सदाबहार सामुदायिक वनको आडैमा रहेको फ्रेण्डसिप क्लिनिकमा केही विदेशी बिरामीको स्वास्थ्य परीक्षण गर्दै थिए। कोही क्लिनिक नेपाल र फ्रेण्डसिप क्लिनिकको सेवालाई कसरी प्रभावकारी बनाउने भनेर स्थानीयसँग जिज्ञासा राख्दै थिए।
उनीहरू यो संस्थाका सहयोगी हुन्। मेघौली क्षेत्रका बासिन्दाको शिक्षा र स्वास्थ्यका लागि आफ्नो देशमा विभिन्न माध्यमबाट पैसा संकलन गरेर पठाउने गरेका विदेशी यहाँ आइपुगेका रहेछन्।
यो संस्था स्थापना हुनुअघि मेघौलीका बासिन्दा सामान्य उपचारका लागि पनि भरतपुर धाउनुपर्थ्यो। मेघौलीबाट भरतपुर करिब २५ किलोमिटर पर छ। कच्ची सडक र सार्वजनिक सवारी साधनको असुविधाका कारण उपचारमा सास्ती थियो। यहाँ सरकारी स्वास्थ्य चौकी त थियो तर दक्ष स्वास्थ्यकर्मी, अवस्यक उपचार सामग्री, औषधि हुन्थेनन्।
२०५४ सालमा क्लिनिक नेपालको सेवा सुरू भएपछि चारवटा वडाका बासिन्दाले आफ्नै गाउँमा चिकित्सकसहितको स्वास्थ्य सेवा पाउन थाले। क्लिनिकले वर्षमा १२ हजार जनासम्मलाई सेवा दियो। गत वर्ष पनि ६ हजारभन्दा बढीले यहाँबाट स्वास्थ्य सेवा लिएका छन्। अहिले मेघौलीमा स्वास्थ्य चौकी र निजी क्लिनिकहरू पनि सञ्चालनमा छन्। पक्की सडक र सार्वजनिक सवारी साधनहरू प्रशस्तै भएकाले भरतपुर पुग्न सजिलो छ।
क्लिनिक नेपालले स्वास्थ्यका अलावा मेघौलीका विपन्न तथा जेहेन्दार विद्यार्थीको शिक्षा, स्थानीयबासीलाई पिउने पानी, सरसफाइ र वातावरण संरक्षणका लागि काम गर्दै आएको छ।
थारु, कुमाल समुदायको पुरानो बसोबास रहेको मेघौली चितवनको पर्यटकीय क्षेत्र हो।
वन र वन्यजन्तु अवलोकन गर्न चाहने पर्यटकका लागि यो उत्कृष्ट गन्तव्य हो। मेघौलीबाट केही पर चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको होटल टाइगर टप्स विगतमा विदेशी पर्यटकहरूको प्रमुख रोजाईमा पर्थ्यो।
उनीहरूलाई नै लक्षित गरेर यहाँ विमानस्थलसमेत सञ्चालनमा थियो। २०१७ सालमा यहाँ बेलायतकी महारानी एलिजाबेथ द्वितीय सपति निकुञ्जमा सिकार खेल्न मेघौली हुँदै पुगेकी थिइन्।
अहिले पनि यहाँ बाराही जंगल लज, मेघौली सेराई, साराङ वाइल्डलाइफ स्याङचुरीलगायतका ठूला होटल छन्। थारु समुदायले होमस्टे पनि चलाएका छन्। होटल र होमस्टेमा आन्तरिक र विदेशी पर्यटकहरू प्रशस्तै भेटिन्छन्।
क्लिनिक नेपाल स्थापना हुनुमा पनि यहाँ आएका पर्यटकहरूकै सहयोग महत्वपूर्ण छ।
२०४८ साल वैशाखतिरको कुरा हो। एक राति केही विदेशी आकस्मिक रूपमा मेघौलीस्थित हरि भण्डारीको होटलको ढोका ढक्ढकाउन आइपुगे। राप्ती नदीको किनारमा टेण्ड टाँगेर बसेका उनीहरूलाई हावाहुरीले उठिबास लगाएको थियो।
भण्डारीले १० जनासम्म पाहुना राख्न मिल्नेगरी खरले छाएर बनाएको सानो होटलमा उनीहरूले त्यो रात गुजारे।
भोलिपल्ट बिहान भण्डारीले उनीहरूलाई नेपाल आउनुको कारण सोधे।
करिब ६० वर्षका विदेशीले जवाफ दिए–तिम्रो देशका जनतालाई सहयोग गर्न आएको।
उनीहरू कुष्टरोगी, अपाङ्गता भएका, विपन्न नेपालीलाई सहयोग गर्न नेपाल आएका थिए। यसका लागि उनीहरूले काठमाडौंमा एक संस्था(आइएनजिओ) स्थापना गरेका थिए। मेघौलीमै पनि केही बिरामीलाई सेवा गरेर राति राप्ती किनारमा बास बसेका रहेछन्।
विदेशीको सबै कुरा सुनेपछि भण्डारीलाई लाग्यो–ओहो, मेरो ठाउँका मान्छेका लागि मैले गर्नुपर्ने काम गर्न पो यी मान्छेहरू आएका रहेछन्। उनले मेरो ठाउँमा आएर आफ्ना मान्छेलाई सहयोग गरेकोमा धन्यवाद भन्दै होटलमा लागेको पैसा लिएनन्। फेरि पनि आउन निम्तो दिए।
त्यो दिनबाट बनेको उनीहरुको सम्बन्ध झाँगिदै गयो।
भण्डारीले एसएलसी परीक्षा उत्तीर्ण गरेपछि मर्स्याङ्दी जलविद्युत योजनामा काम गरेको आम्दानीले जग्गा किनेर होटल खोलेका थिए।
‘बहुत दुःखले स्कुल पढियो। पैसा नहुनेले पढ्न सक्थेनन्, पढेको बुझिएन, जानिनँ भन्यो भने शिक्षकले ट्युसन पढ्न आइज भन्थे। त्यस्तो सुन्नुपर्दा असाध्यै पीडा हुन्थ्यो। उपचार नपाएर मान्छे मरेको धेरै देख्नुपर्थ्यो। गाउँलाई यो अवस्थाबाट माथि उठाउन केही गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो तर गर्न सक्ने अवस्था थिएन,’ भण्डारीले भने, ‘विद्युत योजनामा ओभरटाइम काम गरेर जोडेको आम्दानीले एउटा झुप्रोसम्म बनाउन सकेको थिएँ। विदेशीको कुराले मलाई के गरौं, कसो गरौं हुनथाल्यो।’
एक दिन भण्डारीले झाडापखलाले सिकिस्त भएका व्यक्तिलाई होटल टाइगरटप्सको गाडीमा हालेर उपचारका लागि भरतपुर पठाएका थिए। त्यही दिन ती विदेशी मेघौली आइपुगे। भण्डारीले उनलाई आफ्नो गाउँमा स्वास्थ्य संस्था नहुँदा भोग्नुपरेको समस्याबारे सुनाए।
‘उनले मलाई डाक्टर बनेर गाउँमा सेवा गर्न सल्लाह दिए। त्यसका लागि मलाई काठमाडौं लगेर मेडिसिन पढाउन सक्ने सुनाए,’ भण्डारीले भने, ‘उनीहरूकै संस्थामा काम गर्दै पढ्ने भनेपछि म काठमाडौं गएँ।’
त्यहाँ उनको भेट गेर्हार्ड फिसेरसँग भयो।
उनी जर्मनीका लागि विभिन्न चारवटा देशहरूमा राजदूत भइसकेका थिए। उनको नेपालका राजा वीरेन्द्रसँग प्रत्यक्ष सम्बन्ध थियो। (कुष्ठरोग र पोलियो रोगका बिरामीका लागि गरेको कामका कारण सन् १९९७ मा गेर्हार्डलाई भारतले गान्धी पिस अवार्डसमेत प्रदान गरेको थियो।)
‘म गाउँमा सेवा गर्नका लागि आधार तयार गर्न काठमाडौं आएको थिएँ। जागिरका लागि भएको अन्तर्वार्तामा मेरो र अन्तर्वार्ता लिनेको विचार मिलिरहेको थिएन। म जानेका कुरा सबै भन्न थालें। उनीहरूलाई १९ वर्षे केटोले प्रवचन दियोजस्तो लागेछ। काम गर्न मन नलागे नगर भने। म गर्दिनँ भनेर उठ्न लागेको थिएँ, नजिकै बसेर एक जना वृद्धले सबै कुरा सुनिरहेका रहेछन्। मलाई च्याप्प समातेर आफ्नो गाडीमा चढाए, काठमाडौं घुमाउँदै धेरै कुरा बुझाए,’ भण्डारीले भने, ‘ती व्यक्ति उनै गेर्हार्ड रहेछन्।’
अरूले नरूचाए पनि गेर्हार्डले भण्डारीको कुरा मन पराएका रहेछन्। उनले यो केटोलाई काममा राख भनेपछि आइएनजिओमा भण्डारीको जागिर सुरू भयो।
भण्डारीले जागिरको पहिलो तलब १८ सय रुपैयाँ पाएका थिए। उनले सुरूकै तलबबाट मेघौलीका एक जना विद्यार्थीलाई पढ्न ५ सय रुपैयाँ सहयोग गरे। बिस्तारै तलब बढ्दै गयो, उनले सहयोग गर्ने विद्यार्थीको संख्या बढाउँदै लगे। बिदाको समयमा उनी संस्थामा आएका विदेशीहरूलाई घुमाउन लैजान्थे। त्यसबाट पनि आम्दानी हुन्थ्यो।
दुई वर्षमा उनी त्यो संस्थाकै प्रमुख भए। मासिक २० हजार रुपैयाँ तलब हुन्थ्यो। मेडिसिन पढेर आफैंले उपचार गर्नेभन्दा पैसा कमाएर स्वास्थ्य संस्था नै खोल्ने सोचले जित्न थाल्यो।
‘मैले १५/१५ सय रुपैयाँ तलब दिएर मेघौलीका चारवटा विद्यालयहरूमा एक/एक जना शिक्षक राखिदिएँ। पढ्न नसकेकालाई सहयोग बढाउँदै लगें,’ उनले भने, ‘आफूले राम्ररी पढ्न नपाएकाले पनि होला आर्थिक अवस्था कमजोर भएर पढ्न नसकेका बालबालिकालाई पढाउन पाउँदा, विद्यालयलाई सहयोग गर्न पाउँदा मलाई असाध्यै खुसी लाग्थ्यो।’
भण्डारीले विद्यालय जानबाट बञ्चित भएका केही दलित बालबालिकालाई थर नै फेरेर काठमाडौंका विद्यालयहरूमा भर्ना गरिदिएको स्थानीय बद्री अर्याल बताउँछन्।
करिब ८ वर्ष काम गर्दा उनले धेरै विदेशीहरूलाई साथी बनाए। उनलाई लाग्यो–अब म जागिर छाडेर गाउँ फर्कनुपर्छ, विदेशी साथीहरूको सहयोग लिएर गाउँमा सामाजिक काम गर्नुपर्छ। भण्डारीले साथी बनाएका विदेशीलाई मेघौलीमा स्वास्थ्य संस्था स्थापना गर्नका लागि सहयोग गर्न पत्र लेखे।
केही वर्ष पहिले चितवन राष्ट्रिय निकुञ्जको जंगल घुम्न जाँदा राप्ती नदी तर्न नसकेर अलपत्र परेका बेलायती पर्यटक पिटरसोरलाई भण्डारीले उद्धार गरेर आफ्नो घरमा आश्रय दिएका थिए। त्यही गुन सम्झिएर भण्डारीको अभियानमा पिटरसोरले सहयोग गरे। (अहिले उनको निधन भइसकेको छ। उनका छोरा क्याविनसोरले क्लिनिक नेपालका लागि सहयोग गरिरहेका छन्।) अन्यले पनि आर्थिक सहयोग गरे। केही समयमा ३ हजार डलर संकलन भयो। उनको अभियानमा सहयोग गर्न केही विदेशी आफैं आउने भए।
तत्कालीन मेघौली गाविसले २ विघा जमिन भोगचलन गर्न स्वीकृति दियो। २०५३ सालमा गेर्हार्डले भवनको शिलान्यास गरे। स्थानीयबासीले श्रमदान गरेर सहयोग गरे। भवन निर्माणको काममा बेलायती सेनाले समेत सहयोग गर्यो। केही महिनामा क्लिनिकको भवन तयार भयो। मेघौलीबासीले चिकित्सकसहितको स्वास्थ्योपचार गाउँमै पाउन थाले।
हरि भण्डारी सुरूआतदेखि नै यो संस्थाको अध्यक्ष छन्। स्थानीय अगुवाहरू पनि क्लिनिक नेपालको समितिमा छन्। यहाँ अहिले २८ जना पूर्णकालीन कर्मचारी काम गर्छन्।
‘हामीले सुरूआतमा महिनामा एक जना डाक्टर ल्याउँथ्यौं, बिस्तारै हप्तामा एक जना डाक्टर ल्याउन थाल्यौं। अहिले हप्तामा ५ दिन डाक्टरले सेवा दिन्छन्,’ भण्डारीले भने, ‘बेला–बेलामा विदेशी चिकित्सक, स्वयंसेवक विदेशी स्वास्थ्यकर्मीहरू पनि आउँछन्। आवश्यकताअनुसार विभिन्न ठाउँमा पुगेर स्वास्थ्य शिविरहरू पनि गर्छौं।’
जटिल अवस्थाका बिरामीलाई भरतपुरको अस्पताल पुर्याउन आकस्मिक यातायात सेवा पनि उपलब्ध गराउने गरेको क्लिनिक नेपालका म्यानेजर सुमन पौडेलले बताए।
क्लिनिक नेपालले पछिल्लो ५ वर्षमा १४ करोड रुपैयाँ खर्च गरेको पौडेलले बताए।
भण्डारीले सहयोगका लागि जर्मनीमा क्लिनिक नेपाल र फ्रेण्डसिप नेपाल, इङ्ल्याण्डमा फ्रेण्डसिप नेपाल, अमेरिका, डेनमार्क, जिब्राल्टरमा क्लिनिक नेपाल, स्पेनमा विडाउटिल नाममा संस्था स्थापना गरेका छन्। ती संस्थामा त्यही देशका सहयोगीहरू रहेको सञ्चालक समिति छ। भण्डारी बेला–बेलामा ती देशहरुमा पुगेर यहाँको विषयमा जानकारी गराउँछन्। त्यही आधारमा सहयोग संकलन भएर नेपाल आइपुग्ने गरेको छ।
‘फ्रेण्डसिप क्लिनिक, विभिन्न विद्यालयमा सहयोग, छात्रवृत्ति, मन्टेश्वरी विद्यालय सञ्चालन, खानेपानी, सरसफाइ लगायतमा खर्च गर्दै आएका छौं। विभिन्न देशमा रहेका संस्थाहरूले सहयोग संकलन गरेर पठाएको रकमले पुगिरहेको छ,’ पौडेलले भने।
क्लिनिक नेपालले मेघौलीमा रहेको जानकी माविमा प्लस टु कक्षा सञ्चालनका लागि ल्याब, हलसहितको भवन निर्माण र विद्यालय बसका लागि २ करोड रुपैयाँ सहयोग गरेको छ।
विद्यार्थीहरूलाई नि:शुल्क प्लस टु पढाउन विद्यालयलाई एक विद्यार्थी बराबर १८ हजार रुपैयाँ उपलब्ध गराएको छ। यहाँ अहिले ५० जना विद्यार्थीहरू प्लस टु पढ्छन्।
‘गत वर्षसम्म एक विद्यार्थी बराबर ४० हजार रुपैयाँ दिने गरेका थियौं। यस वर्षदेखि भरतपुर महानगरपालिकाले शिक्षक उपलब्ध गरायो। हामीले शिक्षकलाई तलब दिनुपरेन,’ उनले भने।
यसबाहेक यो संस्थाले विभिन्न विद्यालयमा विपन्न परिवारका ११० जनालाई पढाइरहेको छ। उनीहरू प्राथमिकदेखि स्नातक तहसम्म पढ्दैछन्। तीमध्ये ३३ जना नवलपुरको दलदलेमा रहेको छात्रबासमा बसेर पढ्छन्। १० जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई जर्मनी र अमेरिकामा पढ्न पनि यो संस्थाले सघाएको छ। गत वर्ष १६० जनालाई पढाएको थियो।
तीन ठाउँमा सञ्चालन गरेको नि:शुल्क मन्टेश्वरी स्कुलमा अहिलेसम्म १० हजारभन्दा बढी बालबालिकाले पढेको क्लिनिक नेपालका अध्यक्ष भण्डारी बताउँछन्।
क्लिनिक नेपालले २०५७ सालदेखि मेघौलीमा खानेपानी र शौचालय निर्माणमा पनि सहयोग गर्यो। संस्थामार्फत् २५१ वटा धारो र २७ सय घरमा शौचालय निर्माण गरेको उनले बताए।
‘सुरूआतमा ट्युवेल धारोका लागि सहयोग सहयोग गरेका थियौं। ट्युवेलको पानीमा आर्सेनिक देखिएपछि यसको विकल्पमा खानेपानी योजनामा पनि सहयोग गर्यौं,’ भण्डारीले भने।
एसियन विकास बैंकको ऋण सहयोगमा बनेको मेघौली साना सहरी खानेपानी योजनामा क्लिनिक नेपालले ४० लाख रुपैयाँ सहयोग गरेको छ। यो योजनामार्फत् भरतपुरका वडा नम्बर २५, २६, २७ र २८ का करिब २२ सय धारामा पानी पुगेको छ।
यो योजनाको कुल लागत १७ करोड ४२ लाख ८ हजार ८८९ रुपैयाँमा ५० प्रतिशत नेपाल सरकारको बजेट थियो। बाँकी ४५ प्रतिशत नगर विकास कोषले एसियाली विकास बैंकको ऋण उपलब्ध गराएको थियो। बाँकी ५ प्रतिशत अर्थात् १ करोड ५ लाख रुपैयाँ स्थानीय बासिन्दाबाट संकलन गर्नुपर्ने थियो। तर स्थानीयबाट पर्याप्त रकम जम्मा हुन नसकेपछि क्लिनिक नेपालले ४० लाख रुपैयाँ लगानी गरेको भण्डारीले बताए।
खानेपानी योजना सञ्चालनका लागि सौर्य ऊर्जा प्लान्ट निर्माण गर्न भण्डारीले जर्मनका नागरिकहरूबाट १ करोड ९ लाख ४० हजार ८२७ रुपैयाँ संकलन गरे। यसमा नगर विकास कोष काठमाडौंबाट ५३ लाख ८१ हजार ८१७ रुपैयाँ अनुदान सहयोग थपियो। अहिले १०० किलोवाट ग्रिड जडित सौर्य ऊर्जा त्यहाँबाट उत्पादन भइरहेको छ।
यहाँ कार्यरत कर्मचारी विजय काफ्लेका अनुसार घाम लागेको समयमा यहाँबाट उत्पादित विद्युत योजनालाई बढी भएर विद्युत प्राधिकरणको लाइनमा जोडिन्छ।
‘२०७६ सालमा सौर्य ऊर्जा प्लान्ट सञ्चालनमा आउनुअघि विद्युत प्राधिकरणलाई मासिक १ लाख २० हजार रुपैयाँ महसुल बुझाउनुपर्थ्यो। अहिले खानेपानी योजनालाई पुगेर प्राधिकरणलाई बेच्ने गरिएको छ,’ काफ्लेले भने।
भण्डारीलाई उनको सहयोग संकलन र क्लिनिक नेपाल सञ्चालनमा श्रीमती सृजना बस्नेतले सघाउँछिन्।
उनीहरू वर्षमा ६ महिना जति विदेशमा हुन्छन्। नेपालमा उत्पादित सामग्री युरोपका विभिन्न देशमा बिक्री गर्छन्। यसबाट भएको आम्दानीको केही हिस्सा संस्थाका लागि खर्च गर्छन्। उनीहरूले हरि ट्रेक प्रालि नामको ट्राभल एजेन्सी पनि सञ्चालन गरेका छन्।
‘मेघौलीमा स्वास्थ्य संस्था खोल्छु, बिरामी भएर मर्नुपर्ने अवस्थाको अन्त्य गर्छु, विद्यालय, विद्यार्थीलाई सहयोग गर्छु भन्दा मान्छेहरू पत्याउँथेनन्। हाँस्थे, खिसी गर्थे,’ ५३ वर्षीय भण्डारी भन्छन्, ‘पहिले खिसी गर्नेहरूले पनि अहिले क्लिनिक नेपालको सेवा लिइरहेका छन्। आफूले स्थापना गरेको संस्थामा विशेषज्ञ डाक्टर आएर बिरामी जाँचेको, स्थानीयबासीले नि:शुल्क उपचार पाएको, विद्यार्थीहरू खुसी हुँदै विद्यालय गएको देख्दा गर्व लाग्छ।’