बझाङको सरकारी जिल्ला अस्पतालमा सधैंभरी डाक्टरको अभाव हुने गरेको छ। विकट जिल्ला भएकाले सहरमा पढेका डाक्टर त्यहाँ गएर काम गर्न गाह्रो मान्छन्।
डाक्टरमात्र होइन अरू स्वास्थ्यकर्मी पनि बझाङ बसेर काम गर्दैनन्। विकट ठाउँ भएकाले उपकरणको जहिल्यै पनि अभाव हुने गरेको छ। जसले गर्दा त्यहाँ सेवा प्रवाहमा कठिनाइ हुने गरेको छ। अहिले १५ शय्याको अस्पतालका रूपमा सञ्चालन भइरहेको छ। स्थापना भएको करिब चार दशक बढी समय बितेको छ। अस्पतालको थप स्तरोन्नतिको काम भने भएको छैन।
जिल्ला अस्पतालमा बाहिरका डाक्टर नटिकेपछि जिल्ला सदरमुकाम समेत रहेको जयपृथ्वी नगरपालिकाले आफैं डाक्टर बनाउन कस्सिएको छ।
जिल्ला अस्पतालमा काम गर्नुपर्ने शर्तमा एक विद्यार्थीलाई एमबिबिएस पढाउने कार्यक्रम लागु गरेको जयपृथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज बजालले बताए।
‘नगरपालिकाले पाँच वर्षभित्र पाँच जना डाक्टर उत्पादन गर्ने लक्ष्यका साथ सो कार्यक्रम लागु गरिरहेको छ, पहिलो वर्ष अन्तरगत हामीले सात नम्बर वडाका जनेन्द्र महरलाई छनोट गरेर अध्ययनमा सहयोग गरिरहेका छौँ,’ उनले भने।
उनका अनुसार प्रत्येक वर्ष एक जना छनोट गरेर पाँच वर्षभित्र पाँच जना डाक्टर पढाउन नगरपालिकाले आर्थिक सहयोग गर्ने छ।
‘नगरपालिकाको सहयोगबाट उत्पादन भएका डाक्टरले आगामी दिनमा जिल्ला अस्पतालमा सेवा दिनुहोला भन्ने छ,’ उनले भने।
छयालाका २० वर्षीय जनेन्द्र महर अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस अध्ययनरत छन्।
‘नगरपालिकाले लगाएको लगानी खेर फाल्ने छैन, डाक्टर बनेर जिल्ला अस्पतालमा खटिने छु,’ उनले भने।
जनेन्द्रकी आमा गृहिणी हुन्। उनका बुवा अहिले पनि भारतकै दिल्लीमा काम गरिरहेका छन्। उनको १५ जनाको संयुक्त परिवार छ।
उनको गाउँबाट डाक्टर पढ्ने उनी पहिला व्यक्ति हुन्। जनेन्द्रको उमेरका धेरै युवाहरू पढाइ छोडेर भारततिर कमाउन लागिसके। उनी भने एमबिबिएस पढ्न मेहनत गरे। सानैदेखि उनले राम्रो पढाइका लागि धेरै प्रतिस्पर्धामा सामेल भएका थिए।राम्रो नतिजाका कारण जनेन्द्रले ४ देखि कक्षा १२ पढ्नसम्म काठमाडौंको बूढानीलकण्ठ स्कुलमा छात्रवृत्ति पाए।
उनी बूढानीलकण्ठमा भर्ना हुने समयमा १ सय ६१ जनाको जम्मा सिटमध्ये विपन्न कोटाबाट पाँच सिट थिए। सुदूरपश्चिमका ९ जिल्लाका लागि चार वटा सिट थिए। उनले त्यसमा आवेदन दिए। पाँच वटा कोटामा त्यहाँ पढ्नका लागि प्रदेशभरका करिब चार पाँच सय विद्यार्थीहरूले परीक्षा दिएका थिए।
सुदूरपश्चिमबाट बूढानीलकण्ठमा पढ्नका लागि चार जना छनोटमा परे। उनको नाम पहिलो नम्बरमा निस्कियो।
उनी बझाङबाट काठमाडौं पढ्न गए। बूढानीलकण्ठ स्कुलबाट उनले कक्षा ४ देखि १२ सम्म पढे।
विज्ञान विषय लिएर कक्षा ११ मा ३.६ र १२ मा ३.४ जिपिए ल्याएर उत्तीर्ण गरेका थिए।
जनेन्द्रको एमबिबिएस पढ्ने सपना थियो। त्यसै अनुसार तयारी गरेका थिए। एमबिबिएस पढ्न नाम पनि निस्कयो।
‘नाम त निस्कियो तर, कसरी पढ्ने भन्ने चिन्ता भयो,’ उनले भने, किनभने एमबिबिएस पढ्न लाखौं रूपैयाँ खर्च हुन्थ्यो।’
आर्थिक अभाव सोचेर उनले एमबिबिएस पढ्न अझै एक वर्ष पर्खिने सोच गरेका थिए। यही बेला उनले गाउँबाट खुसीको खबर थाहा पाए। त्यो खबर थियो ‘जयपृथ्वी नगरपालिकाले डाक्टर पढाउने कार्यक्रम लागु गरेको छ।’
साउनतिर उनी घर फर्के। नगरपालिकामा कार्यक्रमबारे कुरा बुझे। सो कार्यक्रमबाट उनले आवेदन दिए।
उनीजस्तै त्यहाँ डाक्टर पढ्ने भन्दै अन्य १२ जनाले पनि निवेदन दिएका थिए।
कक्षा १ देखि १२ सम्मको नजिताको आधारमा उक्त कार्यक्रममा समेट्ने नगरपालिकाले भनेको थियो। नतिजा हेर्दा उनको अरूको भन्दा उत्कृष्ट थियो। अन्तर्वार्ता पनि उत्कृष्ट भयो। सोही आधारमा नगरपालिकाको डाक्टर पढाउने कार्यक्रममा उनी छनोटमा परे ।
गत कात्तिकको अन्तिमतिर उनी बझाङबाट काठमाडौं फर्के। त्यहाँबाट ल्यापटप, किताबहरू केही सरसमान किने। त्यसपछि उनी मंसिरमा एमबिबिएस अध्ययनका लागि कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठान जुम्लाको सदरमुकाम खलंगामा पुगे।
भर्ना हुन पहिलो किस्तामा १६ लाख जति खर्च लाग्छ। नगरपालिकाले सो रकम पहिलो किस्ता अन्तर्गत प्रतिष्ठानको खातामा नगरपालिकाले ५ लाख ५४ हजार जम्मा गरिदियो।
एमबिबिएस पढ्न पाँच वर्ष समय लाग्छ। पढाइ खर्च मात्रै ५५ लाख जति हुन्छ। जो नगरपालिकाले दिनेछ। तर उनले आफ्नो जिल्ला अस्पतालका लागि डाक्टर बन्नुछ।
‘ममाथि प्रेसरभन्दा पनि च्यालेञ्ज छ, त्यो च्यालेञ्जलाई सामान गरेर पढाइ पूरा गर्नुछ,’ उनले भने।
एमबिबिएसको पढाइ पूरा गरेपछि उनले सुरूका तीन वर्षसम्म अनिवार्य जिल्ला अस्पताल बझाङमा काम गर्नुपर्ने नगरपालिकासँग सम्झौता गरेका छन्। त्यसैले उनी दिनरात मेहनत गरेर पढिरहेका छन्।
‘मेडिकल फिल्डमा धेरै सुत्यो भने पनि गाह्रो, कम सुते भने पनि गाह्रो छ, तै पनि जे होस् अहिले मेहनत गर्दैछु, मैले बझाङवासीको स्वास्थ्य सेवा गर्नुछ ’, उनले भने।