वकिलसँग कानुनका कुरा
सूचना प्रविधिको प्रयोग बढेसँगै यसको दुरूपयोग पनि बढेको छ। यसरी कम्प्युटर वा कम्प्युटर नेटवर्कको दुरूपयोग गरेपछि हुने अपराधलाई साइबर अपराध भनिन्छ। अनलाइन दुर्व्यवहार पनि साइबर अपराधमध्येको एक प्रकार हो। अनलाइनबाट हुने दुर्व्यवहार के-कस्ता हुन्, यसको सिकार हुन पुगे कसरी उजुरी गर्ने र यसबाट कसरी बच्न सकिन्छ भनेर बुझ्न हामीले अधिवक्ता बाबुराम अर्यालसँग कुराकानी गरेका छौं।
हेर्नुहोस् उनीसँगको कुराकानी भिडिओमा-
सामाजिक सञ्जालमा हुने कस्तो मेसेज-कुराकानीलाई दुर्व्यवहार मानिन्छ?
सामाजिक सञ्जालमा कसैले व्यक्तिको अश्लिल भिडिओ पठाए, गोपनीयता हनन् हुने गरी मेसेज गरे, नग्न तस्बिर-भिडिओ रेकर्ड गरी ब्ल्याकमेल गरे, वा अनलाइन माध्यमबाट कसैलाई गाह्रो वा असहज हुने कुराकानी वा काम गरेमा त्यसलाई अनलाइन दुर्व्यवहार भनिन्छ।
सामाजिक सञ्जालमा कसैले दुर्व्यवहार गरे के गर्ने?
कसैले सामाजिक सञ्जालमा दुर्व्यवहार गर्न प्रयास गरे वा अपमानजनक मेसेज वा भिडिओ पठाए भने पहिला त्यस मेसेजको स्क्रिनसट राख्नुपर्छ। कुनै लिंक छ भने त्यो लिंकलाई कपी गर्नुपर्छ। यी लिंक वा स्क्रिनसटका आधारमा नजिकैको प्रहरीमा गएर उजुरी गर्न सकिन्छ। प्रहरीले ती लिंक र प्रमाणको मद्दतले कहाँबाट कसले मेसेज पठायो भनेर खोजी गरी अनुसन्धान र कारबाही अघि बढाउँछ।
यस्तो गतिविधि आइपरेमा कसलाई उजुरी गर्ने? नजिकको प्रहरीमा उजुरी गर्न पाइन्छ?
दुर्व्यवहारजन्य घटना घटेको थाहा पाएमा पीडितले ३५ दिनभित्रमा प्रहरीलाई उजुरी गर्नुपर्छ। दुर्व्यवहार भएमा वा भएको देखेमा जो सुकैले नजिकैको प्रहरीलाई उजुरी गर्न सक्छन्।
प्रमाण र अपराधको आधार हेरेर अभियुक्तलाई पक्राउ गरी २४ घण्टाभित्रमा अदालत समक्ष लगिन्छ। थुनुवाको लागि म्याद थपेपछि सो मुद्दा केन्द्रीय प्रहरी विभागले हेर्छ। केन्द्रीय प्रहरी विभागले मात्र अनुसन्धान गर्ने क्षेत्राधिकार छ तर उजुरी नेपालको कुनै ठाउँबाट गर्न सकिन्छ।
यस्तो क्रियाकलाप गर्नेलाई के-कति सजाय हुन्छ?
विद्युतीय कारोबार एनको दफा ४७ अन्तर्गत अनलाइनमा हुने इन्टरनेट वा इन्टरनेटको माध्यमबाट कसुरजन्य कार्य प्रकाशन वा प्रसारण गरेमा एक लाखसम्मको जरिवाना हुन्छ अथवा पाँच वर्षसम्मको जेल सजाय हुन सक्छ। अथवा दुवै हुन सक्छ। पीडित पक्षले क्षतिपूर्तिको माग गरे थप जरिवाना तिर्नुपर्छ।
अभियुक्त नाबालिग भए बालबालिका सम्बन्धित ऐन अनुसार कारबाही गरिन्छ वा विद्युतीय कारोबार ऐन अन्तर्गत नै पनि कारबाही हुन सक्छ। नेपाल बाहिरबाट कसैले नेपाली नागरिकलाई लक्षित गरी दुर्व्यवहारजनक घटना अपराध गर्छ भने विद्युतीय कारोबार ऐनकै प्रयोगबाट मुद्दा दर्ता गर्न मिल्छ। यस्तो दुर्व्यवहारजनक क्रियाकलाप गर्नको लागि मतियारको काम गरे वा दुरूत्साहन गरेको पाइएमा सो समूह वा व्यक्तिलाई पनि कानुनअनुसार कारबाही हुन्छ। यो फौजदारी मुद्दा भएको हुनाले पीडितको पक्षबाट सरकारी वकिलले मुद्दा लड्छ।
अरूको फोटो भिडिओ अनुमतिबिना सम्पादन र प्रकाशन/प्रशारण गर्न पाउँछ कि पाउँदैन?
मान्छेलाई आफूले गरेको कुरा अरूले थाहा पाउँदैन जस्तो लागेपछि उनीहरू अरूको फोटो-भिडिओ अनुमतिबिना सम्पादन र सम्प्रेषण गर्छन्। यस्तो कार्य गर्न पाइँदैन। यसरी अनुमतिबिना कसैको व्यक्तिगत फोटो-भिडिओ सम्पादन-सम्प्रेषण गरेमा कानुनी कारबाहीमा पर्न सकिन्छ।
इन्टरनेटको प्रयोग गरेपछि कुनै न कुनै तरिकाबाट उसले डिजिटल फुटप्रिन्ट छोडेको हुन्छ। त्यसलाई प्रमाण मानेर उनीहरू पक्राउ पर्न सक्छन्। दोस्रो व्यक्तिमार्फत् कसैको व्यक्तिगत कुरा पुनःसम्प्रेषण हुने कार्य भएमा कारबाही गर्न हुने वा नहुने बहसको मुद्दा हो। यस्तो बेलामा न्यायाधीशले घटनाको प्रकार र अवस्था हेरेर कारबाही गर्छ।
अनलाइन दुर्व्यवहारबाट कसरी बच्ने?
किशोर-किशोरी वर्ग समूह यस्तो दुर्व्यवहारको धेरै सिकार हुने तथ्यांकले देखाएको छ। अनलाइन दुर्व्यबहारबारे जनचेतना नहुनुको कारण पनि यस्तो घटना घट्ने गरेको हो।
फेसबुक, युट्युब, ट्विटर, इन्स्टाग्राम, ह्वाट्सएप जस्ता सामाजिक सञ्जालको प्रयोग गर्दा व्यक्ति आफैं सावधान भएमा अनलाइन दुर्व्यवहारबाट बच्न सक्छ। आफ्नो पासवर्ड सुरक्षित राख्ने, सार्वजनिक ठाँउमा सामाजिक सञ्जाल प्रयोग गरेपछि लगआउट गर्ने, अपरिचित व्यक्तिसँग कुराकानी नगर्ने, र साथै अनलाइनबाट कुनै किसिमको नग्न तस्बिर-भिडिओ सेयर नगरेमा यस्ता साइबर अपराधबाट बच्न सकिन्छ। कारणवस कोही दुर्व्यवहारमा परेमा भने प्रहरीमा उजुरी गरी हाल्नुपर्छ।