि उनले सौराहाको चर्चित 'गैंडा वाइल्डलाइफ होटल' (पछि बन्द भएको) को हात्तीसारमा काम पाए। विष्णु हात्तीको माउते बनेर पर्यटकलाई निकुञ्जभित्र घुमाउन थाले।
'यो होटलमा राजपरिवारका मान्छेहरू आउँथे, विदेशी भिआइपीहरू धेरै आउँथे। म गैंडासँग पनि डराउँदिनँ थिएँ। काममा जता भन्यो त्यतै जान तयार हुन्थेँ। काम गर्न गाह्रो पनि मान्दिनँ थिएँ,' विष्णुले भने।
एकपटक क्याम्पस उद्घाटनका लागि तत्कालीन राजा वीरेन्द्र शाह चितवन आउने कुरा थियो। उनलाई होटलका म्यानेजरले गाइडको काम पनि सिक्न आग्रह गरे। होटलले उनलाई दूरबिन र बर्ड बुक दियो।
होटलले सबै पाहुनाका लागि एक घन्टा 'बर्ड वाचिङ' गराउँथ्यो। त्यो तालिकाअनुसार उनी हरेक दिन पाहुनासँगै चरा अवलोकनमा जान थाले।
'बिस्तारै चराको विषयमा जिज्ञासा बढ्दै गयो। चराको विषयमा धेरै जानेका टिकाराम गिरी (अहिले बर्ड एसोसिएसन, सौराहाका अध्यक्ष) सँग नजानेका कुराहरू सोध्थेँ। उहाँले यसले धेरै चासो राख्छ, सिक्न सक्छ भन्नुहुन्थ्यो, सिकाउनुहुन्थ्यो,' विष्णुले भने।
विष्णु गैंडा वाइल्डलाइफमा काम गर्दा राजपरिवारका सदस्यहरू; निराजन, ज्ञानेन्द्र, पारस शाह लगायतको सवारीमा पनि जंगल गएका छन्। तर उनीहरूले चराभन्दा अरू वन्यजन्तुमा धेरै खासै चासो राखेको विष्णुले सुनाए।
बर्ड एसोसिएसन, सौराहाका अध्यक्ष टिकाराम गिरीलाई नेपाल, भारत तथा अन्य विभिन्न देशमा पाइने चराको विषयमा धेरै जानकारी छ। उनी करिब ६०० प्रजातिका चरा आवाजबाटै पहिचान गर्न सक्छन्।
करिब तीस वर्षदेखि चराबारे काम गर्दै आएका टिकारामले एक हजारभन्दा बढी युवालाई नेचर गाइडको तालिम दिएका छन्। तिनैमध्येका एक विष्णु महतो पनि भएको उनले बताए।
'सिकाएमध्ये केहीले राम्रो गरिरहेका छन्। तीमध्ये विष्णु पनि एक हो। उसले स्थानीय सबैजसो चरा चिन्छ, आवाजबाटै पहिचान गर्छ,' अध्यक्ष टिकारामले भने, 'चराको विषयमा जान्न सौराहा आउने धेरै पाहुनाले उसलाई रूचाउँछन्।'
विष्णु अहिले कुनै पनि होटल र संस्थामा व्यावसायिक रूपमा आबद्ध छैनन्। तर उनीहरूले बोलाएमा पर्यटक लिएर जंगल जान्छन्। कतिपय पर्यटक आफैंले पनि उनलाई बोलाउँछन्। अहिले पनि उनका प्रायः दिन जंगलमै बितिरहेका छन्।
नेचर गाइड पेसाबाटै उनले एउटा घर बनाएका छन्। दुई छोरालाई हेटौंडामा राखेर ओभरसियर पढाइरहेका छन्। छोराहरू अविनाश र रोहित पनि फुर्सदमा नेचर गाइडको काम गर्छन्। कान्छो छोरा रोहितको रूचि यसमा अझै बढी छ।
'उमेरले साथ दिँदासम्म यही काम गर्छु, सक्दासम्म चराको संरक्षणमा लागिरहन्छु,' विष्णुले भने, 'चराले नै मेरो जीवन चलाइरहेको छ। यो त मेरा लागि सबभन्दा ठूलो कुरा हो।'