चार महिनादेखि भत्किएको पाटन, झम्सिखेलको फुटपाथ पुनर्निर्माण सुरू भएको छ।
पुल्चोकको दमकल चोकदेखि झम्सिखेलको सरस्वती मन्दिरसम्मको फुटपाथ अपांगता भएका व्यक्तिहरूका लागि सहज हुने गरी पुनर्निर्माण भइरहेको ललितपुर महानगरपालिकाले जनाएको छ।
वडा नम्बर ३ का प्राविधिक ईश्वरकुमार श्रेष्ठले चैत महिनाभित्र पूरा गर्ने गरी फुटपाथ निर्माण भइरहेको जानकारी दिए।
यो काम माघ १३ बाटै सुरू गरिएको भए पनि अपांगतामैत्री फुटपाथलाई चाहिने निर्माण सामग्री समयमै नआइपुग्दा ढिला भएको उनको भनाइ छ।
वडा कार्यालयले यहाँ दृष्टिविहीनहरूलाई बाटो पहिचान गर्न सजिलो हुने गरी लामो धर्के ब्लक राख्दै छ। रातो रङको धर्के ब्लकले दृष्टिविहीनहरूलाई बाटो काट्न सजिलो हुनुका साथै बिजुलीको पोलमा ठोक्किनबाट बचाउने श्रेष्ठ बताउँछन्।
उक्त ब्लक कपिलवस्तुबाट मगाइएको थियो। नारायणघाट-मुग्लिङ सडक खण्डको बाटो बिग्रिएकाले सामान ल्याउन ढिला भएको हो। त्यस्तै पहिलेका ब्लक पुराना भएकाले त्यसको पनि मर्मतसम्भार सुरू गरिएको छ।
'वडाले यहाँ फुटपाथका लागि १४ मिटर छुट्टयाएको थियो। सडकछेउका घरले मिचेका कारण ११ मिटरमा मात्र फुटपाथ निर्माण हुँदैछ,' उनले भने, ‘सरकारले निर्देशन दियो भने मात्र हामी मिचिएको बाटो फिर्ता लिन सक्छौं। यसका लागि प्रक्रिया सुरू गर्न बाँकी छ।'
यो फुटपाथ मर्मत उपभोक्ता समितिमार्फत् गरिएको छ। समितिको गठन माघ महिनामा मात्र भएको थियो। वडाको आर्थिक वर्ष २०७९/८० को योजनाअनुसार फुटपाथ बनाउन ३४ लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ।
वडा कार्यालयले पैदल यात्रुलाई हिँड्न सहज होस् भनी फुटपाथमा बाइक पार्किङ गर्नेलाई कारबाही पनि सुरू गरेको छ। यसका लागि ललितपुरस्थित नगर प्रहरीलाई फुटपाथमा बाइक पार्किङ गर्नेलाई कारबाही गर्न भनिएको वडा कार्यालयले जनाएको छ।
फुटपाथ बनाउन थाले पनि फुटपाथ जोड्ने घरका गेट र कालोपत्रे सडकको डिलमा भने मर्मत सुरू गरिएको छैन। यसले ठाउँ ठाउँमा खुट्टा जोगाएर हिँड्नुपर्छ। भत्केको फुटपाथका कारण मोटरसाइकल, अझ स्कुटरलाई झनै जोखिमपूर्ण छ।