माघ १० गते दिउँसोको कुरा हो। बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ३ बिछ्या गाउँमा हिमपात भइरहेको थियो। गाउँलेहरू घरभित्रै आगो ताप्दै बसिरहेका थिए।
तिलक गुरूङको परिवार पनि आगो तापेरै बसेको थियो। एक्कासि घर हल्लिन थाल्यो। उनीहरू दौडेर बाहिर निस्के। भूकम्पले घरै भत्काउलाझैं गरेपछि हिमपातको प्रवाह नगरी गाउँ तलपट्टिको चौरतिर भागे।
‘हिउँ र वर्षाको डरभन्दा भूकम्पको डर साह्रै लाग्यो, दिउँसो भएकाले भाग्न सकियो,’ तिलकले भने।
भूकम्पले पूरै बिछ्या गाउँ हल्लाएपछि गाउँलेहरू घरबाट भाग्दै चौरमा जम्मा भइसकेका थिए। हिउँ र पानीमा भिज्दै, डराउँदै उनीहरू चौरमा उभिए।
अलिबेरमा एक जना छिमेकीले त्रिपाल ल्याए। गाउँलेहरू त्यसकै ओतमा बसे। केही घण्टा बितेपछि भने गाउँलेहरू आ–आफ्नो घर हेर्न गए। तिलक पनि घरको अवस्था बुझ्न उकालो लागे।
घर त पूरै भत्केको थियो। भित्र राखिएका अन्नपात, सर–सामानहरू पुरिएका थिए। ‘घरको अवस्था त्यस्तो देख्दा मन रोयो, सामानहरू पनि सबै कहाँ पुरिए, पत्तो भएन,’ उनले भने।
तिलकको बुवाले २० वर्ष पहिले उक्त घर बनाएका थिए, खरले छाएको, ढुंगा र माटोको प्रयोग गरेको तीन तले घर थियो। तल्लो तलमा गाईगोरू राख्ने, बीच र माथिल्लो तलामा आफूहरू बस्ने गर्थे। बुवाको निधन भयो, तिलकको परिवारका सदस्यहरू अहिले पनि त्यही घरमा बस्दै आइरहेका थिए।
‘बुवाको चिनारी त्यही घर थियो, भूकम्पले त्यो पनि राखेन,’ तिलकले सुनाए। भूकम्प जाने दिन गाईगोरूलाई अन्तै राखेकाले पशुचौपायाको क्षति उनले व्यहोर्नु परेन।
तिलकको जस्तै गाउँका ५ परिवारको घर पूरै भत्केको थियो। अरू कसैको भत्किन लागेको, कसैको चर्केको मात्र थियो। घरको अवस्था बुझेर उनीहरू फेरि चौरमा फर्किए। साँझ पर्न थाल्यो, हिमपात बढ्दै थियो, मुटु काँप्ने चिसोलाई उनीहरूले त्रिपालमुनि बसेर काट्नु पर्यो।
घरमा क्षति नपुगेका परिवारहरू दोस्रो दिन घरतर्फ फर्किए। आंशिक तथा जोखिममा रहेकाहरू पनि केही दिनपछि भुइँचालोको जोखिम कम भएको भन्दै घर गए।
तिलकसहित ६ घरपरिवार अहिलेसम्म त्रिपालमुनि बसेका छन्। भूकम्प गएको ५ दिनपछि वडा कार्यालयबाट त्रिपाल र केही दाल, चामल लगायतका खाद्य सामग्री पाएको तिलकले बताए।
‘पाँच दिनसम्म त गाउँलेको घरबाट ल्याएर गुजारा चलाइएको थियो त्यसपछि वडाले त्रिपाल र खानेकुरा दियो केही सजिलो त भयो,’ तिलकले भने,‘ तर त्रिपालमा बस्दा चिसो छ, हावा लागे दिउँसै पाल उडाइदिन्छ।’
तिलकले घर बनाउन सरकारको सहयोग पाए सहज हुने अपेक्षा राखेका छन्। उनलाई अब भूकम्पले नभत्काउने घर बनाउने मन छ। तर पक्की घर बनाउन उनीसँग पैसा छैन।
‘भूकम्पले घर भत्काएकाहरूलाई नयाँ घर बनाउन सरकारले सहयोग गर्छ भन्ने कुरा सुनेको छु,’ उनले भने। त्रिपालमा बस्दा बालबच्चाहरूलाई गाह्रो भएको उनी सुनाउँछन्।
समस्या पर्न थालेपछि अहिले उनले घर बनाउन ढुंगा सार्ने र काठ जम्मा गर्ने काम गरिरहेका छन्। 'सरकारको भर परौं भने कहिलेसम्म त्रिपालमा बसिरहनुपर्ने हो थाहा छैन, त्यही भएर अहिले सानो झुपडी बनाउन लागिरहेको छौं,' उनले भने।
तिलक खेतीपातीको काम गर्छन्। उनले हिउँदमा गहुँ, बर्खामा कोदो फलाउँछन्। आलुको पनि खेती गर्छन्। आफूले उत्पादन गरेको अन्नपात दुई महिना जति खान पुग्छ। त्यसपछि किनेर काम चलाउनु पर्छ। ज्याला मजदुरी गरेर कमाएको पैसाले किनेर खाने गरेको तिलक बताउँछन्।
‘बिहान-बेलुकाको छाक टार्न गाह्रो छ, त्यसैमाथि भूकम्पले बेहाल गरायो, घर बनाउने विषयमा चिन्ता लाग्छ, त्रिपालमा बस्न लागेको महिना भयो, सरकारले सहयोग गर्छ भन्छन्, तर कहिले गर्छ?,’ उनले सोधे।
उनको यही प्रश्न हामीले उनका वडा अध्यक्ष मंगलबहादुर बुढालाई सोध्यौं। ‘उहाँहरूको व्यवस्थापन र विस्थापित भएकाहरूको पुनर्स्थापनाका लागि हामीले वडाबाट सबै विवरण पठाएका छौं, सहयोग भने अहिलेसम्म प्राप्त भएको छैन,’ उनले भने।
वडा नम्बर ३ का अध्यक्ष बुढा भूकम्पले आफ्नो वडाका ६ घरपरिवार पूर्ण रूपमा विस्थापित भएको बताउँछन्। उनकाअनुसार अन्य ७० घर पनि जोखिममा रहेका छन्।
बाजुरामा माघ १० गते हिमाली गाउँपालिकाको बिछ्यालाई केन्द्र बनाएर ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो। गाउँपालिकाभरि १ सय ४ घरपरिवार पूर्ण रूपमा विस्थापित भएका छन्। माघ १० को भूकम्पपछि बाजुरामा दुई पटक परकम्प गयो। भौतिक संरचनामा थप क्षति भयो।
जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार उक्त तथ्यांक जिल्ला प्रहरी कार्यालयले संकलन गरेको हो। विस्थापित भएका परिवार अहिले स्थानीय तह, नेपाल रेडक्रस र जिल्ला प्रशासनले दिएको त्रिपालमा बसिरहेका छन्। खाना पनि उनीहरूले तिनै निकायबाट पाइरहेका छन्।
भूकम्पबाट विस्थापित परिवारको माग छ- सरकारले पुनर्स्थापनामा आफूहरूलाई सहयोग गरोस्। तर अहिलेसम्म जिल्लामा भूकम्पबाट भएको क्षतिको विवरण समेत संकलन हुन सकेको छैन।
जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट आएका इन्जिनियरहरूले क्षतिको विवरण संकलन गर्न भनेका थिए। सोहीअनुसार भूकम्पबाट क्षति भएका स्थानीय तहमा विवरण संकलनको काम भइरहेको हो। अझै पनि विवरण संकलनको काम नसकिएको प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताए।
तथ्यांक संकलन गरिसकेर जिल्लाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पठाएपछि मात्र राहत तथा पुनर्स्थापनाको काम सुरू हुन्छ।काममा ढिला हुँदा बाजुराका भूकम्प प्रभावितहरूको पुनर्स्थापनामा ढिलाइ भरहेको छ।
तथ्यांक संकलनमै ढिला भएपछि छिटो पुनर्स्थापनाको माग गरिरहेका प्रभावितहरू निरास बनेका छन्। सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री नरेश शाहीले भूकम्पबाट विस्थापित भएकाहरूको पुनर्स्थापनाको सवालमा तीनै तहका सरकारले काम गर्नुपर्ने बताए।
‘राहत दिने विषयमा तीनै तहका सरकारले काम गर्नुपर्छ, यो विषयमा मानवता पनि जोडिन्छ, जसले जति सक्यो सहयोग गर्नुपर्छ, प्रदेश सरकारले उहाँहरूलाई राहत दिने विषयमा छलफल गरिरहेको छ,’ उनले भने।